मोदीको भाषणका १० 'हाइलाइट्स' : नाकाबन्दी उच्चारण नगरी नेपालीलाई फकाउने प्रयास

काठमाडौं, २८ वैशाख : नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो भ्रमण प्रधानमन्त्रीको रूपमा मात्र नभएर एउटा 'प्रधान तीर्थयात्री'को रूपमा भएको भनेर आफ्नो धार्मिक अभीष्ट दर्शाएका छन् । 

मिथिला क्षेत्रको विकासका लागि एक सय अर्ब रुपैयाँ ‘भेटी’ सहयोग घोषणा गरेका उनले नेपालको गुणगान गाउन कुनै कसर बाँकी राखेनन् । बाह्रबिघा मैदानमा भएको अभिनन्दन समारोहमा झण्डै एक घण्टा बोलेका मोदीले स्वागतार्थ हजारौं जनसहभागिता थियो । उनले गरेको सम्बोधनमा धेरै आध्यात्मिक र आस्थाका विषयहरू समेटिएका भए पनि पट्यार लाग्दो बिल्कुलै थिएन । उनले गरेको सम्बोधनका दश महत्वपूर्ण बुँदाहरू के-के थिए छोटकरीमा उल्लेख गरौँ ।

आस्थाको कुरा

आफ्नो पहिलो नेपाल भ्रमणमा जनकपुर भेट्ने चाहना हुँदाहुँदै आउन नपाएको भन्दै जनकपुरवासी समक्ष माफी मागेर सम्बोधन शुरू गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटकको भेट स्वयम् जानकी माताले आफूलाई दर्शन दिन चाहेर सम्भव भएको बताए ।

यो मात्र नभएर नेपाल भारतको सु-सम्बन्धको थालनी त्रेता युगदेखि नै शुरू भएको र त्यही सम्बन्धले हालसम्म लुम्बिनीमा रहेकालाई बोधगया लैजाने, ऋषिकेशका बासिन्दालाई पशुपतिनाथ ल्याउने, अयोध्यावासीलाई जनकपुर ल्याउने बताएका थिए ।

अहिलेको आफ्नो भ्रमणलाई त्यही सम्बन्धको पुनरावृत्ति भएको बताएका उनले 'नेपालको प्रेम अनुभूत गरिरहेको छु' भन्दा गडगडाहट ताली बजेको थियो । संस्कृति, आध्यात्म र मिथिलाको पहिचानको विषयमा धेरै लामो समयसम्म बोलेका उनले एक अर्काबीच जोडिएको आस्था नेपाल-भारत सम्बन्धको एउटा प्रमुख आयाम हो भनेर भनेका थिए ।

क्षेत्रीय विकास–समग्र नेपालको विकाससँग जोडिएको छ

भारतको संस्थापन पक्षले नेपालको क्षेत्रीय मुद्दालाई प्राथमिकतामा राखेको छैन भन्ने प्रष्टोक्ति उनले आफ्नो सम्बोधनका क्रममा एकपटक दिएका छन् ।

उनले यस सन्दर्भमा धेरैजसो मधेसी नेताहरुले उनीबाट राखेको अपेक्षा विपरीत सन्देश दिएका छन् ।

कुनै विशेष प्रदेश या क्षेत्रको विकासलाई नेपालको समग्र विकाससँग जोडेर हेर्नुपर्ने उनको यो सन्देशलाई बुझ्नेहरूले सजिलै बुझ्न सक्छन् । भारतको नेपालमा कुनै क्षेत्रीय स्वार्थ नभएको कुरा पनि उनको यही एउटा उदाहरणले प्रष्ट पार्दछ ।

सम्बोधनको क्रममा उनले मधेसको विकासलाई समग्र देशको विकासको एउटा खुड्किलोको रूपमा अर्थ्याएका थिए ।

भारतीय छिमेक नीतिमा नेपाललाई पहिलो प्राथमिकता

सम्बोधनका क्रममा उनले पटक-पटक नेपाललाई आफ्नो छिमेक नीतिको पहिलो नम्बरमा राखेको कुरा दोहोर्‍याएका थिए ।

नेपाललाई भारतले ‘बडेभाइ’को आँखाले हेर्छ भन्ने आरोपलाई खारेज गर्न उनले यो सन्देश दिएको हुनुपर्छ । नेपालमा बढिरहेको भारतविरोधी भावनाका बारेमा मोदी पक्कै पनि जानकार छन् । लाखौँ नेपालीले 'नाकाबन्दी अपराध हो' भनेर गरेको ट्वीट उनले पक्कै पढेका छन् ।

तर जनताको तहमा देखिएको यस्तो असमझदारीलाई आफ्नो सम्बोधनमार्फत् पटक-पटक हल गर्ने प्रयास गरेको जस्तो देखिन्थ्यो ।

बुद्धको जन्मस्थल लुम्बिनी नै हो

बुद्धको जन्मस्थल विवादमा नेपालीहरूले पहिलो दोष भारतीय प्रधानमन्त्री मोदीलाई दिने गर्दछन् ।

जहाँ गए पनि आफू बुद्धभूमिबाट आएको भनेर परिचय गराउने भनी आरोप लागेका मोदीले स्पष्टरूपमा बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनेर सम्बोधनका क्रममा भनिदिए ।

