वेष्टह्याम युनाईटेड र टोटनह्याम हट्सपरबीचको खेल बराबरी

काठमाडौं, २१ पुस– इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेडले बराबरीमा चित्त बुझाएका छन् ।  टोटनह्यामको मैदानमा भएको लण्डन डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । 

खेलको ७० औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए पनि खेल सकिन ६ मिनेट बाँकी छँदा टोटनह्यामका हिउङ मिन सनले गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । यो बराबरीपछि टोटनह्याम हट्सपर २२ खेलबाट ४१ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा कायम छ । २२ खेलबाट २२ अंक जोडेको वेष्टह्याम भने १५औं स्थानमा छ ।

इंग्लिश प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने ४६ अंक जोडेको चेल्सी तेस्रो तथा ४४ अंक जोडेको लिभरपूल चौंथो स्थानमा रहेको छ ।
 

पुस २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार