नेपाल-भारत प्रबुद्ध समूहको बैठक सम्पन्न, के भयो सहमति ?

काठमाडौं, २८ पुस – नेपाल भारतबीचको सम्बन्ध तथा सन्धी पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको छैठौं बैठक शुक्रवार भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठक सन्तोषजनक रुपमा सम्पन्न भएको प्रबुद्ध समूहका नेपाली सदस्य नीलम्वर आचार्यले जानकारी दिए । 

‘ईपीजी छैठौं बैठक सन्तोषजनक रूपमा आज सम्पन्न भयो’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । बैठकमा सन् १९५० को सन्धिलगायत नेपाल र भारतबीच भएका अरु सन्धी, खुला सिमाना, व्यापारलगायका समग्र विषयमा छलफल भएको थियो । 

अब दुईवटा मात्र बैठक बस्ने र प्रतिवेदन लेखनको काम सुरु हुने प्रबुद्ध समूहका सदस्यहरुले जनाएका छन् । भारत प्रस्थान गर्नुअघि प्रबुद्ध समूहका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका थिए ।

प्रबुद्ध समूहमा नेपालका तर्फबाट भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय, राजन भट्टराई र आचार्य सदस्य छन् । भारतका तर्फबाट भगतसिंह कोशियारी लगायत सदस्य छन् । 
फाइल तस्वीर
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस