किम जोङ-उन जस्तो कठोर बनून् प्रधानमन्त्री ओली !

माघ ७, २०७५

बाग्लुङको आले गाउँका जमदार बाजे सधैं सिरानीमा बन्दुक राखेर सुत्थे । किन यसो गर्नुहुन्छ बाजे भनेर प्रश्न गर्दा तिनको जवाफ हुन्थ्यो, ‘सपनामा मेरो ठूलो युद्ध हुन्छ, दुश्मनहरू मलाई मार्न आउँछन् । अनि त्यसपछि मैले फायर खोल्छु ।’ यसरी ती जमदार बाजे सपनामा दुश्मनहरूसँग घमासान युद्ध लडिरहेको कम्तीमा पनि २० वर्ष भइसकेको थियो । 

तर साँचो चीज भने अर्कै थियो । मध्यरात पालैपालो जमदार बाजेको ढोका हान्न आउने केटाहरूलाई तर्साउन तिनले सिरानीमा बन्दुक राखेर सुत्ने गर्थे । ती बाजेका पाँच छोरी थिए । बहुत सुन्दर, १५ कोष टाढासम्म तिनीहरूको सुन्दरताको हल्ला चलेको थियो । आकर्षित हुनेमा म पनि थिएँ । उजेली खिस्सा हाँस्दा उछिट्टिएका दाँतहरूले मेरो मुटुमा ७ रेक्टर स्केलको झड्का सन् १९९९ मै दिएको थियो । पोहोर साल ती बिचरा जमदार बाजे मरेर गए । 


ADVERTISEMENT

जमदार बाजेले जस्तै हाम्रा प्रधानमन्त्री केपी ओलीले समृद्धिको एक टुक्रा चिर्पट सिरानीमा हालेर सुत्न थालको वर्षौं भइसक्यो । अनेकौं उत्पीडनबाट गुम्सिएका, पिल्सिएका जनताको खुशियाली भङ्ग गर्ने दुश्मनसँग लड्नका लागि ओलीलाई जनताको साथ नमिलेको पनि हैन तर अहँ कमिसनखोरहरू, सेटिङबाजहरू, भूमाफिया दलालहरू, नोकरशाही पूँजीपतिहरू, सामन्तवादी तत्त्वहरू, विस्तारवादीका बाछिटाहरूसँग लडाईं हुन सकिरहेको छैन । 

बरू सिमानाहरू मिचिएका छन्, जंगे पिलरहरू हराएका छन् । खेतीयोग्य जमीनका छातीहरू चिरिएका छन् । विमानस्थलमा दैनिक दर्जनौं युवाको शव आइरहेका छन् । म्यानपावरका ढोकाहरूमा आँसुका भेलहरू बगिरहेका नै छन् । बजारमा कोरियाली भाषा, जापानी भाषा, इजरायली भाषाका स्कूलहरू खुलेकै छन् । हाम्रा चेलीबेटीहरू विदेशमा देहव्यापार गर्न बाध्य भएका छन् । एउटा विदेशी राजदूतले मन्त्रीका क्वार्टरमा मुकाम बनाएका छन् । 

यस्तो अवस्थमा प्रम ओली केवल आले गाउँका जमदार बाजे जस्तो हैन, उत्तर कोरियाका शासक किम जोङ–उन जस्तो एकदमै क्रूर बन्ने बेला आएको छ । सपनामा मात्र हैन, अब विपनामै घनीभूत लडाईं चाहिएको छ । भ्रम र तिकडमहरूको बीचबाट माथि उड्नका लागि अब एउटा झड्काको आवश्यकता छ । समृद्धिका निम्ति, विकास र उन्नतिका निम्ति यी सब चीजको आवश्यकता छ । तर दुःखको कुरा, प्रम ओलीका उखान चुट्किलाको भण्डार अझै रित्तिएको छैन । 

भ्रमहरूको साम्राज्य 

युद्धमा क्षति बेहोरेपछि अंग्रेजहरूले हल्ला चलाए –‘भियतनामका मानिसले मान्छेको मासु खान्छन् ।’ यस्तो प्रकारको अपमानको राग दिल्लीसम्म आयो । कुकुर र भारतीयहरूलाई अंग्रेजका मुकाम–अखडाहरूमा प्रवेश निषेध भनेर लेखियो किनभने भारतीयहरू स्वतन्त्रताको संग्राममा भिडिरहेका थिए । आज यो मुलुकको हितमा बाँच्ने मर्नेहरूका लागि बालुवाटारको मुकाम नारायणहिटी दरबार जस्तो भएको छ ।  

सरकारको मानो खानेहरूलाई मुगु मन पर्दैन । तिनलाई जुम्ला, मुस्ताङ, बैतडी बाजुराका पहाडहरू र सगरमाथा पनि मन पर्दैन । यस्तो लाग्छ कि, तिनलाई काठमाडौं खाल्डो बाहेक कतै पनि मन पर्दैन ।

बालुवाटारको गेटमा लेखिएको हुन सक्छ, ‘पानीजहाजको टिकट नकाटेकाहरूलाई नो एन्ट्री ।’ प्रमलाई राम्रो सल्लाह सुझाव दिने चाहने बुद्धिजीवीहरूलाई थला पार्ने धम्की दिने गरिएको छ । गणतन्त्रका निम्ति सबै भिडेको हो, बालुवाटार भनेको गणतन्त्रको साझा प्रतीक हो, सार्वभौम मुकाम हो । तर प्रम ओली भ्रमहरूको विशाल साम्राज्यमा रमाइरहेको देखिन्छ । यो आक्रोश र आरोप हैन, यथार्थ हो । कम्युनिस्टहरूले साँचो अर्थमा सबैभन्दा पहिला अहंकारपूर्ण आचरण सुधार गर्नुपर्ने हो ।

केही दिनअघि बालुवाटार छिर्न नपाएका एक अरिंगालको बडा ठूलो आरोप थियो, ‘सल्लाहकार र सहयोगीले आफ्ना मान्छेलाई मात्र भित्र छिर्न दिन्छन् ।’

प्रधानमन्त्रीलाई कसैले किन टेर्दैन ?

मानिलिनुहोस्, कुनै लडाईंमा सेनाको कमान्डरले दिएको आदेश टुकडीका जवानहरूले मानेनन् भने के हुन्छ होला ? मृत्युशय्यामा सिकिस्त भएर सुतिरहेको बिरामीले डाक्टरको सल्लाह मानेन भने के हुन्छ होला ? छोडपत्रका लागि अदालतमा उपस्थित भएका दम्पतीहरूले न्यायाधीशको फैसला पालना गरेनन् भने के हुन्छ होला ? यो पनि मानिलिनुहोस्, नयाँ नेपालको मुहार नदेखिकन दिल निशानी मगरको अकस्मात् देहावासन भयो भने के हुन्छ होला ?
पक्कै पनि अनर्थ हुन्छ । भयंकर अनर्थ हुन्छ ।

कर्मचारीहरूले सिंहदरबारको मूल गेटमा आन्दोलन गरे भने के हुन्छ होला ? विमान किन्दा अर्बौं घोटला भए के हुन्छ होला ? मेलम्चीको ठेकेदार झिकीझाम्टो बोकेर फरार भयो भने के हुन्छ होला ? पप्पु कन्स्ट्रक्सनको मालिकले देश विकासको खाका पेश गर्‍यो भने के हुन्छ होला ? प्रहरीले नै प्रमाण मेटेमा के हुन्छ होला ? एकबारको जुनीमा दिगम्बर झाहरू नै हर्ताकर्ता हुन थाले के हुन्छ होला ? किसानले उखु बेचेको पैसा पाएनन् भने के हुन्छ होला ?
जे भइरहेको छ, त्यो लोकवासीहरूले आँखा च्यातिन्जेलसम्म हेरिरहेका छन् ।

सरकारको मानो खानेहरूलाई मुगु मन पर्दैन ।  तिनलाई जुम्ला मन पर्दैन । तिनलाई उपल्लो मुस्ताङ पनि मन पर्दैन । तिनलाई छोरोल्पा तालको आसपास मन पर्दैन । तिनलाई बैतडी अनि बाजुराका पहाडहरू मन पर्दैन । तिनलाई कालिकोट मन पर्दैन । सगरमाथा र भीमफेदीका फेदहरू मन पर्दैन । यस्तो लाग्छ कि तिनलाई काठमाडौं खाल्डोबाहेक कतै पनि मन पर्दैन । 

त्यो किनभने यो खाल्डोमा मन्त्रीको चाप्लुसी गर्न पाइन्छ । सचिवको गाँड सफा गर्न नि पाइन्छ । पार्टी प्यालेसहरूमा नर्तकीसँग उठेर बसेर नाच्न सकिन्छ । सेमिनारहरूमा विदेशी स्टाइलको ‘डिनर र लन्च’ गर्न पाइन्छ । मन्त्रालयको गेटतिर यसो खेतीपाती गर्न पाइन्छ । पेशागत र पैसागत हकहितका लागि आन्दोलन सान्दोलन भएको बेला स्वागत मन्तव्य दिन सकिन्छ । चिनेका पत्रकारहरूलाई समाचार टिपाएर यसो ठुटे नेता जस्तो बन्न नि सकिन्छ ।

हक्की स्वभावका प्रधानमन्त्री केपी ओलीले हाँसो मजाक नगरेको कुनै भाषण हुँदैन । प्रमको कार्यक्रम कता छ, यसो चियोचर्चा गर्‍यो । चट्ट कालो कोट लगाएर हाँस झैं ढल्किएर ढलकढलक गयो । प्रधानमन्त्रीले समृद्धिका भाषण सुनाउँछन् । गललल हाँसिदियो, समर्थन गरिदियो । कार्यक्रमस्थलको माहोल नै बेग्लै हुने । प्रधानमन्त्री गुनासो गर्छन्, ‘ब्युरोक्रेसी’ ले मेरो निर्देशन मानेन । फेरि गललल हाँस्यो ।

उत्तर कोरियाका शासक किम जोङ–उनले भ्रष्टाचारीहरू र आफूले दिएको आदेश नमान्ने कर्मचारीहरूलाई डाँडोमा लाइन लगाएर राखी तोप हानेर उडाएका समाचारहरू सार्वजनिक हुन्छन् । उनले यसरी तोप हानेर उडाउनेहरू सामान्य कर्मचारीदेखि मन्त्रीसम्मका मानिस छन् । राष्ट्रिय हित र आफ्नो शासन व्यवस्थाका निम्ति अहित गर्ने तत्त्वहरूलाई कोठमा थुनेर भोकाएका कुकुरहरू लगाउने उनको साहसको जति प्रशंसा गरे पनि कम हुन्छ ।

यसो भन्दै गर्दा लोकतन्त्रका बडे बडे उदाहरणहरू पेश हुन्छन् । तर ती उदाहरण पेश गर्नेहरू नै वास्तवमा चोर हुन्छन्, डाँका हुन्छन् । किम जोङ–उनले जे गरेका छन् त्यो प्रम ओलीले गर्नुपर्छ भन्ने आशय हैन तर कनिष्ठ कर्मचारीहरूका अगाडि भिजन र कार्ययोजना प्रस्तुत नगर्ने, खालि चुट्किला मात्र सुनाएर गललल हाँस्ने हो भने सचिवले त के भोलि खरदारले पनि प्रमलाई टेर्दैन ।

३० करोड भ्रष्टाचार गर्नेहरू ३० दिन हिरासत र ३ महिना जेल छुटेर निस्केका छन् । यही देशको युवा ३० हजार कमाउनका लागि ३० दिन अरबको खाडीमा रगत पसिना बेच्न बाध्य छन् ।

यो नाथे हाँस्छ, चुट्किला सुनाउँछ, यसको भिजन केही छैन, फततत बोल्छ मात्रै भन्ने छाप मातहतका निकायहरूमा पुग्छ । यस्तो छाप देशवासीहरूमा पुगेकै छ । देशको सर्वोच्च कार्यकारी पदमा बसेको मान्छे निडर भएर निष्ठाका साथ अगाडि नबढी ल्याङ्फ्याङ् गरिरहे भने ट्यालेन्ट जेनेरेसनको ‘मोरल डाउन’ हुन्छ । सारा संसार जितेको कथा सुनाउनेले मोबाइलमा नम्बर थिच्न नजाने जस्तै प्रम ओली लामो समयसम्म सिकारु हुन मिल्दैन ।

३० करोड भ्रष्टाचार गर्नेहरू ३० दिन हिरासत र ३ महिना जेल छुटेर निस्केका छन् । यही देशको युवा ३० हजार कमाउनका लागि ३० दिन अरबको खाडीमा रगत पसिना बेच्न बाध्य छन् । त्यो ३० हजार झट्ट हेर्दा कुनै दुःख पाएको बेरोजगार युवाले कमाएको जस्तो देखिन्छ । तर याद रहोस्, त्यो युवाले नेपालको राहदानी सिरानी हालेर सुतेको छ । महान् सपनाका कुरा गर्नेहरूले युवाका सिरानीमुनिका विपनाहरू नजरबक्स गरियोस् ।

धेरै उदाहरण छन् । पंक्तिकारलाई ब्लड प्रेसरको समस्या भएकाले ती सबै उल्लेख गर्न मुश्किल छ । तर ३३ किलो सुनको हुलिया पत्ता नलागिकन पक्राउ गरिएका ९० प्रतिशत मानिसहरू रिहा भइसकेका छन् । हो, निर्दोषहरू रिहा हुनैपर्छ तर चीजको हुलिया पत्ता लागेको हुनुपर्छ । हुलिया पत्ता लाग्दैन भने तिनलाई के कति कारणले लामो समय हिरासतमा राखिएको हो, त्यो मानवअधिकार हननको कुरा हुन्छ । त्यो ३३ किलो सुन भारतमा भेटिएको भन्ने कुरा ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला’ जस्तो कथा हो । 

त्यसैले ओली सरकार एउटा ‘सिभियर प्यारालाइसिस पेसेन्ट’ जस्तो देखिएको छ । उसका आँखा छन्, हातगोडा छन्, मुख छन् । तर ती चल्दैनन्, देख्दैनन्, बोल्दैनन् । जनताको बलबाट माथि उठेको एउटा दुईतिहाइ बलयुक्त शासकको हविगत आफ्नै शरीरको मासु आफैं चिथोर्ने भेन्टिलेटरमा राखेको अर्धपागलको जस्तो छ । जिससकी छोरी आइन्, गइन् । तर यहाँ ‘आमिन र हालेलुइया’ भन्न बिर्सेजस्तो छ । 

आईजीपीको कुरा डीएसपी मान्दैन । सीडीओको कुरा नायब सुब्बा मान्दैन । सचिवका कुरा लेखापाल सुन्दैन । मन्त्रीका कुरा पीए मान्दैन । दुःखको कुरा, प्रधानमन्त्रीका कुरा मन्त्रीहरू सुन्दैनन् । त्यसैले भन्न मन लाग्छ, किम जोङ–उनको जस्तै क्रूर रूप धारण नगरेसम्म प्रम ओलीलाई कसैले गन्नेवाला छैन । उनको आदेशको पालना हुने स्थिति देखिन्न । सरकार दुईतिहाइ छ, भ्रष्टाचार छ हजार तिहाइ । स्थिति नमीठो बन्दैछ । एनजीओ आईएनजीओका खेलाडीहरूले देश चलाइरहेका छन् । 

जनताको रगत पसिना चुसेर महल खडा गर्ने भ्रष्टाचारीहरूलाई टुँडिखेलमा जम्मा गरेर पालैपालो गोली हान्नुपर्ने हो । देशको सूचना बेचेर विदेशीको खातिरदारी गर्नेहरूलाई कोर्रा हान्नुपर्ने हो । देशको अर्थ व्यवस्थालाई धराशायी गराउने माफियाहरूको पाता कस्नुपर्ने हो । कालोबजारी र समयमा काम पूरा नगरेर भाग्ने ठेकेदारहरूलाई रिसाएको हात्तीको नाकमा लगेर जाक्दिनुपर्ने हो । हो, वास्तवमा हुनुपर्ने यस्तै यस्तै हो । तर प्रम ओलीको दम देखिएन ।

प्रम लाचार बनेका तीन उदाहरण :

पहिलो -लेखा समितिमा भएको छलफलमा सत्तारूढ नेकपाका अधिकांश सांसदहरूले राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिवेदन आएको आशंका गरेका थिए । र यो आशंका प्रम स्वयंको पनि हुनुपर्छ जबकि सार्वजनिक लेखा समितिले वाइडबडी खरिदको छानबिन गर्न बनाएको उपसमितिका संयोजक राजेन्द्र केसी र सदस्यहरूले प्रतिवेदनको राम्रैसँग बचाउ गरेका थिए । 

समितिका सदस्य प्रेम आले, जो सत्तापक्षकै हुन्, उनले समेत दलभन्दा माथि उठेर प्रतिवेदन तयार पारेको बताएका छन् ।  तर आजको मितिसम्म कसैलाई निलम्बन र पक्राउ गरिएको छैन । तर संसद्कै उपहास हुने गरी मन्त्रिपरिषद्को पछिल्लो बैठकमा प्रम ओलीले आफूसहित यस सरकारका मन्त्रीहरूविरुद्ध धेरै षड्यन्त्रहरू भइरहेको भन्दै जोगिएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए । मन्त्री अधिकारी अनि बहालवाला सचिवहरूलाई दोषी ठहर गरेर लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदनलाई ओलीले हचुवाका भरमा प्रतिवेदन आएको र आफूविरुद्ध निकै ठूलो षड्यन्त्र भइरहेको दाबी गरे । 

समृद्धिको सपना वितरक प्रमले यस्तो किसिमको आशय प्रस्तुत गर्न हुँदैनथ्यो । उल्टै रिटायर्ड न्यायाधीशको नेतृत्वमा नयाँ छानबिन समिति गठन गरेर दोषीलाई अख्तियारबाट जोगाउने कामको पहलकदमी ओलीले थालेका छन् । दुईतिहाइको सरकारका पालामा यस्तो किसिमको अलोकतान्त्रिक कदम चाल्नु दुःखको कुरा हो । आफ्नाहरूलाई चोख्याउका लागि जति जालझेल षड्यन्त्र रचेपनि अब नेपालीहरू चनाखो भइसकेका छन् । 

दोस्रो - हालसालै एक व्यवसायीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् । सर्वोच्च अदालतले उनको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन् । न्यायालयमा पछिल्ला समयमा ठूला चलखेल भए तर प्रम मौन जस्तो भएर बसे । बिदा हुनै लागेका पूर्वन्यायाधीशले आफ्नो स्वार्थका मुद्दाहरू फटाफट, रातारात फैसला गर्दै न्यायालयलाई व्यापारीको मुकाम जस्तो बनाउदा प्रम चनाखो बन्न सकेनन् ।

प्रम ओली सुरबेसुरको भाषण गर्नुहुन्छ, ‘मेलम्चीको काम जापानी कारजस्तो सुलुलु गुडिरहेको छ ।’ प्रम ओली किम जोङ–उन जस्तो क्रूर नबनेसम्म कसैले टेर्नेवाला छैन ।

सर्वोच्चको आदेशसँगै ती व्यापारी आफ्नो रोक्का रहेको रकम भुक्तानी गर्न इन्भेस्टमेन्ट बैंक पुगेका थिए । अदालतको आदेश पालना नगरे अपहेलना मुद्दा हाल्ने धम्की आएपछि बैंकले फुक्का गरिदियो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश दीपकराज जोशीको एकल इजलासले यस्ता सयौं फैसलाहरू गरेका छन् जसले राज्यको राजस्वलाई ठूलो मात्रमा नोक्सान पुर्‍याएको छ भने अर्कोतर्फ कालो धनले मान्यता पाउने सम्भावना बढेको छ । प्रम ओली कालो धनलाई सेतो बनाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ?  

तेस्रो -मेलम्ची खानेपानी तोकिएको समयमा आउन सकेन । दशैंअघि आउने भनिएको थियो तर त्यो हवाई कल्पना मात्र भयो । तर आयोजनाको काम गरिरहेको इटालियन ठेकेदार कम्पनी कोपराटिभा एन्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाका (सीएमसी)ले यसअघिको ३० करोड भुक्तानी तिर्दा ५ करोड कमिसन दिएको खुलेको छ । यसरी कमिसनको खेलले मेलम्ची आयोजना पूर्ण रूपमा प्रभावित भइरहेको छ । 

कमिसनखोरहरूले मेलम्चीलाई कमाई खाने भाँडो बनाएको कुरा प्रमलाई थाहा नहुने कुरै भएन तर कसैमाथि आवश्यक कारवाही हुन सकेको छैन । तत्कालीन आयोजना प्रमुख घनश्याम भट्टराई हुँदा सीएमसीको रकम भुक्तानीका क्रममा ५ करोड रूपैयाँ कमिसन दिइएको थियो भन्ने विषयले राजनीतिक वृत्तका भित्री जानकारहरू तातिएका छन् । बाहिर भने सबै ठीकठाक जस्तो ।

ती घनश्याम भट्टराई नेपाल कम्युनिस्ट पार्टीनिकटका सहसचिव हुन् । मेलम्ची आयोजनापछि काठमाडौं खानेपानी लिमिटेडको प्रमुख कार्यकारीको जिम्मेवारी उनैले सम्हालेका थिए । आयोजना प्रमुख जोसुकै  बनेपनि कमिसनविना बिल पास नगर्दा ठेकेदारहरू नभागेर के गर्छन् ? त्यसैले यस्ता कमिसनखोरहरू पनि विकासका बाधक हुन् । तर प्रम ओली सुरबेसुरको भाषण गर्नुहुन्छ, ‘मेलम्चीको काम जापानी कारजस्तो सुलुलु गुडिरहेको छ ।’ प्रम ओली किम जोङ–उन जस्तो क्रूर नबनेसम्म कसैले टेर्नेवाला छैन ।
 

माघ ७, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस