शोधनान्तर घाटा २४ अर्ब ७३ करोड

काठमाडौं, ३० चैत– मुलुकको शोधनान्तर घाटा बढेर फागुन महिनामा २४ अर्ब ७३ करोड पुगेको छ । चार महिनादेखि बढिरहेको घाटा फागुनमा थप अकासिएको हो । यो घाटा सम्भवतः हालसम्मकै उच्च हो । 

यसअघि २०६६ फागुनमा शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो । त्यतिबेला उक्त घाटा २६ वर्षपछिको उच्च थियो । चालु आर्थिक वर्षको फागुन महिनासम्मको शोधनान्तर घाटा गत वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ०.९ प्रतिशत हुन आउछ । शोधनान्तर मुलुक भित्रने र बाहिरिने रकमबीचको फरक हो । 

भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुनुका साथै स्वदेशी मुद्राप्रतिको विश्वास घट्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ ।

विगतका तुलनामा पछिल्ला महिनामा देखिएको शोधनान्तर घाटा डरलाग्दो भएको र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । 

यसअघि शोधनान्तर घाटा उच्च रहेको जनाउँदै उनले भने, ‘०६६ सालको तुलनामा अहिलेको परिस्थिति फरक हो, त्यतिबेला सस्तो भन्सार दरका कारणले एकै वर्ष ठूलो मात्रामा सुन आयात भएको थियो । पछि भारतकै बराबर भन्सार दर बनाएपछि समस्या समाधान भएको थियो ।’ विगतमा जस्तो अहिलेको घाटा सजिलै समाधान गर्न सकिने अवस्था नरहेको उनले बताए ।, कान्तिपुरमा खबर छ ।
 

चैत ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस