वैदेशिक रोजगारीबाट फर्केका युवाको उद्यम – माटोविनै तरकारी खेती

पुस २, २०७५

बुटवल–तरकारीलगायत अन्य अन्नबाली माटोमा लगाएर मात्र उब्जिन्छ भन्ने आमधारणा छ । हुन पनि हामीमध्ये कमैले मात्र माटोबिनै तरकारी तथा अन्नबाली उत्पादन हुने गरेको सुनेका छौं । तर,अचेल हाम्रै गाउँठाउँमा माटोबिनै तरकारी फलाउन थालिएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

धेरैलाई आश्चर्य लाग्ने माटोबिनाको खेती भनेपछि पानीमा गर्ने हो कि, हावामा पो गर्ने हो भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । यस्तो अचम्मको स्वाइललेस (माटोविना) तरकारी खेती रूपन्देहीको तिलोत्तमाका तीन युवाले शुरू गरेका छन् । 


ADVERTISEMENT

विदेशमा देखेर नेपालमा प्रयोग

तिलोत्तमा–३ विष्णुपुरामा लुम्बिनी हाइड्रोपोलिक नेपाल नामक कृषि फर्म स्थापना गरी युवा कृषक ईश्वर पौडेल नेतृत्वमा माटोबिना नैं तरकारी खेती सुरू गरिएको हो । यस प्रकारको खेती नेपालमै पहिलो पटक भएको युवाहरुको दाबी छ ।

होटल म्यानेजमेन्ट अध्ययन गरेका पौडेल दश वर्ष अगाडि रोजगारीको सिलसिलामा ओमान पुगे  । फाइभ स्टार होटलमा काम गर्ने उनले त्यहाँ स्वाइललेस (माटोको प्रयोगबिना) नैं विभिन्न ठाउँमा तरकारी खेती गरेको देखे  । माटोबिना फलाइएका  तरकारी उनले काम गर्ने फाइभस्टार÷थ्रि स्टार होटलहरूमा आउने गर्थ्यो । उनले पनि नेपालमा गएर केही गर्नुपर्छ भन्ने सोचका साथ यहाँ आएर हाइड्रोपोनिक प्रविधि अपनाएर तरकारी खेती थालेका हुन्  ।   

यसरी गरिन्छ माटो विनै खेती

यो प्रविधिको खेतीमा नरिवलको जट्टा पेलेर/पिसेर बनाइएको कोकोपिट मसिनो धुलो गमलामा राखिन्छ । त्यसमा सार्नयोग्य भएको बिरुवा रोपिन्छ । नरिवलको जटा बिरुवा अड्याउनको लागि मात्र राखिने हो । यो तरिकाले खेती गर्दा श्रम शक्ति थोरै लाग्ने, पानी पनि धेरै नलाग्ने पौडेल बताए ।

‘पहिले त मलाई पनि अचम्म लाग्यो’ पौडेल भने, ‘पछि अलि बुझ्दै गएपछि त्यहीँ प्रविधि अपनाएर सुख्खाग्रस्त (गर्मी) ठाउँमा पनि खेती गर्न सकिने सम्भावना देखेर घरमा आएर यो खेती प्रणाली सुरू गरेको हुँ ।’ उनका अनुसार यो इजरायली प्रविधि हो । ‘मैले यो विषय पढेको होइन । कुनै प्राविधिक तालिम पनि लिइनँ । आफंै खोज अनुसन्धानबाट यो खेती गर्दा राम्रो हुने देखेर लागेको हुँ’ उनले भने ।   

यो खेती गर्न प्लाष्टिकको ठूलो (घरजस्तै) आकारको टनेल बनाइन्छ । जहाँ बाहिरको हावादेखि कुनै पनि किरा–फट्याङ्ग्राभित्र जान सक्दैनन् । टनेलभित्र बिरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व (एमपिके) र पानी पाइपमार्फत प्रत्येक बिरूवामा पुग्छ । फर्मभित्रको तापक्रम अटोमेटिक सिस्टम छ । तापक्रम बढ्यो भने अझै पङ्खा चल्छ । घट्यो भने पङ्खा आफैँ बन्द हुन्छ । 

एक करोड लगानी

पौडेलसहित यो खेतीमा पिताम्बर आचार्य र पुष्पा आचार्य क्रियाशील छन् । पहिलो चरणमा तीन जना मिलेर झण्डै एक विगाहा जग्गामा व्यवसायिक हाइड्रोपोनिक प्रविधिमा तरकारी खेती उत्पादन सुरू गरिएको हो । अहिलेसम्म एक करोड रूपैयाँ  लागानी गरिएको उनीहरु बताउँछन् । 

फर्मका अर्का सञ्चालन पिताम्बर आचार्य भने, ‘हामीहरू यस्तो खेती गर्न थाल्दा धेरैले टोलमा कसरी सम्भव होला र भन्थे । तर, अहिले फलेको तरकारी पकाएर उपभोग गर्नेदेखि बजारसम्म पु¥याउन थालेपछि सबै दंग परेका छन् ।’ अहिले लुम्बिनी हाइड्रोपोलिक कृषि फर्म हेर्न दैनिक ५० भन्दा बढी कृषकदेखि स्थानीयसम्म पुग्ने गरेका छन् । 

‘पुरानै पारामा खेती गर्नुपर्छ भन्ने छैन । नयाँ पुस्ताले नयाँ प्रविधि अपनाएर कृषि क्षेत्रका काम गर्न सकिन्छ भन्ने देखाउन पनि यो प्रविधि रोजेका हौं ।’ आचार्यले भने, ‘सिँचाइका लागि प्रशस्त पानीको व्यवस्था छ । त्यही पानी दिनमा दुई चरणमा थोपा सिँचाइमार्फत सिँचाइ गर्ने गरिएको छ । यसमा सिँचाइ गर्न धेरै पानी चाहिँदैन । यसकारण पनि यो सजिलो छ’ उनले भने ।   

चार महिनाअघि सुरु गरेको यो प्रविधिको तरकारीले उत्पादन दिन थालेको छ ।  गोलभेंडा, काक्रो, क्याप्सीकम, करेला र सागलगायतका एक सिजनको तरकारी फर्मबाट विक्री गरिसकिएको पुष्पा आचार्यले बताए  । उनले भने, ‘हाम्रो पहिलो उत्पादन त फर्ममै आएर खोसाखोस गरेर नजिकैकाले किनेर लगेका छन् ।’ 

पौडेल भने, ‘विज्ञानको अगाडि कुनै पनि चिज असम्वभ छैन । कृषिमा बढ्दो आधुनिकरण र विज्ञानले धेरै शहरवासीका जस्ता पनि समस्याको पनि समाधान निकालेको छ ।’ अबको उत्पादन आफूहरुले विशेष गरी रूपन्देहीका ठूला–ठूला होटलहरूमा सलादका लागि प्रयोग गर्ने गरी पठाउने सोच रहेको उहाँले बताए ।

विषेशगरी विदेशी पर्यटकहरू आउने स्टार होटलहरूले सलादका लागि यस्ता अर्गानिक उत्पादन खोज्ने उनीहरु बताउँछन् । यो प्रविधिमा कुनै पनि विषादी प्रयोग हुँदैन । पूर्ण रूपमा अर्गानिक हुन्छ । आफूहरूले उत्पादन गरेका तरकारी बजारभाउभन्दा धेरै महंगो नहुने पुष्पाले बताउनुभयो । नेपालका केही जिल्लाहरूमा विदेशमा गएका युवाहरूले सिकेर यो प्रविधि भित्राएको देखिन्छ । यो प्रविधिबाट उत्पादन हुने फलहरू माटोमा फल्ने जत्रो ठूलो हुँदैनन् । दुई सयदेखि पाँच सय ग्रामसम्मका हुन्छन् । विषेशगरी यसरी उत्पादित फलफूल र तरकारीहरू सलादको रूपमा बढी प्रयोग हुने गरेको बताइन्छ ।

अहिले पाँच वटा सेड बनाएर सुरू गरिएको तरकारी खेती आउँदो वर्षदेखि थप विस्तार गरी १० वटा सेड तयारीमा सञ्चालनकहरू पुगेका छन् । उनीहरूले वार्षिक ८० हजार रूपैंयाँ तिर्ने गरी जग्गा लिजमा लिएका हुन् । फर्मका लागि आवश्यक तरकारीका विरूवामा पनि फर्ममै उत्पादन गरिन्छ । 

उनीहरू अहिले फर्मका लागि सबै आवश्यक पोषकतत्वहरू भारतबाटै मगाएका छन् । कसैले माटोबिनाको प्रविधि अपनाएर तरकारी खेती गर्न चाहन्छन् भने  सेड निर्माणदेखि सम्पूर्ण कुराहरू सिकाइने पौडेलले बताए  ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले व्यवसायिक तरकारी खेती गर्ने किसानहरूलाई स्थानीय सरकारले अनुदानदेखि विभिन्न क्षेत्रमा सघाउने बताए  । उनले भने,‘ हामी हाम्रो नगरपालिकालाई  तरकारीमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छौं । नयाँ–नयाँ प्रविधि अपनाएर तरकारी खेती गर्नेलाई हाम्रो पूर्ण साथ÷सहयोग सधै रहन्छ ।’ 

तिलोत्तमा नगरपालिकाले पछिल्लो समय व्यवसायिक तरकारी खेती, फूल खेती, कौशी तरकारी खेती गर्न नगरवासीलाई प्रोत्साहन गरेको छ । जसका कारण किसानदेखि थोरै जग्गामा भए पनि आफूलाई चाहिन तरकारी आफैँ उत्पादन गर्न प्रोत्साहित छन् ।

‘महँगो तरकारी  दैनिक किन्नु पर्दा नगरबासी हैरान भएका छन्’ नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने, ‘जमिन नभएकाले आफैंले खेती गरेर परिवारलाई पुग्ने गरी तरकारी फलाउनु गाह्रो छ । यद्यपी हामीले  गमलामा एक­दुई वटा बिरुवा रोपेर तरकारी फलाएका आग्रह गरेका छाैं ।’

पूर्णरुपमा अर्गानिक

वरिष्ठ कृषि अधिकृत रामबहादुर खत्रीले कम जग्गामा पनि हाइड्रोपोनिक प्रविधिबाट तरकारी खेती गर्न सकिने बताए  । ‘हाइड्रोलिक प्रविधि अरब राष्ट्रमा बढी गर्मी हुने र माटो कम भएका देशहरुमा प्रचलित छ’ खत्रीले भने, ‘यो प्रविधिमा कुनै प्रकारको विषादी र बाहिरी हावा पनि नजाने हुँदा यो प्रविधिबाट उत्पादिन तरकारी विक्री गर्न सकेमा यसको ठूलो सम्भावना छ ।’ यसरी उत्पादन भएको तरकारी पूर्णरुपमा अर्गानिक हुन्छ ।
खत्रीले थपे, ‘पछिल्ला वर्षहरूमा नेपालमा पनि स्वाइललेस प्रविधिमा खेती गर्ने सुरूवात भएको छ । रूपन्देहीको तिलोत्तमामा पनि सुरू गरिएको छ । यो प्रविधि अपनाएर खेती गर्ने किसानलाई राज्यले सहयोग गर्न आवश्यक छ ।’ 

व्यवसायिक ढंगले तरकारी खेती गर्दा उपलब्ध आफनो जमिन अथवा भाडामा लिएको जमिन, त्यहाँको हावापानी, सिंचाइ सुविधा, क्षेत्रफल, बजार तथा यातायातको सुविधा आदि कुराहरुलाई विचार गरेर कुन बाली कुन समयमा कति मात्रामा उत्पादन गर्ने भन्ने योजना बनाउनु पर्दछ । आजको जमाना व्यवसायिक तरकारी खेतीको हो । अहिले राज्यले कृषि क्षेत्रमा लाग्ने किसाहरूका लागि विभिन्न कार्यक्रमहरू पनि ल्याएको छ । कृषि पेशालाई सम्मानित बनाउनु अहिलेको आवश्यकता हो । 
 

पुस २, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस