
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भई शनिवार बिहान स्वेदश फर्किएका छन् ।
डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतवार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण सफल भएको बताए । उनका अनुसार बैठकमार्फत् नेपालले आफ्नो धारणा र योजना अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याएको छ ।
मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका २ बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।
उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय संगठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।