एकताबारे भोलिसम्म गृहकार्य गरेर निष्कर्षमा पुग्ने तयारी छ- प्रचण्ड

फाइल फोटो
बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा गम्भीर छलफल भएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा साेमबार राजधानीमा आयोजित शैक्षिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू पार्टी एकता प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने अत्यन्त गम्भीर दायित्वमा रहेकाले सोमबार ओलीसँग अढाइ घण्टा छलफल गरेको बताए ।


बिहान भएको छलफलमा आज दिनभरि र भोलि बिहानसम्म पार्टी एकताबारे गृहकार्यको जिम्मेवारी लिएको बताउँदै उनले भने, ‘भोलि ९ बजे हामी संयोजन समितिको बैठकमार्फत अगाडि बढ्ने भन्ने कुरा भएको छ ।’

साथै प्रचण्डले वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको समेत बताए ।

उनले भने, ‘हाम्रो संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणको प्रक्रियामा छौं । समाजवाद निर्माणमा निजी, सार्वजनिक र सरकारी क्षेत्रको कुरा गरेको छौं । यी तीन वटै क्षेत्रलाई आर्थिक विकासका सन्दर्भमा मात्र होइन, सामाजिक विकासका सन्दर्भमा पनि सहकार्य मार्फत मात्रै २१ औं शताब्दीमा हाम्रो आफ्नो मौलिक प्रक्रियाबाट समाजको विकास गर्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं ।’

प्रचण्ड शिक्षा क्षेत्रमा सुधारको कुरा गर्दा समाजवाद उन्मुख राज्य दिमागमा रहनुपर्ने धारणा राखे ।

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार