३० जेठ २०८३, शनिबार

ओली-प्रचण्डले ओढाए भरतमोहनलाई पार्टीको झण्डा

फागुन १९, २०७५
ओली-प्रचण्डले ओढाए भरतमोहनलाई पार्टीको झण्डा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेकपा पार्टी कार्यालयमा राखिएको दिवंगत अधिकारीको पार्थिव शरीरमा ओली र प्रचण्डले नेकपाको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे ।

यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा नेता भीम रावल लगायतले श्रद्धाञ्जलि दिएका छन् । अधिकारीलाई श्रद्धाञ्जलि दिन नेकपाका शीर्ष नेता, सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सर्वसाधारणको पार्टी कार्यालयमा भिड लागेको छ ।

श्रद्धाञ्जलिका लागि पुगेकाहरुले ‘वृद्धभत्ता र आफ्नो गाउँ आफै बनाउ’जस्ता कार्यक्रम ल्याएको भन्दै अधिकारीको स्मरण गरे । श्रद्धाञ्जलिका लागि अधिकारीको पार्थिव शरीर मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने नेकपाले जनाएको छ । श्रद्धाञ्जलिपछि शवयात्रासहित पशुपति आर्यघाटमा अधिकारीको अन्त्येष्टि गरिने तयारी छ । 

पूर्वअर्थमन्त्री समेत रहेका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको राति ९ः३५ बजे निधन भएको हो ।

तत्कालिन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफँै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्