बजेट कार्यान्वयनको तालिका बनाइने, बजेट घाटालाई निश्चित सीमाभित्र राखिने

जेठ २४, २०७५

काठमाडौँ, २४ जेठ – अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । 

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा आज साँझ आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।  “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उनले भने । 
बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५÷०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे । उनले  आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताए । 
 कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता दिएको बताए । 
 
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक व्यवसाय ऐनलाई पूरा गर्दै लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने बताए । 
अध्यक्ष शर्माले उद्योग क्षेत्रमा रहेको पुरानो कानूनलाई परिवर्तन र संशोधन गर्नु आवश्यक भएको बताए । 
 


ADVERTISEMENT

जेठ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार