प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको स्थायी कमिटीले गर्यो ओलीको स्वास्थ्यलाभको कामना

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना प्रस्ताव पारित गरेको छ ।

नेकपा स्थायी कमिटी बैठकको अध्यक्षता प्रचण्डले पहिलोपटक गरेका हुन् ।


Advertisement

'प्रधानमन्त्री ओली छिटो पूर्ण स्वस्थ भई नियमित पार्टी काममा सक्रिय हुने विश्वाससमेत व्यक्त गरिएको छ,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

बैठकमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट ५ वटा एजेण्डाहरू प्रस्तुत गरिएका थिए ।


Advertisement

बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध गरी ५ वटा एजेण्डा प्रस्तुत भएका थिए ।  

बैठकमा प्रस्तुत भएका एजेण्डाहरू सामान्य छलफलपछि स्थायी कमिटी बैठकको एजेण्डाका रूपमा स्वीकार गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटीको अर्को बैठक सोमवार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

नेकपाको स्थायी कमिटी बैठक पोहोर मङ्सिर २९ गते नै बसेको थियो । विधानअनुसार प्रत्येक ३/३ महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक पार्टीभित्र देखिएको विवादका कारण सर्दै आइरहेको थियो । 

गतसालको बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका ओलीले गरेका थिए । 

कमेन्ट गर्नुहोस्