२०६१ साल माघ १९ को ‘Royal Coup’ (शाही कु) पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक अधिकारीलाई प्रमुख सञ्चार माध्यमहरूमा खटाए । समाचार सामग्रीमाथि नियन्त्रण/निगरानी गर्न लगाए । त्यसबेला म कान्तिपुर टेलिभिजनमा काम गर्थें । बिहान १० नबज्दै पोशाकधारी सैनिक अधिकारीहरू बन्दुक बोकेर समाचार कक्षमा छिरे । ‘के–के लेख्दै हुनुहुन्छ ? हामीले हेरेपछि मात्र प्रसारण गर्न मिल्छ, नत्र मिल्दैन’ भन्न थाले । स्वतन्त्र पत्रकारिताको अवशेष बाँकी रहेन । राजनीतिक गतिविधिका समाचारमा पूरै प्रतिबन्ध लगाइयो । समाचारका लागि खोज्नुपर्ने भयो – सामाजिक विषय ।
कान्तिपुर टेलिभिजनका तत्कालीन समाचार उप–प्रमुख सोहन श्रेष्ठको अगुवाइमा भोलिपल्ट समाचारकक्षमा बैठक बस्यो । र, हामी संवाददाताहरूलाई भनियो – ‘अब केही दिन दुःख हुन्छ । यो क्षण हामीले संयमता अपनाउनुपर्छ । समाचारका लागि राजनीतिक गतिविधि होइन, सोसियल इस्युज् (सामाजिक विषय) खोज्नुपर्छ ।’
इँटाभट्टा रिपोर्टिङ
अनि शुरु भयो सामाजिक विषय खोज्ने अभियान । एउटा रोचक घटना याद छ मलाई । सामाजिक विषय खोज्दै माघ १९ को पर्सिपल्ट म कान्तिपुर टेलिभिजनका तत्कालीन क्यामेरापर्सन राजु तिमल्सिनालाई लिएर भक्तपुरको जगाती पुगें । राजु र मैले सँगै बसेर खाजा खाँदै थियौं । हामीले खाजा खाइरहेको स्थानको ठ्याक्कै अघि इँटाभट्टाबाट धूवाँको बाक्लो मुस्लो उडिरहेको थियो । ‘इँटाभट्टा कसरी चलिरहेका छन् ? किन यस्तो धूवाँ उडाउँछन् ? त्यहाँ कतिले काम गर्छन् र मजदुरले कति कमाउँछन् ? भन्ने बारेमा रिपोर्टिङ गरौं न हुन्न, राजु ?’ मैले भनें ।
राजुले तत्कालै भने – ‘यो समाचार ठीक हुन्छ, बेलुकालाई । अरू बज्दैन, अनि इँटाभट्टाको नगरेर के गर्नु ?’ ठट्यौली पारमा राजुले उक्सायो मलाई । राजुको बानी प्रायः ठट्टा गर्ने खालको थियो । ऊ अहिले अमेरिका पसेको छ । त्यसपछि हामी भक्तपुरको जगातीवरिपरि रहेका इँटाभट्टातर्फ लाग्यौं । दिउसो २ बजेतिरको समय । त्यहाँ काम गर्ने मजदुरहरूलाई भेट्यौं ।
मुलुकमा कु भएको विषयमा उनीहरूमध्ये अधिकांश बेखबर थिए । केहीले चाहिँ ‘खै, बाटोभरि सेना र पुलिस हिँडिरहेका छन्, एम्बुलेन्सको जस्तो आवाज भएका सेनाका गाडी दगुरेको दगु–यै छन्, किन होला, सर ?’ भनेर प्रश्न गरे । एकघण्टाजति इँटाभट्टाको शूटिङ र रिपोर्टिङपछि हामी कार्यालय फर्क्यौं ।
म सिधै सोहन श्रेष्ठको कोठामा छिरें र भनें, ‘राजु र मैले इँटाभट्टासम्बन्धी रिपोर्टिङ गरेर आयौं । त्यहाँ काम गर्ने मजदुरसँग पनि कुराकानी भयो । प्याकेज (न्यारेसन र फूटेज कम्पाइल गरेर बनाइने टेलिभिजन रिपोर्ट) बनाऊँ ?’ अचम्म लाग्नेगरी खुशी देखिनुभयो सोहन दाइ त्यो क्षण । शायद साँझ के बजाउने होला भन्ने चिन्ता थियो उहाँमा ।
अक्सर राजनीतिक समाचारले मुख्य स्थान ओगट्ने कान्तिपुर टेलिभिजनको समाचार बुलेटिनमा त्यो साँझ इँटाभट्टाको रिपोर्ट मुख्य समाचारका रूपमा प्रसारण भयो । झण्डै चार मिनेट जतिको प्याकेज थियो त्यो । फरक अनुभूति भयो त्यो साँझ । प्रायः भ्रष्टाचार, कर्मचारीतन्त्र र न्यायालयसँग सम्बन्धित रिपोर्टिङ गर्ने मैले जीवनमा इँटाभट्टाको रिपोर्टिङ गर्नुपर्ने दिन आउला भनेर शायदै सोचेको थिएँ । तर त्यो बाध्यताको उपज थियो । र, त्यस्तो बाध्यता कान्तिपुर टेलिभिजनमा काम गर्ने सबै पत्रकार साथीहरूको थियो । सिंगो व्यवस्थापनको थियो । अझै भनौं सिंगो पत्रकारिताले भोगेको नियतिको एउटा तीतो क्षण थियो त्यो । अधिकांश सञ्चारमाध्यमले शाही कुपछि स्वतन्त्र ढंगले काम गर्न नपाउँदाको परिणाम थियो त्यो । विश्वका अन्य धेरै मुलुकमा पनि त्यस्ता घटना हुन्थे भनेर इतिहास पढिन्थ्यो । पछि आफैंले भोगियो । पढ्दा र भोग्दाको अनुभूति फरक नहुने कुरै थिएन ।
केही हप्ता सैनिक अधिकारीको प्रत्यक्ष निगरानी र नियन्त्रणमा समाचार बज्यो कान्तिपुर टेलिभिजनमा । कतिसम्म भने पोशाकधारी सैनिक अधिकारी कान्तिपुर टेलिभिजनको स्टुडियोसम्मै पुग्थे समाचार प्रसारण हुने बेलामा । समाचारकक्षबाट उनीहरूले पास गरेका समाचार स्टुडियोमा पुगेर कतै फेरिने पो हुन् कि भन्ने चिन्ता थियो शायद उनीहरूमा । प्रायः सबै समाचारमाध्यमहरूको हविगत लगभग उस्तै थियो ।
शाही आयोग
सैनिक अधिकारीहरू क्रमशः समाचारकक्षबाट हट्दै गए । मुलुकका प्रमुख राजनीतिक दलका प्रायः सबै शीर्ष नेताहरू या त पक्राउ परेका थिए, या नजरबन्दमा थिए । एकथरी व्यापारी तत्कालीन राजाको भजन गाइरहेका थिए – माइतीघर मण्डलामा भेला भएर दीपावली गर्दै । पत्रकारहरू आक्रोशित थिए तर पनि खुल्न सकिरहेका थिएनन् । विभिन्न पेशा, व्यवसाय र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू राजाको कदमबाट आक्रोशित थिए तर खुलेर बोल्न सकिरहेका थिएनन् । त्यही मेसोमा ज्ञानेन्द्रले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै ‘भ्रष्टाचार नियन्त्रण शाही आयोग’ गठन गरे । २०६१ फागुन ५ गते उक्त आयोग गठन भयो । संसारमा कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै असीमित अधिकार दिइयो त्यस आयोगलाई । आफंैले भ्रष्टाचारको उजुरी लिने र छानबिन गर्ने, आफंैले मुद्दा चलाउने र आफंै ती मुद्दाको फैसला गर्ने अस्वाभाविक, प्राकृतिक न्यायको सिद्धान्तविपरीतका अधिकार दिइयो आयोगलाई ।
त्यो आयोग गठन भएको केही दिनपछि एक निडर स्वभावका वकिल (जो टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुनुहुन्थ्यो) इन्द्र लोहनी दाइले कान्तिपुर दैनिकमा लेख लेख्नुभयो – ‘कानुनभन्दा माथि भगवान पनि छैनन् ।’ आज सम्झँदा लाग्छ, मलाई शाही आयोग र ज्ञानेन्द्रका तमाम क्रियाकलापका विरुद्ध जागरुक बनाउनमा उक्त लेखको पनि ठूलो भूमिका रह्यो । सारमा इन्द्र दाइको त्यो लेख शाही आयोगमाथिको प्रहार थियो । असीमित अधिकार दिएर राजाले त्यस्तो आयोग गठन गर्न सक्दैनन् र त्यो आयोग सरासर असंवैधानिक हो भन्नेमा इन्द्र दाइको लेख केन्द्रित थियो । साँच्चिकै निडर र कसैको जुठो नखाइकन हिँड्ने इन्द्र दाइ आज हामीमाझ हुनुहुन्न । हृदयघातका कारण पछि उहाँको निधन भयो । म न्यायालय रिपोर्टिङ गर्ने र उहाँ त्यही क्षेत्रको एक चर्चित वकिल भएका कारण हामी असाध्यै मिल्थ्यौं ।
इन्द्र दाइले कान्तिपुरमा लेखेको उक्त लेख (जसलाई मैले ‘शाही आयोग उत्पत्ति र अवसान’ नामक पुस्तकमा समेटेको पनि छु) पछि शाही आयोगका हरेक गतिविधिलाई मैले नजिकबाट नियाल्न थालें । कान्तिपुर टिभीका तत्कालीन प्रमुख तीर्थ कोइराला दाईले एउटा बैठकमै ‘शाही आयोगको रिपोर्टिङ विमलले गर्छ’ भन्नुभएको सम्झन्छु । मैले कान्तिपुर टेलिजिभनका लागि उक्त आयोगका बारेमा दिनहुँ रिपोर्टिङ गर्न थालें । यति व्यस्त राख्यो उक्त आयोगले कि घर पुगेर सुत्न ठिक्क परेको बेला राति दौडेर निस्कन परेका क्षण थुप्रै थिए ।
विवादास्पद उक्त आयोगले कर्मचारीका अलावा मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री प्रकाशमान सिंहसहित थुप्रैलाई गिरफ्तार ग–यो । सिंहलाई उनकै निवास चाक्सीबारीबाट समातियो भने चक्रपथलाई घेरा हालेर, बुढानीलकण्ठतर्फ कसैलाई छिर्न नदिएर रातको समयमा छापामार शैलीमा देउवालाई पक्राउ गरियो । कुनै पनि बेला देउवा पक्राउ पर्न सक्ने सम्भावनाका कारण उनको निवास गएर कार्यालय फर्कने गर्थ्यौं हामी । केही दिन त्यसरी कु–यौं । पक्राउ गर्दाको दिन चाहिँ संवाददाता उनको निवासबाट निस्केपछि रातको समयमा देउवालाई समातियो । मध्यरातमा निवास छिरेका सुरक्षाकर्मीले देउवालाई पक्राउ गर्न लाग्दा उनकी पत्नी आरजुले प्रतिवाद गर्नुपरेको थियो । पक्राउ परेपछि देउवा र सिंह दुवैले शाही आयोग अवैधानिक भएकाले बयान नदिने अडान राखे । शाही आयोगलाई मान्यता नदिएर उनीहरूले सही गरे ।
उक्त आयोगका गतिविधि आफैंमा अचम्मलाग्दा थिए । इजलासमा वकिलबाहेक अरूलाई प्रवेश थिएन । आयोगका कथित आयुक्तहरू इजलासमा चुरोट सल्काउँदै पक्राउ परेकाहरूसँग प्रश्न सोध्थे । हामी केही सञ्चारकर्मीले तीव्र आपत्ति जनाएपछि पत्रकारहरूलाई पनि आयोगको इजलासमा प्रवेश दिइयो । आयोगकै पदाधिकारी चुर्लुम्म भ्रष्टाचारमा डुबेका खबर हामीहरूलाई आइरहन्थे । मैले ती सबै सूचना संकलन गर्दै गएँ । शाही आयोगका गतिविधि रिपोर्टिङ गर्नु चुनौतीपूर्ण थियो । सूचनामा पहुँच थिएन । सूचना माग्दा रुखो जवाफ आउँथ्यो । शाही आयोगका बारेमा गलत रिपोर्टिङ गरे मानहानि हुने व्यवस्था गरेर पत्रकारहरूलाई तर्साइएको थियो । एक किसिमले उत्तर कोरियाको जस्तो पत्रकारिता थियो त्यो । जुन दिन देउवालाई आयोगमा ल्याइन्थ्यो, त्यो दिन पत्रकारलाई आयोग प्रवेशमा रोक लगाइन्थ्यो । नयाँ बानेश्वरको एउटा घरको छतबाट देउवालाई आयोगमा उपस्थित गराउँदै गरेको भिजुअल जूम (टाढाको दृश्य खिच्ने लेन्स) गरेर खिचेको घटना याद छ मलाई । शाही आयोगको कार्यालय अहिले संसद् भवन बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि थियो, जहाँ पछि राष्ट्रसंघीय नियोग अनमिन बस्यो ।
त्यो जनआन्दोलन
मुलुकका प्रमुख राजनीतिक दलहरू राजाको विरुद्धमा सडकमा उत्रन खासै सकिरहेका थिएनन् । दलहरू पछि पछि, नागरिक समाजका अगुवा र पत्रकारहरू अघि अघिको स्थिति थियो । नेपालका राजनीतिक दलहरूले भक्तपुरमा पुगेर हाइवेमा जुलुस निकाल्थे । तर तारानाथ दाहाल जस्ता प्रेस स्वतन्त्रताका खम्बाको नेतृत्वमा रहेको नेपाल पत्रकार महासंघले पत्रकारहरूलाई रत्नपार्कमा भेला पारेर राजाका निरंकुश गतिविधिका बारेमा जुलुस निकालिरहेको थियो । प्रेस स्वतन्त्रताको माग गर्दै हामी पत्रकारहरू आन्दोलित थियौं । कृष्ण पहाडी र देवेन्द्रराज पाण्डे जस्ता असल छवि भएका व्यक्तिको नेतृत्वमा शुरु भएको नागरिक समाजको आन्दोलन पनि सशक्त बन्दै थियो ।
यता शाही आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट परिसकेको थियो । तेह्रौं पटकको प्रयासपछि बल्ल बल्ल सर्वोच्चले शाही आयोगविरुद्ध रिट दर्ता गर्न सक्यो । उक्त रिटमाथि व्यापक बहस भयो । दर्जनौं वकिलहरूले शाही आयोगको विरुद्धमा बहस गरे । केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ सम्मिलित विशेष इजलासको ऐतिहासिक महत्वको फैसलाले शाही आयोग खारेज हुन पुग्यो । २०६२ साल फागुन १ गते शाही आयोग खारेज हुने फैसला सर्वोच्चले ग–यो । उक्त फैसलाले आयोग त खारेज ग–यो ग–यो, नेपालको राजकीय सत्ता राजामा होइन, जनतामा रहेको ऐतिहासिक फैसला पनि सुनायो ।
शाही आयोग खारेजीसँगै म चाहिँ उक्त आयोगले एक वर्षको अवधिमा गरेका कामकारवाही, विवादास्पद गतिविधि र बदमासी समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा जुटें । उता नेपालका राजनीतिक दलहरूले २०६२ को चैत २४ गतेदेखि शाही शासनविरुद्ध जनआन्दोलन शुरु गर्ने निर्णय गरे । शाही शासनविरुद्धको जनआन्दोलन कसरी अघि बढ्ला भन्नेमा धेरैको चासो थियो । दलहरू शाही शासनविरुद्ध कडा रूपमा प्रस्तुत हुन नसकिरहेको आरोप लागिरहेको थियो । तर नेपालको प्रेस र पहाडी एवं पाण्डेजस्ता केही व्यक्तिको नेतृत्वमा भइरहेको आन्दोलनले चाहिँ राजालाई एक किसिमले झस्काइरहेको थियो ।
चैत २४ बाट शुरु भएको जनआन्दोलन शुरुका केही दिन त्यति उत्साहजनक देखिएन । तर तेस्रो दिनपछि चाहिँ राजाको शासनविरुद्ध देशैभरबाट जनता सडकमा उत्रिए । त्यतिबेला कमल थापा गृहमन्त्री थिए जसलाई आज नेपालका आफूलाई अगुवा ठान्ने दल, पत्रकार/सम्पादक र व्यक्तिहरू बोकेर हिँडिरहेका छन् । खोजी खोजी उनै कमल थापाको अन्तर्वार्ता छाप्छन् । कमल थापा या पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालसित डिनर या लन्च गर्छन् र थापाकै जस्तो खराब पृष्ठभूमि भएको अन्य व्यक्तिलाई सराप्छन् हाम्रा बुद्धिजीवी र पत्रकार महानुभावहरू । अहिलेका यिनै कमल थापाको आदेशमा गोली चल्थ्यो । ज्ञानेन्द्र शाह, तुलसी गिरी र कमल थापाहरू जनआन्दोलनकारीमाथि गोली बर्साइरहेका थिए । कर्फ्यु लगाउने र आन्दोलनकारीमाथि ताकी ताकी गोली हान्ने क्रम झन् झन् बढिरहेको थियो । तर कर्फ्युको समेत पर्वाह नगरी हरियो रुखका हाँगा बोकेर जनआन्दोलनमा जनताको व्यापक सहभागिता जुट्यो । कर्फ्युको व्यापक उल्लंघन भयो । संसारलाई चकित पार्ने खालको आन्दोलन थियो त्यो ।
म जनआन्दोलनको निरन्तर रिपोर्टिङ गरिरहेको थिएँ कान्तिपुर टिभीका लागि । प्रायः कर्फ्यु लगाएको ठाउँबाटै रिपोर्टिङ गरिरहेको हुन्थें । धेरैजसो रिपोर्टिङमा फोनबाट स्टुडियोमा रहेका समाचार वाचक (न्यूज प्रेजेन्टर) साथीहरूसँग कुराकानी हुन्थ्यो । २०६३ को वैशाख पहिलो साता त्रिपुरेश्वरमा जनआन्दोलनकारीमाथि गोली चल्यो । केही आन्दोलनकारी ढले । हामी भाग्दै ब्लुबर्ड मलको ठीक विपरीत दिशामा रहेका मन्दिरहरूमा लुक्न पुग्यौं । सडकमा ड्याङ ड्याङ गोली पड्किरहेको थियो । यता हाम्रो मुटु ढुकढुक फुलिरहेको थियो । मन्दिरभित्र गएर लुक्नेमध्ये एकजना आन्दोलनकारीले मलाई ‘तिमी विमल होइन ?’ भनेर सोधे । यसो हेर्छु त, मेरै गाउँ (बाग्लुङ ग्वालिचौर) का सँगै स्कूल पढेका साथी पो रहेछन् । उनी माओवादीमा लागेको थाहा पाएको थिएँ । मैले सोधें, ‘तिमी काठमाडौंमा कसरी ?’ उनले चुप लाग्न इशारा गरे । एकछिनपछि अलि एकान्तमा लगेर ‘ममात्र होइन, हामी तमाम माओवादी कार्यकर्ताहरू आन्दोलनमा सहभागी भएका छौं’ भन्दै परिचय गराए । त्यो देखेपछि म निष्कर्षमा पुगें कि जनआन्दोलनमा तत्कालीन भूमिगत माओवादी कार्यकर्ताहरूको व्यापक सहभागिता थियो । जनआन्दोलन सफल भएपछि सोहन श्रेष्ठमार्फत कान्तिपुर टेलिभिजनलाई पहिलो अन्तर्वार्ता दिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘बाघ हामीले मा–यौं । मरेको बाघको जुंगा अहिले कांग्रेस एमालेले उखेल्दैछन् ।’ जनआन्दोलनमा आफूहरूको सहभागितालाई नजरअन्दाज गरिएकोतर्फ संकेत गर्दै प्रचण्डले उक्त अभिव्यक्ति दिएका थिए शायद ।
जनआन्दोलनमा राजनीतिक पार्टी, तिनका नेता, कार्यकर्ताका अलावा सबै पेशागत क्षेत्र र व्यवसाय गरिरहेका व्यक्तिहरू होमिइसकेका थिए । चैत २४ गतेदेखि शुरु भएको जनआन्दोलन चौतर्फी विस्तार भइरहेको थियो । आन्दोलनले फराकिलो आकार लिँदै थियो । कलंकी, गोंगबु र त्रिपुरेश्वरमा गोलीकाण्ड गराइए । कैयन् आन्दोलनकारीले ज्यान गुमाए । धेरै घाइते भए । प्रेस लेखेको पहेंलो ज्याकेट लगाएर हिँडिरहेका हामी सञ्चारकर्मीहरू पनि आन्दोलनलाई समर्थन हुनेगरी समाचार सम्प्रेषण गरिरहेका थियौं । पत्रकारले जनआन्दोललाई बल पुुग्नेगरी समाचार सम्प्रेषण गर्न हुन्थ्यो वा हुन्नथ्यो ? त्यो छुट्टै बहसको विषय बन्न सक्ला । तर राजाले सत्ता हातमा लिएपछि प्रेस स्वतन्त्रतामाथि धावा बोलेकाले, कतिपय पत्रकार साथीहरूको रोजीरोटी नै खोसिएकाले उनीप्रति सिंगो नेपाली मिडिया खुशी थिएन । र, त्यसको प्रत्यक्ष असर हाम्रा रिपोर्टिङहरूमा प्रतिबिम्बित भएकै हुन् ।
त्यो रिपोर्टिङ
आन्दोलन जारी रहेकै बेला एक अपराह्नको घटना सम्झन्छु । बुद्धनगरबाट ठूलो संख्यामा आन्दोलनकारीहरू नयाँ बानेश्वर चोकतर्फ आइरहेका थिए । मैले एक छेउमा उभिएर त्यो दृश्य आफैं खिचिरहेको थिएँ । अचानक कान्तिपुर टेलिभिजनको स्टुडियोबाट फोन आयो र मलाई सोधियो, ‘विमलजी, तपाईं अहिले कहाँ हुनुहुन्छ ? तपाईं भइरहेको ठाउँमा आन्दोलन कस्तो छ र आन्दोलनकारी कति छन् ? आफू नयाँ बानेश्वर र बुद्धनगर गेटको बीचमा रहेको बताउँदै मैले करीब पचास हजारको हाराहारीमा रहेका आन्दोलनकारीले कर्फ्यु उल्लंघन गर्दै राजाको शासनको विरोध गरेको समाचार टेलिफोनबाट टिपाए । उक्त कुराकानी प्रत्यक्ष प्रसारण भयो । टेलिफोन वार्ता सकिनासाथ ‘द काठमाण्डु पोस्ट’ का तत्कालीन समाचार सम्पादक अमित ढकाल (जो आफैं कान्तिपुरको भ्यान चलाएर दिनहुँ आन्दोलनकारीको अघिपछि हिँडिरहनु भएको थियो र जनआन्दोलनको समर्थनमा व्यापक रिपोर्टिङ गरिरहनु भएको थियो) ले मलाई फोन गरेर ‘सच अ वोल्ड रिपोर्टिङ विमल’ भन्दै हौस्याएको सम्झन्छु ।
तर मेरो रिपोर्टिङ केहीलाई चाहिँ मन परिरहेको थिएन । एकैछिनमा मलाई कान्तिपुर टिभीका एक जिम्मेवार र उच्चतहका व्यक्तिले फोन गरे र झपारे, ‘यतिउति हजार आन्दोलनकारी भनेर संख्या किट्ने तँ को होस् ? कसरी गन्न भ्याइस् तैंले ? हावा कुरा गर्छस् ? होश गर् ।’ यति भनेर उनले फोन काटे । उनले हप्काएको ३० मिनेटपछि कान्तिपुर टिभीको स्टुडियोबाट फेरि फोन आयो र मलाई सोधियो, ‘बुद्धनगर क्षेत्रमा जारी आन्दोलनमा थप के भइरहेको छ ?’ मैले आन्दोलनकारीको संख्या बढेर पचास हजारबाट ७० हजार पुगेको, राजाविरुद्ध चर्का नाराबाजी भइरहेको सूचना टिपाएँ । टेलिफोनमा भएको उक्त कुराकानी कान्तिपुर टिभीबाट फेरि प्रत्यक्ष प्रसारण भयो । त्यो यस्तो समय थियो जहाँ हामी लोकतन्त्रपक्षधर सञ्चारकर्मीहरू हाकिमहरूलाई पनि टेर्न छोडिसकेका थियौं । संख्या कसरी गन्न भ्याइस् भनेर थर्काएको एकैछिनमा आन्दोलनकारीको संख्या झन् बढाएर सूचना टिपाइरहेका हुन्थ्यौं । थाहा थिएन, त्यसरी रिपोर्टिङ गर्न हुन्थ्यो कि हुन्नथ्यो । तर जसरी हुन्छ लोकतन्त्र ल्याउनुपर्छ, प्रेस स्वतन्त्रता बहाली गर्नुपर्छ, राजा ढाल्नुपर्छ भन्नेमा हाम्रो पनि साथ थियो । लोकतन्त्र र प्रेसमाथि हुने निरंकुश कदम त्यतिबेला पनि सहिएन । अब पनि त्यस्तै घटना परिआए सिधै प्रतिवाद गर्न पछि परिने छैन ।
नेपाल बार एसोसिएसन, चिकित्सक, कर्मचारी लगायतका क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू आन्दोलनमा होमिएका थिए । नेपाल बार एसोसिएनको कार्यालयबाट निस्केको जुलुस माइतीघर मण्डला नपुग्दै गोली बर्सिन थाल्यो । बालबालले बाँचेर हामी कार्यालय फर्कन सफल भयौं । शम्भु थापा, माधव बाँस्कोटा, शेरबहादुर केसी लगायतका परिवारका सदस्यले वकिलहरूमाथि भएको गोली प्रहारबारे बुझ्न मलाई कान्तिपुर टेलिभिजनमा सम्पर्क गरेका थिए । वकिलहरूलाई माइतीघरबाट समातेर सशस्त्र प्रहरी बलको कार्यालय हल्चोकमा लगेर थुनिएको थियो ।
त्यो कालो दिन...
२०६३ साल वैशाख ५ गते । बिहान ९ बजेको समय । म कान्तिपुर टेलिभिजनको समाचारकक्षमा बसेर बीबीसीको वेबसाइट हेर्दै थिएँ । नेपालमा चर्किरहेको आन्दोलनका बारेमा बीबीसीले के लेखेको रहेछ भन्ने चासो नहुने कुरै भएन । गृह मन्त्रालयमा कार्यरत अधिकृत रामप्रसाद कोइरालाले मलाई अचानक फोन गर्नुभयो र भन्नुभयो, ‘विमलजी, हामी गृहमन्त्री कमल थापाकै अगाडि गृह मन्त्रालयभित्रै नाराजुलुस गर्दैछौं, तपार्ईं आउनुहुन्छ भने सिंहदरबार छिराउने जिम्मा मेरो ।’
गृहमन्त्रालयबाट आएको उक्त सूचनाका बारेमा सोहन दाइसँग तत्काल सल्लाह गरें । उहाँले तुरुन्तै गइहाल भन्नुभयो । सिंगो कान्तिपुर संस्था नै आन्दोलनको समर्थनमा थियो । त्यसैले तत्कालीन शाही सरकारका उपाध्यक्ष तुलसी गिरीले कान्तिपुरलाई आठौं दल भन्ने गर्थे । मैले क्यामेराम्यान राजु तिमल्सिनालाई लिएर गृहमन्त्रालय जाने तरखर गरें । कान्तिपुर परिसरमा चालक शिवराम थापा खाली भेटिए । चालक थापाले चलाउने भ्यानमा बसेर हामी निस्कन मात्र के लागेका थियौं, कान्तिपुर दैनिकमा काम गर्ने एक संवाददाता (जसले पछि यो पंक्तिकारको प्रसंग नै उल्लेख नगरी एकपक्षीय लेख लेखे । त्यसकारण उनको नाम यहाँ उल्लेख गर्न मलाई आवश्यक लागेन) भेटिए र उनले म पनि जान्छु भने । उनलाई पनि राखेर कान्तिपुर टिभीको भ्यानमा हामी सिंहदरबारतर्फ लाग्यौं ।
अघिल्लै दिनदेखि सिंहदरबारभित्रका कर्मचारीहरू आन्दोलित भइसकेका थिए । त्यसैले पत्रकारहरूलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको थियो । हामी सिंहदरबार गेटमा पुग्यौं । मैले कोइरालाजीलाई फोन गरें । उहाँले एकजना चिनेका सुरक्षाकर्मीलाई हामी आउँदैछौं भन्ने बारेमा जानकारी गराइसक्नुभएको रहेछ । कान्तिपुरको भ्यान देख्नेबित्तिकै ती सुरक्षा अधिकारी हामीनजिक आए र गाडीबाट ओर्लन भने । हामी गाडीबाट ओर्ल्यौं । तपाईंहरू मेरो पछाडि आउनुस् भन्दै उनले हामीलाई इशारा गरे । गाडी त्यहीँ रोकियो । उनले डो–याएर हामीलाई सिंहदरबार प्रवेश गराए र भने, ‘एकछिन यहीँ रोकिनुहोस्, म तपार्इंहरू चढेको भ्यानलाई भित्र पठाउँछु ।’
खासमा उनले हामीलाई चलाखीपूर्ण तरिकाले भित्र प्रवेश गराएका रहेछन् । हामी सिधै गृहमन्त्रालय परिसर पुग्यौं । हामीलाई देख्नेबित्तिकै केही कर्मचारी लिन आए र सिधै गृहको क्यान्टीनमा लगे । क्यान्टीनमा करीब डेढ सयजना कर्मचारी जम्मा भइसकेका रहेछन् । कोइरालाजीले अब नाराजुलुस शुरु हुन्छ भनेर जानकारी दिए । एकैछिनमा कर्मचारीहरू लोकतन्त्र जिन्दाबाद, शाही कदम मूर्दाबाद, गृहमन्त्री मूर्दाबाद जस्ता नारा लगाउँदै गृहमन्त्रीको कार्यकक्ष अगाडि पुगे । बाहिर हल्का पानी पर्न शुरु गरेको थियो । राजुले मज्जाले कर्मचारीको जुलुसको भिडियो खिचिरहेको थियो । हामीलाई नाराजुलुस धेरैबेर नहुने, छिटो छिटो गरेर यताउता लागिहाल्ने सूचना दिइएको थियो । हामीले पनि छिटो छिटो भिजुअल खिच्यौं । कर्मचारीले दुई मिनेटजति नारा लगाए र यत्रतत्र छरिए ।
हामी छिटो छिटो भ्यानमा चढ्यौं र कार्यालयतर्फ लाग्यौं । फर्केर उतिबेला प्रधानमन्त्री कार्यालय रहेको भवनको छेउमा के मात्र पुगेका थियौं, प्रहरीहरू हातमा ठूला ठूला लौरा बोकेर गृहमन्त्रालयतर्फ दौडदै गरेको देख्यौं । ती सुरक्षाकर्मीले आन्दोलनकारीलाई कुट्न सक्ने र कुटेको भिजुअल झनै एक्सक्लुसिभ् हुने भन्दै मैले फेरि गृहमन्त्रालयमै जाऊँ भन्ने प्रस्ताव गरे । तर राजुजीले मानेनन् । होइन, नजाऔं, अफिस जाऊँ भन्ने उनको अडान रह्यो । मैले केहीबेर कर गरेपछि फेरि गृहमन्त्रालयतिरै फर्कने कुरा भयो । मलाई मनमा शंका लागिसकेको थियो । त्यसैले मैले भनें, ‘अघि खिचेको टेप चाहिँ यही गाडीभित्र लुकाएर जाऊँ ।’ राजुले अघि खिचेको टेप गाडीको सिटमुनि लुकाए । नयाँ टेप क्यामेरामा लोड गरे । हामी फेरि गृहतिरै लाग्यौं ।
केहीबेरअघिको नाराजुलुसको भिजुअल कान्तिपुर टिभीले खिचेको बारेमा सनसनी मच्चिसकेको रहेछ । तत्कालीन गृहसचिव बालकृष्ण प्रसाईं र गृहमन्त्री कमल थापा आफंै बाहिर आएर ‘ती पत्रकारलाई खोज्’ भनेर निर्देशन दिइरहेका रहेछन् । हामीले त्यो थाहा पाएनौं । फर्केर जानेबित्तिकै भोकाएको बाघले बाख्रो समाए झैं हामीलाई सुरक्षाकर्मीले घेरा हाले । यी पत्रकारलाई भित्र ल्याउनु भन्ने आदेश दिएर कमल थापा आफ्नो कार्यकक्षमा लागे ।
हामीलाई गृहमन्त्रीको कार्यकक्षमा लगियो । म, राजु, शिवराम र कान्तिपुर दैनिकका एक पत्रकार गरी चारजना थियौं हामी । ‘कसले अनुमति दियो गृह मन्त्रालयमा आउन ? छापामार शैलीमा मन्त्रालय आउने ? लाज लाग्दैन ? सुरक्षा संवेदनशीलता थाहा छैन ?’ भन्दै कमल थापा कड्किए । त्यतिसम्म त ठिकै थियो । उनी यसरी रिसाउँदै गए कि एकछिन पछि फोहर शब्द प्रयोग गरेर हामीलाई झपारे, हप्काए । अघि खिचेको टेप फिर्ता गर्न निर्देशन दिए । मैले र कान्तिपुरका संवाददाताले थापालाई ठाडै जवाफ दियौं । त्यस्ता धम्कीले नडराउने बतायौं । हाम्रै अगाडि थापाले कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई फोन गरे र भने, ‘तपार्इंका पत्रकारले यो के गरेको ? गृहमन्त्रालयमा अनुमति नै नलिई समाचार संकलन गर्न आउने ? टेप पनि फिर्ता दिँदैनन् । म अब थुनिदिन्छु ।’ उताबाट कैलाश सरले के जवाफ दिनुभयो, थाहा भएन । उक्त कुराकानी भएको पाँच मिनेटपछि थापाले कार्यकक्षमै सचिव प्रसाईंलाई निर्देशन दिँदै भने, ‘यिनीहरूलाई हनुमानढोका लगेर थुनिदिनु । खोरमा हुलिदिनु । सालाहरू, खुब रिपोर्टिङ गर्ने भएका ? लगेर जाकिदे यिनीहरूलाई ।’
थापाको निर्देशनपछि सचिव प्रसाईंले केही पर उभिएका एक प्रहरी अधिकृतलाई निर्देशन दिँदै हामीलाई लगेर थुन्न भने । वाहिर पानी परिरहेको थियो । केहीबेरअघिको आन्दोलनमा सहभागी भएका कर्मचारीहरूलाई पक्राउ गरिसकिएको रहेछ । बालुवा बोक्ने टिपर त्यहाँ ल्याइएछ । कर्मचारीलाई त्यही टिपरमाथि उभ्याइएको थियो । हामीलाई पनि प्रहरी जवानहरूले पाखुरामा समात्दै त्यही टिपरमा चढाए । पानी झन् दर्क्यो ।
पानीले भिजायो । राजुले जेनतेन कपडाले क्यामेरा जोगाइरहेको थियो । चालक शिवराम थापा डरले काँपिरहेका थिए । मैले चाहिँ वरिपरि हेर्न थालें कोही चिनेको देखिन्छ कि भनेर । चालीस मिनेट हामीलाई पानीमा भिजाएर टिपरमाथि उभ्याइयो । साह्रै पीडाबोध भयो त्यो क्षण । तर अहँ त्यहाँबाट लैजाने सुरसारै हुँदैन । पानी अलि कम हुन थालेपछि बल्ल टिपर स्टार्ट भयो । सिंहदरबार प्रवेश गर्ने मुख्य ढोकाबाट बाहिर निकालिँदै थियो हामीलाई । मैले निकै चनाखो भएर वरिपरि हेरिरहेको थिएँ कोही चिनेको मानिस भेटिन्छ कि भनेर । चिनेको कोही देखियो भने हामीलाई पक्राउ गरेको छ भनेर सूचना पु–याइदिनु भन्ने सोचमा थिएँ म ।
भद्रकाली पुग्नै लाग्दा परबाट प्रेस लेखेको पहेंलो ज्याकेट लगाएका एकजनाले मोटरसाइकल चलाएर आउँदै गरेको देखें । मैले परैबाट कराउँदै हात हल्लाइरहेको थिए ताकि उनको ध्यानाकर्षण गराउन सकियोस् । संयोगले प्रेस लेखेको त्यो ज्याकेट लगाएर आउने कान्तिपुर दैनिकका तत्कालीन फोटो पत्रकार विकास कार्की परेछन् । उनले मलाई देखिहाले । मैले गाडीबाटै ‘हामीलाई गृहमन्त्रालयबाट पक्राउ गरियो । हनुमानढोका लाँदैछ’ भनेर विकासलाई जानकारी गराएँ । उनले ‘मैले बुझें’ भन्दै बाइक हुइँक्याए ।
हनुमानढोका लगेपछि हामीलाई शुरुमा गन्जी र अन्डरवेयर बाहेक अरू कपडा खोल्न लगाइयो । यसैपनि पानीले भिजेका कपडा कतिबेला खोलौं जस्तो लागेकै थियो । जुत्ता, मोजा पनि खोल्न भनियो । जुत्ताको तुना पनि खोल्न भनियो । केहीबेर डुङ्डुङ्ती गनाउने शौचालयछेउ उभ्याइयो । केहीबेरपछि सिधै लगेर अध्याँरो न अध्याँरो खोरमा हुलियो । अचम्म के भने राजुले रेडियो सेट गन्जीमा लुकाएर काखीमुनि च्याप्न सफल भएको रहेछ । गन्जी र अन्डरवेयर मात्र लगाउन दिइएको थियो, त्यसको राजुले मजैले सदुपयोग गरेछ । खोरमा पुगेपछि राजुले निकै सानो आवाजमा रेडियो सेटबाट सोहन दाइलाई सम्पर्क गरे र तुरुन्तै कपडा पठाइदिन आग्रह गरे । त्यो सुनेर म बेस्सरी हाँसें । एकघण्टाजतिमा कपडा आइपुग्यो । खोर गनाइरहेको थियो । पिउसाले टोक्न थालिहाले । तीस मिनेट खोरमा थुनेपछि एकजना प्रहरी जवान आए र उनको पछिपछि आउन भने । ‘कहाँ लान लागेको ?’ मैले सोधें । ‘हाकिम साबले बोलाउनुभएको छ, आउनुस्,’ ती जवानले जवाफ दिए ।
त्यसबेला हनुमानढोकामा प्रहरी प्रमुख को थियो, सम्झना भएन । तर उनी यति रुखो स्वर र शैलीमा प्रस्तुत भए मानौं हामी यो मुलुकमा नम्बर एक अपराधी हौं । उनले धेरैजसो समय गृहमन्त्रालयमा खिचेको टेप फिर्ता गर्न दबाब दिए । हामीले टेप कार्यालय पुगिसकेको भनेर ढाँट्यौं । उनले पत्याएनन् । निकैबेर हपारे । टेप फिर्ता नगरे धेरै दिनसम्म थुन्न सक्ने भन्दै धम्काए । उनले झपारिरहेका थिए, हामीले डटेर सवाल जवाफ गरिरहेका थियौं । ठीक त्यति नै बेला, राष्ट्रिय मानवअधिकार आयोग लेखेको सेतो र नीलो रंगको ज्याकेट लगाएका तीनजना व्यक्ति त्यहीँ आइपुगे । उनीहरू मानवअधिकारकर्मी रहेछन् । एकजना मैले चिनेकै साथी परेछन् । उनी थिए मानवअधिकार आयोगमा कार्यरत श्रीराम अधिकारी ।
घटना सुनेपछि आफूहरू त्यहाँ पुगेको बताउँदै आयोगको टोलीले हामीसँग कुराकानी गर्न थाल्यो । यातना दिए/नदिएको विषयमा हामीलाई सोधियो । सोही दिन राति १० बजे नेपाल पत्रकार महासंघका तत्कालीन महासचिव महेन्द्र विष्ट (हालका अध्यक्ष) र नेपाल बार एसोसिएनका तत्कालीन महासचिव अधिवक्ता माधव बाँस्कोटाको रोहबरमा हामीलाई थुनामुक्त गरियो । हामी पक्राउ परेको थाहा पाएर आदरणीय पत्रकार ध्रुवहरि अधिकारी दाइ लगायत थुप्रै साथीहरू हनुमानढोका पुग्नुभएको रहेछ । मेरो घरमा त हल्लीखल्ली भएछ । कान्तिपुरबाट ओढ्ने ओछ्याउने कपडा आइसकेका थिए । त्यो दिनलाई मैले पत्रकारिता करीयरको कालो दिनका रूपमा सम्झन्छु । कारण – रिपोर्टिङ गरेबापत दिइएको यातना ।
रुक्माङ्गद, दुर्जकुमार, लोकमान, कमल थापा र हाम्रो समाज
जनआन्दोलन सफल भएपछि सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा एक आयोग गठन भयो । उक्त आयोगले जनआन्दोलन दमनमा दोषी पाइएको भन्दै कमल थापा, दुर्जकुमार राई, रुक्माङ्गद कटवाल, लोकमानसिंह कार्की लगायत थुप्रै कर्मचारीमाथि कारवाहीको सिफारिश ग–यो । जनआन्दोलन दमनमा दोषी पाइएका व्यक्तिले चुनाव लड्न नपाउने सिफारिश आयोगको प्रतिवेदनमा छ । रायमाझी आयोगको उक्त प्रतिवेदन पछि सार्वजनिक पनि भयो । तर विडम्बना त्यो आयोगका सिफारिशहरू कार्यान्वयन हुनु त परै जाओस्, मुलुकका प्रमुख राजनीतिक दल, नागरिक अगुवा र पत्रकारहरूबाटै उल्लंघन भयो । रुक्माङ्गद कटवाल राजदरबारले हुर्काएका, पढाएका व्यक्ति । जनआन्दोलन दबाउन सेनाभित्र सवैभन्दा बढी सक्रिय उनी नै थिए । प्यारजंग थापाको पदमात्र सेनापति थियो । सबै काम कटवालको रणनीति र निर्णयमा हुन्थे । जनआन्दोलनकारीलाई गोली हान्नुपर्छ भन्ने तिनै कटवाल थिए । विडम्बना, रायमाझी आयोगले दोषी ठहराएका उनै कटवाललाई जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सेनाप्रमुख बनायो । दलहरूले पुरस्कृत गरे । नागरिक समाज र पत्रकारले अनुमोदन गरे । न नागरिक समाज चुइँक्क बोल्यो, न पत्रकार/सम्पादकहरूले त्यसको विरोधमा लेखे । विरोधमा लेख्नु त परै जओस्, कटवाल जस्ता निरंकुश व्यक्तिसँग आज पनि यो मुलुकका नेता, बुद्धिजीवी, पत्रकार÷सम्पादक साँझबिहान उठबस गर्छन् । कटवाल यो मुलुकको महान व्यक्ति नै भएको जसरी अवकाशपछि उनको पुस्तक निकालियो । त्यो पुस्तक पढ्दा यस्तो लाग्छ मानौं कटवाल यो मुलुकको बिँडो थामेका व्यक्ति हुन् ।
मुलुकमा पहिलो संविधानसभाको निर्वाचन हुने भयो । जनआन्दोलनकारीमाथि गोली बर्साउन आदेश दिने कमल थापा जुर्मुराउन थाले । रायमाझी आयोगले दोषी ठानेका व्यक्ति चुनाव लड्न नपाउने विषय प्रतिवेदनमा उल्लेख हुँदाहुँदै उनी राजनीतिमा चलमलाउन खोजे । कमल थापाले मकवानपुर जिल्लाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिए । न राजनीतिक दलहरूले त्यसको विरोध गरे, न निर्वाचन आयोगले रोक्यो, न नागरिक समाजका अगुवाले विरोध गरे, न पत्रकारले ।
दुर्जकुमार राईले मेरो आँखैअगाडि कलंकीमा शान्तिपूर्ण आन्दोलनमा सहभागीमाथि गोली बर्साए । संयोगले राईले गोली हान्दै गरेको तस्वीर सञ्चारमाध्यममा प्रकाशित भयो । पछि तिनै राई सशस्त्र प्रहरी बलको प्रमुख बनाइए । उतिबेला आफ्नै कार्यकर्तामाथि गोली हान्ने तिनै राईलाई यही मुलुकका राजनीतिक दलका नेताहरू सरकारमा भएको बेला पुरस्कृत गरियो । न नागरिक समाजले विरोध ग–यो, न त पत्रकारले केही लेखे ।
यसबीचमा रायमाझी आयोगले दोषी ठह–याएका विवादास्पद व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारमा प्रमुख बनाइयो प्रमुख दलका शीर्ष नेताहरूको सिफारिशमा । त्यसको चाहिँ व्यापक विरोध भयो, जुन स्वाभाविक थियो । लोकमान राम्रो छवि भएका व्यक्ति थिएनन्, पछि उनका क्रियाकलापले त्यो पुष्टि ग–यो । उनको नियुक्ति गलत थियो, त्यो आफ्नो ठाउँमा छ । तर यहाँनिर उठाउन खोजिएको प्रश्न के हो भने कमल थापा, रुक्माङ्गद कटवाल जस्तालाई पहिल्यै रोकेको भए, नियुक्तिका बेला उनीहरूको विरोध गरेको भए लोकमान जस्ता व्यक्ति अख्तियार प्रमुख हुन सक्थे ?
लोकमान जत्तिकै खराब पृष्ठभूमि भएका अन्य व्यक्तिलाई उच्च पदमा जानबाट रोक्न किन पहल भएन ? आज कमल थापाको किन विरोध हुन्न ? दुर्जकुमार राई आज मानवअधिकार उल्लंघनकर्ताको रूपमा जेलमा हुनुपर्ने हो कि सशस्त्र प्रहरी बलको प्रमुख ? किन उनीहरूको नियुक्तिमा विरोध भएन ? नियुक्तिको व्यापक विरोध हुँदाहुँदै पनि लोकमान अख्तियार प्रमुख भए । राम्रो काम गरेको भए उनलाई सहयोग हुनसक्थ्यो । तर उनी प्रतिशोधमा उत्रिए । आफ्ना विरोधीलाई छानी छानी कारवाही गर्न खोजे । उनका गतिविधि विवादास्पद देखिए । त्यो देखेरै हामीले लोकान्तरमार्फत उनको राजीनामा माग्यौं । पाप धुरीबाट कराउँछ भने झैं, लोकमानले आफ्नो कर्मको फल चाखिसकेका छन् । तर कमल थापा, दुर्जकुमार राई, रुक्माङ्गद कटवालहरूलाई कारवाही हुनुपर्ने कि नपर्ने ? कमल थापा गणतन्त्रमा शानका साथ उपप्रधानमन्त्री हुने व्यक्ति हुन् कि मानव अधिकार उल्लंघनमा जेलमा हुनुपर्ने व्यक्ति ? जनआन्दोलनकारीमाथि छानी छानी गोली बर्साउन आदेश दिएबापत उनलाई पुरस्कृत गरिएको हो भने मेरो भन्नु केही छैन ।
नेपाली समाज यति पूर्वाग्रही छ जहाँ तपार्इंले चिनेको, दैनिक उठबसमा रहेको र तपाईंले मन पराएको व्यक्ति पुरस्कृत हुँदैछ तर उसले अक्षम्य अपराध गरेको छ भने पनि उसको विरोध हुँदैन । तर तपाईंले मन नपराएको, नचिनेको र उसबाट लाभ पनि लिन नसकेको व्यक्ति छ र ऊ क्षमतावान नै छ भने पनि उसको व्यापक विरोध हुन्छ । नेपाली समाजको वास्तविकता यही हो । होइन भने रुक्माङ्गद कटवाल, कमल थापा र दुर्जकुमार राईसँग लन्च या डिनर खाएर, उठबस गरेर, कमल थापाको खोजी खोजी अन्तर्वार्ता छापेर त्यस्तै अर्को खराब छवि भएको पात्रको मात्र विरोध गर्नुलाई लोकतन्त्रपक्षधर मान्न मिल्छ ? सुहाउँछ ? खराब हुन् भने सबैको विरोध हुनुपर्ने होइन ? खराबमध्येका केहीलाई च्याप्ने अनि केहीलाई ठोक्ने ? लोकतन्त्रको परिभाषा यस्तै हुन्छ ? आफूले आफ्नै हृदयलाई साक्षी राखेर असल कर्म गर्दै जाने हो । क्षणिक वाहवाही र देखासिकीका लागि गरिने काम त अस्थायी हुन्छन् । आखिर जीत त सधैं सत्यकै हुन्छ ।
अन्तिममा, माघ १९ पछि मुलुकले, समाजले, नेपाली प्रेसले जुन दुःख र पीडा भोग्नुप–यो त्यस्ता सम्भावना भविष्यमा नदोहोरिएलान् भन्न सकिने अवस्था छैन । मुलुक दुर्घटनाको डिलमा छ जस्तो लाग्छ कहिलेकाहीँ । तर, राजा ज्ञानेन्द्रले जस्तै तानाशाही लादेर, प्रेसको घाँटी निमोठेर कसैले यो मुलुकमा राज गर्छु भन्ने सोचेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ । ज्ञानेन्द्रको बन्दुकअगाडि नझुकेको नेपाली मिडिया सम्भावित तानाशाहसामु पनि झुक्ने छैन । निरंकुशताको आआफ्नो क्षेत्रबाट प्रतिकार गर्नेछौं । लड्नेछौं । भिड्नेछौं । अबको टड्कारो आवश्यकता आर्थिक विकास र समृद्धिको हो । पार्टी नेताहरूले सकेनन् भने नयाँ शक्ति जन्मनैपर्छ र नेपाललाई समृद्धितर्फ डोहो–याउनैपर्छ । अर्को निरंकुशतालाई नेपालमा ठाउँ छैन । चेतना भया ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...