दुःखीमाथि ‘दैव’को बज्रपात : आमा क्यान्सरसँग लडिरहँदा जीवनमरणको दोसाँधमा हिमाली

पुस २५, २०७४

काठमाडौं, २५ पुस–  ठूलो आन्द्रा, हामीले खाएको खाना पचाउने शरीरको महत्वपूर्ण अंग । ठूलो आन्द्राले पानी सोस्ने, दिसा बनाउने काम पनि गर्छ । यदि शरीरमा यही महत्वपूर्ण अंग भएन भने कस्तो होला ? 

रुकुमको उत्तरगंगा गाउँपालिका– १८ तक्सेराकी १५ वर्षीया हिमाली बुढा मगर पेटको सानो र ठूलो आन्द्रा काटिएर जीवनमरणको दोसाँधमा छिन् । 


ललितपुरको पाटन अस्पतालको बेड नम्बर १४८ मा पल्टिरहेकी हिमालीको पेटमा ठूलो प्वाल पारिएको छ । पेटमा पारिएको प्वालमा ब्याग जोडिएको छ । त्यही ब्यागमा दिसा–पिसाब जम्मा हुन्छ ।  

परिवारकी जेठी छोरी हिमाली गत कात्तिक १७ गते टिप्पर दुर्घटनामा परेर यस्तो अवस्थामा पुगेकी हुन् । आमालाई पाठेघरको क्यान्सर भएको छ । उनकी आमाको केही दिन अगाडि मात्रै भक्तपुर क्यान्सर अस्प्तालमा अपरेशन भएको थियो । आमाको कुरुवा बसेका बुवा आउन नसक्ने अवस्थाका भएकाले फुपु राममाया बुढामगर पाटन अस्पतालमा हिमालीको कुरुवा बसिरहेकी छिन् । 

‘हिमालीको आमा पनि पाठेघरको क्यान्सर भएर भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । एक साता अघि मात्रै अपरेशन गरीएको छ । बुबाआमा नै क्यान्सर अस्पतालमा छन्,’ फुपु राममायाले लोकान्तरसँग भनिन्, ‘घरमा उसको दुईजना साना साना भाईहरु मात्रै छन् ।  यहाँ औषधिहरु ल्याउने, हेरचाह गर्ने कोही नभएर म आएको । मेरो नि घरमा बच्चाहरु छन् । दिउँसोमा म आउँछु । बेलुकामा एकजना बहिनीलाई पठाउँछु ।’

मलिन अनुहारमा अस्पतालको शैय्यामा सुतिरहेकी हिमालीले दुर्घटनामा घाइते भएर नेपालगञ्जमा उपचार हुन नसकेपछि गत कात्तिक २७ गतेदेखी पाटन अस्पतालमा भर्ना भएको बताइन् । 

‘दुर्घटनामा परेर मेरो आन्द्रा नै बाहिर निस्किएको थियो । नेपालगञ्जमै अपरेशन भएको हो, घाउ पाकेपछि यहाँ ल्याउनुभयो,’ पेटमा अपरेशन गरेको घाउ देखाउँदै हिमालीले भनिन्, ‘मेरो आन्द्राबाटै दिसा निस्कन्छ । बेलाबेलामा दुख्छ ।’

************************

रुकुमको उत्तरगंगा गाउँपालिका १८  तक्सेराकी हिमाली बुढा मगर महेन्द्र उ.मा.विमा आठ कक्षामा पढ्दै थिइन् । हिमालीको आमा धनपुरा बुढा मगरलाई पाठेघरको क्यान्सर भएर गत साउन महिना उपचारका लागि काठमाडौं ल्याइयो । आमालाई उपचारको लागि काठमाडौं ल्याइएपछि हिमालीले आफ्ना दुई भाईहरुको स्याहार गर्ने गर्थिन् । 

घरमा साना भाइहरुको हेरचाह गर्दै रुकुममै बसेकी हिमाली आमालाई निको बनाएर कहिले ल्याउलान् भनेर सोच्दै बस्थिन् । विकट बस्तीमा रहेको विद्यालय भएकाले सरकारले हिमाली पढ्ने गरेको विद्यालयमा पढ्ने बालबालिकाको लागि दिउँसोको खाजा खाने व्यवस्था गरेको छ । सरकारले पठाएको खाजा समय समयमा  लिन क्युबाङमा जानुपर्थ्यो ।

विद्यालयबाट पैदल हिँडेर एक घण्टामा पुगिने क्युवाङमा खाजा लिन विद्यालयले स्कुलमा पढ्ने विद्यार्थीलाई नै  पालै–पालो पठाउने गरेको थियो । जान नसक्ने साना विद्यार्थी भएमा उनीहरुका अभिभावकले खाजा स्कुलसम्म ल्याइदिनु पर्ने हुन्थ्यो ।
 
गत कात्तिक १७ गते शनीबारको दिन । त्यो दिन स्कुलबाट खाजा लिन क्युबाङ जाने पालो हिमालीको थियो । उनी र उनकै घर नजिकै रहेकी एकजना छिमेकीसँग उनी तक्सेराबाट स्कुलको खाजा लिन क्युवाङ पुगिन् । 

क्युबाङवाट घर फर्र्कने क्रममा बाटोमा ट्रिपर भेटियो । खाजाको  भारी बोक्न नपर्ने भयो भनेर उनी खुसी भइन् । छिमेकी दिदी उनका छोराछोरीको खाजा लिन जाने पालोमा गएको हिमालीले बताइन् ।
 
‘ट्रिपर आएपछि हामी खुसी हुँदै त्यसैमै चढेर घर फर्कियौं । जादाँ घर म, छिमेकी दिदी र स्कुलकै शिक्षक पनि हुनुहुन्थ्यो । म दिदीको काखमा सुतेको थिए । मैले सर र दिदी कुरा गरीरहेको आवाजमात्रै सुनिरहेको थिए । सरले हामीलाई ‘स्कुलसम्मै जाने कि घरमाथि’ झर्ने भनेर सोध्दै हुनुहुन्थ्यो । घरबाट करीब पाँच मिनेट टाढा डाडामा पुगिसकेका थियौं हामी । एक्कासी ट्रिपर पल्टियो,’ उनले त्यो दिनको घटना सम्झदै लोकान्तरलाई भनिन्, ‘म होसमा आउँदा नेपालगञ्ज अस्पतालको आइसीयूमा रैछु । मलाई सपना जस्तै लाग्यो । मेरो पेटमा अपरेशन गरिएको थियो । पछि थाहा भयो हामीसँगै ट्रिपरमा हुनुभएको सरको त मृत्यु भएछ ।’

उनले भावुक हँुदै भनिन्, ‘त्यो दिन बरु हिँडेरै गएको भए, सर पनि वित्नुहुन्न थियो, मेरो आज यस्तो अवस्था हुँदैन थियो ।’

हिमाली हरेक दिन भाईहरुलाई सँगै लिएर स्कुल जान्थिन् । दुर्घटनामा परेपछि उनी त स्कुल जान सकेकी छैनन् नै उनका दुई भाइहरुले पनि पढ्न पाएका छैनन् । 

‘आमा पनि बिरामी भएर अस्पतालमा हुनुहन्छ, बुवा पनि आमालाई कुर्न झक्तपुर अस्पतालमै हुनुहुन्छ,’ गाउँमा रहेका आफ्ना भाईहरु सम्झदै हिमालीले भनिन्, ‘आमाबुवा नहुँदा मैले नै हेरचाह गर्थें । म त विरामी भएर स्कुल जान पाइन । अहिले त भाईहरु पनि स्कुल गएका छैनन् रे, आफन्तहरुले हेर्न हेर्छन कि हेर्दैनन्, कहाँ कसरी बसेका छन् थाहा छैन । आमा पनि अस्पतामा, म पनि अस्पतामै छु ।’ आफ्नो परिवारको अवस्थालाई सम्झर्दै उनले आँसु झारिन् ।

रुकुममा पनि उनीहरुको घर छैन । आमालाई साउनदेखि अस्पतालमा राख्दा धेरै खर्च भएको चिन्ता छ हिमालीलाई  । आफ्नो उपचारमा भएको खर्चको हिसाव गर्दै मुर्छित हुन्छिन् उनी । 

बुवाआमा नै  भक्तपुरको क्यान्सर अस्पतालमा भए पछि उनकी फूपले औषधि ल्याइदिन्छिन् । औषधिको पैसा पनि अस्पतालको बिलमा जोडिएको छ । 

लोकान्तरसँग कुराकानी गर्दै गर्दा हिमालीले क्यान्सर अस्पतालमा रहेकी आफ्नी आमासँग पनि फोनमै कुराकानी गरिन् । केही समय आमासँग कुराकानी गरेपछि उनले हामीलाई उनकी आमासँग पनि कुराकानी गर्न आग्रह गरिन् । 

हिमालीकी आमाले हामीसँग फोनमै भनिन्, ‘गत सोमबार मेरो पाठेघरको अपरेशन भयो । मेरो पेटबाट १३ किलो फोहोर निकाल्नुभयो डाक्टरले ।’

‘कस्तो छ अहिले तपाईको अवस्था ?’ हामीले हिमालीको आमाको स्वास्थ्य अवस्थाको विषयमा फोनमा नै जानकारी लियौं ।

‘अपरेशन गर्नुअघि पेट सुन्नीएर निकै ठूलो भएको थियो । बाँच्छु जस्तो लागेको थिएन । अपरेशन भएपछि चै बाँचिन्छ कि भन्ने आसा लागेको छ । जिउ त हलुका भयो । तर उपचार गर्दाको ऋण नै ऋणले मनलाई निकै गह्रौं बनाएको छ । कसरी पो तिर्नु ?’
हिमालीकी आमा धनपुराले आफ्नो उपचारमा १० लाख जति खर्च भइसकेको र सबै आफन्तहरुसँग ऋण र सहयोग मागेर उपचार गरेको सुनाइन् । 

‘खेती–किसानी गरेर बालबच्चा बढाउने र जसोतसो दिनहरु चल्दै आएको थियो । मेरो उपचारमा मात्रै १० लाख खर्च भइसक्यो, छोरीको पनि कति भएको छ अस्पतालमा बिल जम्मा भएर बसेको होला । बुढाले कमाउन सक्दैनन्, गाउँमा हुदा पनि रक्सी मात्रै पिउँथे । यहाँ मेरो अपरेशन गर्दा बुढा आउनुपर्ने भएर आएका हुन् । आमाजुले गाउँघरबाट ऋण खोजीदिएर उपचार गराइराछौं,’ लोकान्तरसँग हिमालीकी आमा धनपुरा बुढा मगरले आफ्नो दुःख पोखिन्, ‘आमाछोरीकै अस्पतालको बास भयो । दुःखले घेरेपछि कस्को के लाग्छ र गाउँमा छोराहरुको अवस्था कस्तो छ पनि थाहा छैन ।’

टिप्पर दुर्घटनामा छोरीको यस्तो अवस्था भएपनि टिप्परवालाले उपचार खर्चमा सहयोग नगरेको उनले सुनाइन् । 


दैनिक छाक टार्न समेत धौ–धौ पर्ने हिमालीको परिवारले एकैपटक ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ । उपचार नगरी बाँच्न सकिदैन, उपचार गर्न पैसा छैन । बाल्यावस्थामै ठूलो चोट सहन बाध्य हिमाली उपचार सकिएर घर फर्किन चाहन्छिन् । आफ्नो उपचारका लागि कुनै मनकारी व्यक्तिले सहयोग गर्लान् भन्ने आसमा बसेकी छन् उनी । उनको उपचारमा सहयोग गर्न चाहने मनकारी व्यक्ति तथा संस्थाले हिमालीको मोबाइल नम्बर ९८१३४४४५३६मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै हिमालीकी आमा धनपुरा बुढामगरलाई  ९७४८११३६०८मा सम्पर्क गर्न सकिने छ ।  

पुस २५, २०७४ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार