बुटवल- राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तार कार्य नरोकिने बताएका छन् ।
अब विवादमा अल्झिएर नभई सडक विस्तारमा घरधनीहरूले सहयोग गर्नुपर्ने बताए । मंगलबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपाका युवा नेता समेत रहेका भट्टराईले राज्यले अगाडि सारेको विकास र समृद्धिको योजनामा बुटवलबासीले सहयोग गर्नुपर्ने बताए ।
‘अब विकास र समृद्धिको बाधन बन्न कोही पनि हुँदैन’ नेता भट्टराई भने, ‘अब बुटवलका घरधनीहरु सडक भित्र पर्ने घरहरु आफै भत्काएर बाटो खोलिदिनुपर्छ । राज्यले अगाडि बढाएका योजनामा विरोध गरेर रोकिँदैनन/छेकिदैनन । सडक विस्तार भएरै छाड्छ ।’
सडक विस्तार विरुद्ध बुटवल केही घरधनीहरू अदालतमा मुद्दा दर्ता गरेपछि अहिले सडक विस्तार कार्य रोकिएको छ । चौराहादेखि गोलपार्कसम्मको ३ किलोमिटर सडकमा ३ सय ११ घर भत्काउनुपर्ने अवस्थामा छन । केही घरधनीहरुले आफै घर भत्काएर बाटो पनि खोलिदिएका छन् ।
विकास निर्माणका योजनाहरुमा अदालत बाधक बन्न नहुने भट्टराईको भनाइ छ । सडक विस्तारको काम अब छिट्टै अगाडि बढने बताए ।
भट्टराईले रुपन्देही विकास निर्माणमा गौवर गर्न लायक जिल्ला बनेको बताए । उनले सडक अब नयाँ ढंगबाट देशलाई अगाडि बढाउने गरी योजना बनाएको जानकारी समेत सचेतक भट्टराईले गराए । अब पार्टी एकीकरणको काम सकिएको बताए ।
लोकान्तर संवाददाता