
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिनुभयो ।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न म जनप्रतिनिधिलाई आग्रह गर्छु ।”
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समाजवादको यात्रालाई सार्थक बनाउन धनी र गरीबबीचको अन्तरलाई कम गर्दै जाने बताउँदै यस क्षेत्रका ठूला नदी नियन्त्रण र विकासका योजना आउने जानकारी दिनुभयो ।