
जनकपुरधाम –प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने बताउनुभएको छ ।
प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएकाले यो समयानुकूल परिमार्जन हुने बताउनुभयो ।
'संविधान, कानून हामीले बनाको हो । कहीँ कतै हेरफेर र विकास गर्नु परे नगर्ने भन्ने कहाँ हुन्छ ?' प्रधानमन्त्री ओलीले भन्नुभयो‚ 'हामीले धर्मशास्त्र बनाएको होइन । संविधान, कानून गतिशील हुनुपर्छ । यसले हामीलाई आज पनि बाटो देखाउनुपर्छ र भोलि पनि बाटो देखाउनुपर्छ ।'
आफूले संविधान संशोधन गर्दिन भन्यो भनेर अफवाह फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले दु:ख व्यक्त गर्नुभयो ।
'कसैकसैले हल्ला चलाएका छन्– फलानो पृष्ठ फेर्दिन भन्यो ! त्यस्तो कतै भनेको छैन । आफ्नो जीवनको ५० वर्षभन्दा बढी समय राजनीतिमा बिताएको मान्छेले यस्तो कुरा कसरी भन्नसक्छ ?' उहाँले भन्नुभयो – 'देश र जनताको आवश्यकताअनुसार चाहिएका बेला संशोधन हुन्छ ।'
प्रधानमन्त्रीले थप्नुभयो – 'विभेद कहीँ छ भने मलाई भन्नुस्, संशोधन हुन्छ । प्रस्ताव लाने काम संघीय सरकारको हो । संघीय संसदले संविधान संशोधन गर्छ ।'
साथै प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को विकासका लागि आफू चिन्तित रहेको बताउनुभयो ।
'यस प्रदेशको विकासका लागि संघीय सरकार र म एकदमै चिन्तित छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँ विकासको असाधारण सम्भावना छ ।’
प्रदेश २ मा अत्यन्तै उर्वर जमिन रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई मरभूमिकरण हुनबाट बचाउन सिँचाइ सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कृषिको आधुनिकीकरण गरेर हालको उत्पादनलाई चारगुणासम्म बढाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।