सामाजिक सुरक्षा योजनाबारे अझै अलमलमा हुनुहुन्छ ? त्यसो भए जानिराख्नुस् यी १२ प्रश्नको जवाफ

मंसिर १२, २०७५

काठमाडौं – सरकारले मंगलवारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । प्रज्ञा भवन कमलादीमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर कार्यक्रम शुभारम्भ गरेका हुन् । यसबाट निजी क्षेत्र तथा उद्योग कलकारखानामा काम गर्ने श्रमिक वा कर्मचारीहरू तत्काल लाभान्वित हुने सरकरको दाबी छ ।

सरकारले यसलाई नयाँ युगको शुरूवातको रूपमा व्याख्या गरेको छ । पोलपोलमा प्रधानमन्त्रीको तस्वीरसहित नयाँ युग लेखिएको ब्यानर टाँगिएका छन् । सरकारले तामझामका साथ सामाजिक सुरक्षा योजना लागू गरिरहँदा नागरिकहरू भने अन्यौलमा देखिएका छन् । हामीले योगदानमा अाधारित सामाजिक सुरक्षा योजनाबारे आमनागरिकका केही जिज्ञासा मेटाउने प्रयास गरेका छौं ।


ADVERTISEMENT

१. के हो योगदानमा आधारित सामाजिक सुरक्षा योजना ?

श्रमिक तथा रोजगारदाताले मासिक रूपमा सामाजिक सुरक्षा कोषमा श्रमिकको पारिश्रमिकको केही प्रतिशत रकम योगदान गर्ने र त्यसबाट श्रमिकले निवृत्तिभरण (पेन्सन), स्वास्थ्य बिमा, दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा, सन्तानलाई शैक्षिक वृत्ति, सुरक्षित मातृत्वसहितका विभिन्न सुविधा पाउने गरी सरकारले ल्याएको योजना नै सामाजिक सुरक्षा योजना हो ।

यसभित्र निम्न प्रकारका योजनाहरू सामेल छन् :

(क) औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना
(ख) मातृत्व सुरक्षा योजना
(ग) दुर्घटना सुरक्षा योजना
(घ) अशक्तता सुरक्षा योजना
(ङ) वृद्ध अवस्था सुरक्षा योजना
(च) आश्रित परिवार सुरक्षा योजना
(छ) बेरोजगार सहायता योजना

२. कसरी सहभागी हुने ?

यो योजनामा सहभागी हुनका लागि सबैभन्दा पहिले रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्छ । रोजगारदाता यो कोषमा सूचीकृत हुनुपर्ने व्यवस्था बाध्यात्मक बनाइएको छ । यदि सूचीकृत नभएको अवस्थामा कोषले तत्काल सूचीकृत हुन निर्देशन समेत दिन सक्नेछ । रोजगारदाता सूचीकृत भइसकेपछि उसले आफ्नोमा कार्यरत श्रमिक, कामदार वा कर्मचारीहरूलाई कोषमा सूचीकृत गराउनुपर्ने छ । त्यसपछि प्रत्येक श्रमिकले छुट्टाछुट्टै सामाजिक सुरक्षा कोष नम्बर प्राप्त गर्नेछन् र त्यसैका आधारमा योगदान शुरू हुनेछ ।

३. योगदान भनेको के हो, कसरी गर्ने योगदान ?

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम आफूले थपेर कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गराउनुपर्नेछ, यही हो योगदान । १ प्रतिशत रकम त श्रमिकहरूले पहिलेदेखि नै योगदान गर्दै आएका छन् । योगदानका लागि अब थप १० प्रतिशत भार श्रमिकलाई र २० प्रतिशत भार रोजगार दातालाई थपिने छ ।

उदाहरण : ए नाम गरेको कम्पनीमा कार्यरत श्यामको आधारभूत पारिश्रमिक मासिक २० हजार छ । उसले अब मासिक आफ्नो पारिश्रमिकको ८९ प्रतिशत अर्थात् १७ हजार ८ सय रुपैयाँ मात्र पाउँछ । बाँकी २२०० मा रोजगारदाता कम्पनीको तर्फबाट २० प्रतिशत अर्थात् ४००० रुपैयाँ थपी ६ हजार २०० रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ । त्यसलाई कोषले विभिन्न योजनामा बाँडफाँड गर्नेछ ।

यसरी गरिने छ, योगदानको बाँडफाँड :

(क) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत
(ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४० प्रतिशत
(ग) आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत
(घ) वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत

४. श्रमिकले कम्पनी परिवर्तन गरे के हुन्छ ? 

योगदानकर्ता कुनै कारणले रोजगारीमा नरहेमा सूचीकृत रोजगारदाताले सोको जानकारी एक महिनाभित्र कोषलाई गराउनु पर्नेछ । श्रमिकसँग आफ्नो व्यक्तिगत सामाजिक सुरक्षा कोष नम्बर हुने भएकाले उसले निश्चित प्रक्रिया पूरा गरेर नयाँ रोजगारदाताबाटै आफ्नो योगदान सुचारु राख्न सक्नेछ । 

५. रोजगारदाता कम्पनी बन्द भएमा पैसा डुब्छ कि ?

प्रचलित कानून बमोजिम स्थापना भएको सूचीकृत रोजगारदाताको विघटन भएमा, लिक्विडेसनमा गएमा वा प्रचलित कानून बमोजिम दामासाहीमा परेमा त्यस्तो रोजगारदाताले प्राप्त गरेको सूचीकरण नम्बर कायम रहने छैन । पुरानो कम्पनी बन्द भएको र श्रमिकले नयाँ कुनै जागिर शुरू गरेर योगदानलाई निरन्तरता नदिएको अवस्थामा आफू र आफ्ना लागि रोजगारदाताले गरिदिएको योगदान र कोषमा जम्मा भएको रकम लगानीबाट प्राप्त प्रतिफलको आफ्नो हिस्सा एकमुष्ट लिन पाइन्छ ।

६. पेन्सन कसरी र कति पाइन्छ ?

निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना (१५ वर्ष) योगदान गरेको हुनुपर्नेछ ।

योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताका तर्फबाट भएको योगदान समेत) र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर मासिक निवृत्तिभरण पेन्सनको रूपमा दिइने छ । यसमा जति धेरै वर्ष योगदान गर्‍यो पेन्सन त्यति नै धेरै हुन्छ ।

अथवा माथि उल्लेख भएअनुसारको कूल रकम एकमुष्ट लिन पनि सकिने छ ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम नियमानुसार एकमुष्ठ रुपमा प्रदान गरिनेछ ।

७. दुर्घटना र अशक्तता बिमामा के-के सुविधा छन् ?

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई दुर्घटना र अशक्तता बापतको सुविधा प्रदान गरिने छ । योगदानकर्ता श्रमिक रोजगारीजन्य दुर्घटनामा पर्दा वा वसायजन्य रोगको उपचार गर्दा लाग्ने खर्च कोषबाट पाइने छ । दुर्घटनाजन्य सुविधा योगदान गरेकै मितिदेखि लागू हुनेछ भने व्यवसायजन्य रोगको उपचार खर्च योगदान गरेको दुई वर्षपछि मात्र पाइनेछ ।

रोजगारदाताले तोकेको काम गर्दा वा कार्य समयभित्र भएको वा कामको लागि आउने वा जाने क्रममा भएको जुनसुकै प्रकारको दुर्घटनालाई रोजगारीजन्य दुर्घटनामा मानिएको छ ।

रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाखसम्मको मात्र उपचार खर्च व्योहोर्ने छ । तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएमा वा सडक दुर्घटना भएमा वा अन्य बिमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च व्योहोर्ने छैन ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा काममा नफर्कंदासम्म पाइन्छ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएका योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधाबापत मासिक रूपमा प्रदान गरिने छ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा निज जीवित रहुञ्जेल वा आफैँ हिँडडुल गर्न नसकेमा निजलाई हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा निजलाई हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

८. स्वास्थ्य बिमामा कति पाइन्छ उपचार खर्च ?

अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रूपमा एक लाख रुपैयाँभन्दा नबढ्ने गरी निजलाई प्रदान गर्ने सुविधाको रकम निज भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ । योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्च समेत उल्लेखित रकमको हदमा नबढ्ने गरी दाबी गर्न सकिने छ ।

अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम वार्षिक पच्चिस हजारभन्दा नबढ्ने गरी उपचार खर्च प्रदान गरिने छ ।

महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी सुत्केरी भएको अवस्थामा प्रसुती स्याहारका लागि प्रति शिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ र यस्तो रकम चौबीस हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ ।

यसका साथै नियमित गर्भ परीक्षणबापतको खर्च पनि दाबी गर्न सकिने छ । पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दाबी गर्नु पर्नेछ ।

औषधी उपचार तथा स्वास्थ्य सुविधा पाउन कम्तिमा छ महिना र मातृत्व सुरक्षाबापत सुविधा पाउन कार्यक्रम शुरू भएको १८ महिना पुगेको र कम्तिमा १२ महिना योगदान गरेको हुनुपर्नेछ ।

९. आश्रित परिवार सुरक्षा योजनाले के-के समेट्छ ?

योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत पति वा पत्नी निवृत्तिभरण, सन्ततिका लागि शैक्षिक वृत्ति, आश्रित बाबुआमालाई सुविधा, अन्तिम संस्कार खर्चबापतको रकम पाइनेछ । दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तिभरण पाउने छन् ।

योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा नदिइने कार्यविधिमा उल्लेख गरिएको छ । योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष पूरा नभएका सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउनेछ । एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ । निरन्तर पढाई अघि बढिरहेको अवस्थामा २१ वर्षको उमेरसम्म पनि उनीहरूले यो सुविधा पाउने छन् ।

योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बुवाआमा रहेछन् भने निजलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजको जीवनकालभर मासिक रूपमा कोषले प्रदान गर्नेछ । यदि योगदानकर्ताको बुवाआमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ । योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामोसमय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारका लागि निजको नजिकको आश्रित परिवारका सदस्य वा हकवालालाई २५ हजार एकमुष्ठ उपलब्ध गराइनेछ ।

१०. योगदान रोजगारदाता र श्रमिकले मात्र गर्ने भए सरकारको दायित्व के त ?

श्रमिकको व्यक्तिगत योगदानमा सरकारको कुनै सहयोग रहँदैन । तर कोषको भुक्तानी दायित्व क्षमताभन्दा धेरै भएमा र कोषको रकमले नधानेको अवस्थामा सरकारले बजेटमार्फत् कोषलाई एकमुष्ट अनुदान सहयोग उपलब्ध गराउनुपर्नेछ ।

११. कोषमा जम्मा गरेको रकमको ब्याज पनि आउँछ कि ?

आउँदैन । तर कोषले पनि जम्मा भएको रकम कहीँ न कहीँ त लगानी गर्छ नै । यसरी लगानी गर्दा प्राप्त हुने प्रतिफलको आफ्नो हिँस्सा सम्पूर्ण योगदानकर्ताले पाउँछन् ।

१२. आफूले पाउने सुविधा कसरी दाबी गर्ने नि ?

कोषले  यसका लागि विभिन्न फारमहरूको व्यवस्था गरेको छ । ती फारमहरू कोषको वेबसाइटमा पनि पाइन्छ । ती फारम भरेर आवश्यक कागजपत्रसहित कोषमा गएर यस्तो सुविधा दाबी गर्न सकिन्छ । त्यसका लागि रोजगारदाता कम्पनीको सिफारिस, उपचारको हकमा डाक्टरको प्रेस्क्रिप्सन, मृत्यु भएको हकमा मृत्युदर्ता लगायतका कागजपत्र आवश्यक पर्छन् ।

विस्तृत जानकारीका लागि हेर्नुहोस्– सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ :

मंसिर १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस