
काठमाडौं –राष्ट्रिय गौरवकोमेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालेली कम्पनी कोअपरेतिभा मुरातोरी एन्ड सिमेन्तिस्ती (सीएमसी) दी रभेन्ना टाट पलिटने स्थितिमा रहेको कम्पनी हो । उक्त कम्पनीले आफू टाट पल्टिने स्थिति रहेको अवगत गराउँदै इटालीको एक अदालतमा निवेदन समेत दिएको छ ।
सीएमसीले संसारका धेरै देशमा निर्माण कार्यहरूको ठेक्का लिएको छ । ती मध्ये अधिकांश देशमा विवाद पनि निम्त्याएको देखिन्छ ।
इटालीमै पनि सीएमसी फर्जी चलानी बनाएर लाखौं युरोको घोटाला गर्ने कम्पनीहरूको समूहमा रहेको खबरहरू छापिएका छन् । उसले माफियाको पैसा चलाएको खबर रोयटर्स समाचार संस्थाले छापेको छ ।
युगाान्डाको राजधानी कम्पालामा द्रुतमार्गको ठेक्का पाएको सीएमसीले सञ्चालन पूँजी ल्याउन नसकेर समयमै काम नसकेको खबर पनि भेटिएको छ ।
केन्याको इटारे बाँध निर्माणलाई मजदूरहरूलाई उचित तलब नदिएको भन्दै विरोध प्रदर्शन भएपछि सीएमसीले ६०० कामदारलाई यसै वर्षको फेब्रुअरी महिनामा निकालेको थियो ।
यसै वर्षको पहिलो ६ महिनामा सीएमसीमा ऋणको मात्रा चर्को रूपमा बढेपछि लगानीकर्ताहरूले उसको तरलता अवस्थाका बारेमा प्रश्न उठाउन थालेका थिए ।
सीएमसीमा तरलताको अभाव देखिएको छ । टाट पल्टिने स्थितिमा पुगेपछि कम्पनी आफैं र यसका ६९ सयजना कर्मचारीको भविष्य नै अन्योलमा रहेको छ ।
एक वर्षअघि ५० करोड युरो ऋणपत्र (बोन्ड) मा जारी गरेको सीएमसीले एक महिनाअघि त्यसको भरपाई गर्न नसक्ने घोषणा गरेको थियो । त्यो भरपाई गत शनिवारसम्म गरिसक्नुपर्नेमा नसकेपछि सीएमसी टाट पल्टिने स्थितिमा पुगेको हो ।
बोन्डको वरीयता निर्धारण गर्ने मूडीज एजेन्सीले सीएमसीको रेटिङ घटुवा गरेर बी३ मा पु¥याएपछि यो कम्पनीको आर्थिक स्थिति कमजोर रहेको देखिएको हो ।
मेलम्ची खानेपानीको काम निकै सुस्त गतिमा अघि बढिरहेको भए पनि यसैवर्ष यो सम्पन्न हुने आशा गरिएको थियो । तर ठेकेदार कम्पनी सीएमसीले आफ्नो आर्थिक समस्यालाई कारण सम्झौता रद्द गर्ने पत्र बुझाएपछि मेलम्चीको भविष्य अन्योलमा परेको छ ।