नेपाली यूट्युबर अब त सुध्रौं है !

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

सन् २००५ अर्थात् आजभन्दा १४ वर्षअघिबाट यूट्युबको शुरूआत भयो । जवेद करिम, स्टिभ चेन र चड हर्ले मिलेर यसको शुरूआत गरेका थिए ।  

यूट्युबको उद्देश्य भनेकै भिडियो हो । भिडियो नै उसको प्राण हो । सबथोक हो । करीब १४ वर्षमा यूट्युबले मारेको छलाङ लोभलाग्दो छ । यो अवधिमा यूट्युबले यति प्रगति गर्‍यो कि त्यसको लेखाजोखा गर्नै सकिंदैन । अझ यसरी भनौं कि यूट्युब अहिले मानिसहरूको 'अभिन्न अंग'जस्तै बनिदियो । 


Advertisement

यी भए यूट्युबबारे सामान्य कुरा । अब वर्तमानका कुरा गरौं । एक वर्षदेखि सयभन्दा माथिका उमेरसम्मका मानिसले यूट्युबलाई चिनेका छन् । छामेका छन् ।


Advertisement

पङ्तिकारको कोठानजिकैको एउटा फुच्चे अहिले दुई वर्षको भयो । उसलाई सक्रिय यूट्युब प्रयोगकर्ताभन्दा हुन्छ । किनकी बिहान र बेलुकाको अधिकांश समय ऊ यूट्युबका भिडियोमै रमाइरहेको हुन्छ ।

अझ एक वर्ष अगाडिको कुरा गरौं है त । एक वर्षअगाडि पनि ऊ यूट्युबमै रमाउँथ्यो ।  बच्चा हो रुन्छ, आमाले फकाउँछिन् । पछि बच्चा भुलाउने गज्जबको साधन बन्यो- यूट्युब । एक वर्षको उमेरमा पनि उसले 'मोटुपत्लु'देखि 'शिवा'सम्म हेर्न भ्यायो । खाना खुवाउन होस् या औषधि नै किन नहोस्, हतियार बन्यो त्यही यूट्युब । त्यसकै सहारामा उसले जे पनि निलिदिन्छ । 

तर अहिले उसले आफूलाई मनपर्ने कार्टुनदेखि 'क कमल'सम्मका भिडियो हेर्छ, सुन्छ, ज्ञान लिन्छ । 

यो यूट्युबको सकारात्मक पाटो नै भयो । 

यूट्युबका नराम्रो कुराभन्दा पनि नराम्रा यूट्युबरका कुरा पनि गरौं । यूट्युबको उद्देश्य नै भिडियो हो । हरकोहीले भिडियो राख्न पाउँछ यूट्युबमा । यसका पनि केही शर्तहरू पक्कै छन् । अश्लील  र विवादास्पद भिडियोलाई यूट्युबले एसेप्ट गर्दैन । तर अश्लीलता र भ्रम फैलाउने खालका भिडियोलाई यूट्युबले त्यतिसारो चिनेको पाइँदैन । त्यसका लागि प्रयोगकर्ताले नै यो भिडियो गतिलो होइन है भनेर रिपोर्ट गर्नुपर्छ । त्यसकै आधारमा उसले एक्सन लिन्छ । 

नेपालमा केही यूट्युबर व्यावसायिक भएका छन् । उनीहरूको मुख्य काम नै भिडियो खोज्ने र पैसा कमाउने हो । पैसा कमाउने गतिलो उपाय भनेको समसामयिक घटना र अचम्मका विषयहरू हुन् । 

पैसा कमाउने धन्दामा फस्दा यूट्युबरहरूले नेपाली समाजको मानसिकता नराम्रोसँग बिगारिदिए । एकखाले तप्काको दिमाग यसरी भुटे र भुटिरहेका छन् जुनबाट माथि उठ्न केही समय लाग्छ । 

अहिले प्रहरी, न्यायाधीश, समाजसेवी सबै काम यूट्युबर नै गर्छन् । एउटा हत्या भयो, प्रहरीले अनुसन्धान गरिरहेको छ भने त्यस्तो अवस्थामा दुई-तीन दर्जन यूट्युबर घटनास्थल पुग्छन् र आफ्नो ड्यूटी शुरू गर्छन् । भिडियोका शीर्षक र उनीहरूको पारा हेर्दा लाग्छ- लौ, यिनीहरूले गज्जबको काम गरे । कति चाँडो हत्यारा पत्ता लगाइसके । हो यस्तै बुझ्छन् मानिस । 

उनीहरूका शीर्षक यस्ता हुन्छन्-
हत्यारा पत्ता लाग्यो, खुल्यो रहस्य 
छिमेकीले दिए यस्तो सनसनीपूर्ण बयान, हत्यारा सार्वजनिक 
मर्नुअघि यसो भनेका रहेछन् …ले 
हत्याको सबै पोल खुल्यो, हेर्नुहोस् भिडियो

यी शीर्षक पढ्दा हत्यारा पत्ता लाग्छ । शीर्षकबाटै मानिसहरूले अनुमान लगाउन सक्छन् कि ओहो! कति चाँडै अनुसन्धान भएको । 

तर यी गम्भीर अपराध हुन् यूट्युबरका । यी असह्य गल्ती हुन् । जबकि प्रहरीले नै अनुसन्धान सकेको छैन, प्रमाणहरू जुटाइरहेको छ भने एउटा क्यामेरा बोकेर फूटेज अपलोड गर्दैमा यूट्युबरले भ्रम फैलाउन पाउँछ ? दादागिरी देखाउन पाइन्छ ? 

भिडियो खिचेर अपलोड गर्नु दादागिरी कसरी भयो भन्ने खाले प्रश्न पनि उठ्न सक्छ । तपाईं सरसर्ती नेपालका चर्चित यूट्युब च्यानल नियाल्नुस् न देखिहाल्नुहुन्छ नि । तपाईंले त्यहाँ बुढाबुढीको झगडादेखि हाइप्रोफाइलसम्म निजी विषयमा कसरी भ्रम छरेर डलर कमाएका छन् छर्लङ्गै देख्न सक्नुहुन्छ । 

बुझ्नेलाई यी सबै भ्रम हुन् तर नबुझ्नेले सहज रूपमा लिन्छन् अनि पत्याइदिन्छन् । यूट्युबका सक्रिय प्रयोगकर्ता फुर्सदिला हुन्छन् । फुर्सदिला यस अर्थमा कि लामो भिडियो । लामालामा भिडियो हेरेर बस्न सक्नेलाई फुर्सदिला नै भनिन्छ । त्यही भएर त 'हत्यारा पत्ता लाग्यो…' खाले भिडियोलाई लाखौंले हेर्छन् ।

भिडियोमार्फत सूचना, मनोरञ्जन तथा ज्ञानवर्द्धक खुराक दिनका लागि शुरू गरिएको यूट्युब नेपालमा छुट्टै हिसाबले चल्यो यी दिनमा । यिनले सूचना तथा जानकारी त दिन्छन् नै तर 'द्धिअर्थी' तथा झुटो । 

कुनै घटना भयो भने तोडमोड गरेर अनेक ढंगबाट प्रस्तुत गर्दै डलर डकार्ने नियमित कार्य अहिलेका यूट्युबरले गर्ने गरेका छन् । यसमा सबै यूट्युबर भने पर्दैनन् । औंलामा गन्न सकिने यूट्युबरले अभूतपूर्व काम पनि गरेका छन् । जसले 'र्‍युमर'भन्दा पनि सामाजिक सेवामा बढी समय खर्चेका छन् । 

पछिल्लो समय नेपालमा 'लाइफ ड्यामेज' बाबा खुब चले । उनका भिडियोहरू युट्युबका सर्वाधिक रुचाइए । उनी हिंडेको, बोलेको, खाना खाएको, नाचेको, लुगा लगाएको भिडियो समेत यूट्युबमा भेटिन्छन् र तिनैले राम्रो भ्यूज पाएका छन् । 'लाइफ ड्यामेज' बाबाको भिडियो नराख्ने युट्युबर मुश्किलले भेटिएला । 

यूट्युबर त बने तर 'लाइफ ड्यामेज' बाबा अहिले 'लाइफ म्यानेज'को अवस्थामा छन् । उनी अहिले डिमान्ड भएका गायक भइसके- यूट्युबरकै भाषामा । उनी वैदेशिक यात्रामा पनि निस्किइसकेका छन् । 

यूट्युबरका लागि बाबा जरुरी थिए या थिएनन् त्यो अर्कै पाटो रह्यो । तर जोश र जाँगर भरिएका युवा त्यस्ता भाइरल हुन र बनाउन भन्दा पनि देश र समाजका लागि केही सकारात्मक योगदान दिनतर्फ अग्रसर हुनुपर्ने थियो भन्ने पङ्तिकारको मान्यता हो । तर यो होइन कि उनीहरूले त्यस्ताखाले भिडियो बनाउन पाउँदैनन् । यस्ता खाले भिडियो नबना भन्ने कसैको अधिकार छैन, कम्तिमा अफवाह नफैलाइ केही राम्रो काम गरोस् भन्ने चाहना हो । 

वर्तमानका घटना नै यूट्युबरका कमाइखाने भाँडो हो । गज्जबको मसला हो । उनीहरूको चासो कसले के गर्‍यो र के भन्यो भन्नेमै हुन्छ । मुख्य चासो त कसरी मानिसहरूलाई गुमराहमा राखेर भ्यूज बटुल्ने हुन्छ । अनि शुरू हुन्छ- द्धिअर्थी र अपत्यारिलो शीर्षक र सामग्री प्रस्तुत गर्ने शैली । 

नेपालका यूट्युबरका शैली र व्यवहारले बलिउड अभिनेत्री सनी लियोनीले जिल खाइन् । उनी खुला रूपमा प्रस्तुत हुन पाइनन् ।

यूट्युबरहरूको हर्कतले उनलाई दिक्क बनायो । पासवर्ड फिल्मको प्रिमियरका लागि नेपाल आएकी लियोनीले यूट्युबरकै कारण अब नेपाली मिडियालाई कुन रूपमा लिन्छिन् होला ? यसले नेपाली मिडियाप्रति कस्तो सन्देश देला ? भलै त्यो भिडमा देखिएका सबै क्यामेराले मिडियाको स्थान नपाउला । तर अधिकांशले तिनलाई मिडियाका रूपमा लिन्छन् । 

अहिलेको तात्तातो कुरा गरौं न अब । धादिङकी ११ वर्षीया कमला घिमिरेले एउटा कार्यक्रममा दोहोरी गाइन् । धादिङकै गायक अमृत सापकोटासँगको दोहोरी सामाजिक सञ्जालमा भाइरल भयो । उनको गायन प्रस्तुतिलाई मानिसहरूले मन पराए । केही युट्युबरले उनको अन्तर्वार्ता लिए र चर्चित कार्यक्रम 'इन्द्रेणी'सम्म ठाउँ पाइन् । यहाँसम्म ठीक छ ।

एउटै सामग्री एउटै पात्र वरिपरी धेरै भिडियो बनेपछि अर्काखाले यूट्युबरले नयाँ फर्मुला पत्ता लगाए- कमलाको बारे गाउँमा गएर बुझ्ने ।

उनीहरूले सोचेअनुसार भिडियो पनि बन्यो । बजारमा हिट भयो । पैसा पनि राम्रै कमाए । तर ती भिडियोमार्फत कलिली कमलाले मस्तिष्कमा नराम्रो छाप पर्‍यो ।  उनीबारे नराम्रा कुराहरू छ्यापछ्याप्ती बाहिर आए । यो पार्टीको र ऊ पार्टीको भन्ने खाले भिडियो बन्यो । एउटी ११ वर्षीया बालिकाको मस्तिष्कमा नराम्रो असर परेछ । त्यो उनी आफैंले भनिन् ।

अहिले त कम असर गर्ला उनी हुर्केपछि, एउटा उचाइमा पुगेपछि अहिलेका भिडियोले कतिसम्म असर गर्छ भन्ने बुझ्नुपर्दैन ? उनको अहिले पढ्ने बेला हो । उनलाई पढ्ने वातावरण दिनुपर्छ । उनलाई पढ्न समय दिने कि जतिखेर पनि भिडियो बनाउँदै हालिदिने ? यसबारे कहिले सोच्ने नेपालका यूट्युबरहरू । अब त अत्ति भयो, सुध्रिने बेला भएन र ? 

युट्यूबरले बनाएका ज्योतिषी, दार्शनिकदेखि राजनीतिक विश्लेषकका कुरा गरेर साध्यै छैन । अहिले त्यता प्रवेश नै नगरौं । 

उपचार नपाएकालाई उपचारको वातावरण मिलाइदिने युट्युबर पनि नेपालमै छन् । कला भएर पनि थन्किएका तथा उचित स्थान नपाएकालाई राम्रो प्लेटफर्म सिर्जना गराउन सक्दो पहल गर्ने  यूट्युबर पनि नेपालमै छन् । यस्ता राम्रा काम गर्ने यूट्युबर एकाध छन् । अझ भनौं औंलामा गन्न मिल्ने छन् । 

यीबाट केही सिक्ने कि लगातार र्‍युमर फैलाउँदै हिँड्ने ? डलरको नाममा समाजलाई उधोगतितिर ढाल्ने ? 

कहिलेकाहीँ म सोच्ने गर्छु- यूट्युबको कल्पना गरेर यहाँसम्म ल्याउने शुरूआती ती तीन जनाले नेपालका 'र्‍युमरवाला' यूट्यबर भेटाए के गर्लान् ? के सोच्लान् ? कि चट्कन लगाउलान् ? उनीहरूले पक्कै यो चाहिँ सोच्नेछन्- नेपालका यूट्युबरलाई एउटा स्पेशल कोर्ष सिकाउनुपर्छ जसले समाज र देशका लागि राम्रो सन्देश देओस् । 

अन्त्यमा, सरकारले एउटा उपयुक्त कानून बनाएर युट्युबरलाई छनोट गर्नुपर्छ र आफैं न्यायाधीश तथा प्रहरी बनेर अनुसन्धान गर्ने यूट्युबरलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।

कमेन्ट गर्नुहोस्