ती अविस्मरणीय क्षण, जसले तपाईंलाई मेरो मस्तिष्कमा अमर राख्नेछ

फागुन १७, २०७५

काठमाडौं – संसद् सचिवालयस्थित काठेघरमा रहेको संसदीय मामिला पत्रकार समाजको कार्यकक्षमा बसिरहेको थिएँ । रवीन्द्र अधिकारी दाइ सभामुखको कार्यकक्ष तिरबाट एमाले संसदीय दलको कार्यालयतिर आउँदै हुनुहुन्थ्यो । झ्यालबाट बोलाउनुभयो, ‘सुशीलजी एकछिन बाहिर आउनुस् त ।’ संसद्को बगैँचामा पुगेपछि भन्नुभयो– ‘फास्ट ट्र्याक’ हेर्न जाने होइन ? 

२०६४ सालको संविधानसभा निर्वाचनपछि गठन भएको लेखा समितिमा रवीन्द्र दाइ सदस्य हुनुहुन्थ्यो । काठमाडौं–तराई द्रूतमार्ग खन्दा अनियमितता भयो भन्ने गुनासोपछि लेखा समितिले छानबिन शुरू गरेको थियो । अनुगमन उपसमिति संयोजक रवीन्द्र दाइ हुनुहुन्थ्यो । नेपाली सेनाको हेलिकप्टरमा सीमित सिट क्षमताका कारण उपसमितिले केही पत्रकारलाई लैजाँदै थियो । रवीन्द्र दाइले सीमित पत्रकारमध्ये मलाई पनि रोज्नुभएको थियो ।


ADVERTISEMENT

२०६८ चैत २६ गते सेनाको हेलिकप्टरबाट ललितपुरको मदाने हुँदै निजगढ पुगियो । त्यो दिन बाराको अमलेखगञ्ज नजिकैको सेनाको ब्यारेकमा बसियो । खासमा सेनाले सांसद र पत्रकारलाई हेटौंडास्थित एक रिसोर्टमा राख्ने तयारी गरेको थियो । रवीन्द्र दाइले त्यो तडकभडक नगरौं भनेपछि सेनाको रेञ्जर तालिम हुने ब्यारेकमा बसियो । 

भोलिपल्ट हेटौंडामा अन्तरक्रिया भयो । सेनाकै हेलिकप्टरबाट साँझ काठमाडौं फर्कियौं । शिव दाहाल, कृष्ण ज्ञवाली, दीपक बोहरा, अशोक दाहाल लगायत पत्रकार टीममा थियौैं । पछि नेपाली सेनाले मनाङ जोड्ने बाटो उद्घाटनका क्रममा पनि यो संवाददातालाई लगेको थियो । फास्ट ट्र्याकबारे एक पाक्षिक पत्रिकामा लेखेको फिचरका कारण सेनाले मलाई पनि मनाङ लगेको थियो । त्यो अवसर रवीन्द्र दाइको कारण सम्भव भएको थियो । 

...

२०६९ साल चैत १० गते कास्कीको पोखरामा नेपाल पत्रकार महासंघको साधारण सभा थियो । पोखरा जाने क्रममा ९ गते मुग्लिनबाट रवीन्द्र दाइलाई फोन गरेँ । पोखरा आएलगत्तै भेट्ने भन्नुभयो । संसद् विघटन भएका कारण उहाँसँग भेट पातलिएको थियो । पत्रकार महासंघको कार्यक्रममा जाने क्रममा दाइसँग भेट्ने योजना थियो । त्यो भन्दा पहिला एकपटक दाइ आफैंले पोखरा जान प्रस्ताव गर्नुभएको पनि थियो । 

मेरो लागि रवीन्द्र दाइसँगको परिचय धेरै लामो थिएन, २०६५ सालमा उहाँ सांसद भएर आएपछि नै धेरै भेटघाट र कुराकानी भएको हो । त्यसअघि मैले एकतर्फी रूपमा मात्र चिन्थें । राजनीतिक दलप्रति आस्था राख्ने पत्रकार संगठनको सदस्यता नलिएका कारण राजनीतिक पहिचान र चिनजान थिएन ।

पहिलो संविधानसभाको चारवर्षे कार्यकालमा नै रवीन्द्र दाइसँग घनिष्टता बढेको थियो । संविधान सभाको आखिरी दिनमा म संसदीय मामिला पत्रकार समाजको महासचिव थिएँ र संसद्को नियमित रिपोर्टिङ गर्ने सक्रिय पत्रकार पनि । संसदीय मामिला पत्रकार समाजको महासचिवमा निर्वाचित हुँदा उहाँले बधाई दिनुभएको थियो । 

संविधान सभाका बारेमा लेखिएका केही फिचरका कारण उहाँ मसँग प्रभावित हुनुहुन्थ्यो । पहिलो संविधान सभाका सांसदहरूको बारेमा मैले नेपाल साप्ताहिकमा लेखेको ‘अपवाद सभासद’ शीर्षकको फिचरमा उहाँ अटाउनुभएको थियो । अर्थात् पहिलो संविधान सभामा उत्कृष्ट काम गर्ने सांसदमा रवीन्द्र दाइ पनि हो भन्ने मेरो मूल्याङ्कन थियो । 

हामी पोखरा पुगेपछि रवीन्द्र दाइलाई भेट्यौं । बाटोमा उभिँदा धेरैजना आएर नमस्कार गरे, हात मिलाए । हामीसँग भेट भएपनि कुरा अरूसँग हुन थाले । ‘पोखरामा तपाईंसँग त कुरा गर्न पाइँदो रहेनछ,’ थिरलालजीले भनेपछि दाइले तपाईंहरूलाई आज नयाँ ठाउँमा लैजान्छु भन्नुभयो । रवीन्द्र दाइले हामी दुई थिरलालजी र मलाई फेवाताल माथिको स्तुपामा लैजानु भयो । त्यसका लागि गाडीको व्यवस्था गर्नुभएको रहेछ । कान्तिपुर मिडिया गु्रपका साथीहरू अर्को गाडीमा आएका थिए । शान्ति स्तुपामा केहीबेर कुरा गर्‍यौं । फेवाताललाई पृष्ठभूमि बनाएर फोटो खिच्यौं । 

स्तुपाबाट तल झर्ने क्रममा राजु क्षेत्रीले सञ्चालन गरेको सानो रेष्टुराँमा कसैले चिया र कसैले चिसो खायौं । माओवादी जनयुद्धको क्रममा धादिङको गजुरी ब्यारेक तोडेका राजु तत्कालीन माओवादी निकट पत्रकार पनि हुन् । रवीन्द्र दाइले मलाई चिनजान गराइदिनुभयो । राजुले मलाई चिन्नुहुँदो रहेछ, मैले चिनेको थिइनँ । केही पैदल हिँडेपछि हामी पोखरा फर्कियौं । बाटोमा रवीन्द्र दाइसँग कुरा गर्न चाहनेहरूको भीड देखेर उहाँको लोकप्रियता बुझ्ने मौका मिल्यो । मतदाताहरू रवीन्द्र दाइलाई आदर्श नेता मान्दथे ।

पोखरा फर्केर एउटा होटलको छतमा गएर खाजा खायौं, होटलको नाम चाहिँ बिर्सिएँ । उक्त होटलमा उहाँले नियमित नेता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्नुहुने रहेछ । पनिर पकौडा र कफी खाएर एकछिन गफ गर्‍यौं । अर्कै प्रयोजनका लागि पोखरा पुगेका हामीलाई रवीन्द्र दाइले गर्नुभएको त्यो स्नेह र सत्कार मेरो लागि ठूलो सम्मान थियो । वर्षौंपछि पनि रवीन्द्र दाइलाई मैले भन्ने गर्दथेँ– ‘दाइ तपाईंले गरेको त्यो सम्मान त कहिल्यै बिर्सिन सक्दिनँ ।’

...

२०७० सालमा संविधान सभाको दोस्रो चुनाव भयो । चुनावपछि दाइसँगको भेटघाट फेरि नियमित जस्तै भयो । रवीन्द्र दाइ विकास समितिको सभापति बनेपछि संसद् सचिवालयको उहाँको कार्यकक्ष मेरो लागि सिंहदरबारभित्रको आश्रयस्थल जस्तै बन्यो । कयौंपटक दाइको कार्यकक्षमा खाना र खाजा खाएँ । 

रवीन्द्र दाइको कोठा (विकास समितिका सभापतिको कार्यकक्ष) मेरा लागि किन पनि खुला थियो भने रवीन्द्र दाइका पिए राजेन्द्र आचार्यजी मेरा पुराना साथी पनि थिए । रवीन्द्र दाइ नभए पनि कार्यकक्षमा गएर चिया पिउने नियमितजस्तै भएको थियो । 

विकास समितिको बैठकमा नियमित उपस्थित नभएपनि विकास समितिले आयोजना गर्ने कार्यक्रममा म छुट्दैन थिएँ । ‘सुशीललाई नछुटाउनु है’ दाइले सहयोगीहरूलाई भन्नुहुँदो रहेछ, खै किन हो, कारण थाहा भएन । शायद स्नेह होला । एकदिन धुलिखेलमा स्थानीय तहसम्बन्धी कार्यक्रम थियो । संसद् बिटमा रिपोर्टिङ गर्ने त म एक्लो पत्रकार थिएँ । 

२०७२ सालको प्रलयकारी भूकम्पपछि नेपालको पर्यटन व्यवसाय एक प्रकारले शिथिल बन्दै थियो । पर्यटन उद्योगलाई पुनर्जीवन दिन र अन्तर्राष्ट्रिय समुदायलाई पनि सकारात्मक सन्देश दिनका लागि भन्दै रवीन्द्र दाइले विकास समितिको बैठक जेठ २९ र ३० गते नगरकोटमा राख्नुभयो । संसदीय समितिको बैठक नगरकोटमा बसेको खबरले पर्यटन उद्योगलाई टेवा मिल्यो ।

कार्यक्रम सकेर राजधानी फर्किने क्रममा दाइले इसारा गर्नुभयो– तपाईं मसँग जाने है ! आफ्नो गाडी हुने सांसदहरू गाडीमा फर्के, केही बसमा फर्के । वसन्त बस्नेत, जगदीश्वर पाण्डे र म रवीन्द्र दाइसँग गाडीमा फर्कियौं । गफ गर्नकै लागि ‘माननीय’हरूलाई बसमा पठाएर हामीलाई आफ्नो गाडीमा ल्याउनुभयो । 

बीच बाटोमै आउँदा दाइले भन्नुभयो– ‘ल आज सँगै खाना खाने है त !’ विगतमा कास्कीमा एमालेको राजनीति गरेका एक कार्यकर्ताले काठमाडौंको सिनामंगलमा थकाली भान्सा घर खोलेका रहेछन् । त्यहाँ गएर खाना खाइयो र सिंहदरबारमा गएर छुट्टियौं ।

...

स्थानीय तहको अधिकारको कार्यसूचीबारे २०७३ चैत २ गते धुलिखेलमा एउटा कार्यक्रम थियो, विज्ञ डर्मोट शिल्ड्सले कार्यपत्र प्रस्तुत गर्ने । कार्यक्रम सकिएपछि साँझ रिसेप्सन थियो । त्यहाँ रवीन्द्र दाइले एउटा गीत गुन्गुनाउनु भयो– ‘जोमसोमै बजारमा, १२ बजे हावा सरर...’ । 

यो गीत हामीले बनाएको हो नि ! उहाँले यसो भन्दा म अचम्ममा परेँ– ‘हो र दाइ ! म शनिवारका लागि एउटा फिचर गर्छु है !’ आजलाई राति भयो, भोलि कुरा गरौंला । 

खासमा म भोलिपल्ट बिहानै काठमाडौं फर्किनुपर्ने थियो, तर त्यो फिचर गर्नकै लागि दिउँसो १ बजेसम्म धुलिखेलमा बसें । रवीन्द्र दाइ पनि बसमा आउनुभयो । कास्कीकै कांग्रेस सांसद यज्ञबहादुर थापा लगायत सांसदहरू पनि थिए । बसको एउटै सीटमा बसेर आउँदा मैले रवीन्द्र दाइसँग गीतबारे कुरा गरें । त्यो गीतको बारेमा फिचर लेखेपछि धेरैलाई थाहा भयो ।

पढ्नुहोस्, यो पनि :
रवीन्द्र अधिकारीको लुकेको पाटो : जोमसोमै बजारमा, १२ बजे हावा सरर . . .
...
२०७४ साल मंसिर २१ गतेको प्रतिनिधि सभा चुनावको प्रचारका क्रममा कास्कीको भलाम गाउँमा रवीन्द्र दाइको चुनावी अभियानको रिर्पोटिङका लागि लोकान्तरका प्रधानसम्पादक विमल गौतम र म मंसिर ११ गते पुगेका थियौैं । कस्तो आत्मीय मान्छे ! रवीन्द्रलाई आशिर्वाद दिएपछि मात्र खाना खाने भन्दै वृद्ध आमा बस्नुभएको रहेछ । 

रवीन्द्र दाइको भाषा पनि गज्जब । सबैलाई, बुवाआमा, दिदीदाइ र भान्जाभान्जी । चुनावी घरदैलोमा जाँदा दाइले सोध्नुभयो– ‘भान्जी कहिले आएको ?’ भान्जाले कतिमा पढ्छन् ? मलाई भोट दिनुस् भन्ने भन्दा पनि यस्ता प्रश्नले गाउँलेहरूले उहाँलाई आत्मीय ठान्ने । 

रवीन्द्र दाइले चुनावी भेलामा उपस्थित गाउँले र कार्यकर्तामाझ हाम्रो परिचय गराउनुभयो । त्यो बेला मैले भनें– ‘तपाईंहरू भाग्यमानी पोखरेली, रवीन्द्र अधिकारीजस्तो नेता पाउनुभएको छ । मैले त उहाँलाई दुवै संविधान सभाको उत्कृष्ट सांसद भनेर लेखेको थिएँ ।’ घरदैलोमा व्यस्त दाइसँग झण्डै एक घण्टाको कुराकानीपछि हामी फर्कियौं । दाइले तेस्रोपटक पनि चुनाव जित्नुभयो । 

बिदा हुने बेला दाइले भन्नुभयो– ‘काठमाडौंबाट मलाई सम्झेर तपाईंहरू आउनुभयो, खुसी लाग्यो ।’ 

...

गत वर्षको चैत २ गते मन्त्री बनेको केही समयपछि सिंहदरवार गएका बेला म फोनै नगरी रवीन्द्र अधिकारीलाई भेट्न पर्यटन मन्त्रालय गएको थिएँ ।

मन्त्री बनेको दुई हप्तासम्म पनि बधाई दिन आउने र भेट्न आउनेको कमी थिएन । राजेन्द्र आचार्यमार्फत मैले चिट पठाएँ । बाहिर धेरैले कुरेका थिए, तैपनि दाइले मलाई बोलाउनु भयो । म कुनै स्वार्थ या कामले गएको त थिइनँ, तै पनि अरू हुँदाहुँदै मलाई भित्र बोलाएकोमा खल्लो लाग्यो । ‘तपाईंको समय नलिई आएँ, डिस्टर्ब भयो कि ?’ 

‘मलाई भेट्न आउँदा तपाईले समय लिनुपर्छ र ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो । दश मिनेट भित्र बसें । ‘दाइ यहाँबाट निस्कँदा सफल मन्त्री बनेर निस्कनुपर्छ है !’ दाइ हाँस्नुभयो । ‘हेरौं, केही गरौं भन्ने सोच छ ।’ 

सानो अन्तर्वार्ताका लागि दुई दिनपछि लोकान्तरको कार्यालयमा आउने तय भएर म छुट्टिएँ । कार्यकक्षमा भेट्नु्भन्दा पहिले एकदिन काभ्रेमा विमानस्थलको अवलोकनका लागि जानुभएको थियो । मैले फोन गरें, सुरक्षाकर्मीले उठाए । ‘मन्त्रीज्यू बाहिर हुनुहुन्छ बोल्न मिल्दैन’ ती सुरक्षाकर्मीले भने ।

‘पत्रकार सुशील पन्तको फोन भन्नुस् त !’ मैले भनें । सुरक्षाकर्मीले मन्त्रीलाई फोन दिए । ‘सुशीलजी तपाईंहरूलाई खबर गर्न पाइनँ, अहिले म विमानस्थलको सम्भाव्यता अध्ययनका लागि आएको,’ दाइले भन्नुभयो ।

मैले दाइ भने पनि रवीन्द्र दाइले ‘सुशीलजी’ भन्नुहुन्थ्यो । अरूलाई पनि उहाँले भाइ भन्दा पनि ‘जी’ नै भनेको मलाई स्मरण छ ।

पढ्नुहोस्, यो पनि:
विमानस्थल सुधारका लागि अब एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्छु : मन्त्री अधिकारी [भिडियो अन्तर्वार्ता]

...

रवीन्द्र दाइसँगका यस्ता स्मरण कति छन्, कति । यस्ता जनप्रिय नेताको निधनले म जस्ता कयौंको मन भारी बनाएको छ । म जस्ता धेरै पत्रकारसँग उहाँको सम्बन्ध सुमधुर थियो । नम्र बोली र सादगी शैली कारण थियो । रवीन्द्र दाइमा कुनै घमण्ड थिएन ।

रवीन्द्र दाइलाई मन नपराउने शायदै थिए होला । मन्त्री र सांसद बनेपछि पनि उहाँलाई धेरैले ‘माननीयज्यू’ भन्दा पनि दाइ भनेरै सम्बोधन गर्दथे । उहाँमा पनि सांसद र मन्त्रीको दम्भ किञ्चित थिएन ।

रवीन्द्र दाइ हामीलाई यति छिटो छाडेर जानुहोला भन्ने लागेको थिएन । देशले एक आशालाग्दा नेता गुमायो ।  म जस्ता पत्रकारले माया गर्ने दाइ गुमायौैं । पोखरा जाँदा अब ‘तपाईंलाई नयाँ ठाउँमा लैजान्छु,’ भन्ने कोही हुने छैन । 

नगरकोट जाँदा तपाईंको यादले सताउने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा तपाईंले गर्न लाग्नुभएको सुधारको कामको झल्को आउने छ । संसद् भवनमा जाँदा तपाईंको यादले सताउने छ । 

हामीजस्ता शुभेच्छुुकलाई छाडेर तपाईं अल्पायुमै जानुभयो । यो बेला कसरी भनौं– प्रिय दाइ, बाईबाई ! 

तपाईंलाई हामीले कसरी भुल्न सकौंला र दाइ ! बैकुण्ठमा बास होस् !

 

फागुन १७, २०७५ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस