भलिबल ‘स्पाइकर’ सरस्वती : शारीरिक उचाइझैं उँचो प्रोफाइल, ४५ स्वर्णसहित सयौं पदक

साउन ५, २०७५

धनगढी –‘केही आउन्थेन मलाई । गेम खेल्नलाई बोलाउन आउँथे, घरभित्र लुक्थे । उचाइ देखेर होला घरमै आइपुग्थे,’ लामो श्वास तान्दै उनले खेल जीवनको कथा शुरू गरिन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्ति टोलमा २०५२ कात्तिक १४ गते बुवा शुक्रराज चौधरी र आमा बेल्सीदेवी चौधरीको कोखबाट सरस्वती चौधरीको जन्म भयो । बाल्यावस्थामा साथीभाईमाझ दुब्ली र अग्ली देखिने उनको खेलप्रति खासै लगाव थिएन । तर, आज एकाएक उनको उचाइझै उनको प्रोफाइल उँचो भएको छ । उनको उचाइ ६ फिट रहेको छ ।


ADVERTISEMENT

‘१ दशक अघिसम्म टीमको लागि खेलाडी पुर्याउन धौं–धौं हुन्थ्यो । मेरो उचाइ देखेर तिमीले गेम खेल्नुपर्छ भन्दै प्रशिक्षक सरहरू घरमै आउनुहुन्थ्यो,’ कैलालीका भलिबल प्रशिक्षक विष्णु चौधरीलाई स्मरण गर्दै उनले अगाडि थपिन् । सरस्वती हाल महिला राष्ट्रिय भलिबल टोलीकी ‘स्पाइकर’ एवं प्रभावशाली खेलाडी हुन् भने विभागीय टोली एपीएफको मुख्य स्पाइकर ।

२०६४ सालमा काठमाडौंमा गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो । त्यसताका उनी धनगढीस्थित मालिका इङ्गलिस स्कूलमा ७ कक्षामा अध्ययनरत थिइन् । प्रतियोगिताको लागि सुदूरपश्चिमाञ्चल टोलीको लागि उनलाई वैकल्पिक खेलाडीको रुपमा छानियो । जुन प्रतियोगिता नै उनको जीवनको पहिलो राष्ट्रिय प्रतियोगिता हो । उनले खेलको शुरूवाती अनुभव सुनाउँदै भनिन्, ‘वैकल्पिक खेलाडी भएकाले धेरै खेल्ने मौका नपाएपनि हेरेरै धेरै हौसाला मिल्यो ।’

३ अन्तर्राष्ट्रिय, ४० बढी राष्ट्रिय प्रतियोगितालाई लिड

खेलप्रति अभिरुचि बढ्दै थियो उनमा । उत्कृष्ट प्रदर्शनको सीमा थिएन । प्रशिक्षकको रोजाइमा पर्दै गइन् । गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगितामा गरेको प्रदर्शनले उनले धेरैलाई प्रभावित पारिन् । फलतः पोखराको फिस्टेल एकेडेमीले उनलाई छात्रवृत्तिको अवसर दियो । त्यो नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ हो । ११ कक्षासम्मको अध्ययन फिस्टेलमै गरेकी सरस्वतीको त्यहाँबाटै नै व्यावसायिक भलिबल करिअरको शुरू भएको हो । 

‘मेरो खेल जीवनको आधारशीला भन्नु नै फिस्टेल हो । जहाँबाट नै मैलै फक्रने वातावरण पाएको छु,’ उनले फिस्टेलप्रति कृतज्ञता प्रकट गरिन् । २०७० सालदेखि उनी विभागीय टोली एपीएफमा आवद्ध छिन् । जुन नेपाली भलिबलको सर्वाधिक सफल टोली हो । पछिल्लो समय प्रायः सबै घरेलु प्रतियोगितामा एपीएफकै दबदबा छ । एपीएफलाई बलियो टोली बनाउनमा उनै ६ फिट उचाइकी सरस्वतीले मुख्य स्पाइकरको भूमिका छ ।

उनको ‘क्विक स्पाइक र ब्लक’ले राष्ट्रिय भलिबलको नतिजालाई सफलताको नजिक पुर्याउँदै आएको छ । जुन कारणले पनि उनी महिला भलिबलमा नेपालको नम्बर १ क्विक स्पाइकरको छवि बनाएकी छिन् । ब्लक र स्पाइक दुवैमा हावी हुन सक्ने क्षमता भएको उनको सहकर्मी एवं महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर नेबिका चौधरी बताउँछिन् ।

‘धेरैले सोध्ने गर्छन्, तपाई छोरीलाई के खुवाउनुहुन्छ भनेर । तर, मेरो जवाफ हुन्छ, थारुको घरमा के नै हुन्छ र ? चौरासी व्यन्जन हुँदैन । उही सागपातको झोलै त खान्छे ।’

‘हामीले धेरै गेमसँगै खेलेका छौं । उनको स्पाइक र ब्लक गर्ने क्षमताले प्रतियोगितालाई रोमाञ्चक बनाउँछ । जसले प्रतिस्प्रर्धी टीमको प्रयासमा पानी फिरेको हुन्छ,’ नेबिकाले अगाडि थपिन् । उनी हालसम्म ३ वटा अन्तर्राष्ट्रिय, ४० बढी राष्ट्रियसहित थुपै्र क्षेत्रीय स्तरको भलिबल प्रतियोगिता खेलिसकेकी छिन् ।

हालसम्म खेलेको प्रतियोगितामा कतिको सफलता मिल्यो ? भन्ने जिज्ञासामा केहीबेर अक्मकिँदै भनिन्, ‘सबै याद गर्न त गाह्रो भो । तर, मैले खेलेको टीमले ४५ बढी गोल्ड मेडल, २० बढी काश्य र १० जति रजत पदक पुग्यो होला ।’ सन् २०१४ मा आयोजित प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलबाट उनी राष्ट्रिय टोलीमा डेब्यु गरिन् । जुन प्रतियोगितामा नेपालले श्रीलंकालाई हराउँदै रजत पदक जितेको थियो ।

त्यसपछि उनको सहभागिता रहेको सेन्ट्रल जोन गेम २०१७ मा पनि रजत र २०१६ मा भएको पहिलो साफ गेममा नेपालले काश्य पदकमा चित्त बुझाउनुपर्यो । यी ३ वटा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताबाहेक उनी राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरेकी हुन् ।

कीर्तिमानी हस्तीलाई पछार्दै अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्चले २०७० उनलाई लोकप्रिय खेलाडीको उपाधि स्वरुप खेलकुदको प्रतिष्ठित अवार्ड पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित गर्यो । जुन प्रतियोगितामा एसएमएस भोटिङमार्फत् क्रिकेटका कप्तान पारस खड्का, फुटबलका युवा स्ट्राइकर विमल घर्तीमगर, एथलेटिक्सका यामसाजन सुनार र पौडीकी सोफिया शाहलाई पछार्दै अवार्डमा स्कुटी हात पारिन् ।

२०७० सालमै नेपाल भलिबल संघले वर्षको उत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको थियो । साथै, सशस्त्र प्रहरी आईजीपी कप भलिबलमा पनि उत्कृष्ट खेलाडीको उपाधिसँगै स्कुटर र २०६९ सालमा ढोरपाटन डबल लिग भलिबलमा राइजिङ खेलाडीको उपाधिसँगै स्कुटर पुरस्कार प्राप्त गरेकी थिइन् ।

कोठैभरि मेडलै–मेडल

कलिलो उमेरमै सरस्वतीले पाएको सफलताको कुरा थाल्दा आमा बेल्सीको मुहारको चहक नै बेग्लै देखिन्थ्यो । छोरीको सफलता उनको मुहारमा प्रतिबिम्बित गर्यो । हालसम्म खेलका प्रतियोगिता र दिलाएको उपाधिबारे खोजीनीति गर्दा सरस्वती स्वयम्लाई विवरण दिन हम्मेहम्मे भयो । पछि आमा बेल्सीकै मदतले केही विवरण उपलब्ध भयो ।

जब सन्तानले सफलता प्राप्त गर्छ । तब अभिभावकलाई मिल्ने खुशीको सीमा हुँदैन । जसको ज्वलन्त उदाहरण बेल्सी चौधरीको सन्तुष्ट भाव हो । सरस्वतीले जति पटक सफलता पाइन्, त्यति–त्यति बेलाका समाचारका कटिङहरू आमा बेल्सीले सजाएर फाइलिङ गर्दै आएकी छिन् । छोरीको फोटोसहित आएका समाचारका कटिङलाई लेमिनेसन गरी फाइलिङ गरेकी हुन् । जसको आधारमा लोकान्तरलाई धेरथोर उनको खेल यात्राको जानकारी हासिल भयो ।

‘छोरी हाम्रो शान हो । उसलाई आफूले पाएको सबै सफलताको याद नहोला । तर, मैलै छोरीले खेलेको खेलको सामाचारलाई यसरी सजाएर राख्ने गरेको छु,’ नेपालको मुख्य–मुख्य ब्रोडसिट दैनिकमा आएको समाचारको कटिङ फाइल देखाउँदै बेल्सी भनिन् । स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका समेत रहेकी बेल्सीको खुसीको सीमा त्यतिमा सीमित छैन । घरको भित्ताभरि छोरीले पाएको मेडलै–मेडल, कदरपत्र र सम्मानपत्रले सजाएकी छिन् ।

‘पहिले–पहिले गेम खेल्न बाहिर जाँदा धेरै रोक्थे । छोरी मान्छे केही हुने त होइन भन्ने डर लाग्थ्यो । तर, आज छोरीले आफ्नोसँगै हाम्रो पनि मानसम्मान बढाएकी छे,’ कुरा गर्दागर्दै हर्षले गलासम्म छल्किएको आँशु पुछ्दै बेल्सीले भनिन्, ‘धेरैले सोध्ने गर्छन्, तपाई छोरीलाई के खुवाउनुहुन्छ भनेर । तर, मेरो जवाफ हुन्छ, थारुको घरमा के नै हुन्छ र ? चौरासी व्यन्जन हुँदैन । उही सागपातको झोलै त खान्छे ।’

‘खेलाडी बनाउन गरगहना बेचे’

सन्तानको भविष्य बनाउन अभिभावकको ठूलो भूमिका रहन्छ । जुन अभिभावकत्वबाट कहिल्यै नचुकेको बेल्सीको कथन छ । उनले छोरीलाई खेलाडी बनाउन १६ थान चाँदीका सिक्का, १ तोला सुन बिक्री गरेको सुनाइन् ।
बेल्सीको परिवारमा श्रीमान्, २ छोरा र १ छोरी (सरस्वती) सहित ५ जना छन् । श्रीमान् शुक्रराज धनगढीको १ होटलमा कार्यरत छन् । उनका छोराहरू पनि स्वरोजगार छन् ।

‘बिहेबारे सोच्ने बेला आएको छैन’

भनिन्छ, जब सन्तान युवा अवस्थामा पुग्छ । तब अभिभावक र सन्तानको सम्बन्ध मित्रतामा परिणत हुन्छ । सरस्वती र उनकी आमाबीच पनि यही मित्रता स्थापित हुँदै गएको छ । आमा बेल्सीले छोरी जवान भएपछि छोरीको हरेक कुरामा नजरअन्दाज गर्नु स्वाभिक हो ।

‘कहिले काँही छोरीको भित्रि भावना बुझ्ने कोशिस गर्छु । सधैंभरि घर बाहिरै रहने छोरीको कहिकतै कसैसँग चक्कर छ कि भनेर ? तर, छोरीले भन्छ, आमा यो समय भविष्य बनाउने बेला हो । अध्ययन पूरा गर्ने बेला हो । मलाई बिहेबारे सोच्ने फुर्सद नै छैन ।’

उनी हाल काठमाडौंको शंकरदेव क्याम्पसमा बीबीएस चौठौं वर्षमा अध्ययनरत छिन् ।

वैदेशिक प्रशिक्षणमा जाने पहिलो खेलाडी

उनी वैदेशिक प्रशिक्षणमा जाने पहिलो नेपाली महिला खेलाडी समेत बनेकी छिन् । वैदेशिक प्रशिक्षणका लागि जापान जाने मौका पाएकी थिइन् । जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करीब १ महिना प्रशिक्षण लिएकी थिइन् ।

खेलमा भविष्य छैन

२०७४ मंसिरमा नेपाली एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरी नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएर विदेश पलायन भइन् । राष्ट्रको गहना मानिने खेलाडीलाई राज्यले वेवास्ता गर्दा खेलाडीहरू जीविकोपार्जन र आर्थिकस्थिति सुधार्न विदेश पलायन हुने गरेका छन् ।

पछिल्लो समय केशरीकै बाटोमा हिँड्नुपर्ने परिस्थिति सिर्जना हुँदै गएको सरस्वतीले समेत बताउन थालेकी छिन् । ‘शरीरमा ऊर्जा रहुन्जेलसम्म हामीले खेल खेल्ने हो । शरीरले साथ नदिएको वा जीवनको उत्तरार्धमा हाम्रो अवस्था के हुन्छ ? यसबारे राज्य बेखबर छ,’ उनी भावुक हुँदै भनिन्, ‘केशरीकै बाटोमा हिँड्नु नपर्ला भन्न सकिन्न ।’

उनी २०७२ देखि सशस्त्र प्रहरीको सिपाहीको दरबन्दी पाएकी छिन् । सशस्त्र प्रहरी इन्सपेक्टरको जागिर खाने सपना बुनेकी छिन् । तर, थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताकी विजेता सरस्वती २ पटक असईको परीक्षामा असफल भइसकेकी छिन् ।

साउन ५, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस