किसान नेता भीमदत्त पन्त : 'प्रजातन्त्र'ले टाउको रेटेका योद्धा

साउन १७, २०७५

आज साउन १७ गते । विक्रम सम्वत् २०१० साउन १७ गते तत्कालिन किसान क्रान्तिका नायक भीमदत्त पन्तको टाउको काटी हत्या गरिएको दिनको सम्झनामा देशैभरि आज ‘शहीद भीमदत्त पन्तको ६६ औं स्मृति दिवस’ मनाइँदै छ । खासगरी किसान क्षेत्रका कार्यरत संघ/संस्था र राजनीतिक संगठनहरुले शहीद भीमदत्त पन्तलाई सम्झने छन्, मात्र औपचारिकताका लागि । भीमदत्त पन्त नेतृत्वको क्रान्तिको असामयिक अवसान भएको ६६ वर्ष लाग्दासम्म पनि भीमदत्त पन्तका आधारभूत सिद्धान्तलाई कसैले अर्थपूर्ण रुपमा अगाल्न सकेको देखिँदैन ।

‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा सुरु गरेको किसान आन्दोलनबाटै गरीब, किसान, शोषित, पीडित र सर्वहारा वर्गको मुक्ति देखेका भीमदत्त पन्तले आफ्नो क्रान्तिलाई पूर्णतामा पुर्याउन सकेनन् । बल्की पन्तले थालेको किसान क्रान्ति विरोधीहरुले उनको हत्या गरे । 

डडेल्धुरा सदरमुकाम अमरगढीबाट १ किलोमिटर दक्षिणमा पर्ने तत्कालीन घटाल गाविस–२ (हाल अमरगढी नगरपालिका–२) कारीगाउँमा विक्रम सम्वत् १९८३ मंसिर १० गते जन्मेका क्रान्तिकारी योद्दा भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा विक्रम सम्वत् २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो ।

भूमिको स्वामित्व र उपयोगका लागि किसान नेता पन्तले थालेका कदमहरुले हालसम्म पनि पूर्णता पाउन सकेका छैनन् । कतिपय किसान संघ/संस्थाहरुले हालसम्म समेत भीमदत्त पन्तका नारालाई अँगालेर आन्दोनल अगाडि बढाइरहेको पाइन्छ । समानता, किसान अधिकार र स्वतन्त्र नेपालको पक्षमा लड्ने पन्तको ‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने उक्ति अहिले पनि उत्तिकै सान्र्दभिक छ । 

अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्त पन्तले २००७ सालबाट आन्दोलनको सुरुवात गरेको उनका सहकर्मीहरु बताउँछन् । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले समाजका ठालुहरु उनीसँग डराउँथे । कसैलाई भीमदत्त पन्तले कारबाही गरेको थाहा पाइएमा ठालु र समाजका शोषकहरु डराउथे भनिन्छ । ‘उठ जाग रे, नेपाली नवजवान जाग रे’, ‘नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाउँ रे’ भन्ने देशभक्तिका भावनाले भरिएका गीत उनको प्रार्थना थियो । 

‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आया ठालुको काल आयो’ (मुम्बई जाने रेलमा दिल्लीबाट सामान आयो, गरिबका दिन आए ठालुहरुको काल आयो) भन्ने उनको चर्चित गीत रहेको पन्तबारे अध्ययन गरेका जानकारहरु बताउँछन् ।

विक्रम सम्वत् २००९ तिर गाउँका ठूला ठालुहरुलाई अनिर्वाय उपस्थित गराइ पन्तले जय दास (एक जना दलित)को हातको पानी खान लगाएको बताइन्छ । गरिबहरुलाई संगठित र एकजुट गर्नुपर्छ भन्ने सन्देश दिँदै पन्तले सुदूर तथा मध्यपश्चिमका अधिकांश जिल्ला भ्रमण समेत गरेका थिए । 

गरिब सर्वसाधारण जनताले नुनसमेत खान नपाएको देखेर पन्तले नुन आन्दोलन गरे । कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरिबहरुलाई नुन, कपडा वितरण गरेको दिनमा गरिबहरुको ठूलो जमातले भीमदत्त पन्तको स्वागत गरी ‘भीमदत्त पन्त जिन्दावाद !’ भन्दै नाराबाजी गरेको स्मरण गरिन्छ । त्यतिबेला गड्डाचौकी भन्सारबाट तत्कालीन शासकहरुले हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्‍याएर मार्ने तयारी गरिएको अवस्थामा भागेर ज्यान बचाई भीमदत्त पन्त कञ्चनपुर आएका थिए । 

त्यसलगत्तै धर्मसिंह डिट्ठालाई बोरामा बाँधेर महाकालीमा फालेको र जोगराज सुवेदारलाई बोरीमा बाँधेर फाल्न लाग्दा उनकी श्रीमतीले बाटोमा गएर बचाएको बताइन्छ । त्यसलगत्तै डडेल्धुरा फर्केर आफ्ना बुबालाई ‘तपाईं पनि सामन्त हो’ भनी घरमा भएका तमसुखहरु च्याते । त्यसपछि गाउँका ठूलाबडाको घरमा भएका तमसुखहरु संकलन गरी बोरामा हालेर जलाइदिए । उनकै अगुवाइमा मालअड्डामा भएका मोठहरु जलाइयो । 

त्यसपछि डडेल्धुराका तत्कालिन बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाएर पन्तले ४ महिनासम्म डडेल्धुरामा शासन चलाएको जानकारहरु बताउँछन् । सामन्ती संस्कारका विरुद्ध लड्न पन्तले सेना समेत तयार गरेका थिए । सेनामा पनि दलित र मगरहरु बढी थिए । नेपालगञ्जका गौरीलाल र रुपसिंह २ जना सेनाका कमान्डर थिए ।

भीमदत्त पन्तले शोषक भनि कारवाही गरेकाहरुको आग्रहमा तत्कालीन श्रीनाथ गणबाट लालबहादुर थापा, भीमबहादुर दियाल, तप्तबहादुर थापाको टोली भीमदत्तको खोजीमा हिँड्यो । नेपाली सेनाले मात्र पन्तलाई मार्न नसकिने भन्दै तत्कालिन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको विशेष आग्रहमा भारतीय सेना समेत झिकाइएको थियो । भीमदत्तका सेना र भारतीय सेनाबीच कैलालीको धनगढीमा ठूलो भिडन्त पनि भयो । उक्त भिडन्तमा भीमदत्तका सेनातर्फ ठूलो क्षति भयो । 

आफ्ना केही सेनासहित पन्त ज्यान जोगाएर पहाडतिर लागे । पहाड जानेक्रममा केही दिन उनी हाल डोटी जिल्लामा पर्ने बुँडर, गल्लेक भन्ने ठाउँमा बसे । गल्लेक डडेल्धुराको भित्रिमधेश क्षेत्र प्रवेशद्वारा क्षेत्रको रुपमा रहेको छ । त्यहाँ उनको मितको घरसमेत थियो । २०१० साल साउन १७ गते गल्लेकमा मगरको घरमा खाना पकाउन लागेको अवस्थामा भीमदत्तलाई सेनाले फेला पार्यो । 

२ वटा गोली लागेर छट्पटाइरहेका बेला भीमबहादुर दियालले पन्तको टाउको काटिदिएको बताइन्छ । काटेको टाउको ल्याएर बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाइयो । भीमदत्त पन्तसित हिँड्ने मोहनसिंह ऐरी, बीरबहादुर खडायतलाई निर्घात कुटपिट गरियो । हाल जिल्ला प्रहरी र्कायालयभित्र रहेको भैरब मन्दिर भएको ठाउँमा बाँसको खम्बा गाडेर त्यसको टुप्पोमा भीमदत्त पन्तको टाउको झुण्ड्याइएको बताइन्छ । 

भीमदत्तले उत्तर प्रदेश भारतको सिंहाइबाट संस्कृत विषयमा माध्यमिक तह (हाइस्कुल) सम्मको अध्ययन गरेका थिए । आन्दोलनका क्रममा पन्तको सम्बन्ध नेता मनमोहन अधिकारीसँग राम्रो रहेकै कारण २०३६ सालमा अधिकारी उनको घरमा पुगेका थिए । सुरुवातमा काँग्रेस भनी चिनिएका भीमदत्त पन्त माक्र्सवादका अनुयायी रहेको उनी निकट व्यक्तिहरु बताउँछन् । पारिवारिक स्रोतका अनुसार भीमदत्त पन्तका २ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो छोरा र अढाई वर्षको उमेरमा कान्छो छोराको मृत्यु भएको बताइन्छ ।

गरिब, दलित, जनजाति र किसानको पक्षमा आन्दोलन नगर्न भनेर उनलाई समाज र परिवारबाटै दबाब आउने गरेपनि ‘म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ, त्यसैले आजैदेखि अन्याय, अत्याचारका विरुद्ध लड्नुपर्छ’ भन्ने उनको मान्यता रहेको बताइन्छ । तत्कालीन समयमा किसान र सर्वहारा आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाएका विद्रोही नेता पन्तका विचारलाई राजनीतिक दलहरुले समय–समयमा स्मरण गर्ने गरेपनि त्यसलाई व्यवहारतः लागु गर्न सकेका छैनन् । 

राज्यको बागडोर सम्हालेका राजनीतिक शक्तिहरुले भीमदत्त पन्तका विचार, सिद्धान्त, योजनाका इतिहासलाई संरक्षण गर्न सकेको पाइँदैन । भीमदत्त पन्तको नामबाट कञ्चनपुरमा ‘भीमदत्त नगरपालिका’ र ‘धनगढी–डडेल्धुरा भीमदत्त राजर्माग’ राखिएता पनि राज्यले औपचारिक रुपमा शहीद घोषणा गर्न समेत ढिलाई गर्यो । हालकाे प्रधानमन्त्री केपी ओली पहिलाेपटक प्रधानमन्त्री भएका बेला सरकारले पन्तलाई शहीद घोषणा गरेकाे भएपनि उनीसँगै आन्दोलनमा सहभागी भएका व्यक्ति र तिनको परिवारको भने उचित सम्मान भएको छैन । गरिब, दलित र किसानका लागि ज्यानको आहुति दिने नेता पन्तलाई राज्यले शहीदको सूचीमा राख्न समेत ढिलाई गर्नु चरम उपेक्षा हो ।

शहीद भीमदत्त पन्तका विचारको प्रवाह र पहिचानको संरक्षण गर्न भन्दै थुप्रै संस्था र प्रतिष्ठानहरु खुलेका छन् । यसरी खुलेका संघ/संस्था र प्रतिष्ठानहरुले सरकारी बजेटका आधारमा आफ्नो कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । शहीद भीमदत्त पन्तलाई एनजिओकरण गर्नु पनि अर्काे दुःखद पाटो हो । किसानराजको परिकल्पना गरेर राज्य सत्ता किसानहरुको नियन्त्रणमा राख्ने परिकल्पनालाई साथर्कता दिन कसैले सहयोग गरेको देखिँदैन । 

घर, परिवार समाज त्यागेर गरिवका पक्षमा निःस्वार्थ वकालत गरेका पन्तजस्तै नेताको खाँचो छ, अहिलेको नेपाली समाजमा । अहिलेका राजनीतिक शक्तिले सत्ता, भत्ता र स्वार्थ बाहेक गरीब, शोषित, पीडित र सर्वहारा वर्गको पक्षमा काम गरेको पाइँदैन । अहिलेका राजनीतिक दलहरुले शहीद भीमदत्त पन्तका नारा र नाममा भोट संकलन गर्ने जुक्ति मात्रै निकालिरहेका छन् । 

शहीद भीमदत्त पन्तका स्मृतिमा गरिने औपचारिक कार्यक्रमले मात्रै भीमदत्त पन्तप्रतिको सच्चा श्रद्धाञ्जलि कदापी हुने छैन । शहीद भीमदत्त पन्तको मार्गनिर्देशलाई अगाल्दै गरीब, किसान, दलित, महिलाको पक्षमा आफ्ना कार्यक्रम निःस्वार्थ रुपमा अगाडि बढाउनु अहिलेको राजनीतिको आवश्यकता हो ।


ADVERTISEMENT

( अर्काइभबाट संशोधनसहित )

साउन १७, २०७५ मा प्रकाशित

जी भट्ट

भट्ट ‘लोकान्तर’का डेस्क सम्पादक हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस