पति होस् त प्रचण्ड जस्तो !

मंसिर २, २०७५

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरी गीत गाउनका लागि म्याग्दीको बेनी गएका थिएनन् । गायक खड्क गर्बुजाको एउटा गीत छ : ‘जाउँला पाखापानी मामाको छोरी लिनलाई ।’ पाखापानी पनि म्याग्दी जिल्लामै पर्दछ । र पक्कै पनि श्रीमती नैनकला थापासँगै गएका गृहमन्त्री रामबहादुर थापाले समेत मामाको छोरी लिनलाई म्याग्दी बेनी गएका हैनन् होला ।

तातोपानी कुण्डमा डुबुल्की मार्दा मानव स्वास्थ्यलाई कति फाइदा छ भन्ने विषय थाहा पाउन नेपालीहरूलाई अझै सय वर्ष लाग्छ । तर कूकको काम गर्न जापान पुगेकाहरूले जापानीहरू किन सजिलै सय वर्षसम्म बाँच्दछन् भन्ने कुराको चाल पाएका छन् । कुखुराको मासु र बोका काट्दा भुत्ल्याउने तातोपानी र प्रचण्ड तथा बादल परिवारको छाला भुत्ल्याउने तातोपानीमा आकाश–जमीनको फरक छ ।


ADVERTISEMENT

भुँडी त गणेश भगवानको पनि छ । अलिकति मेरो पनि छ । भुँडी नभएको नेपाली को छ ? पेट नभएको नेपाली कोही छ ? तर यहाँ प्रचण्ड र बादलको भुँडी देखेर जगतै हाँसेको छ, मानौं कि भुँडी संवेदनशील अङ्ग हो । अरे बाबा ठाकुरे नि, कोट र पाइन्ट लगाएर पौडी खेलिन्न क्या । प्रचण्ड र बादल ‘सिक्स प्याक बडी’ देखाउन, आफ्नो सेक्सी फिगर देखाउन माथिल्लो हरको लुगा सर्लक्कै फुकालेका हैनन् नि । त्यो तातोपानी कुण्डको व्यवस्थापन समितिको नियम नै कडा । 

एउटा ट्यापे टाइपको गीत छ, ‘मायालु, म तिमीलाई आची गर्दा, ग्यास छाड्दा, उठ्दा, बस्दा, रातमा पनि, बिहान पनि सम्झिन्छु’ भन्ने । तातोपानी कुण्डको स्नान प्रकरणले सारा लोकवासी प्रचण्ड र बादल परिवारउपर खनिएका छन्, रातमा पनि, दिनमा पनि । सामान्य नागरिकहरू त खनिने नै भए किनभने गणेशमानले हामीलाई भेडा भनेकै थिए । तर पढेलेखेका, बुझेका, कमनसेन्स भएकाहरूले पनि तातोपानी कुण्डको स्नानलाई महाभारतको लडार्इं जस्तो बनाएकोमा दुःख लाग्छ ।

हेर्नुहोस, मान्छे आफू बाँच्नको लागि अनेक कर्म गर्छन् । धर्म नमान्नेहरू धर्म मान्छन्, मेडिटेसन नगर्नेहरू मेडिटेसन गर्छन्, बिहान अल्छी गरेर सुत्नेहरू दौडिन थाल्छन्, मदिरा पिउनेहरू मदिरा पिउन छाड्छन् । मलाई एकजनाले घाँसको झोल (जमराको जुस) खा भन्यो, खान थालेको छु । सबैलाई थाहा छ, प्रचण्डपत्नी सीता दाहालका अनेक दुःख छन् । सीता दाहाल हाँसेको अहिलेसम्म देखेको छैन भन्नेहरू पनि धेरै छन् । नसामा समस्या छ बराको । प्रचण्डले पत्नीलाई निको हुन्छ कि भनेर तातोपानी लगे त के बिराए ?

बरू म्याग्दी जिल्लाको हकमा पर्यटनको प्रचार भएको छ । हुन त म्याग्दी आफैंमा सुन्दर जिल्ला हो । तातोपानी कुण्डको पनि प्रचार भएको छ । लाजिम्पटको मसाज सेन्टर र स्टीमबाथहरूमा लाखौं खर्चने पेट्टी बुर्जुवाहरूले सीता दाहाल तातोपानी कुण्डमा डुब्दा धेरै खिसीटिउरी नगरे नि हुन्छ । पत्नी सीतालाई हौसला दिन प्रचण्ड र परिवारका अन्य सदस्यहरू चोपलिएका हुन् । एकबारको जुनीमा म पनि एकपटक त्यहाँ पुगेर नडुबी भएको छैन । साला, नसामा करेन्ट हान्छ बारबार ।

मन उकास्न मुश्किल

कुनै समयमा प्रचण्डले भनेका थिए, ‘हामीलाई हाँस्न पनि छुट छैन, रुन पनि छुट छैन ।’ त्यो कुरा उनले अभाव र निकै अप्ठ्यारा परिस्थितिहरूमा पनि संसार जित्ने आँट गरेका आफ्ना कार्यकर्ताहरूको मन माथि उकास्नका लागि भनेका थिए । तर आजभोलि प्रचण्डलाई आफ्नी पत्नी सीता दाहालको मन उकास्न मुश्किल परेको छ । सीता दाहालको मन सेती नदीको गल्छीभन्दा पनि धेरै भासिएको छ ।

धन्न प्रचण्डको मन छो–रोल्पा तालभन्दा स्वच्छ रहेछ । हरेक चीजहरूमा क्रमभङ्ग गर्ने प्रचण्ड आफ्नी पत्नी सीता दाहालको मायामा चुर्लुम्म डुबेका छन् । र क्रमभङ्ग गरेर ‘जेसुकै होस्, तँ दबाइ खा, अनि सुत्, साइको कुरा नगर, के भएको छ र तँलाई’ भनेर गैरजिम्मेवार बनेका छैनन् । स्वरसम्राट् नारायणगोपालले गाएको एउटा गीत छ, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ । हो, सीता दाहालको मायाले प्रचण्डको जिन्दगीमा धेरै फरक पारेको छ ।

यो स्तम्भ प्रचण्ड र सीता दाहालको युगल जोडीको चर्चा गर्न पनि लेखेको हैन । जोडी ढुकुर सुहायो, जोडी मुजुर सुहायो भनेको पनि हैन । हिजो युद्धदेखि आजको शान्तिकालसम्म र यस प्रकारको युगान्तकारी राजनीतिक परिवर्तनमा उनीहरूको जीवनका किस्साहरू लेखेर एकलट चाकडी बजाउन खोजेको पनि हैन । तर गर्न पाए भनेर अति गर्नुहुँदैन ।  यसो सम्झाएको मात्र । हुन त न म रामदेव हुँ, न स्वामी शंकराचार्य हुँ, न मोहनविक्रम सिंह जस्तो मुख देखाएर हिँड्ने भूमिगत नेता हुँ । यो जगतमा मेरो कुरा कसले मान्छ र ?

प्रचण्डको परिवारलाई बिरामी हुने छुट पनि छैन । औषधि खाने छुट पनि छैन । यसो घुमफिर गर्ने छुट पनि छैन । मानौं कि, प्रचण्डको परिवारका सदस्यहरूको दिमागमा गिदी छैन, बिल गेट्सको सफ्टवयेर छ । यसो बटन क्लिक गर्‍यो, दबायो, घरमा बस्यो जस्तो । यो लोकवासी यस्तो पनि सोच्दछ कि उनीहरू बिरामी पर्दैनन्, उनीहरूको परिवारमा तनाव हुँदैन । रातभरि बिस्तारामा सुतेर हाई काढ्दै फेसबूक चलाउने ठगहरूले सीता दाहाल बिरामी परेकोमा अचम्म मानेका छन् ।

बुख्याँचाहरूले जेजस्ता झूटा प्रचार गरेपनि प्रचण्ड परिवर्तनको सिङ्गो तस्वीर हो । हो, त्यो बुख्याँचा म पनि हुन सक्छु । चोखो चोर बन्न हँुदैन । तर प्रचण्डको मनोबल गिराएर यो देशको मनोबल माथि उठ्छ भन्ने कुरा दिवास्वप्न मात्र हो । सीता दाहालको मनोबल गिराएर प्रचण्ड असल श्रीमान् कसरी बन्न सक्लान् र ! म त भन्छु, महिलाहरूको श्रीमान होस् त प्रचण्ड जस्तो । हालसाल सीता दाहालको मनोबल के कति कारणले गुमेको छ, त्यो जगजाहेर छ ।

सीता दाहाल बिरामी छिन् । प्रचण्डले एक सेकेण्ड उनलाई छाडेका छैनन् । एकमात्र छोरा प्रकाश दाहालको निधनपश्चात् सीता दाहाल झन् विक्षिप्त र गम्भीर बन्दै गइरहेकी छन् । प्रचण्डले निकै रेखदेख गर्दै आएका छन् पत्नी सीताको । यस्तो लाग्छ कि महिला दिदीबहिनीको श्रीमान् होस् त प्रचण्ड जस्तो । उसले सारा राजनीतिक काम थन्क्याएर आफ्नी पत्नीका लागि सम्भव भएसम्मका उपचार पद्धति खोजेको छ । चाँडै निको हुने कुरामा कन्भिन्स गराएको छ । 

बलियो भरोसा जो थिए, अलबिदा भए

‘मलाई बाबाको माया धेरै लाग्छ, बाबाको चिन्ता लाग्छ । यसपालि चितवनमा बाबा चुनाव हार्नुभयो भने त बर्बाद हुनेवाला छ । बाबालाई चुनाव हराउनका लागि देशका सम्पूर्ण शक्तिहरू लागेका छन् । त्यसैले बरू म मर्न तयार छु तर बाबालाई जसरी पनि चुनाव जिताएरै छाड्ने मेरो इच्छा छ । यसैकारणले पनि बडो तनावमा छु । दौडधुपको त कुरै नगरम्, खाना खाने फुर्सद पनि छैन ।’

माथिको भनाइ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका दिवंगत छोरा प्रकाश दाहालको हो । शायद उनीसँगको अन्तिम राजनीतिक संवाद पनि यही थियो । हुन त हामी को हौं र राजनीतिक संवादको अर्थ, तर सामान्य नागरिकको हैसियतले प्रचण्डको सचिवालयका एक जिम्मेवार सदस्यसँग दोहोरो संवाद गर्न पाउनु मेरा लागि पनि अर्थपूर्ण विषय थियो । कहिलेकाहीँ सँगै मदिरापान र मासु खाने सन्दर्भहरू नि हुन्थे । धेरैलाई यो विषयसँग जलन थियो ।

सिंगापुरमा पानीमा थेरापी लिँदा स्विमिङ पुलमा मस्ती गरेकोसम्मका आरोपहरू देखिए । म्याग्दी जिल्लाको तातोपानी थेरापी लिँदा पनि झन् व्यापक आलोचना देखियो ।

अर्को कुरा प्रकाश दाहाललाई आमाको चिन्ता धेरै थियो किनभने आमाको रोगसँग सबैभन्दा परिचित कोही थिए भने प्रकाश दाहाल थिए । आमा सीता दाहालको संस्मरण क्षमतामा कमी आउँदैथियो, उनी मानसिक रूपमा पनि क्षतविक्षत भएकी थिइन् । तर आमा सीता दाहाललाई यस्तो जटिल रोग कसरी उत्पन्न भयो ? त्यो सांसारिक दुनियाँको प्रकृतिको सृष्टिकर्तालाई मात्र थाहा हुने विषय भयो । मेडिसिनले हुने केही हैन जब मनहरू नियन्त्रणभन्दा बाहिर जान्छन् भने ।

तर यो स्टोरी दिवंगत प्रकाश दाहालको बारेमा हैन । उनीसँगका किस्साहरू फेरि कुनै अर्को स्तम्भमा फेहरिस्त गरांैला । तर प्रचण्ड परिवारका बारेमा लेख्दै गर्दा प्रकाश दाहाल छुटाउनै नहुने एक पात्र हुन् । परिवारका अरू सदस्यहरू त सहायक मात्र हुन् । प्रकाशको मृत्यु भएपछि आमा सीता दाहाल झन् भावनात्मक रूपमा पनि र मानसिक रूपमा पनि थिलोथिलो भइन् । तर प्रचण्डले भने दुःखको सामना गरे । सबै परिवारको मनोबल मात्र उठाएनन्, देशवासीकै पनि उठाए ।

प्रकाश दाहालको शव आर्यघाटमा जल्दै गर्दा म पनि आर्यघाटमै थिएँ । त्यहाँ हजारौं शुभेच्छुकहरूको उपस्थिति थियो । तर बाहिर भने प्रकाश दाहालको छवि नराम्रो छ भन्नेहरू धेरै थिए, एक जमानामा म पनि थिएँ । तर नजिकबाट बुझ्दै गएपछि प्रकाश त भगवानको रूप जस्तो पाएँ । जल्दै गरेको प्रकाशको शव र जल्दै गरेको शुभेच्छुकहरूको मनलाई प्रचण्डले कसरी हात हल्लाएर अभिवादन गरे, त्यो कल्पना गर्दा पनि बेहोश हुन मन लाग्छ । हुन त भौतिकवादीहरूको व्याख्या यति कोमल हुँदैन ।

एउटा किस्सा जोडौं, त्यतिखेर दोस्रोपटक प्रधानमन्त्री भएका थिए प्रचण्ड । जसरी पनि सरकारलाई सफल बनाउनका लागि गृहकार्य भइरहेको थियो । यो बबुरो पनि बालुवाटारमा जाने आउने गरिनैरहन्थ्यो । प्रधानमन्त्रीलाई कोकोसँग भेट गराउने दैनिक कार्यक्रम के गर्ने, कसो गर्ने सबै सबै जिम्मेवारी प्रकाशले वहन गर्दै आएका थिए किनभने उनी बाबालाई भविष्यमा राजनीतिक रूपमा नराम्रो नहोस् भन्नेमा सचेत थिए । त्यसैले बालुवाटारमा पनि धेरैले प्रकाश दाहालको रिस गरेका थिए । 

अमेरिकी एजेन्सीहरू तिब्बती सिमानामा क्यामरा जडान गर्न चाहन्थे, कथित जलवायु परिवर्तनको नाममा । तर चीनसँगको हाम्रो एक चीन नीति अनि सुरक्षाको हिसाबले त्यो गलत ठहरिन्थ्यो । र यसको मोहोडा बनेका थिए कालो चामलका नेता लोकेन्द्रबहादुर विष्ट । कालो धन लुकाउन कालो चामलको नाटक गरेको हो विष्टले भन्नेहरू धेरै छन् । त्यो सत्य हो कि हैन, पशुपतिनाथ नै जानून् । तर विष्टले प्रधानमन्त्रीको सहीछापवाला कागज तयार गरेर क्यामरा जडान गराउन दिने आश्वासन दिएर ती गोराहरू बोकेर बालुवाटार छिर्न खोज्दा दाहालले गेटमै रोकेका थिए । 

यो कुरा बाहिर मिडियामा अर्कै रूपमा आयो । प्रकाशलाई नेगेटिभ मान्छेकै रूपमा चर्चा गयिो । तर प्रकाश आलोचना पचाइसकेर मच्योर भइसकेका थिए । मलाई के लाग्छ भने मच्योर मान्छे हुनका निम्ति आम मानिसका आलोचनालाई दालभातसरह पचाइदिनुपर्दछ । त्यसैले यस्ता संवेदनशील विषयहरूमा पनि प्रचण्डलाई आफ्ना छोरा प्रकाशको बलियो साथ थियो । मिडिया पनि प्रकाशको हातमा थियो  किनभने उनी मिडियाफ्रेन्ड्ली थिए ।

प्रकाशलाई पनि प्रचण्डले बहुत माया गर्थे । हुन त आफ्नो छोरालाई कसले पो माया गर्दैन र ? विना मगरसँग बिहे गरेर विवादित हुँदा प्रचण्डले भनेका थिए, ‘मेरो छोरो सारै नै सोझो हो, खै कसरी त्यस्तो हुन गयो ।’ प्रकाशलाई त्यतिबेला सगरमाथा चढ्ने रहर थियो । प्रकाश एकखेप सगरमाथा चढेका के थिए, संसार नै गजबले हल्लियो । उनी निर्वासनमा दिल्ली पुगे । बहुविवाहबारे बीबीसी नेपाली सेवामा आफ्नो धारणा सुनाए ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन हुनुभन्दा करीब १५ दिन अगाडि हाम्रो भेट भएको थियो । त्यो भेट नै अन्तिम हुन पुग्यो । त्यसपछि हामी दाजुभाइबीच भेट भएन, कहिलेकाहीँ सपनामा बाहेक । विपनामा चाहिँ नयाँपुराना संस्मरणहरू गिदीमा सल्बलाउँछन् । तर हामी दाजुभाइ परेवाको जोडीजस्तो पनि थिएनौं, कुकुर बिरालो जस्तो पनि थिएनांै । एकअर्काको आलोचना, सबल र दुर्बल पक्षका विषयमा हामी आमनेसामने नै बाझाबाझ गर्थ्यौं । तर मनमा इख लिने काम हुँदैनथ्यो ।

बिरामीसँग किन रुखो व्यवहार ?

लामो समयदेखि सुगर, प्रेसर र थाइराइडको उपचार गराउँदै रहेकी सीता दाहालको समस्या जटिल बन्दै गएपछि सिंगापुरमा उपचार भइरहेको थियो । विभिन्न थेरापीहरूको प्रयोग हुँदै आइरहेको थियो । थेरापीकै सन्दर्भमा सिंगापुरमा पानीमा थेरापी लिदा स्विमिङ् पूलमा मस्ती गरेकोसम्मका आरोपहरू देखिए । म्याग्दी जिल्लाको तातोपानी थेरापी लिँदा पनि झन् व्यापक आलोचना देखियो । 

तपार्इं संसारभरि हेर्नुहोस्, राष्ट्रिय व्यक्तित्वहरूको पनि निजी जीवन हुन्छ । र निजी जीवन भनेको पारिवारिक वा अनौपचारिक जे पनि हुन सक्छन् । पुटिन घोडा चढ्न रुचाउँछन् । बाराक ओबामा समुद्रमा आफ्नै लुगामा कैयौंपटक मस्ती गर्न पुगेका थिए, त्यतिखेर उनी राष्ट्रपति थिए । मोदीको धार्मिक सिलसिलाहरू हेर्नुहोस् । त्यसैले यस्ता झिनामसिना कुरामा ब्याट्री खर्च गर्ने कुरा नै अनसिभिलाइज्ड हो ।

प्राकृतिक चिकित्सालयको रूपमा ख्याति कमाएको तातोपानी कुण्डमा नियमित स्नान गरे ग्यास्ट्रिक, बाथरोग, युरिक एसिड, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस लगायत रोग निको भएको अनुभव सुनाउनेहरू पनि प्रशस्त पाइन्छन् । प्रचण्डपत्नीले यो सेवासुविधा लिन मिल्दैन र ?

प्रचण्डको परिवारलाई बिरामी हुने छुट पनि छैन । औषधी खाने छुट पनि छैन । यसो घुमफिर गर्ने छुट पनि छैन । मानौं, प्रचण्डको परिवारका सदस्यहरूको दिमागमा गिदी छैन, बिल गेट्सको सफ्टवेयर छ ।

तातोपानी कुण्डमा डुबुल्की मार्नु नेताहरूको निजी मामला हो । यहाँनेर महत्त्वपूर्ण कुरा त के छ भने उनीहरू हाँसोमजाकका लागी तातोपानीमा डुबेका हैनन्, सीता दाहालको स्वास्थ्यमा सुधार हुन्छ कि भन्ने अपेक्षाले तातोपानीमा डुबेका हुन् । सिंगापुरको पानीमा डुब्दा पनि गालीको बर्षा, म्याग्दी बेनीको तातोपानीमा डुब्दा पनि गालीको बर्षा । यो त रुखो व्यवहार भयो । बिरामीलाई मरोस् भन्ने संस्कार त पागलपनको पराकाष्ठा हो । 

सेनाको हेलिकप्टर चढेर किन गए भन्ने कुरा छ । नेपाली सेनाको हेलिकप्टरमा गएको होला । भारतको, चीनको हेलिकप्टरमा गएको त हैन होला । फेरि हेलिकप्टर गोरु हैन, खेत जोतेर बस्ने, आकाशमै उड्ने हो । बिरामी लिएर गएको हो । त्यहाँ साथमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सँगै गएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड स्वयं छन् । अनि के सेनाको हेलिकप्टरमा नगए बयलगाडामा चढेर जानु त ? साइकलमा जान सम्भव नै छैन । अनि के सेनाको हेलिकप्टर रामदेवले योगा सिकाउन आउदा मात्र प्रयोग गर्ने हो र ? या भारतीय प्रधानमन्त्री मोदीको एस्कर्टिङमा मात्र प्रयोग गर्ने हो ? हेलिकप्टरले बिरामी सीता दाहाल र परिवारजनलाई लग्यो, ल्यायो । सुनको अण्डा कोरलेर त बसेन होला । 

चिकित्सकको सल्लाहअनुसार नै गत सोमवार पत्नी सीताको उपचारका लागि गएका प्रचण्डको गृहमन्त्री रामबहादुर थापा बादलले पनि पत्नी नैनकला थापासहित तातोपानी कुण्डमा नुहाएका थिए । औषधोपचारको यात्रामा सपरिवार जानु असान्दर्भिक होइन । पूर्वप्रधानमन्त्री, उनकी पत्नी, छोरी, सहयोगी, निजी चिकित्सक सबै परिवारका सदस्य थिए । गृहमन्त्री बादल पनि उनकी श्रीमती, उनकी बैनी, बैनीका श्रीमान् मिलेर गएका थिए । त्यसैले त्यो पारिवारिक विषय थियो ।

प्रचण्डको भुँडीले किन देश हल्लायो ? 

भुँडीवाला फोटोको पनि ठूलै चर्चा देखियो । त्यो भुँडीवाला फोटो के ठूलो कुरा भयो त । भुँडी नै त्यत्रो छ त के गर्ने । काटेर फाल्न मिलेन । लुगासँगै पौडिन पनि मिलेन । भुँडी भनेको बेलुन जस्तो खुम्च्याउने र फुलाउने जिनिस पनि हैन ।  बरू बादलले कालो टोपी नलगाएको भए हुने, बरू क्याप लगाएको भए हुने । तर सवाल यो हो कि प्रचण्डको भुँडीले किन देश हल्लायो ? 

प्रचण्ड लगायतले गलेश्वरमा आरती गरेको विषयलाई लिएर एकजना पत्रकार मित्रले सामाजिक सञ्जाल फेसबूकमा यस्तो लेखेका थिए, ‘पश्चिमतिर त गीत नै छ : आउँदा जाँदा पसे है, गुन्द्री तानी बसे है’, भएको यही होला । उनी त्यत्रो धार्मिक भएको भए छोरा प्रकाश दाहालको निधनमा १८ पण्डित राखेर गौरीपुराण लगाउँथे होला नि ? त्यो त गरेनन् । हाम्रो समस्या नै यही भइदियो, पोलिसीगत कुरामा बहस नगर्ने, कहीँ नपुगिने विषयलाई भीमकाय पार्ने ।’ वास्तवमा ती पत्रकार मित्रको विचार गजब छ ।

सचिवालयलाई सुझाव

अहिले प्रचण्ड प्रधानमन्त्री त छैनन् तर राजनीतिको केन्द्रविन्दुमा भने अवश्य छन् । तर प्रकाशको अभावमा उनको दैनिकी प्रभावित भएको अनुमान लगाउन सकिन्छ । जस्तो कि, सामाजिक सञ्जालमा नराख्दा पनि हुने तस्विरहरू आइरहेका हुन्छन् । 

प्रचण्ड हुन् वा जोसुकै हाई प्रोफाइलका परिवारजनले आफ्नो सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा जनताको सेन्टिमेन्ट पनि बुझ्दा राम्रो हुन्छ । जनताहरूले सबै बेलामा नेताहरूलाई याद गरेका हुँदैनन् । नेताहरूको हरेक दिनचर्या सार्वजनिक गरिनु राम्रो हैन । 

प्रचण्डको सचिवालयले केही सुधार गर्नुपर्ने देखिन्छ, संवेदनशीलता र जनताको सेन्टिमेन्ट अनुसार काम गर्नुपर्दछ । खाली फोन उठाउने र प्रचण्डको समय मिलाइदिन बिन्ती बिसाउने काम मात्र हैन सचिवालयको । बरू इमान्दार पार्टीका नेताहरू जसले जनता बुझेका छन्, समाज बुझेका छन्, जसले गम्भीर राजनीति बुझेका छन्, ती हावी हुनुपर्छ सचिवालयमा ।

अहिलेको सचिवालय केवल कामचलाउ सरकार जस्तो हो । काम त चलाएको छ तर सोचेअनुसारको पर्फर्मेन्स दिन सकेको छैन । सीता दाहालको उपचार र हेरचाहसँगै प्रचण्डले सचिवालयलाई पनि गतिशील बनाउनेतर्फ गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ ।

बट डन्ट वरी !
 

मंसिर २, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस