झिलमिला ताललाई उजिल्याउने प्रयास

फाइल तस्वीर

कञ्चनपुर –चुरे पर्वत शृङ्खलामै रहेको स्वच्छ, सुन्दर र मनमोहक झिलमिला तालको न पानी घट्छ, न बढ्छ । तालको पानी  कञ्चन छ । तालको चारैतिर घना जङ्गल भएर पनि पानीमा रुखका पात खसेका भेटिँदैन । न त पानीको कुनै निकास नै भेटिन्छ । छिनछिनमै तालले रङ फेर्ने भएकाले ताल हेर्न आउने पर्यटक मन्त्रमुग्ध हुने गरेका छन् ।

भीमदत्त नगरपालिका वडा नं ९ चुरे पहाडमा झिलमिला ताल स्वदेशी र विदेशी सबैको रोजाइमा पर्ने गरेको छ । ताल क्षेत्रमा चिरबिर गर्ने चराहरुको आवाज र हिँड्दै गरेका बेला देखिने जङ्गली जनावरको बथानले यस क्षेत्रमा पुग्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ । तालको छेउमै माता झिलमिलाको सानो मन्दिर छ । त्यसै मन्दिरमा मनोकाँक्षा लिएर आउनेहरु स्तुति गरिरहेका देखिन्छन्  ।


Advertisement

'अप्ठेरो समस्यामा परेका मान्छेहरु आनो मनोकामना लिएर आउँछन्, माता झिलमिलाको दर्शन गरेपछि त्यो मनोकामना पूरा हुने विश्वास गरिन्छ,' झिलमिला विकास समितिका उपाध्यक्ष एवं समाजसेवी लाल बहादुर विष्टले भने।  

'सानैदेखि यो ताल देखेको छु, न त यसको पानी कतै निकास हुन्छ, न त कम हुन्छ, बर्खामा थोरै बढ्छ,' समाजसेवी विष्टले भने, 'यो तालमा के शक्ति छ ? कस्तो शक्ति छ ? आजसम्म कसैलाई पनि थाहा छैन ।' बिहान, दिउँसो र साँझ तीन पटक तालको पानीको रङ फेरिने गर्छ । बिहान सुनहरा, दिउँसो नीलो र साँझ हरियो रङ देखापर्छ । दैनिक रङ फेरिने भएकाले यसको नाम झिलमिला राखिएको हो । 


Advertisement

महाभारतमा झिलमिला तालको अलौकिक शक्तिको वर्णन गरिएको छ । पाण्डवहरु वनबास गएको समयमा द्रोपतीलाई पानीको प्यास लाग्यो । अर्जुनले रुखमा चढेर पानी भएको ताल देखेपछि एक भाइलाई त्यहाँ पठायो । पानी लिन गएका भाइ फर्केर आएन । त्यसपछि गएका अर्का भाइ पनि फर्केन । सबैको त्यहीँ ज्यान गयो । अन्तिममा युधिष्ठिर आफैं पानी लिन गए । त्यही बेला तालबाट निस्केको अदृश्य शक्तिले युधिष्ठिरलाई प्रश्न सोधे ।

सबै प्रश्नको जवाफबाट सन्तुष्ट भएपछि उनलाई एउटा भाइ जिउँदो माग्न वर माग्न लगाइयो । युधिष्ठिरले भाइ अर्जुनलाई ब्यूँताउन माग गरे । त्यसपछि त्यो अलौकिक शक्ति खुशी भएर युधिष्ठिरका सबै भाइलाई जिउँदो बनाएको कथा छ । 'महाभारतको यो कथाले पनि यो तालमा अलौकिक शक्ति भएको विश्वास दिलाउँछ,' समाजसेवी विष्ट भन्छन्।

यस तालले प्राकृतिक र धार्मिक महत्व बोकेको छ । प्राकृतिक रुपमा चारैतिर जङ्गलले घेरिएको यस तालले दैनिक रङ अदलबदल गरी मन लोभ्याउने गर्छ । दर्शनार्थीले फ्याँकेका अक्षता खान हूल बाँधेर आउने कालो रङ भएका एकनासका जुँगे माछाले समेत पर्यटक ध्यान खिच्छ । काला माछा बाहेक तालमा सर्प पनि देखिने गरेको छ । तालमा दैवीय शक्ति भएको मान्यताका कारण माछा मारेर खाने गरिएको छैन । 

केही वर्ष अघि माछालाई पोलिथिनमा राखेर घर लैजान खोज्ने भारतीय नागरिक बेहोस भएको स्थानीय बासिन्दा बताउँछन । डेढ किलोमिटर लम्बाइको यो ताल चार बिघा क्षेत्रफलमा फैलिएको छ । सत्र मिटर गहिराइको ताल चारैतिरबाट साल, साज, जामुनको घना जङ्गलले ढाकिएको छ । तालको चारैतिर परिक्रमा पथ निर्माणको कार्य अघि बढाइएको छ । अहिले ६०० मिटर लम्बाइको परिक्रमा पथ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

तालको चार दिशामा देवीदेवताको थापना गरिएका छन् । दक्षिणतिर झिलमिला माताको मन्दिर छ । माताको मन्दिर नजीक सिद्ध बैजनाथ, पश्चिमी किनारमा काली अर्थात दुर्गा माता र अर्को छेउमा पूर्णागिरीको मन्दिर छ । हरेक दर्शनार्थी सबै देवी देवताको पूजापाठ गरी फर्किने गर्छन् । 

वर्षभरि दर्शनार्थी जाने झिलमिला तालमा माघे सङ्क्रान्तिको अघिल्लो रात जात्रा लाग्छ । त्यस दिन देशभित्र र बाहिरका दर्शनार्थीहरु रातभर जाग्राम बसेर भजनकीर्तन गर्छन् । अर्को दिन देवी देवताका मन्दिरमा पूजापाठ गर्छन् । पूर्णागिरी मेला अर्थात् चैते दशैँमा भारतका विभिन्न शहरबाट दर्शनार्थी आउँछन् । 

भीमदत्त नगरपालिकाको मटेनाबाट चुरेको जङ्गल हुँदै दुई घण्टामा ताल पुग्न सकिन्छ । मटेनाबाट गहुँताणी मन्दिर हुँदै ताराकोट भएर झिलमिला पुग्न सकिन्छ । ब्रह्मदेव र कालीताल झरना बाटो भएर ताराकोट हुँदै तालसम्म पुग्ने सडक सँगै पदमार्ग निर्माण गरिएको छ । मटेनामा ताराकोटसम्म ९ दशमलव ५ किलोमिटर र त्यसपछि डेढ किलोमिटर दूरी उकालो र तेस्रो बाटो पार गरी ताल पुग्न सकिन्छ । दर्शनार्थीको सहजताका लागि सडक बनाउन शुरू गरिएको छ ।

भीमदत्त नगरपालिकाले तालसम्म पुग्ने मोटर बाटो बनाउने योजना अघि सारेको छ । मटेना हुँदै ताराकोटसम्म पक्की सडक र त्यसपछि डेढ किलोमिटरमा पदमार्ग निर्माण गरी तालसम्म पुग्ने योजना अघि सारिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए। 'तालको संरक्षण र प्रचारप्रसार गरी पर्यटकीय क्षेत्र बनाउने सोचाइका साथ योजना अघि बढाएका छौं,' नगर प्रमुख विष्टले भने, 'यसका लागि सङ्घ र प्रदेश सरकारबाट पहलकदमी लिइएको छ ।'

ताल नजीक पूजापाठ गर्न र बस्न धुनीघर, पूजारी घर र धर्मशाला बनाइएका छन् । धर्मशाला दुई वटा छन् । ताल वरिपरि चक्रपथ निर्माण गरिएको छ र ताल छेउ बस्न बेञ्च राखिएका छन् ।

'ताल क्षेत्रमा पुग्ने पर्यटक र भक्तजनहरुको सुविधाका लागि शौचालय निर्माण, सौर्य उपकरण जडान गरिएको छ,' झिलमिला संरक्षण समितिका उपाध्यक्ष लाल सिंह विष्टले भने। 

तालको उत्तर र पूर्वी किनारबाट बर्खामा आउने माटोले पुरिने गरेको छ । ताल पुरिन नदिन सजग हुनुु पर्ने उपाध्यक्ष विष्टको भनाइ छ । 

तत्कालीन जिल्ला समन्वय समितिका सभापति ऋषिराज लुम्सालीले तालसम्म पुग्न सडक खन्न लगाउनुभएको थियो । जिविसको विश्व खाद्य कार्यक्रमअन्तर्गत खनिएको सडकमा केही समय गाडी पनि गुडेका थिए । सशस्त्र द्वन्द्वका कारण सवारी सञ्चालन रोकिएको थियो । धूमपान निषेधका अभियन्ता हेल्प नेपाल कञ्चनपुरका मदन चन्द, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय सञ्चार केन्द्र लगायतले तालको प्रवद्र्धनात्मक कार्यमा सहयोग गर्दैआएका छन् । 

भीमदत्त नगरपालिका वडा नं ९ मटेना, ब्रह्मदेब र भीनपा–१० तिलकेनीबाट झिलमिला ताल पुग्न सकिन्छ । चुरे फेदबाट दुई घण्टा पैदल हिँडेपछि ताल छेउ पुगिन्छ । यी तीनै ठाउँका बाटा ताराकोटमा जोडिन्छ ।

भीमदत्त नगरपालिकाले भ्यू टावरका लागि प्रस्ताव गरेको ताराकोटमा यस अघि स्थानीय बासिन्दाका गोठ थिए । चुरे संरक्षण कार्यक्रम शुरू गरिएपछि ती गोठ हटाइएका हुन् । ताराकोटबाट माथि झिलमिला हिँडेपछि माछा मासु खान नपाइने भएकाले ताराकोटलाई वनभोज स्थल बनाउने नगर प्रमुख विष्टको योजना छ ।

मटेनाबाट गहुँताणी मन्दिर हुँदै जङ्गल छिचोलेर जाँदा ताराकोट पैदलै पुगिन्छ । तिल्केनीको बाटो भएर ताराकोट जाँदा कालीनाल झरना देख्न पाइन्छ । त्यहाँबाट हिँडेर ताराकोट हुँदै झिलमिला पुग्न सकिन्छ । डडेल्धुराबाट आउनेले भने परशुराम नगरपालिका न्वाला गाउँको बाटो समात्नु पर्छ । भीमदत्त नगर र डडेल्धुराको परशुराम दुबै नगरपालिका जोड्न दुबै स्थानीय तह एकमत छन् । राजेन्द्रप्रसाद पनेरु,रासस

कमेन्ट गर्नुहोस्