आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा

सन् १९७० अर्थात् ०२७ तिर प्रेमध्वज प्रधान मुम्बईमा थिए । चर्चित संगीतकार मनोहर सिंहसँग संगत थियो । मनोहरले सुझाब दिए– गीति एल्बम निकाल्नुस् । रहर त थियो, तर उनीसँग पर्याप्त लगानी थिएन । दुःख गरेर पैसाको जुगाड गरे । मनोहरले नै म्युजिक एरेन्ज गरिदिए । यसरी १० गीतको एल्बम तयार भयो । २४ वटा कपी बोकेर प्रेमध्वज काठमाडौं आए । अनि रेडियोमा गुन्जिन थाल्यो– घुम्तीमा नआऊ है । गायक र संगीतकारका रूपमा प्रेमध्वजको चर्चा चुलियो । सँगै थियो अर्को गीत– मेरो मखमली घामको झुल्काझुल्का मायालु ।

सबैभन्दा ठूलो कमाइ श्रोताको माया हो । प्रेमध्वज कृतज्ञ छन्, तर उनी आश्चर्यमा परे जब उनले दुःखले रेकर्ड गराएका गीत अचानक म्युजिक नेपालको डिजिटल प्लेटफर्ममा बज्न थाले । ‘मलाई कुनै जानकारी नदिई त्यो एल्बमका गीत म्युजिक नेपालले आफ्नै कपिराइट बनाएछ । युट्युब, सिआरबिटी, पिआरबिटी, आइट्युन्स, अमेजनलगायत विभिन्न डिजिटल प्लेटफर्ममा बेची पनि सकेछ । यत्रो ठूलो बदमासी कुनै सर्जकले कल्पना पनि गर्न सक्दैन,’ उनी भन्छन् ।


Advertisement

यसबारेमा सोधखोज हुन थालेपछि म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले फोन गरेर प्रेमध्वजलाई भने, ‘तपाईंलाई सम्मान गर्ने तयारी गर्दै छौँ, नगद पुरस्कार पनि दिन्छौँ ।’ प्रेमध्वजले जवाफ फर्काए, ‘तपाईंको सम्मान र पुरस्कार म लिन सक्दिनँ । मैले मुम्बईमा दुःखले रेकर्ड गरेको गीत तपाईंले सोध्दै–नसोधी बेचिदिनुभयो । तपाईंको पुरस्कार होइन, क्षतिपूर्ति चाहिन्छ ।’

त्यो गीत मात्र होइन, उनले रेडियो नेपालमा रेकर्ड गराएकामध्ये करिब ४० गीत विनाअनुमति म्युजिक नेपालले बिक्री–वितरण गरिरहेको छ । ‘मेरो छोराले अमेरिकाबाट खबर गरेपछि मात्र थाहा पाएँ । त्यस्तै, रत्न रेकर्डिङबाट उत्पादन भएका मेरा अरू गीत पनि उनीहरूले विनाअनुमति व्यवसाय गरिरहेका छन्,’ प्रेमध्वजले नयाँ पत्रिकासँग भने ।  


Advertisement

०४६/४७ तिर उनले केही गीत म्युजिक नेपालमै पनि रेकर्ड गराएका थिए । त्यसवेला ‘घाइते जवानी’ एल्बममा १० वटा गीत रेकर्ड भएका थिए । जब कि, त्यो गीत गाएको मात्र होइन, संगीत पनि उनले नै तयार पारेका हुन् । तर, रोयल्टीबापत उनले के पाए ? अहिलेसम्म जम्मा ४५ सय । उनी भन्छन्, ‘तर, त्यति ठूलो मिहिनेतबाट मलाई ०५१ मा एक हजार दिएका थिए । त्यस्तै, १०/१२ वर्षपछि रोयल्टी भनेर ३५ सय रुपैयाँ दिएका थिए ।’ त्यसपछि उनले आफ्ना सिर्जनाबारे कुनै जानकारी पाएका छैनन् । 

म्युजिक नेपालमा ०४६ मा गीत रेकर्ड गर्दा सम्झौता तीन वर्षको मात्र थियो । तर, सिर्जनाहरू म्युजिक नेपालले ३० वर्षसम्म बेचिरहेको छ । ‘हुन सक्छ कतिपय गीत उनीहरूले गीतकारबाट अनुमति लिएका होलान्, तर एउटा सर्जक म हुँ, गीतकार, संगीतकार र गायक तीनै पक्षसँग सम्झौता नगरेसम्म त्यसको सर्वाधिकार कुनै पनि पक्षले प्राप्त गर्न सक्दैन,’ कानुनी उपचारको तयारी गरिरहेका प्रेमध्वज भन्छन् ।  

अम्बर गुरुङले कति गीत गरे, यकिन तथ्यांक छैन । तर, सबैजसो गीत म्युजिक नेपालले लगेको छ । अम्बर गुरुङका छोरा किशोर भन्छन्, ‘मसमेत सहभागी भएर सन् १९८६÷८७ तिर पुल्चोकको स्याङ स्टुडियोमा ‘कहिले लहर कहिले तरंग’ एल्बम रेकर्ड गराएका थियौँ । त्यतिवेला क्यासेट निस्किएको थियो । पछि त्यो एल्बमलाई सिडीमा निकाल्न म्युजिक नेपालले सम्झौता ग-यो । त्यही सम्झौताका आधारमा एल्बमका गीतहरू म्युजिक नेपालले संसारभर बेचिरहेछ ।’

अम्बर गुरुङ सक्रिय रहुन्जेल म्युजिक नेपालले कति रोयल्टी दियो प्रेमध्वज प्रधानकै उदाहरणबाट अनुमान गर्न सकिन्छ । तर, सन् २०११ यता एक रुपैयाँ पनि नदिएको दाबी गर्छन् किशोर । ‘मैले एउटा कार्यक्रममा म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मालाई भेटेको थिएँ । गीत कहाँ–कहाँ, कसरी राखिएको छ र बेचिएको छ त्यसको विवरण दिनुस् भनेको थिएँ । तर, उहाँले अहिलेसम्म चासै राख्नुभएको छैन,’ उनी भन्छन्, ‘अझ, रेडियो नेपालमा बुबाले रेकर्ड गराउनुभएका गीत चाङका चाङ उठाएर म्युजिक नेपालले लगेको रहेछ । ती गीतबाट कति कमाइ भयो हामीलाई जानकारी छैन ।’

रेडियो नेपालमा रेकर्ड भएका र अम्बर गुरुङले संगीत भरेका गीतको सर्वाधिकार म्युजिक नेपालको भनेर डिजिटल प्लेटफर्ममा आउँछ । यो वास्तविकताले किशोरलाई आश्चर्यचकित पार्छ । ‘बुबाका गीतमा म्युजिक नेपालको सर्वाधिकार कसरी भयो ? अझ, हामीले गीत अपलोड गर्न खोज्दा म्युजिक नेपालले कपिराइट दाबी गर्छ र हाम्रो कन्टेन्ट अपलोड हुँदैन । योसम्मको ठगी हामीले कसरी सहने ?’ उनी प्रश्न गर्छन् ।

अम्बर गुरुङका छोराजस्तै आक्रोशित छन् भक्तराज आचार्यका छोरा सत्य र स्वरूपराज । भक्तराजसँग म्युजिक नेपालले विभिन्न एल्बमका लागि थरीथरीका सम्झौता गरेको छ । ०४३ मा भक्तराजसँग म्युजिक नेपालले पहिलोपटक समर्पण एल्बमका लागि सम्झौता गरेको थियो । ‘त्यसमा केही भक्तिगान छन् । तीन÷तीन महिनामा रोयल्टी भुक्तानी गर्ने भनिएको छ, तर हामीलाई हिसाब–किताबबारे जानकारी कहिल्यै पनि दिएनन्,’ सत्यराज भन्छन् । अर्को एल्बम समर्पण–२ का लागि ०५० मा भक्तराज र म्युजिक नेपालबीच सम्झौता भएको थियो । त्यसमा ११ गीत छन् । त्यस्तै, ०५७ मा आधुनिक गीतको एल्बम ‘हजार सपना’का लागि सम्झौता भएको थियो ।

यो एल्बममा ‘जति चोट दिन्छौ, देऊ मायालु’ र ‘हजार सपनाहरूको माया लागेर आउँछ’ जस्ता १२ गीत छन् । सबै गीत रेडियो नेपालमा रेकर्डिङ भएका हुन् । उत्पादन स्वामित्व उसैको हुन्छ । तर, भक्तराजलाई झुक्याएर सर्वाधिकार नै म्युजिक नेपालमा हुने सम्झौता गरिएको छ । ‘अझ यो करारनामा म्युजिक नेपाल उद्योग सञ्चालन भएसम्म लागू हुने भनिएको छ । यो कस्तो खालको करार  हो ?’ सत्यराज प्रश्न गर्छन्, ‘त्यस्तै, ०५७ सालमै समर्पण–३ का लागि सम्झौता भएको थियो । त्यो सम्झौतामा समय–सीमा नै तोकिएको छैन ।’ 

चारवटा एल्बमका यति धेरै गीत हिट भए, तर भक्तराजलाई म्युजिक नेपालले वर्षमा आठ हजार रुपैयाँ मात्र दिन्थ्यो । ‘त्यो पनि अधिकारका रूपमा होइन, बक्सिसजस्तो गरेर । हामीले आवाज उठाउन थालेपछि ‘तपाईंहरूको रोयल्टी बढेर वार्षिक १७ हजार पुगेको छ’ भनेका थिए, तर हामीले लिएका छैनौँ,’ छोरा भन्छन् ।

बिरामी बाबुको सहयोगार्थ गत वैशाखमा भक्तराज आचार्य सहयोग साँझ भएको थियो । त्यहाँ छोराहरूले बाबुको गीत ‘हजार सपनाहरूको माया लागेर आउँछ’ गाएका थिए, जसको भिडियो उनीहरूले युट्युबमा अपलोड गर्न खोजेका थिए । ‘तर, विडम्बना !’ सत्यराज भन्छन्, ‘म्युजिक नेपालले कपिराइट दाबी गरेको भनेर युट्युबले हटाइदियो । यहाँसम्मको अन्याय छ ।’

सन् १९८२ देखि क्यासेट, सिडी, भिसिडी र डिभिडीमार्फत गीतसंगीत बेच्न थालेको म्युजिक नेपालले सन् २००० यता डिजिटल भर्सन पोर्टल, स्ट्रिमिङ, एप्स, अनलाइन सेलमार्फत विश्वभर व्यापार फैलाइरहेको छ । तर, रेडियो नेपाल र रत्न रेकर्डिङबाट उत्पादित सयौँ पुराना गीत म्युजिक नेपालले ती संस्थाबाट आधिकारिक प्रतिलिपि अधिकार नलिई बेचिरहेको छ । 

सरकारमातहतका रेडियो नेपाल र रत्न रेकर्डिङमा रेकर्ड भएका गीतको सर्वाधिकार तिनै संस्थामा सुरक्षित छन् । तर, ती संस्थाका ९० प्रतिशत उत्पादन म्युजिक नेपालले आफूखुसी बेचिरहेको स्रष्टाहरूको दाबी छ । ती गीतलाई उल्टै म्युजिक नेपालले आफ्नो कपिराइटसमेत गराइसकेको छ । पुराना गीत अवैध रूपमा बेचेर म्युजिक नेपालले करोडौँ कमाइ गर्दा स्रष्टा र स्रष्टाका परिवारले रोयल्टी पाएका छैनन् । बरु आफ्नै गीत म्युजिक नेपालसँग किन्नुपर्ने अवस्था छ । 

भजन शिरोमणि भक्तराज आचार्यका छोरा चर्चित गायक दाजुभाइ सत्यराज र स्वरुपराजले यो पीडा भोगेका छन् । भक्तराजले रेडियो नेपालमा गाएको ‘हजार सपनाहरू’ बोलको गीत उनीहरूले बुबाको स्मरणमा युट्युबमा हाल्न खोजेका थिए । तर, म्युजिक नेपालले कपिराइट दाबी गरेपछि उनीहरूले युट्युबमा हाल्न पाएनन् । 
‘०४३ मा गरेको सम्झौतालाई म्युजिक नेपालले आधार बनाइरहेको छ । सम्झौता नवीकरण भएको छैन,’ स्वरुपराजले नयाँ पत्रिकासँग भने, ‘उसले हामीसँग गीतको कमाइ लुकाउँछ । छद्म रिपोर्ट देखाउँछ ।’ वार्षिक ८–१० हजार दिइरहेकामा केही दिनअघि आवाज उठाएपछि १७–१८ हजारको बिल छ भनेर आमालाई फोनमा जानकारी गराएको उनले बताए । तर, यस वर्षको रोयल्टी नलिएको उनको भनाइ छ । 

त्यस्तै, अम्बर गुरुङ, खेमराज गुरुङको श्रद्धाञ्जली सभामा गाएका गीतको संगीतकार संघले भिडियो बनायो । उक्त गीतलाई युट्युबमा राख्न खोज्दा म्युजिक नेपालले कपिराइट दाबी ग¥यो । त्यस्तै रेडियो नेपालको वार्षिकोत्सवमा नातिकाजी र नारायणगोपालगायतका गीत बजाइएको थियो । यी रेडियो नेपालमै रेकर्ड भएका थिए । तर, कार्यक्रमको भिडियो युट्युबमा हाल्न खोज्दा म्युजिक नेपालले नै कपिराइट दाबी गर्‍यो । गीत अपलोड हुन सकेन । रेडियो नेपाल र रत्न रेकर्डिङमा रेकर्ड भएका पुराना स्रष्टाका गीतको कपिराइट म्युजिक नेपालले कब्जा गरेको छ ।

केही स्रष्टासँग व्यक्तिगत रूपमा सम्झौता गरेको भरमा उसले सर्वाधिकार लिने गरेको स्रष्टाहरूको गुनासो छ । एउटै गीतमा पनि अन्य एक पक्ष गीतकार या संगीतकार या गायकसँग मात्र अनुमति लिएर म्युजिक नेपालले सम्झौता गर्ने गरेको उनीहरू बताउँछन् । त्यही एक स्रष्टालाई पनि ठग्ने गरेको छ । ‘करारको अवधि असीमित, व्यवसाय गर्ने क्षेत्र नतोकिएको, भविष्यमा जस्तोसुकै अवस्थामा पनि मनमौजी हिसाबले बेचबिखन गर्न पाइनेजस्ता सर्त राखेर म्युजिक नेपालले स्रष्टासँग सम्झौता गर्ने गरेको छ,’ संगीतकार वसन्त सापकोटा भन्छन्, ‘करार गर्दा स्रष्टालाई अग्रिम केही रकम दिन्छ, त्यसपछिको हिसाबकिताबको अत्तोपत्तो हुँदैन । स्रष्टाको मुख थुन्न फूलपातीका दिन दसैँ खर्च भनेर केही रकम दिने गरेको छ ।’ 

दुई दशकअघि म्युजिक नेपालले गीतकार यादव खरेलसँग पनि सम्झौता गर्‍यो । खरेलले दुईपटक ३५ सयका दरले रोयल्टी पनि बुझे । त्यसपछि उनले रोयल्टी पाएका छैनन् । खरेलले नयाँ पत्रिकासँग भने, ‘त्यो वेला म्युजिक नेपालसँग एग्रिमेन्ट गर्दा टेप, सिडीमा मात्र ठानेर साइन गरेँ । पछि आउने अन्य प्रविधि पनि भनेर उसले प्रावधान राखेको रहेछ । त्यो अन्य प्रविधि भनेर अहिलेका जम्मै प्रविधिमा राखिरहेको छ ।’ खरेलले कति आम्दानी भयो भनेर म्युजिक नेपालसँग लिस्ट पनि मागे । तर, लिस्ट खाली थियो । खरेल भन्छन्, ‘त्यसवेला मैले गीतकारको हिसाबले साइन गरेँ । निर्माता रेडियो नेपाल र रत्न रेकर्डिङ, संगीतकार, गायकसँग पनि गर्नुपर्‍यो नि । म्युजिक नेपालले एउटा पक्षसँग साइन गर्दा सबै अधिकार लिएँ भनेर भन्न मिल्दैन । यति ठूलो शोषण र अत्याचारको कुनै इतिहास नै छैन ।’ 

संगीतकार संघका संरक्षक लक्ष्मण शेष स्रष्टासँग म्युजिक नेपालले गर्ने करार झुटो भएको प्रमाण आफूहरूसँग भएको बताउँछन् । उनका अनुसार सर्वाधिकार लिनका लागि निर्माता, संगीतकार, गीतकार र गायक गरी चार पक्षको सहमति चाहिन्छ । शेष भन्छन्, ‘लाइसेन्स टु म्युजिक नेपाल भनेर युट्युबमा लेखिएको छ, त्यो सरासर कानुविपरीत हो ।’

रेडियो नेपालले स्रष्टा, कलाकार, प्रस्तोता, वाद्यवादक तथा संलग्न प्राविधिकलाई तलब, भत्ता, पारिश्रमिक तथा अन्य व्यवस्थापकीय खर्च दिएर गीत, नाटक, कथालगायत सिर्जना उत्पादन गथ्र्यो । आफ्नो स्रोत, साधन खर्च गेर प्रवद्र्धन गथ्र्यो । अन्तर्राष्ट्रिय नियमअनुसार त्यस्ता बौद्धिक सम्पत्तिको सर्वाधिकार रेडियो नेपालमा हुन्छ । तर, रोयल्टी र अन्य अधिकारको केही अंश सिर्जनामा आबद्ध सबै स्रष्टामा पनि कायम हुन्छ । त्यस्तै, १ पुसमा रेडियो नेपालले विज्ञप्ति नै जारी गरेर आफूले उत्पादन गरेका गीत, संगीत, नाटकलगायत सामग्री अन्य संस्थालाई व्यावसायिक प्रयोजनका लागि नदिएको जनाएको छ । सम्बन्धित स्रष्टालाई पनि ‘गैरव्यावसायिक कार्यमा प्रयोग गर्नेछु’ भनेर हस्ताक्षर गरेर मात्रै दिने स्पष्ट पारेको छ । 

तर, रेडियो नेपालले रेकर्ड गरेका गीतमा म्युजिक नेपालले कसरी कपिराइट पायो ? रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की कसैलाई प्रतिलिपि अधिकार नदिएको बताउँछन् । ‘हामीबाट कुनै डकुमेन्ट लगेको छैन । हामीले कसैलाई पनि अधिकार दिएका छैनौँ । म्युजिक नेपालले हाम्रो गीत चोरेर लिएको हो भने खोज्छौंँ/खोज्दै छौँ,’ उनले भने ।

म्युजिक नेपालका कार्यकारी निर्देशक सन्तोष शर्मा पनि रेडियो नेपाल र रत्न रेकर्डिङका उत्पादनको प्रतिलिपि अधिकार सम्बन्धित संस्थाबाट नलिएको स्विकार्छन् । धनीसँग प्रतिलिपि अधिकार लिएको उनको भनाइ छ । ‘म्युजिक नेपालले प्रतिलिपि अधिकार धनीसँग लिएर सिर्जना प्रकाशित गरेको हो, यत्रो वर्षसम्म रोयल्टी पनि दिएको अवस्था छ । नातिकाजी, तारादेवी, कोइलीदेवी, रत्नशमशेर थापालगायत स्रष्टासँग हामीले करार गरेर लिएका हौँ,’ उनले भने । 

संगीतकार संघका महासचिव पारस मुकारुङ भने म्युजिक नेपालले धनीसँग पनि प्रतिलिपि अधिकारको करार नगरेको दाबी गर्छन् । ‘कुनै एक पक्षसँग सम्झौता गरेर कसरी प्रतिलिपि अधिकार पाइन्छ ? गीतकार, गायक र संगीतकारमध्ये एक पक्षलाई मात्रै अनेक प्रलोभन देखाएर सहमति गरेको छ,’ मुकारुङले भने, ‘रेडियो नेपाल राज्य हो । राज्यको सम्पत्ति कुनै व्यक्तिले एकलौटी दोहन गर्न पाउँछ ?’ 

संगीतकार संघको दाबीअनुसार अहिले म्युजिक नेपालसँग चानचुन पचास हजारको हाराहारीमा नेपाली गीतसंगीतको कपिराइट छ । म्युजिक नेपालले स्पोर्टीफाइ, नेपस्टर, गुगल प्ले, आई ट्युन्सजस्ता कम्पनीसँग एकलौटी सम्झौता गरेको छ । सम्झौता गर्दाताका नै म्युजिक नेपालले एक हजार डलरभन्दा बढी लिने गरेको प्रमाण भेटिएको संगीतकार संघका एक सदस्यले नयाँ पत्रिकालाई बताए । जुन सम्झौतापत्र रेडियो नेपाल र गीतसँग सम्बन्धित स्रष्टालाई म्युजिक नेपालले देखाउने गरेको छैन ।

गीतसंगीतको रोयल्टी र कपिराइटको विषयलाई लिएर संगीतकार संघका कानुनी सल्लाहकार राम भट्टराईको पहलमा ०७४ मा संगीतकार संघलगायत स्रष्टा सम्बद्ध संस्थाले म्युजिक नेपाललगायत अन्य कम्पनीसँग आठबुँदे सम्झौता गर्‍यो । सम्झौतामा भनिएको थियो– सम्झौता अवधि खुलाउनुपर्ने, कुनै संगीत व्यवसाय गरिरहेको कम्पनीसँग सम्झौता गर्दा पाँच वर्षपछि त्यो करार भंग हुने, पुनः करार नभएमा कपिराइट स्रष्टामै फिर्ता हुने, व्यावसायिक क्षेत्र उल्लेख हुनुपर्ने, व्यावसायिक क्षेत्रबाट प्राप्त हुने प्रतिशत किटान हुनुपर्ने आदि । जुन सम्झौतामा मुख्य उपस्थिति म्युजिक नेपालको थियो । तर, उक्त सम्झौता अहिलेसम्म कार्यान्वयन नभएको सल्लाहकार भट्टराई बताउँछन् । 

‘त्यो सम्झौता अहिले कार्यान्वयन भएको छैन । सम्झौताप्रति म्युजिक नेपाल उदासीन देखियो । उसले सम्झौतालाई कुनै प्राथमिकतामा राखेन । पुरानै शैलीमा व्यवसाय गरिररहेको छ,’ भट्टराईले भने । उनका अनुसार उक्त सम्झौताअघि म्युजिक नेपालले तमसुक शैलीमा स्रष्टासँग करार गर्थे । त्यसमा समयावधि हुँदैनथ्यो । व्यवसायको प्रतिशत, क्षेत्राधिकार हुँदैन थियो । प्रतिलिपि अधिकार म्युजिक नेपालले सम्पूर्ण रूपमा लिन्थ्यो । भट्टराई भन्छन्, ‘तर, सम्झौता गर्दा पनि म्युजिक नेपालले लागू गरेन ।’ 

एनटिसी, एनसेल, स्मार्टसेललगायतमा १३ वर्षदेखि सिआरबिटी र पिआरबिटीमार्फत लाखौँ लाउनलोड भएका छन् । खाडी मुलुकलगायत २८ बढी देशमा आरबिटीका रूपमा व्यवसाय भइरहेको छ । जसबाट कति आम्दानी भयो, स्रष्टा अनभिज्ञ छन् । सो क्षेत्रबाट प्राप्त आम्दानीको कुनै तथ्यांक सार्वजनिक भएका छैनन् । संगीतकार संघका संरक्षक शेष भन्छन्, ‘व्यवसायका नाममा सम्बन्धित सिर्जनाका सबै पक्षहरू (गीतकार, संगीतकार, प्रस्तोता र उत्पादक) सँग कुनै करार नगरी तेस्रो वा अन्य पक्षसँग सम्झौता गरेको छ ।’ उनका अनुसार खाडी मुलुकबाट एउटै गीत आरबिटीका लागि एक सय २५ रुपैयाँसम्म मूल्य तोकिएको छ । त्यसबाट प्राप्त हुने रोयल्टी गुमनाम छ ।

केही वर्षअघि म्युजिक नेपालले लन्डनमा ‘अन डिमान्ड’ भनेर एप्स लन्च गर्‍यो । जहाँ नेपाली गीतसंगीत सबै राखिएको थियो । त्यसपछि अस्टे«लिया, अमेरिकालगायत मुलुकका श्रोतालाई लक्षित गरी ‘म्युजिक नेपाल एभी’ भन्ने एप्स पनि चलायो । त्यस एपमा सर्तहरू थिए– ग्राहक बन्नुपर्ने, प्रत्येक डाउनलोडको पैसा तिर्नुपर्ने । मासिक, वार्षिक ग्राहक योजना पनि थिए । नेपाललक्षित अर्को ‘म्युजिक नेपाल’ नामक एप पनि लन्च गर्‍यो । तर, गीतकार, संगीतकार संघले आवाज उठाउन थालेपछि केही साताअगाडि यी एप बन्द भएका छन् । 

आफ्नै सिर्जनामा स्रष्टालाई नै कपिराइट हानिरहेको म्युजिक नेपाललगायत बिचौलिया कम्पनीले स्रष्टाको अनुमतिविना एउटा गीत पाँच सय ५६ साइट र एप्समा बिक्रीवितरण गरेको प्रमाण प्राप्त भएको संगीतकार शेष बताउँछन् । ‘म्युजिक नेपाल वितरक कम्पनी मात्र हो, निर्माता होइन । अझै नेपाली चलचित्रका गीतबारे त निर्माताहरू बोल्नै सकेका छैनन्,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्