त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]

गुम्दै राराब क्याम्पसको साख, निजी कलेज चलाउँछन् प्राध्यापक

चैत ७, २०७४

जनकपुरधाम, ७ चैत-कुनै समय रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरधाम त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसहरूमध्ये चर्चित र प्रतिष्ठितमा एक मानिन्थ्यो । उक्त क्याम्पसमा पढ्नका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, रौतहट, बारा र पर्सासम्मका विद्यार्थीहरू आउने गर्थे ।

खास गरी विज्ञान संकायको पढाइमा देशैभरीकै अब्बल मानिन्थ्यो । विज्ञान संकायको प्रविणता प्रमाणपत्र तह ‘आईएससी’ यस क्याम्पसको हाइलाइट फिचरहरूमध्ये एक थियो । प्रत्येक वर्ष मेडिकल, इञ्जिनियरिङ आदि निकायमा जनकपुरका विद्यार्थीले इन्ट्रान्स परीक्षामा राम्रो अंकसहित छात्रवृत्ति प्राप्त गर्थे । बीएस्सी, एमएस्सीमा टप गर्ने विद्यार्थीहरू राराबकै प्रोडक्ट हुन्थे । जनकपुरका विद्यार्थीलाई काठमाडौंमा पनि ‘राम्रो विद्यार्थी’को रूपमा लिइन्थ्यो । कुनै पनि विद्यार्थी आफू राराब क्याम्पस जनकपुरको प्रोडक्ट हो भन्दा राम्रै सम्मान पाउँथ्यो ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, उपाध्यक्ष वृषेशचन्द्र लाल, कांग्रेस नेताहरू मोहन बराल, उज्वल बराल, सर्लाहीका कांग्रेस सभापति हरेश महतो, कांग्रेस धनुषाका सभापति रामसरोज यादव, नेता प्रफुल्ल घिमिरे, ललन चौधरी, युवराज खातीलगायत विभिन्न पार्टीका नेताहरूसमेत राराब क्याम्पसकै ‘प्रोडक्ट’ हुन् । उक्त क्याम्पसबाट उत्तीर्ण भएका विद्यार्थीहरू देशकै शासन सत्ता चलाउने नेतादेखि सफल प्रशासकसमेत भएका छन् ।

राराबको तह घटुवा

विगतका तमाम सफलताका कथा अब इतिहासका पानामा मात्र सिमित भइसकेको छ । अहिलेको अवस्थामा उक्त क्याम्पसको नाम लिनेवित्तीकै विद्यार्थीको समेत नकारात्मक मूल्याङ्कन हुन थालेको छ । किनभने उक्त कलेजमा पढाइलेखाइ हुँदैन । विद्यार्थीहरू पनि अब बढी छैनन् ।

२०५३ सालमा उक्त क्याम्पसमा सबैभन्दा बढी १५ देखि १७ हजारसम्म विद्यार्थीहरू भर्ना भएका थिए । ५ हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पस ‘क’ वर्गमा पर्दछन् । भौतिक पूर्वाधारका हिसाबले पनि राराब क्याम्पस सम्पन्न नै मानिन्छ । तर अहिले २ हजारदेखि साढे २ हजारसम्मको बीचमा विद्यार्थीहरू भर्ना भएका छन् । त्यसकारण क्याम्पसको वर्गमासमेत घटुवा भएको छ ।

२०६६ सालदेखि उक्त क्याम्पस ‘क’ बाट ‘ख’ वर्गमा झरेको छ । त्रिभुवन विश्व विद्यालयबाट पीसीएल फेजआउट गरेपछि प्रविणता प्रमाणपत्र तहका विद्यार्थीहरू घट्नु विद्यार्थी संख्यामा कमी आउनुको कारण रहेको क्याम्पस प्रमुख प्राध्यापक विजयलाल दास बताउँछन् । स्नातक र स्नातकोत्तरका विद्यार्थी पनि निजीतिर सरेका छन् ।

२०६५ देखि २०७२ सालसम्मको बीबीएस प्रथम वर्षको भर्ना दर हेर्ने हो भने ६ सय ६२ देखि १ सय ८८ मा झरेको छ । त्यसैगरी २०६७ सालदेखि २०७१ सालसम्म एमबीएस प्रथम वर्षमा विद्यार्थी भर्ना संख्या हेर्ने हो भने ४ सय १६ बाट ३ सय ४५ मा झरेको छ । तुलनात्मकरूपले बीबीएसभन्दा एमबीएसमा विद्यार्थी संख्या बढी हुनुको कारण एमबीएस तहको पढाई निजी क्षेत्रका सिमित कलेजमा मात्र हुन्छन् ।

२०६६ सालमा एमए अर्थशास्त्रको प्रथम वर्षमा ९२ जना विद्यार्थी भर्ना भएका थिए भने २०७१ सालमा आएर २५ मा झरेको थियो । त्यसैगरी एमएड प्रथम वर्षमा २०६७ सालमा ६४ जना विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर ३६ मा खुम्चिएको थियो । एकवर्षे बीएडकै कुरा गर्ने हो भने २०६८ सालमा ९१ जना नयाँ विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर ६ जना विद्यार्थीहरू मात्र भर्ना भएका थिए ।

एमए नेपालीकै कुरा गर्ने हो भने २०६७ सालमा प्रथम वर्षमा १६ जना विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर २ जनामा खुम्चिएको छ । त्यसैगरी एमए समाजशास्त्रमा प्रथम वर्षमा २०६७ सालमा १ सय ३ जना विद्यार्थीहरू नयाँ भर्ना भएका थिए भने २०७१ सालमा आएर विद्यार्थी संख्या २४ मा सिमित भएको थियो ।

एमए राजनीतिशास्त्र प्रथम वर्षमा २०६६ सालमा ९६ जना विद्यार्थीहरू थिए भने २०७१ सालमा आएर ४८ मा खुम्चिएको थियो  । यी सबै कुराले के देखाउँछ भने राराब क्याम्पसमा विद्यार्थी भर्ना हुने संख्या प्रतिवर्ष घट्दै गएको छ । यही क्रम निरन्तर रहे भने केही वर्षमै राराब क्याम्पसको भवन त रहने छन् तर त्यहाँ पढ्ने एउटा विद्यार्थी पनि पाउन गाह्रो छ ।

निजीमुखी प्राध्यापक

विद्यार्थी पढाउने उपप्राध्यापकदेखि प्राध्यापकसम्मको संख्यामा पनि कमी छैन । एकजना कर्मचारीका अनुसार उक्त क्याम्पसमा करीब १ सय ७५ जना जति उपप्राध्यापक कार्यरत छन् । जसमध्ये विज्ञान संकायअन्तर्गत करीब ७५ जना, व्यवस्थापन अन्तर्गत करीब २५ जना र मानविकीतर्फ करीब ४० जना स्थायी दरबन्दी भएका उपप्राध्यापक कार्यरत छन् । त्यसैगरी आंशिक र करारतर्फ पनि थुप्रै उपप्राध्यापकहरू कार्यरत छन् । तिनीहरूको काम भनेको क्याम्पसमा जाने, हाजिरी बनाउने र तलब पकाउनेमा मात्र सिमित छ ।

विद्यार्थीहरूले त्यहाँ जतिसुकै गुनासो गरे पनि पढाइ हुँदैन । किनभने ती कलेजमा काम गर्ने उपप्राध्यापकहरू जागिर त राराब क्याम्पसको गरे पनि काम भने निजी कलेजका लागि गरिरहेका हुन्छन् । मुख्य कुरा के हो भने राराब क्याम्पसका उपप्राध्यापकहरूले नै बाहिर निजी कलेज सञ्चालन गरेका छन् भने राराब क्याम्पसमा पढाउने कुरै आउँदैन ।

विनोद साह व्यवस्थापन विषयका सहप्राध्यापक र मुक्तिनाथ साह रशायनशास्त्र विषयका उपप्राध्यापक हुन् । यी दुवैजना निजी कलेज नेशनल एकेडमी र सिटी कलेजका सञ्चालक पनि हुन् । किशोरी नायक मानविकी संकायका लागि राराब क्याम्पसको सहायक क्याम्पस प्रमुख नै हुन् । अंग्रेजी विषयका उपप्राध्यापक नायक निजी क्षेत्रमा गौरी क्याम्पस सञ्चालन गरेका छन् । नायक त मानविकी संकायका सहायक क्याम्पस प्रमुख नै हुन् ।

सदन भगत राराब क्याम्पसका व्यवस्थापन विषयका उपप्राध्यापक हुन् । उनी पनि निजी क्षेत्रमा न्यू इङ्गलिस प्लस टू क्याम्पसका सञ्चालक हुन् । विनोद साह तथ्याङ्क शास्त्र विषयका राराब क्याम्पसका उपप्राध्यापक हुन् । उनी पनि बाहिर मिट क्याम्पसका सञ्चालक छन् । सञ्जिव सिंह बोटनी विषयका उपप्राध्यापक हुन् । उनले पनि न्यू मिलेनियम कमर्स क्याम्पस सञ्चालन गरेका छन् ।

यी त केही उदाहरण मात्र हुन् । राराब क्याम्पसमा पढाउने उपप्राध्यापक, सहप्राध्यापकदेखि प्राध्यापकसम्म कि त बाहिर निजी कलेजका सञ्चालक छन् कि त निजी कलेजमा पढाउँछन् । प्राध्यापक संघका अध्यक्ष जुगेश्वर साहका अनुसार त्रिभुवन विश्वविद्यालयबाट इजाजत लिएर नै निजी विद्यालयमा काम गर्ने तथा सञ्चालन गर्ने गरेका छन् । तर राराब क्याम्पसमा जुन सिफ्टमा ड्यूटी हुने हो त्यो सिफ्टबाहेक मात्रै बाहिर निजीमा काम गर्नुपर्नेमा त्यस्तो नभएको उनले बताए । त्यस कामका लागि क्याम्पस प्रशासनले अनुगमन समिति पनि बनाएको छ, तर न त कहिल्यै अनुगमन हुन्छ न त कारबाही नै ।

१० हजारसम्म तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने

राराब क्याम्पसमा २०६३ को मधेस आन्दोलनपश्चात परीक्षामो चिट चोर्नु त आम विषय भइसकेको छ । परीक्षार्थीहरू किताब, गेस, गाइड आदि टेबुलमै राखेर नक्कल गर्नुलाई आफ्नो अधिकार ठान्छन् । यहाँसम्म कि ५ हजारदेखि १० हजार रूपैयाँसम्ममा बाहिर उत्तर पुस्तिका लेखाउने र गार्ड तथा शिक्षकहरूलाई मिलाएर सोही उत्तरपुस्तिका परीक्षा हलमा प्रवेश गराउने धन्दा नै चलेको छ ।

उक्त धन्दा चलाउनमा विद्याथी नेताहरूदेखि क्याम्पसका कर्मचारीहरूसम्मको मिलोमतो हुन्छ । विद्यार्थीभन्दा पनि अन्य ठाउँमा जागिर गर्ने नेपाल सरकारका कर्मचारीहरूले अमर्यादित परीक्षाको बढी लाभ उठाएका छन् । बढुवाका लागि सर्टिफिकेट आवश्यक पर्ने र सर्टिफिकेटका लागि राराबमा परीक्षा दिने प्रवृत्तिको फाइदा स्थानीयस्तरका नेताहरूदेखि सुरक्षाकर्मी, निजामती कर्मचारीहरू समेतले उठाएका छन् । त्यसकारण पनि संस्थागत बनेको अमर्यादित परीक्षा अब विद्यार्थीहरूको नैसर्गिक अधिकार जस्तै बनेको छ । प्रत्येक वर्ष करीब १ सयदेखि १ सय ५० जनासम्म विद्यार्थीहरूलाई निष्काशनसमेत गरिन्छ ।

नेपाल प्राध्यापक संघ राराब क्याम्पस इकाई कमिटीका अध्यक्ष जुगेश्वर साहका सहायक क्याम्पस प्रमुख छँदा उनले अमर्यादित गतिविधि रोक्न पहल गरेका थिए । २०६८ सालमा उनले राराब क्याम्पसमा परीक्षा दिइरहेका २ हजार ४ सय ४० जना परीक्षार्थीमध्ये अमर्यादित गतिविधिमा संलग्न १ हजार १ सय ५५ जनालाई निष्कासन गरे । १ वर्षका लागि प्रतिबन्धसमेत लगाए । ‘त्यसपछि त मलाई ज्यान मार्ने, काटिदिनेसम्मका धम्कीसहितका फोन आए । बिचलित नभई प्रयास गरिरहेँ, तर सफल हुन सकिन,’ उनले भने ।

क्याम्पस प्रशासन एक्लैले परीक्षा मर्यादिन बनाउन सक्ने अवस्था नरहेको उनी बताउँछन् । ‘अहिले विगतमा जस्तो बाहिरबाट उत्तरपुस्तिका नै लेखेर ल्याउने काममा त कमी आएको छ, तर पनि मोबाइलमापÞर्mत चिट चोराउने काम भइरहेको छ, क्याम्पस प्रशासनले एक्लै नियन्त्रण गर्न सक्दैन, त्यसका लागि जनकपुरकै समाज तयार हुनुपर्छ ।’

पढाइ नै नहुने यस क्याम्पसका विद्यार्थी राम्रो अंक ल्याएर उत्तीर्ण हुने गरेका छन् । २०६५ सालमा बीबीएस प्रथम वर्षमा ८ सय ५७ जना परीक्षर्थी सहभागी भएकोमा ४ सय ९५ जना उत्तीर्ण भए । २०६७ सालमा एमए प्रथम वर्षमा २१ जना परीक्षार्थीमध्ये १५ जना उत्तीर्ण भए । परीक्षामा कुनै एक दिन कडाइ हुँदा केही विद्यार्थी फेल हुने गरेका हुन् । परीक्षा हलमा गएर हेर्‍यो भने कुनै पनि परीक्षार्थीले कतैबाट नसारी १५ मिनेसम्म पनि कलम चलाउन सकेको देखिन्न ।

दाताको सहयाेग खेर

राराब क्याम्पसको स्थापनामा रामसागर र रामस्वरूप साहको ठूलो योगदान छ । क्याम्पस प्रमुखको कार्यकक्षमा ती दुवै जनाको तस्वीर पनि झुन्डयाइएको छ । विक्रम सम्वत् २००४ सालमा जनकपुरमा सरस्वती माध्यमिक विद्यालय स्थापना गरेपछि सकलीदेवी साहले छोराहरू रामस्वरूप र रामसागरलाई छात्रा पाठशाला समेत खोल्न सुझाएकी थिइन् । मावि स्थापनासँगै जनकपुरमा पहिलो कलेज खोल्ने तयारीमा रहेका साह दाजुभाइले त्यसको चार वर्षमा कलेज र ६ वर्षमा कन्या मावि निर्माण गरेर आमाको चाहना पूरा गरे, आवश्यक नगद र जग्गा दानसहित ।

त्यसको एकदशकभित्र यो परिवारले छात्रावास र सरस्वती मन्दिर निर्माण गरेर क्याम्पस सञ्चालनका लागि थप ७५ बिघा जग्गा समर्पण गर्‍यो । रामस्वरूप र रामसागर दाजुभाइले २००१ सालमै धर्म संस्था ट्रष्ट खडा गरी रु. १० हजार १ नगद र ३०० बिघा जमिन राखेर दानपुण्यको गतिविधि शुरू गरेका थिए । त्यो ट्रष्टबाट जनकपुरमा धर्मशाला, अञ्चल अस्पतालको प्रसूति विभाग, बाल विभागलगायत अनेकौं काम भए । सफल उद्योग÷व्यवसाय गरेर समाजसेवामा पनि कीर्ति राख्नेमा पर्छ, जनकपुरको रामस्वरूप र रामसागर साह परिवार, जसले राणाकालमै दानदातव्यको संस्कृतिलाई संस्थागत रूप दियो ।

पढ्नुहोस् [भाग १] : नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् 

चैत ७, २०७४ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस