ओली-गगन जुहारी : ओलीको जोक, गगनलाई चर्चाको भोक !

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसले पहिलो संविधानसभामा हलो अड्किएको थियो । कारण थियो- तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रभावशाली व्यक्तित्व । प्रचण्डको व्यक्तित्वका कारण त्यतिबेला कांग्रेस-एमाले प्रत्यक्ष कार्यकारी प्रणालीमा जान डराएको चर्चा भएको थियो ।

प्रदेशको सीमा र संख्या सँगसँगै संविधानमा शासकीय स्वरूप के हुने भन्ने विषय पहिलो संविधानसभा असफलताको कारण बन्यो । माओवादीले प्रत्यक्ष कार्यकारीको बहस गरिरहँदा कांग्रेस-एमाले सिद्धान्तभन्दा व्याक्तिसँग तर्सेका थिए । 'प्रत्यक्ष कार्यकारी प्रणालीमा गए प्रचण्डले २५ वर्ष छाड्दैनन' भनेर सभासद्हरू टिप्पणी गर्दथे । प्रचण्डको छायाले कांग्रेस-एमालेका अधिकांश नेताहरू 'गरुडको छायामा परेको सर्प'जस्ता बनेका थिए ।

त्यतिबेला पार्टीले उठाए आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको भन्दै रामशरण महतले आफ्नो भनाइ सार्वजनिक गरेर 'राजनीतिक स्टन्ट' गरे । यसले उनलाई राजनीतिक होहल्लाका बीच क्षणिक उचाई दियो । तर महत त्यो उचाइका नेता थिएनन् । कांग्रेस-एमालेभन्दा धेरै ठूलो बनेको तत्कालीन एकीकृत माओवादी र त्यसका अध्यक्ष प्रचण्ड त्यतिबेला राजनीतिका 'हटकेक' थिए ।

ओली थापा जुहारी

राजनीतिलाई दिशानिर्देश गर्नेहरूसँग आफूलाई दाँजेर करियरको आकार ह्वात्तै बढाउन सकिन्छ कि भन्ने आशा बोक्ने प्रचलन जुनसुकै दलको दोस्रो/तेस्रो तहका युवा नेतामा देख्न पाइन्छ । कांग्रेसका युवा नेता गगन थापा पनि त्यसबाट अछुतो छैनन् ।

अहिले गगन थापा र केपी ओलीबीच एकअर्काप्रति कटाक्ष चलिरहेको छ । एक हिसाबले प्रमुख प्रतिपक्षी दल कांग्रेस शिथिलजस्तै देखिएको समयमा पनि कांग्रेसलाई प्रतिपक्ष जस्तो देखाउन लायक बनाएका छन्, गगन गापाले ।

कहिलेकाहीँ संसद जुहारी खेल्ने ठाउँ हो कि भन्ने प्रतित हुन्छ । एक अर्काप्रति गरिने कटाक्ष बढी नै देखिने गरेका छन् । प्रधानमन्त्रीले पनि बुझ्नुपर्ने हो, यो समय काम गरेर देखाउनुपर्ने समय हो । प्रधानमन्त्रीले बुझ्नुपर्ने हो, प्रतिपक्षबाट आउने आरोप र आलोचनालाई आक्रामक शब्दमा उत्तर दिएर मात्र आफ्नो जिम्मेवारी पूरा हुँदैन ।

गएको २७ फागुनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा गगनले सदनमा ध्यानाकर्षण गर्ने भाषण गरे । उनले 'वाम गठबन्धनको चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धता कण्ठ गरिएको छ र कांग्रेसले ती प्रतिवद्धताहरूको हिसाब-किताब खनखनी क्यासमा गनेर लिन्छ,' भनेका थिए ।

तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि कांग्रेसले कतिपटक सत्तारोहण गर्‍यो र चुनावी घोषणापत्रमा उल्लेख गरिएका कति प्रतिवद्धताहरूलाई उधारोमा बेच्यो भन्ने विषयमा उनको ध्यान गएन ।

ओलीले संसदको रोष्टमबाट गगनलाई जवाफ फर्काए, 'ती घोषणापत्र कण्ठ गर्नका लागि होइन कार्यान्वयनको लागि हो ।' यद्यपि सरकारको नीति तथा कार्यक्रम र बजेट विनियोजनमा वाम गठबन्धनका चुनावी घोषणापत्रमा उल्लेख गरिएका कतिपय प्रतिवद्धताहरूले हावा खाएका छन् । सरकारको कार्यक्रममै नपरेका प्रतिवद्धताहरू कार्यान्वयनमा जाने कुरै भएन ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयलाई लिएर सदनमा अर्कोपटक गगनले भने, 'विगतमा कांग्रेसलाई लम्पसारवादी भन्नेको मोदीलाई अभिनन्दन गर्दा घुँडामा भ्वाङ पर्‍यो कि परेन ?'

प्रधानमन्त्री ओलीले त्यसको जवाफ पनि आक्रामक तरिकाले दिए । उनले भने 'मैले अहिले संविधान संशोधन गर्न सकिन, अर्कोपटक गर्छु भनेर भनेको होइन । कुनै वक्तव्य, भाषण, सम्झौता, पत्रकार सम्मेलनमा राष्ट्रिय हितविरुद्ध गएको देखेको भए प्रमाण ल्याए हुन्छ ।'

कहिलेकाहीँ संसद जुहारी खेल्ने ठाउँ हो कि भन्ने प्रतित हुन्छ । एक अर्काप्रति गरिने कटाक्ष बढी नै देखिने गरेका छन् । प्रधानमन्त्रीले पनि बुझ्नुपर्ने हो, यो समय काम गरेर देखाउनुपर्ने समय हो । प्रधानमन्त्रीले बुझ्नुपर्ने हो, प्रतिपक्षबाट आउने आरोप र आलोचनालाई आक्रामक शब्दमा उत्तर दिएर मात्र आफ्नो जिम्मेवारी पूरा हुँदैन ।

एक समय संसदमा केपी ओली र प्रचण्डको उस्तै जुहारी चल्ने गर्दथ्यो । लोडसेसेडिङ विधिवत रूपमा अन्त्य भएपछि संसदमा पूर्वप्रधानमन्त्री बनेका ओलीले ‘आफूले धारो जोडेर ठिक्क पारिदिएको र प्रचण्डले टुटी मात्र खोलेको’ बताए । प्रचण्डले ओलीको यस्तो वक्तव्यलाई ‘ओलीको हैसियतभन्दा धेरै तलको वक्तव्य’ भनेर टालिदिएका थिए ।’

त्यो खालको कटाक्ष अहिले संसदमा प्रतिपक्षी नेता गगन थापा र प्रधानमन्त्री ओलीबीच देख्न पाइन्छ ।

अहिले संसदमा देखिएका दृष्यहरूले गगनले बोल्ने र शक्तिशाली पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीले जवाफ फर्काउने काम भइरहेको छ ।

सदनमा सत्ता र प्रतिपक्षको जुहारीले संसदलाई अलिकति भए पनि गतिशील, रुचिकर बनाएको जस्तो देखिएको छ । तर यो गतिशीलताको नतिजा सकारात्मक हुनुभन्दा बढी कटुता बढाउने दिशातर्फ अघि बढिरहेको छ । हेर्दा मनोरञ्जन प्राप्त हुने यो प्रकारको जुहारी जनताको क्षणिक मनोरञ्जनको माध्यमजस्तो बनेको छ ।

जनतामा गगन थापा ‘भाषणबाजीको राजनीति’ गर्ने पात्र मात्र हो भन्ने छाप परेको छ ।  प्रतिपक्षी हुँदाजस्तो जोश सत्तापक्ष हुँदा कसैको आउँदैन । यो तथ्य नेपाली राजनीतिमा स्वयमसिद्ध जस्तै हो ।

कतिपयको तर्क के छ भन्दा- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संस्थागतरूपमै लाचार देखिएको यो अवस्थामा गगन थापाको आक्रामक उपस्थितिले कांग्रेसको भूमिकालाई गतिशील बनाएको छ । यो तर्कमा देखिएको सत्यता जनतालाई मनोरञ्जन दिलाउने तहसम्म मात्र सत्य छ ।

संसदमा देखिएको यो प्रकारको जुहारी कटुता बढाउने दिशातर्फ मात्र अघि बढेको देखिन्छ । स्थायी र सशक्त भनिएको वर्तमान सरकारको प्रतिपक्षी पनि स्थायी र सशक्त हुनुपर्ने हो । सरकार या सरकारलाई प्रतिनिधित्व गर्ने निकायहरूमा देखिएका अनियमितता उजागर गर्ने काम प्रतिपक्षीको हो ।

देशलाई दीर्घकालीन असर गर्ने खालका सरकारका योजना, नीति तथा कार्यक्रमहरूलाई जनतासमक्ष पुर्‍याएर आफ्नो धारणा सार्वजनिक गर्ने र जनताको मन जित्ने खालको कार्यक्रम अघि बढाउनुपर्ने प्रतिपक्षीको काम हो । त्यसलाई गगन थापाले जुहारीमा सिमित पारेका छन् ।

कुनैबेला गगन थापा सत्तापक्षका नेता थिए, उनको अहिलेको गर्जन त्यतिबेला काम गर्ने बेलामा देखिएको थिएन ।

थापा स्वास्थ्यमन्त्री हुँदा जनताको पक्षमा केही सुधारात्मक काम त भए, तर गगन प्रायजसो समय शिथिल देखिन्थे ।

जनतामा गगन थापा ‘भाषणबाजीको राजनीति’ गर्ने पात्र मात्र हो भन्ने छाप परेको छ ।  प्रतिपक्षी हुँदाजस्तो जोश सत्तापक्ष हुँदा कसैको आउँदैन । यो तथ्य नेपाली राजनीतिमा स्वयमसिद्ध जस्तै हो ।

कुनै बेला केपी ओली पनि प्रमुख प्रतिपक्षीका नेता थिए । ओली त्यतिबेला पनि जुहारीमै उत्रिने गर्दथे । प्रधानमन्त्री ओली त उखान टुक्काका लागि माहिर मानिन्छन् । आफ्नो विपक्षीलाई हरतरहबाट हतास बनाउने प्रधानमन्त्री ओलीको नीति हो । दुईवर्ष अगाडि केपी ओली प्रधानमन्त्री हुँदा भाषणमा गरेका प्रतिवद्धताहरू अहिले यदाकदा युट्युबमा देख्न र सुन्न पाइन्छ । कार्यान्वयनको कुरा त एकदम टाढाको विषय भइहाल्यो ।

नेपाली कांग्रेसभित्र सात भाइ भनेर परिचित गगनसहितका युवा नेतामाथि जनताको अपेक्षा बढी नै छ । गगनले संसदमा सत्तापक्षसँग जुहारी खेलेर उक्त चासो सम्बोधन गर्न सकिँदैन भन्ने ढिलो चाँडो बुझ्न जरुरी देखिन्छ ।

प्रधानमन्त्री केपी ओली राजनीतिक दृष्टिकोणभन्दा पनि आफ्नो स्वाभावका कारणले जनतामाझ चर्चित भएका हुन् र निर्वाचनमार्फत त्यही चर्चाको आधारमा तत्कालीन पार्टी एमालेलाई नेपालको पहिलो पार्टी बनाउन सफल पनि बने । भारतले गरेको नाकाबन्दीमा जनताको आक्रोशको प्रतिनिधित्व गरेर नेपाली राजनीतिमा उदाएका पात्र हुन् केपी ओली ।

वामगठबन्धन पछि प्रधानमन्त्री ओलीको ठूलो पार्टीको अध्यक्ष हुनुको भूमिका झन् बृहत् भएको छ । जनतालाई चुनावी कालखण्डमा देखाइएका सपनाहरू पूरा गर्ने सुविधाजनक समय प्रधानमन्त्री ओलीलाई प्राप्त छ । करीब-करीब दुईतिहाइ जनताको प्रतिनिधित्व गरेर बनेको सरकारसँग प्रतिपक्षीले कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरामा कांग्रेस जानकार भएको देखिँदैन ।

टिप्पणीकारको सानो सुझाव छ, जुहारी खेलेर रचनात्मक प्रतिपक्षी बन्न सकिँदैन भन्ने चेत कांग्रेस र विशेष गरेर गगन थापामा पसोस् ।

जेठ २१, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस