सुन्तला, केरा लगायत कृषिजन्य वस्तुले पाए उचित मूल्य

प्रतिकात्मक तस्वीर

कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ ।

सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो ।


Advertisement

यसपालि सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन् । मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए । 


Advertisement

गत वर्ष चौमालामा प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री गरेका खैरालाका किसानले यसपालि बारीबाटै प्रतिकिलो ९० रुपैयाँका दरले सुन्तला बिक्री गरिरहेको स्थानीय कृषक गणेश चन्दले बताए ।

‘गत वर्ष चौमाला बजार पुर्‍याएर पनि ३० देखि ५० रुपैयाँका दरमा सुन्तला बेचेका थियौं,’ उनले भने, ‘यसपालि बारीमै आएर व्यापारीले ९० रुपैयाँमा खरिद गरेर लगे । धनगढी, अत्तरिया वा अन्य बजारमा अन्य ठाउँको सुन्तला अहिले सय प्रतिकिलोका दरले बिक्री भइरहेको छ भने खैरालाको सुन्तलाको मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको छ ।

खैरालामा उत्पादित कृषिजन्य वस्तु धनगढी, अत्तरिया, चौमाला लगायतको बजारमा पठाइने गरेको छ । खैरालाको गर्भासम्म मोटरबाटो पुगेपछि किसानलाई सुन्तला लगायत कृषिजन्य वस्तु  बजारमा पठाउन सजिलो भएको स्थानीयको भनाइ छ ।

कमेन्ट गर्नुहोस्