२९ जेठ २०८३, शुक्रबार

कलंकी-नागढुंगामा श्वासै रोक्ने धुलो, स्थानीय भन्छन्- ‘सुत्दा पनि मास्क चाहिन्छ’ [भिडियोसहित]

बैशाख १४, २०७५
कलंकी-नागढुंगामा श्वासै रोक्ने धुलो, स्थानीय भन्छन्- ‘सुत्दा पनि मास्क चाहिन्छ’ [भिडियोसहित]

काठमाडौं, १४ वैशाख– कलंकी–नागढुंगा सडकखण्डको सडक छेउमा व्यापार गर्दै आएका सुरेन्द्र श्रेष्ठ पसलमा बस्दा सधैँ मास्क लगाएर बस्छन् । उनले सतुंगलमा किराना पसल सञ्चालन गर्न थालेको २० वर्ष भयो । कलंकी–नागढुंगा सडक खण्ड विस्तारको काम शुरु भएदेखि उनको काम व्यापारभन्दा पनि बढार्ने बढी भएको छ । बिहीबार त्यहाँ पुग्दा उनी पसलअगाडि कुचो बोकेर बसिरहेका थिए ।

‘पसलमा मान्छे आउँदैनन्, धुलो मात्रै आउँछ । यही धुलो बढार्दैमा दिन जान्छ,’ उनले लोकान्तरसँग भने, ‘दिनमा चार–पाँचपटक बढार्दा पनि धुलो जाँदैन । सडक बनाउने भनेका थिए, सधैँ भत्काएको मात्र देख्छु, दुई वर्षभन्दा बढी हुन लागिसक्यो ।’ धुलोको कारण स्वास्थ्यमा प्रतिकुल असर परिसकेको उनले सुनाए । ‘पसलमा मात्रै होइन, कोठामा पनि धुलो पस्छ,’ उनले भने, ‘श्वास फेर्न पनि गाह्रो छ, सुत्दा समेत मास्क लगाउनुपर्ने अवस्था आइसक्यो ।’

साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ २०७१ साउनबाट निर्माण थालिएको कलंकी–नागढुंगा सडक अलिहेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

चार लेनको सडक, बीचमा ग्रीन बेल्ट र सडकको दुवैतर्फ साइकल लेन हुने भनिएको उक्त सडक खण्डमा ठूला–ठूला खाल्डा मात्रै छन् । धुलो र खाल्डाखुल्डी सडकका कारण यात्रुहरू घण्टौंसम्म जाममा पर्ने गरेका छन् । 

बाटो नै नदेखिने गरी धुलो उड्दा सवारीचालकहरू यो क्षेत्रमा दिउँसै लाइट बालेर सवारी चलाउँछन् । धुलोका कारण ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न समेत हम्मेहम्मे पर्छ ।

‘धुलोका कारण बाटोको अवस्था दयानीय छ, धुलोले बाटो देखिँदैन, अत्यधिक जाम हुन्छ, ट्राफिक व्यवस्थापन गर्न निकै गाह्रो छ,’ ड्यूटीमा रहेका ट्राफिक प्रहरी सुरज थापाले भने, ‘खोकी लागिरहन्छ, छाती दुख्छ, यस्तो धुलोमा काम गर्नुपर्दा स्वास्थ्य त कसरी राम्रो हुन्छ ? धुलोधुँवा भन्न पाइएन हाम्रो समस्या कस्ले बुझिदिन्छ र ?’

सडक खण्डको छेउछाउमा बस्ने र दैनिक पैदल हिड्नुपर्ने स्थानीयको दैनिकी झनै कष्टपूर्ण बनेको छ ।

‘थोरै अगाडिसम्म जान लागेको निकै धुलो छ, धुलोले आँखा पनि हेर्न सकिन्न,’ थानकोटमा पैदल हिँड्दै गरेकी लक्ष्मी श्रेष्ठले भनिन्, ‘अलिकति हिँड्दा पनि कपडा धुलाम्मे हुन्छ, घरमा पनि उत्तिकै धुलो छ, राम्रोसँग श्वास फेर्न पनि पाएका छैनौं ।’

हेर्नुहोस्, भिडियो :

थप तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्