१४ असार २०८३, आइतबार

कामु प्रधानन्यायाधीश जोशी सर्वोच्चमा अनुपस्थित, पर्‍याे राजीनामाको दवाव

कामु प्रधानन्यायाधीश जोशी सर्वोच्चमा अनुपस्थित, पर्‍याे राजीनामाको दवाव

काठमाडौं– प्रधानन्यायाधीशका लागि सिफारिस कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतवार दिनभर सर्वोच्च अदालतमा अनुपस्थित रहे । 

बालुवाटारस्थित सरकारी क्वार्टरबाटै आइतवारको दैनिक पेशी तोकेका जोशी अदालत भने गएनन् । 

प्रधानन्यायाधीशका लागि सिफारिस जोशी संसदीय सुनुवाइ विशेष समितिमा बिचाराधीन अवस्थामा रहेको सुनुवाइको निर्णय अन्यौलमा रहेपछि आइतवार दिनभर क्वार्टरमै बसेका थिए । 

संसदीय विशेष सुनुवाइ समितिले बिहीवार जोशीसँग सवाल–जवाफ गरेको थियो । 

जोशीमाथि समितिमा ५ वटा उजुरी परेकोमा सवाल–जवाफका क्रममा उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै समितिले उनको अनुमोदनसम्बन्धमा निर्णय गरेको थिएन । 

बिहीवारको सुनुवाई समितिको बैठकले दोस्रो दिन (शुक्रवार) निर्णय गर्ने भनेको थियो । तर शुक्रवार पनि समितिको बैठक बसेन । आइतवार बस्ने भनेको बैठक पनि स्थगित भयो । 

जोशीको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको भन्दै संसदीय समितिमा उजुरी परेको थियो । सुनुवाईका क्रममा सांसदहरुले प्रमाणपत्रबारे जवाफ मागेपनि जोशीले भने त्यसबारे प्रस्ट जवाफ दिएका थिएनन् । 

राजीनामा गर्न सत्तापक्षको सन्देश

प्रधानन्यायाधीशका लागि सिफारिस भएका जोशीलाई सत्तापक्षले भने राजीनामा दिएर निकाश निकाल्न सन्देश दिएको जानकारी लोकान्तरलाई प्राप्त भएको छ । 

सत्तारुढ दल नेकपाको उच्च स्रोतले जोशीलाई राजीनामा दिएर देखिएको समस्याको समाधान गर्न सन्देश पठाइएको बतायो । 

‘नेपालको न्यायिक इतिहासमा सुनुवाईबाट अनुमोदन नभएका प्रधानन्यायाधीशका रुपमा आफ्नो नाम नलेख्न भनेर हामीले राजीनामा दिन सन्देश पठाएका छौं,’ नेकपाको उच्च स्रोतले लोकान्तरसँग भन्यो । 

कामु प्रधानन्याधीश जोशीले पदबाट राजीनामा नदिए सोमवारको संसदीय सुनुवाई विशेष समितिको बैठकबाट उनको नाम अनुमोदन हुने संभावना कम छ । 

सुनुवाइ समितिमा नेकपासहित संसदीय फोरम गरी सक्षापक्षको दुईतिहाइ बहुमत छ । समितिका दुईतिहाइ सदस्यले जोशीको नाममा असहमति जनाए उनको अनुमोदन हुन सक्दैन । 

salt training

कमेन्ट गर्नुहोस्