२७ जेठ २०८३, बुधबार

चीन भ्रमणपछि संसदमा ओलीको सम्बोधन– ‘यता ढल्किने या उता ढल्किने गर्दैनौं’

चीन भ्रमणपछि संसदमा ओलीको सम्बोधन– ‘यता ढल्किने या उता ढल्किने गर्दैनौं’
फाइल फोटो

काठमाडौं, १२ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनको भ्रमणपछि छिमेक सम्बन्धमा सुधार आएको बताउनुभएको छ । नेपाल यता ढल्किने या उता ढल्किने नगर्ने उहाँले स्पष्ट पार्नुभयो । 

प्रतिनिधिसभाको बैठकमा मंगलवार ‘सार्वजनिक महत्त्वको विषयमा वक्तव्य’ दिँदै प्रधानमन्त्री ओलीले दुवै छिमेकीसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न चाहेको बताउनुभएको हो । 

‘हामीले छिमेकीसँग सम्बन्ध सुधार गरेका छौं, सम्बन्ध सुधार गर्न विश्वासको वातावरण बनाउन र समझदारी तथा सहकार्यको वातावरण तयार गर्न सफल छौं,’ ओलीले भन्नुभयो, ‘क्षणिक हिसाबले एउटाविरुद्ध अर्काको कार्ड खेल्ने, एउटाविरुद्ध अर्कोलाई उचाल्ने अथवा तत्कालीन हितका लागि गैरजिम्मेवार ढंगले चल्ने काम हुँदैन । हामी हाम्रो दुवै छिमेकीसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न चाहान्छौं ।’ 

प्रधानमन्त्री ओलीले नेपालको विकासमा छिमकीलाई साथ लिन चाहेको र उनीहरूको उन्नती प्रगतिबाट लाभान्वित हुन चाहेको बताउनुभयो । ‘उहाँहरूको संवेदनशीता,जायज चासो, चिन्ता र सरोकार बुझेका छौं । सभामुखमार्फत् भन्न चाहान्छु, भित्र के हो कसो हो  ? बारिह यस्तो भन्ने कुरा होला । भित्र र बाहिरवाला कुरा गर्दैनौं,’ ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले दुईवटा छिमेकीबीच समझदारी होस्,  असमझारी नहोेस्, उनीहरूका बीचमा पनि समझादारी गर्ने कुरामा हाम्रो साकारात्मक योगदान हुन सकोस्, भन्नुभयो ।

‘हामी यता ढल्किने या उता ढल्किने गर्दैनौं, हामी पञ्चशील, पारस्परिक लाभ र स्वाभिमानका अधारमा न्यायोचित कुरा गर्छौं । हामी तनाव होइन, शान्तिका पक्षमा छौँ । छिमेकमा तनावको पक्षमा हुन सक्दैनौं,’ उहाँले भन्नुभयो ।
राजनीतिक परिवर्तनलाई टुंग्याएर यो ठाउँमा आइसकेपछि, आजको वर्तमानमा एकल प्रयास प्रयाप्त नहुने भएकाले विकासका लागि छिमेकीको मद्दत लिनुपर्ने उहाँले बताउनुभयो । 

‘बलिया छिमेकीको सामथ्र्य र प्रविधि समेत हाम्रा विकासका प्रयासमा मिसाउन चाहन्छौं, सहकार्यको अपेक्षा गर्छौं,’ ओलीले भन्नुभयो, ‘सबैसँग मिलेर हाम्रो देशलाई समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न चाहन्छौं, यस दिशामा यसपकको चीनभ्रमण अवश्य सकारात्मक र सहयोगी बनेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्