०४ साउन २०८३, सोमबार

नगरपालिकाका मेयर नै सफाइका सिपाही !

माघ १९, २०७५
नगरपालिकाका मेयर नै सफाइका सिपाही !

बुटवल – मुखमा माक्स । दुवै हातमा पञ्जा । अनि हातमा कुचो । पछाडि–पछाडि एक हूल मानिसहरू । पुस–माघको कठ्याङ्ग्रिदो जाडो होस् वा बैशाख–जेठको उखर्माउलो गर्मी, उनी हरेक महिनाको १ गते र १५ गते सरसफाईमा खटिएकै हुन्छन् ।

सरसफाईमा खट्दा उनले चाडपर्व, घरयासी काम वा समस्यालाई समेत वास्ता गर्दैनन् ।

सरसफाईमा यसरी खटिँदै आएका अभियन्ता हुन्, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे । स्थानीय तहमा निर्वाचित भएलगत्तै उनले नियमित नगर सरसफाई गर्ने घोषणा मात्र गरेनन्, त्यसको नेतृत्व पनि आफैंले गरे । २०७४ साल असोजबाट शुरू भएको समुदायमा आधारित सरसफाई अभियान अहिले ३४ औं शृंखलामा पुगेको छ । 

निरन्तर चलेको अभियान महत्त्वपूर्ण चाडपर्वमा समेत रोकिएको छैन । नगरबाहिर रहेको अवस्थाबाहेक सबै शृंखलामा नगर प्रमुख घिमिरेले सहभागिता जनाएका छन् ।

प्रारम्भमा सिक्सलेन सडकको योगिकुटी–कोटिहवामा केन्द्रीत सरसफाई अभियान पछिल्ला शृंखलामा आइपुग्दा हरेक वडामा पुगेको छ । नगर प्रमुख घिमिरे सबै वडामा पुगेर सरसफाईमा सहभागी भएका छन् । 

नगर प्रमुख घिमिरेले नेतृत्व गरेको नगर सरसफाई अभियानलाई उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका तथा नगरसभा सदस्य, कर्मचारी, विभिन्न संघ–संस्था, क्लव, आमा समूह, टोल विकास संस्था, बैंक तथा वित्तीय संस्थालगायत सबै नगरबासीले दह्रो साथ दिएका छन् । 

बाग्मती सरसफाई अभियानपछि काठमाडौं बाहिर संस्थागत रुपमा अघि बढेको अभियान बनेको छ, तिलोत्तमाको समुदायमा आधारित सरसफाई अभियान । अभियान शुरू भएपछि नगरबासीमा सरसफाई सम्बन्धी सचेतना अभिवृद्धि भएको छ । आफ्नो घर, आँगन, टोल, सडक सफा गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।

नयाँ नगरपालिका भएकाले सबै ठाउँबाट फोहर उठ्न नसकिरहेको अवस्थामा जनप्रतिनिधिको आगमनसँगै फोहोर उठाउने कार्यको थालनी भएको छ । प्रायः सबै बजार क्षेत्रबाट नियमित फोहोर उठाउने कार्यको थालनी नगर प्रमुख घिमिरेले गराएका छन् । 

नमूनाको रुपमा बन्दै गरेको बुटवल–बेलहिया सडकमा हरियाली प्रवद्र्धन अभियान पनि सँगसँगै अघि बढेको छ । प्लास्टिकजन्य फोहोरका कारण प्रदूषण बढेको निष्कर्षसहित तिलोत्तमामा प्लास्टिक झोला निषेधित अभियान समेत चलाइएको छ । नगरमा प्लास्टिकको कप, चम्चा, प्लेटमा रोक लगाइएको छ ।

वैकल्पिक साधनको पहुँच बढेसँगै प्लास्टिक झोलाको प्रयोगमा समेत पूर्णतः रोक लगाउने तयारीमा नगरपालिका छ । तर नगरबासीको किनमेलको मुख्य थलो बुटवल र भैरहवा भएकाले यो विषयमा सम्बन्धित क्षेत्रका स्थानीय सरकारसँग सहकार्य गर्ने योजना तिलोत्तमाको छ ।

नगर प्रमुख घिमिरे सरसफाई सम्बन्धी सचेतना अभिवृद्धिका लागि नियमित सरसफाई अभियान चलाइएको बताउँछन् । सबै नगरबासीले हप्ताको १ दिन कम्तिमा १ घण्टा सरसफाईमा जुट्ने हो भने नगरलाई सफा राख्न सकिने उनको भनाइ छ ।

जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, क्लब, आमा समूह, टोल विकास संस्था, बैंक तथा वित्तीय संस्था लगायत सबै नगरबासीले सहयोगले अभियान अगाडि बढेको बताउँदै नगर प्रमुख घिमिरे अभियान निरन्तर चल्ने बताउँछन् ।

अभियान शुरू भएपछि अचेल टोल विकास संस्थाले अनुकूल हुने गरी शनिवार वा बिदाको दिनमा नगर सरसफाई अभियान चलाउँदै आएका छन् । तर नगरस्तरीय सरसफाई अभियान १ र १५ गते नै हुने गरेको छ । सबैलाई सम्झन सजिलो हुने भएकाले मिति तोकेरै सरसफाई अभियान चलाइएको नगर प्रमुख घिमिरेले बताए ।

नगर प्रमुख घिमिरेले सरसफाईको मात्र होइन, हरियाली प्रवद्र्धनलाई पनि उत्तिकै महत्त्व दिएका छन् । तिलोत्तमा नगरपालिकाले जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान समेत गरेको छ । नगरपालिकाको आह्वानअनुसार नगरबासीले स्वतस्र्फूत जन्मदिनमा विरुवा रोप्ने गरेका छन् । ‘हामी नगरलाई सफा, स्वच्छ, नमूना बनाउन थालेका छौं । यसमा सबैको रचनात्मक सहयोग छ,’ नगर प्रमुख घिमिरेले भने ।

salt training

कमेन्ट गर्नुहोस्