बारम्बार बुद्धको जन्मस्थल विवादमा फस्ने नेपालीहरूलाई उनको यो भनाइले राहत दिएको हुनुपर्छ । उनले स्पष्ट शब्दमा बोधगया भारतमा पर्ने र बुद्धको जन्मस्थल लुम्बिनी नेपालको भू-भाग भएको भनेर बोलेका थिए ।

नेपाल-भारत सम्बन्धमा ‘पाँच टी’को शुत्र

पटक-पटक भारत र नेपालको बहुआयामिक सम्बन्धको चर्चा गरेका मोदीले नेपालको विकास र समृद्धिमा भारतको महत्वपूर्ण भूमिका हुनसक्ने बताएका थिए ।

नेपाल-भारत सम्बन्धमा ‘पाँच टी’को फर्मुलाले परिभाषित गर्न सकिने भन्दै त्यसको व्याख्या ट्रेडिसन, ट्रेड, टुरिज्म, टेक्नोलोजी र ट्रान्सपोर्ट भन्दै गरेका थिए ।

परम्परागत मूल्य मान्यता, व्यापार, पर्यटन, प्रविधि र यातायातले नेपाल भारत सम्बन्धलाई अझ कसिलो गरेर बाँध्ने उनको भनाइ थियो ।

मिथिला क्षेत्रलाई सहयोगको घोषणा

मोदीले मिथिला क्षेत्रको विकासका लागि करीब ५ सय करोडको सहयोगको घोषणा गर्छन् भन्ने आमजनतामा हल्ला चलाइएको थियो ।

अपेक्षाविपरीत उनले जम्मा एकसय करोड  रुपैयाँको सहयोग घोषणा गरे, तर यो कम रकम भने होइन । यद्यपि भारतले गरेको सहयोग घोषणा प्राप्त हुने/नहुने विषय भने शंकाको विषय रहेको छ ।

भूकम्पले थलिएको नेपालले दाताहरूलाई बोलाएको थियो र त्यतिबेला पनि भारतले एकसय करोड रुपैयाँ नै सहयोग अनुदानको घोषणा गरेको थियो ।

त्यो सहयोग रकम नआएको गुनासो पटक-पटक सुन्नमा आउँछ । यद्यपि सहयोगको घोषणा सह्रानीय छ ।

रामायण सर्किटको उद्घाटन

रामायण सर्किटको घोषणासँगै यसको शुरुवातका रूपमा जनकपुर-अयोध्या सिधा बस सेवा सञ्चालन गर्ने मोदीको पहल पनि सकारात्मक छ ।

जानकी मन्दिरमा पूजा अर्चना सकेपछि दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रामायण सर्किटको उद्घाटन गरेका थिए । नेपाल-भारतको सम्बन्धको महत्त्वपूर्ण आयाममध्ये एउटा आयाम यातायात पनि हो भन्ने कुरालाई उनले सम्बोधनको क्रममा बारम्बार दोहोर्‍याएका थिए ।

नेपाल दर्शन र आध्यात्मको केन्द्र

आफ्नो भ्रमण राजनीतिकभन्दा बढी धार्मिक भएको बताएका भारतीय प्रधानमन्त्री मोदीले पटक-पटक पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र रामजानकी मन्दिरको नाम लिएर आफ्नो आस्थाको केन्द्र नेपाल हो भन्ने कुरा जनाएका छन् ।

नेपाल-भारत सम्बन्ध व्यवाहारिक मात्र नभएर आस्थामुखी भएको बताउँदै उनले नेपाल भारतको सुख-दु:ख, आशा-अभिलाषा, सपना-संकल्प, मन-मनसुवा र उद्देश्य एकै प्रकारको रहेको बताएका हुन् ।

कनेक्टिभिटीलाई प्राथमिकता

नेपालका प्रधानमन्त्री केपी ओलीले चर्चा गर्ने गरेको ‘समृद्ध नेपाल – सुखी नेपाली’ भन्ने नारा र आफ्नो ‘सबका साथ, सबका विकास’ नामको नारा एकैथरी रहेको छ भन्दै उनले यी दुवै सपनाहरूलाई पूरा गर्न एकै खालको संकल्प जरुरी छ भनेका थिए ।

त्यो संकल्पलाई कनेक्टिभिटीले मात्र पूरा गर्न सक्ने भन्दै त्यसैको तयारीस्वरुप ‘संयुक्त चेकपोस्ट, रक्सौलदेखि कलकत्तासम्म रेल, तेलको पाइप लाइन, इनल्यान्ड वाटर कनेक्टिभिटी र नेपाललाई समुद्रसम्मको पहुँच’ जस्ता मीठा कुराहरू गरेर उनले नेपाल र नेपालीलाई लोभ्याउने प्रयास गरेका छन् ।

फेरि आउने चाहना

आफ्नो प्रधानमन्त्रीत्वकालमा ३ पटक नेपाल भ्रमण गरिसकेका भारतीय प्रधानमन्त्री मोदी फेरि अर्कोपटक नेपाल आउन लालायित भएको विषय सामान्य होइन ।

तर उनी अर्कोपटक पनि आए भने कुनै अनौठो मान्नुचाहिँ पर्दैन । नेपाललाई असामान्य महत्त्व दिएको जस्तो देखाएर आफ्नो सुरक्षा छाताभित्र राख्ने उनको दीर्घकालीन रणनीति हुनसक्छ । तर तत्कालका लागि उनले नेपालसँगको आफ्नो सम्बन्धलाई महत्त्वपूर्ण तरिकाले अर्थ्याएका छन् ।
 

बैशाख २८, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस