×

NMB BANK
NIC ASIA

लाक्षणिक अभिव्यक्ति

कीर्तिपुरबाट वामदेवको खबरदारी- 'अबको बजेट हेर्छु, निराश हुने अवस्था आए हस्तक्षेप गर्छु'

फागुन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कम्युनिस्ट आन्दोलनका उज्ज्वल तारा, विद्यार्थी आन्दोलनका इतिहास बनेका कमरेड रविन्द्र अधिकारी सहितका दिवंगत व्यक्तिहरू, पार्टीका वरिष्ठ नेता भरतमोहन अधिकारीका लागि आयोजना गरिएको श्रद्धाञ्जली सभामा हिजो मात्र निधन भएका पूर्व एमालेका सल्लाहकार गणेश पण्डितलाई जोड्न चाहन्छु र सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोकमा रहनुभएका तपाईंहरू, विद्यार्थी आन्दोलनमा सामेल कमरेडहरू, साथीहरू अनि परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

Muktinath Bank

आज विशेषगरी कमरेड रविन्द्र अधिकारीको बारेमा धेरै चर्चा भएको छ । उहाँ साँच्चिकै तदनुरूपको चर्चा गर्नलायक व्यक्ति भएकाले पनि यो श्रद्धाञ्जली सभामा धेरै विषय प्रस्तुत भएका हुन् । सबै कोणबाट विषयवस्तु प्रस्तुत भएका छन् । मैले यसो विचार गरेें, मेरो पार्टी नेकपाभित्र र अरू कम्युनिस्ट पार्टीभित्र विचार गरें, कम्युनिस्ट आन्दोलनको हामी पहिलो पिँढी भइसकेका छौं । आन्दोलनको हिसाबले भन्ने हो भने हामी तेस्रो पिँढीमा पर्छौं । हामी पनि अब केही समयपछि बिदा हुँदैछौं । यो सत्य हो । यसपछि यस आन्दोलनको जिम्मेवारी लिने को हुन्छ त ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मैले विचार गरें, कम्युनिस्ट पार्टीभित्र अधिकांश व्यक्तिहरू बिदा भइसकेपछि यसको जिम्मेवारी लिनसक्ने बढीमा १०/ १५ जना पाएँ । यी दश/पन्ध्रजना भित्र कमरेड रविन्द्र अधिकारी हुनुहुन्थ्यो ।  उहाँको देहावसानले भविष्यको निम्ति जस्तोसुकै जिम्मेवारी लिन सक्ने एक व्यक्तिको अभाव भएको छ र त्यो अभाव पूरा गर्न धेरै समय लाग्नेछ । त्यसो भएर यो अकल्पनीय घटनाका कारण अपूरणीय क्षति पुगेको छ । हामीले धेरै गुमाउनुपरेको छ । तपाईंहरूको बीचमा भन्न चाहन्छु, हामीहरूले ठूलो चिज गुमायांै, भविष्यको नेतृत्व गुमायौं । अरू त्यस्ता व्यक्तिहरू आउलान् तर कम्युनिस्ट आन्दोलनको नेतृत्व त्यसरी बन्दैन । उक्त व्यक्ति वर्गसंघर्षमा, जनसंघर्षमा खारिनुपर्दछ र दर्शनमा पोख्त हुनुपर्दछ । उसले राजनीतिक क्षेत्रको सम्पूर्ण जानकारी हासिल गर्नुपर्दछ ।


Advertisment
Nabil box
Kumari

अनेक–अनेक कोणबाट त्यो व्यक्ति सफलतापूर्वक अगाडि बढेको हुनुपर्छ । त्यस व्यक्तिले मात्र पार्टीको नेतृत्व लिन सक्छ । जो कोही व्यक्तिले पार्टीको नेतृत्व लिन सक्दैन । कमरेड रविन्द्र अधिकारी त्यहाँ पुग्नसक्ने व्यक्ति भएको मैले देखेको थिएँ । त्यो अभाव हामीले केही कालसम्म बेहोर्नुपर्नेछ, त्यसपछि क्षतिपूर्ति होला किनभने आन्दोलन एक व्यक्तिले मात्र चलाएको हुँदैन । एउटा समुदायले मात्र चलाएको हुँदैन । ठूलो पंक्ति आन्दोलनमा सामेल भएको हुन्छ । त्यसले चलाइराखेको हुन्छ । त्यसो भएर हामी निराश छैनौं । जतिबेला पनि हामीले आशावादी भएर सोच्नुपर्छ । यति दुःख र पीडा भइरहेको समयमा पनि हामीले काम जारी राख्नुपर्छ ।

Vianet communication
Laxmi Bank

पूर्वीय दर्शनमा अनि संसारभरका सबै दर्शनमा दुईवटा विषय वरिपरि विचार व्यक्त भएका छन् : एउटा जन्म र अर्को मृत्यु ।  सार के हो भन्दा जन्मेपछि मर्नुपर्छ, मृत्यु अवश्यम्भावी छ । हिन्दू धर्म जसलाई सनातन धर्म भनिन्छ त्यसको सिद्धान्तले पनि भन्छ – जीवन हुँदै मृत्युबोध भयो भने त्यस व्यक्तिले मोक्ष प्राप्त गर्छ । बुद्धदर्शनको पनि त्यही कुरा छ, यो मृत्यु भइसकेपछि के हुन्छ भन्ने सन्दर्भमा चाहिने नचाहिने धेरै कुराहरू छन् । तर बुद्ध त्यतातर्फ प्रवेश गरेनन् । कसरी मोक्ष प्राप्त हुन्छ भन्ने सम्बन्धमा धेरै कुराहरू आएका छन् ।

फाइल फोटो

सारा संसारभरिका दर्शनहरूको एउटा निष्कर्ष मार्क्सवादी दर्शन हो, जसलाई भौतिकवादी दर्शन भनिन्छ । यस दर्शनलाई संसारका धेरै विद्वानले स्वीकार गरेका छन् । भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका छन् ।

— पहिलोपटक त्यो दर्शन पढ्दा यस्तो लाग्यो म यौटा अँध्यारो कुनाबाट उज्यालोमा आएँ, त्यसपछि मात्र संसारलाई बुझ्न सकें । बीपी कोइरालाले पनि भन्नुभयो— म अर्को अर्थमा मार्क्सवादी हुँ । मार्क्सको त्यस विचारसँग सहमत नहुने संसारमा कोेही छैन । मार्क्सवादको अध्ययनपछि आइन्स्टाइनले आविष्कार गर्नुभयो । त्यसअर्थमा उहाँ मार्क्सवादी हो । मार्क्सवादी दर्शन सारा संसारको निम्ति दर्शनको पनि दर्शन हो । त्यसमा पनि तपाईं गहिरिएर जानुभयो भने त्यही कुरा छ । त्यहाँ पनि जन्म र मृत्युको कुरा छ । आदिदेखि अन्त्यसम्मका कुरा त्यहाँ छन् ।

मार्क्सवादी दर्शनले नयाँ विषय अगाडि सार्‍यो – जन्म र मृत्युको वरिपरि घुमिरहने कुराले के प्राप्ति हुन्छ ? मृत्युसँग यति धेरै कुरा किन जोडनुपर्‍यो ?  जन्म र मृत्युको बीचमा मानिस बाँच्दछ, त्यसबेलामा मानिसका निम्ति केही सोच्नुपर्दछ र त्यस परिवर्तनको प्रवाहमा लाग्नुपर्दछ । यसरी मानिसहरू मर्दछन् तर कीर्तिहरूमा उनीहरू बाँचिरहन्छन् । हामीहरू धेरै पहिले मरेकाको निरन्तरतामा छौं । चाहे तपाईंले प्राणीमा डीएनएको खोजी गर्नुस्, हामी पहिले जन्मिएको अनि विकसित भएको मान्छेकै सन्तान हौं । त्यसो भएर मृत्यु अवश्यम्भावी भए पनि मरेका मानिसहरूले गरेका कामबाट अनि उनीहरूले छाडेका कीर्तिहरूबाट प्रेरित भएर लागिरहने मानिस नै बाँचिरहेको हुन्छ ।

म रविन्द्रको उत्तराधिकारी

म कमरेड रविन्द्र अधिकारीलाई अब यसरी सम्झन्छु । म बाँचेको हुनाले रविन्द्र अधिकारी भएर बाँचेको हुनेछु । म जति समय बाँच्नेछु, रविन्द्रको उत्तराधिकारीका रूपमा बाँच्नेछु । मभन्दा पहिले उहाँ बित्नुभएको छ, सबैको गन्तव्य त्यही हो । पूर्वीय दर्शनको एउटा पक्ष के छ भने कर्मकाण्डमा जाँदाखेरी तान्त्रिकता आउँछ । यसो गरेपछि पितृले खान पाउँछन् भन्ने छ । त्यतातिर व्याख्या गर्दिनँ । एउटा कुराबाट म अत्यन्त प्रभावित छु । जुन व्यक्ति पहिले मर्छ, त्यो पितृलोकमा पुग्छ । नाति या पनाति जो मरोस्, हजुरबुवा मरेको छैन भने त्यो हजुरबुवाले पनि नातिको श्राद्ध गर्दा ढोगिदिन्छ । त्यसो भएर मृत्यु प्राप्त गरिसकेकाहरूको निम्ति आँसुले श्रद्धाञ्जली हुँदैन । उनीहरूले छाडेको बाटो, खनेको बाटो, छोडेका कामहरूलाई पूरा गर्ने संकल्प लिँदै त्यस काममा हिँडेपछि सच्चा श्रद्धाञ्जली हुन्छ । आज हामीले मौनधारण गरेर श्रद्धाञ्जली दियौं, विचार व्यक्त गरेर श्रद्धाञ्जली दियौं, मेरो विचारमा संकल्प गर्ने भनेको श्रद्धाञ्जली हो । के संकल्प गर्छु भने मैले नै प्रशिक्षित गरेर हुर्काएको नेता हुनुहुन्थ्यो रविन्द्र कमरेड । अन्तिम समयसम्म पनि मेरो साथमा हुनुहुन्थ्यो । मैले पीडा व्यक्त गर्दा समुद्र बन्न सक्छ आँसुको । तर म उहाँको सपनालाई पूरा गर्नको निम्ति के — के गर्नुपर्छ सबै काम गर्ने संकल्प गर्दछु । म अन्यलाई पनि त्यो संकल्प गर्न अनुरोध गर्दछु ।

आगामी बजेट हेर्छु, त्यसपछि म अगाडि जान्छु । फेरि पनि त्यस्तै भयो भने मेरो कर्तव्य हुन्छ, मैले रोक्नैपर्छ, हस्तक्षेप गर्नैपर्छ, त्यसबेला ।

अहिले भर्खरै धेरै ठाउँमा रविन्द्रको प्रतिमा बनाउने कुरा उठेको छ । एक दुई ठाउँमा बनाउनुस । विचारमा हामी मात्र छैनौं । विचारमा विविधता छ । हाम्रो कार्यशैलीप्रति सहमत नहुने धेरै छन् । प्रतिमा संरक्षण नहुन सक्छ । फोटो ठूलो कुरा होइन, विचार र कार्यान्वयन गर्ने कुरा ठूलो हो । प्रतिमा बनाउने कुरा ठूलो होइन । तपाईंहरू अघि बढ्दा आउन सक्ने व्यवधान हटाउन म तयार हुनेछु ।

अर्को एउटा कुरा सम्झिन जरूरी छ । मेरो विचारमा चर्चा हुन जरूरी छ । आज विद्यार्थी आन्दोलन त्यो पहिलेको जस्तो विद्यार्थी आन्दोलन छैन । खोजेर पनि पाइँदैन किनकि हामीले एउटा व्यवस्था परिवर्तन गरिसकेका छौं । अहिले सम्पूर्ण शक्ति देशको पुनर्निर्माण, जनताको स्तरोन्नतिका लागि, समाजमा रहेका सबै विभेद अन्त्य गर्नका लागि र असमानतालाई समाप्त गर्नका निम्ति लगाउनुपर्ने बेला छ । त्यसो भएर अब आफू असहमत हुने विषयवस्तु छ भने त्यसका लागि आन्दोलन नै गरिहाल्नुपर्ने, जुलुस नै निकाल्नुपर्ने आवश्यकता छैन । 

राजनीतिक व्यवस्थाभित्र हामी बहुदलीय प्रतिस्पर्धामा गएको हुनाले कहिले कुन पार्टीले नेतृत्व गर्छ, कहिले कुन पार्टीले नेतृत्व गर्छ । त्यो त भइहाल्छ । एउटा पार्टीले नेतृत्व गरेको बेलामा अर्को प्रतिपक्षमा बसेकाले त्यसले फेरि आन्दोलन शुरू गर्ने हो भने देशले विकास गर्दैन, राजनीतिक पार्टीहरू असफल हुन्छन् र हामीले जे उपलब्धि हासिल गरेका छौं त्यो पनि गुम्छ । अरू कुनै व्यवस्था आउँछ जसले नेपाली जनताको समृद्धिका लागि काम गर्नुपर्छ । त्यो यस व्यवस्थाभन्दा बाहिरबाट आउनेले पनि गर्नसक्छ । 

समृद्धि लोकतान्त्रिक व्यवस्थाबाट मात्र प्राप्त भएको छैन

संसारमा समृद्धि लोकतान्त्रिक व्यवस्थाबाट मात्र प्राप्त भएको छैन । त्यसो भएर हाम्रो संघर्ष भौतिक संघर्षको अवस्था हो । विचारधारात्मक संघर्षको अवस्था हो । बौद्धिक क्षमता भएका व्यक्तिहरूले त्यसलाई सञ्चालन गर्नुपर्छ, परिचालन गर्नुपर्छ र एउटा ठूलो पंक्ति देश निर्माणका लागि लाग्नुपर्छ । त्यस निर्माणको आवश्यकता पूरा गर्ने मानवशक्ति विश्वविद्यालयले तयार गर्नुपर्छ । विश्वविद्यालयले विदेशमा भर्ती हुन जाने जनशक्ति तयार गर्ने होइन, आफ्नै देश बनाउने शक्ति निर्माण गर्नुपर्छ । विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेर आएपछि म बेरोजगार छु भनेर भन्न नपर्ने जनशक्ति तयार गर्नुपर्छ । त्यसका लागि अरूलाई भन्नुपर्ने, लौ न कमरेड त्यहाँनिर भनिदिनुपर्‍यो, दुईवटा विषयमा मास्टर्स गरिसकें, पीएचडीको थेसिस लेख्दैछु, एउटा रोजगारी चाहियो भनेर भन्ने स्थिति समाप्त हुनुपर्छ । यो शिक्षाले हामीलाई त्यो ठाउँमा पुर्‍याउनुपर्छ । ठूलो परिवर्तनको आवश्यकता छ । यसलाई हामीले पार्टीको चुनावी घोषणापत्रमा धेरै छर्लङ्ग हुनेगरी राखेका छौं । धेरै कुरा त्यहाँ भनेका छौं । त्यो शुरूआत गर्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ ।

हामीले दुई किसिमको जनशक्तिको कुरा अगाडि सारेका छौं : एउटा प्राविधिक र अर्को गैरप्राविधिक जनशक्ति । गैरप्राविधिक जनशक्ति ३० प्रतिशत मात्र उत्पादन गर्नुपर्छ । त्यति भए पुग्छ, काफी हुन्छ । लाखांै विद्यार्थीहरू पढिरहेका छन् । लाखौं व्यक्तिहरू प्राविधिक जनशक्तिको रूपमा विकसित हुनुपर्छ । विश्वविद्यालयले गर्नुपर्ने काम त्यो हो । त्यसका लागि लाग्नुपर्छ । 

महाथिरबाट हामीले पाठ नसिक्ने ?

देश विकासको निम्ति कसरी अगाडि बढ्नुपर्छ भनेर सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यूले आफ्नो आत्मकथामा लेखेका छन् – ‘मैले छलाङ लगाएर विकास गर्नुपर्‍यो । हाम्रो सिंगापुरमा कसमाथि भर गर्ने ? विद्यार्थीहरूको भर गरें, हरेक विद्यालयमा पढ्न जान्छन् तर माविबाट कलेजतर्फ जाँदा उनीहरूको रोज्ने विषय के छ भन्दा विज्ञान छैन, म्याथ छैन, त्यहाँ पनि रोज्ने बेरोजगार बन्ने शिक्षा । इतिहास पढ्ने, अरू त्यस्ता प्रवचन दिने कार्यक्रम पढ्ने । त्यस्ता विषय प्रमुख भए । मैले सोचें, यस्तो भयो भने देश कसरी विकास हुन्छ ? त्यसबीच मैले एउटा अभियान सञ्चालन गरें र विद्यार्थीहरूलाई साइन्स रोज्नका निम्ति, म्याथ रोज्नका लागि प्रेरित गरें । साइन्टिस्ट बन्नका निम्ति त्यस दिशातिर लगें । र दुई वर्षमै परिवर्तन गरें । ठूलो परिवर्तन गरें ।’ 

आज सिंगापुरको उदाहरण दिइन्छ । हिजो लीले नेतृत्व गर्दा थिएन यस्तो विकसित । त्यस्तो नेताको आवश्यकता छ यहाँ । त्यसो भएर आज हामी यसका निम्ति अगाडि बढ्नुपर्छ । के त्यो दिशामा जाने हो भने विद्यार्थी आन्दोलन समाप्त भयो भन्न मिल्छ त ? भएको छैन । विद्यार्थीका हकहितका निम्ति अनि विद्यार्थीको वैचारिक प्रतिनिधित्वका निम्ति पनि विद्यार्थी संगठनको आवश्यकता छ । क्रमशः तपाईंहरू जानुभयो भने यो आन्दोलन राजनीतिक व्यवस्था परिवर्तनका निम्ति, जनताको समृद्धिका निम्ति, नयाँ संसार निर्माणका निम्ति भनेर लागिरहेको यो शक्ति आखिरमा नयाँ संसार निर्माण गर्ने र त्यस नयाँ संसारलाई परिचालन गर्ने ठाउँमा जान्छ । विद्यार्थीहरूले त्यसबेला पनि गर्नेछन् संघर्ष, देश निर्माणको संघर्ष । पुनर्निर्माणको संघर्ष गर्ने हो अहिले । आज त्यस दिशामा लाग्नुपर्दछ । आज फेरि त्यही झण्डा लिएर सडकमा जानुपर्ने आवश्यकता छैन । जानै हुँदैन । सडकमा तपाईं जुलुस निकालेर जानुहुन्छ । त्यसले

कति धेरै नकारात्मक असर पार्छ ? 

तपाईंलाई एउटा कुरा चित्त बुझ्दैन, टीयूको कार्यालयमा गएर तालाबन्दी गरिदिनुहुन्छ । भीसीलाई भित्रै थुनेर बाहिरबाट ताला लगाइदिनुहुन्छ । त्यसले हाम्रो बौद्धिकता प्रकट हुँदैन, विनम्रता प्रकट हुँदैन । हाम्रो संस्कृतिअनुरूप पनि छैन यो । हामी त गुरुदेवो भवः भन्ने ठाउँबाट हुर्केका हौं र आज पनि त्यो हुनुपर्छ । तर हामी परिआयो भने पिट्न पनि तयार हुने, कालोमोसो लगाउने, सुन्न पनि नसकिने गाली बक्ने किसिमका आन्दोलनबाट उठेर आएका हौं । हिजो हामीले यसो गरेर गल्ती गरेका हौं, अब हामीले परिवर्तन गर्नुपर्छ । रूपान्तरण गर्नुपर्छ, त्यसको नेतृत्व लिनका निम्ति तयार हुनुपर्छ । 

रविन्द्रलाई मैले यहाँ सम्झिरहेको छु । एकपटक के भो भने मैले नेतृत्व गरेको पार्टी, म आफैं महासचिव भएको पार्टी एमाले फुटाएर नेकपा माले पार्टी बनाएँ । त्यसको महासचिव भएका बेलामा माओवादीसित मेरो सम्बन्ध भयो । मैले ठाउँ ठाउँमा माओवादीविरुद्ध भएका ज्यादतीको विरोधमा बोलें । त्यस्तो बोल्न कसैले सक्दैनथ्यो । त्यसले माले पार्टीभित्र हामी नै माओवादी बन्नुपर्ने रहेछ भन्ने भावना बढेर गयो । त्यही मौका पाएर हाम्रा साथीहरूले पनि फुटाइदिनुभयो । पार्टी चोइट्याइदिनु भयो । मेरो हात भाँचिएजस्तै भयो । त्यसबेला बाँकी रहेका साथीहरू थिए, त्यसमध्ये रविन्द्र हुनुहुन्थ्यो । उहाँले म यसलाई अगाडि बढाउँछु भन्नुभयो । त्यसपछि प्रवीण गुरुङको हत्याको विरोध गर्दै भएको आन्दोलन, ३३ प्रतिशत सहुलियत प्राप्त गर्नका लागि भएको विद्यार्थी आन्दोलन र अन्य त्यस्ता आन्दोलन उहाँले सञ्चालन गर्नुभयो । मैले उहाँलाई भेटें । तपाईंबाट मैले धेरै सिक्नुपर्ने रहेछ मैले भनें । 

विनम्रताका कारण कोही पनि उहाँको दुश्मन भएन । मेलमिलाप गर्नका लागि रविन्द्रलाई पठाएपछि त्यहाँ सफलता प्राप्त गरेर आउने उहाँको विशेषता थियो । कोही यस्ता साथी थिए पनि थिए जो वार्ता असफल गराउनुपर्‍यो भने उनीहरू प्रयोग हुन्थे । मेलमिलाप गर्नका निम्ति सबभन्दा उपयुक्त व्यक्ति रविन्द्र हुनुहुन्थ्यो किनभने उहाँले जहाँ पनि बीचको बाटो खोज्नुहुन्थ्यो । बीचको बाटो खोजेपछि त एकलाई पनि हुने, अर्कोलाई पनि हुने, ‘विन विन’ भन्ने । संघर्ष भइरहेको अवस्थामा एक अर्काको विरुद्धमा दुवैले जितेको अनुभव गर्ने । त्यस्तो बनाउन कसरी सकिन्छ ? हो, त्यस्तो किसिमको व्यक्तित्व मैले उहाँमा पाएँ । 

एउटा आन्दोलन शुरू भएको थियो । सुन्धारा अगाडि नेपाल टेलिभिजनका दुईवटा कि तीनवटा क्यामेरा फुटाइएछन् । त्यसबेला एउटा क्यामेरालाई पाँच, सात, दश लाख कति पर्थ्यो – त्यस्तो क्यामरा फुटाइदिए । त्यस्तो भयो, समाचार आयो । मलाइ दिक्दार लाग्यो । हैन यो त आत्मालोचना गर्नुपर्छ कि क्या हो भनेर भनें । रविन्द्रले के भन्नुभयो भने, ‘आन्दोलन उठाउने हो भने यस्तो त गर्नैपर्छ । आन्दोलनलाई सफलतामा पुर्‍याउन तपाईंले जिम्मेवारी दिनुभएको छ । आन्दोलन उठाउँदा कहिलेकाहीँ यस्तो हुन्छ । आन्दोलनको दौरान कहिलेकाहीँ मृत्यु पनि हुन्छ, त्यसलाई पनि सहनुपर्छ ।’ 

फाइल फोटो

एकातिर त्यस्तो छ, अर्कोतिर यस्तो छ, क्रान्तिकारीमा त्यो सबै क्षमता हुनुपर्दो रहेछ । मैले व्यवस्थापनका निम्ति यति धेरै ज्ञान प्राप्त गरें, उहाँ सिद्धान्तको कारण सफल भएको होइन, कुशल व्यवस्थापकको हैसियतले उहाँ सफल भएको हो । मैले जुन जिम्मेवारी दिए पनि उहाँले सबै पूरा गर्नुभएको छ । कैयौं यस्ता साथी छन् जसले जिम्मेवारी पाएपछि ५० प्रतिशत पूरा गरेका छन्, कसैले २५ प्रतिशत पूरा गरेका छन् । ‘यसो भयो, उसो भयो, मैले त सकिनँ’ भन्नेहरू पनि छन् । तर उहाँले कहिल्यै पनि मैले जिम्मेवारी पूरा गर्न सकिनँ भन्नुभएन । ठीक किसिमले व्यवस्थापन गर्न सक्ने त्यो कुशलता रविन्द्र अधिकारीमा मैले पाएँ । 

आज म सम्झना गर्छु रविन्द्र अधिकारी जन्मँदा म भूमिगत भएर हिँडेको रहेछु । उहाँ र मेरोबीचमा कति ठूलो फरक रहेछ । उहाँ २०२६ सालमा जन्मिनुभयो । म २०२६ सालमै होलटाइमर भएर म हिँडें । कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भएको अवस्थामा पार्टीले मलाई गण्डकी र धौलागिरीमा खटायो । त्यसबेला उहाँ १० वर्षको हुनुहुन्थ्यो । आज उहाँ ४९ वर्षमा बिदा हुनुभयो । म ७१ वर्षमा चलिरहेको छु । 

उहाँको यो दक्षता, कुशलता कसरी निर्माण भयो ? त्यसबेला बाहिर देखिने एउटा संसार थियो । त्यसबेला रविन्द्र  अधिकारीले राजनीतिको कुरा बुझ्दै हुनुहुन्थ्यो । कम्युनिस्टको बारेमा सोच्दै हुनुहुन्थ्यो । त्यसबेला गण्डकी धौलागिरीमा दुईवटा संसार थिए— एउटा बाहिर देखिने, त्यसलाई त्यसबेलाको सरकारले सञ्चालन गरेको थियो । अर्को संसार थियो– हाम्रो, जसभित्र रहेर हामी घरघरमा आफ्ना विचार पुर्‍याइरहेका थियौं । बाहिरबाट हेर्दा केही थिएन । तर सयौं कार्यकर्ताहरू घर घरमा गएर काम गरिरहेका थिए । 

आजकाल त पार्टी निर्माण पनि स्मार्ट ढंगले हुन्छ । हिजो पार्टी सदस्यता दियो, आज कमिटीमा राख्यो, भोलि केन्द्रीय कमिटीमा पुर्‍याइदियो । विज्ञान यति धेरै विकसित भएको छ, मानिसलाई हिजो जस्तो गरेर कहाँ पढ्नुपर्छ र ? एकपल्ट पाना पल्टाएपछि सरर ज्ञान आइहाल्यो । त्यसो भएर त्यो ज्ञान प्राप्त गरिसकेपछि केन्द्रीय कमिटीमा आउन त पाइहालिन्छ नि भन्ने छ । त्यसबेला स्मार्ट किसिमले पार्टी निर्माण गर्ने कुरा थिएन । मैले साथीहरूलाई धेरै कुराका लागि निर्देशन गरें । पार्टी कसरी निर्माण गर्ने ? पढ्ने, पढाउने, लेख्ने । त्यतिमात्र होइन, कम्युनिस्ट बन्ने हो भने तीनवटा अवस्थामा कम्युनिस्ट हुुनुपर्छ । एउटा दुश्मनले पक्रेको बेलामा कम्युनिस्ट हुनुपर्‍यो । कम्युनिस्ट रहिरहनुपर्‍यो । त्यहाँ तपाईंले कति यातना पाउनुहुन्छ, भन्न नसकिने पीडा के के पाइन्छ त्यहाँ । सबै अवस्थामा तपाईं कम्युनिस्ट भइरहन पर्छ । तपाईंले आत्मसमर्पण गर्नुहुँदैन । 

दोस्रो, तपाईं जेलमा बसेको बेलामा कम्युनिस्ट हुनुपर्छ । त्यहाँ तपाईंले जनकार्य गरिरहनुपर्छ र परिवर्तनको पक्षमा काम गरिरहनुपर्छ । तपाईं जाँदाखेरी जसरी शिर ठाडो गरेर जानुभयो, त्यस्तै शिर ठाडो गरेर बाहिर आउनुपर्छ । तपाईं त्यसबेला कम्युनिस्ट रहनुपर्छ एक्लै रहेको बेलामा पनि । एक्लै रहेको बेलामा जे पनि गर्ने कम्युनिस्ट रहन सक्दैन । जब कुनै घरमा शेल्टर लिएर काम गर्न खटाइनुहुन्छ, त्यसबेला तपाईंलाई सबैले बुझ्दैनन् । बुझ्ने भनेको एउटा नेता छ, पार्टीको कार्यकर्ता छ । जवान छोरीहरू, जवान चेलीबेटीहरू तपाईंको नजिक आउन सक्छन्, आफू विचलित हुनुहुँदैन । प्रभावित हुनुहुँदैन । त्यस्तो बेलामा पनि तपाईं कम्युनिस्ट हुनुपर्छ । तपाईंले गल्ती गर्न हुन्न । यस तीनवटा अवस्थामा जुन व्यक्ति सफल भयो, त्यो कम्युनिस्ट नेता बन्यो । 

आज पनि म तपाईंलाई भन्छु, एक तपाईं जसको विरुद्धमा लडाईं गर्नुभएको छ त्यसले पक्रेर मार्ने अवस्था सिर्जना भयो भने पनि तपाईं झुक्न हुँदैन । तपाईंले आफूलाई आत्मसमर्पणमा लैजान हुन्न । दोस्रो, तपाईंलाई जेलमा पठाएको समयमा पनि तपाईंले जे बुझ्नु भएको छ, त्यसमा अडिग हुनुपर्छ । एक्लै भएको बेलामा पनि कम्युनिस्ट बन्नुपर्छ, त्यहाँ गल्ती गर्नु हुन्न । मैले यो प्रशिक्षण चलाएको थिएँ । 

मैले जहिलेदेखि राजनीति शुरू गरेँ, पुष्पलालबाहेक हरेक महासचिव र अध्यक्षसँग मेरो टकराव भएको छ । ठूलो द्वन्द्व गरेको छु ।

हामीले पहिले रेर्ड गार्ड बनायौं । यो रेडगार्ड वर्गशत्रु खत्तम पार्ने लाइनका लागि थियो । पछि वर्गशत्रु लाइन राम्रो भएन भन्ने ठाउँमा हामी आयौं २०३७ सालमा । त्यसलाई छाडेर त्यसको ठाउँमा वाईसीएल बनायौं । वाईसीएलमा पनि हामीलाई काम गर्न गाह्रो भयो किनभने वाईसीएलमा पनि कम्युनिस्ट भन्ने छ । एकैचोटि कम्युनिस्ट भनेर मानिसलाई संगठित गर्न सक्दैनथ्यौं । त्यसबेला पार्टी सदस्यताको शपथ लिँदाखेरी भन्नुपर्थ्यो, ‘म यो पार्टीको सदस्यता प्राप्त गरिरहेको बेला यो शपथ गर्छु अघि मैले भनेको अवस्थामा पनि कम्युनिस्ट भइरहनेछु । आवश्यकता पर्दाखेरी मैले पार्टीको निर्देशनमा आफ्नो शरीरलाई आहुती दिन पनि किञ्चित् दुःख मान्ने छैन । पार्टीले खटाएको कुनै पनि ठाउँमा गएर मैले काम गर्नेछु ।’ त्यो शपथ हुन्थ्यो, त्यसबेला । संगठनमा नबसेको व्यक्ति नेतृत्वमा पुग्न सक्दैन । हाम्रो सिद्धान्तले यही भन्छ । पढेर मात्र कम्युनिस्ट बनिँदैन । पढेर पीएचडी गरेका विद्वान् हुनसक्छन् तर कम्युनिस्ट पार्टीमा छैनन् भने विश्व दृष्टिकोण बुझेको भए पनि ती कम्युनिस्ट हुन सक्दैनन् । यसरी प्रशिक्षण चलाइएको थियो र एउटा संसार बनेको थियो । 

हामीले एउटा अभियान सञ्चालन गर्‍यौं । जुन घरमा हामी बस्छौं, त्यस घरमा महिलालाई पनि संगठित गर्छौं, पुरुषलाई पनि संगठित गर्छौं । पढ्न लेख्न नजानेकालाई पनि पढाएका छौं, हस्ताक्षर गर्न सक्ने बनाएका छौं । पार्टी सदस्यताका लागि हस्ताक्षर गर्न जान्नुपर्थ्यो, केही कुरा पढ्न जान्नुपर्थ्यो । कसैको घरमा झाडु लगाउनुपर्थ्यो, कपडा धोइदिनुपर्थ्यो । यो सबै सिकाइएको थियो । यो पार्टी लोकप्रिय भयो । बाहिर पार्टी देखिएको छैन, भित्रभित्रै भने गण्डकी र धौलागिरीमा लोकप्रिय भयो, त्यो माले पार्टी फैलियो । त्यसभित्रको एउटा कार्यकर्ता रविन्द्र मात्र होइन, अरू पनि धेरै छन् जसले त्यो सबै योगदान गरेका छन् । पृथ्वीनारायण क्याम्पस देखिने क्याम्पस थियो, हाम्रो क्याम्पस अर्को थियो । त्यहाँ भित्र खारिनुपर्थ्यो । क्याम्पसमा औपचारिक शिक्षा लिन्थे, यहाँ अनौपचारिक शिक्षा लिन्थे । ती कार्यकर्ताहरू आज साँच्चिकै अगाडि आएका छन् र साँच्चिकै नेतृत्व सम्हाल्ने कोशिश गरिरहेका छन् । रविन्द्र अधिकारी ती कार्यकर्तामध्ये एक हुनुहुन्थ्यो ।

पार्टीमा आजकाल हामीलाई त बूढा भन्न थालिसकेका छन् । कम्युनिस्ट पार्टी निर्माणको तरिका आज पनि त्यही हो । भोलि पनि त्यही हो । पर्सि पनि त्यही हो । सधैंभरि त्यही हुनेछ । एकवर्षसम्म कमिटीमा बस्न नपाउँदा सेलमा संगठित भए हुन्छ । हाम्रो सिद्धान्तले के भन्छ भने ‘सेल’को पनि बैठक हुन्छ । सेल भनेको पार्टी सदस्यताको लागि आवेदन दिएपछि सेलमा संगठित हुनुपर्छ । सेलको पनि समय तोकिएको हुन्छ । १५ दिनमा बैठक बस्ने कि एक महिनामा भनेर । बैठक बस्छ । बैठकको निम्ति बैठक हुँदैन । कमिटीको हरेक सदस्यले एउटा छुट्टै जिम्मेवारी प्राप्त गर्छ । उसले प्राप्त गरेको त्यो जिम्मेवारी पूरा गरेको छ कि छैन भन्नको निम्ति तोकिएको हुन्छ । तिमीलाई यस टोलको जिम्मा हुन्छ, तिमीलाई यस टोलभित्रको यति घरको जिम्मा हुन्छ । त्यहाँभित्र तिमीहरूले उनीहरूलाई पार्टीमा ल्याउने जिम्मेवारी हुन्छ । 

आजको पार्टी त्यसै बनेको होइन, भाषण गरेर मात्र बनेको पनि होइन । हाम्रा शिक्षा, दीक्षा तथा समर्पणबाट बनेको हो । २०३७ सालमा त्यसबेलाको अनेरास्ववियूले राष्ट्रव्यापी रूपमा ठूलो आह्वान गर्‍यो ।  त्यो राष्ट्रव्यापी आह्वानको आयोजना अनेरास्ववियूले गर्‍यो । त्यसका पछाडि शक्ति थियो । बाहिरबाट हामी बसेका थियौं । त्यो बगरबाट जुलुस निस्केर महेन्द्र चोकमा गएर विसर्जन हुनुपर्ने थियो । म एउटा पहाडको टुप्पोमा बसेर हेरिरहेको थिएँ । दूरबीन त थिएन तर मैले हेरिरहेको थिएँ, नजिक थियो । म गद्गद् भएँ । म त्यहाँ गएको २०३६ सालमा हो ।

पीएनबाट उदाएका रविन्द्र

२०३७ सालमा त्यस्तो किसिमको आन्दोलन भयो, जसका कारण पोखराको पृथ्वीनारायाण क्याम्पस क्रान्तिकारी विद्यार्थी उत्पादन गर्ने फ्याक्ट्री बन्यो । साँच्चिकै आज त्यो अवस्था छ, त्यहाँबाट धेरै नेता उत्पादन हुनुभएको छ । कोही तुरुन्तै जिम्मेवारी लिनुपर्ने अवस्थामा हुनुहुन्छ । 

अहिलेसम्म नसुल्झेको कुरा एउटा छ । हामीले समाजमा समस्याको गिन्ती गर्छाैं, समस्या कति छन्, कति । तर काम थाल्दा एउटाबाट शुरू गर्नुपर्छ नि ! कुनचाहिँ काम गर्ने भन्दा, जुन तुरुन्तै आवश्यक छ । भोलिका लागि पनि आज काम गर्नुपर्छ, भोलिका लागि भोलि नै गर्ने होइन । एउटा रणनीतिक योजना बनाउँदा हरेक दिन त्यो विषयमा छलफल हुँदैन । काम गर्दा हजार ठाउँमा हात हाल्न सकिँदैन, एउटा ठाउँमा हात हाल्नुपर्छ । समस्या हल गर्दा पनि त्यसैगरी गर्नुपर्दछ, जसले समस्या स्वतः समाप्त हुन्छन् । त्यसमा एकदम पोख्त भएको नेता हो, रविन्द्र अधिकारी । 

भोलिपल्ट जर्मनी जानुपर्ने मान्छे किन तेह्रथुम जानु परेको ?

भोलिपल्ट जर्मनी जानु थियो, आज वेदर खराब भएको बेलामा पनि हेलिकप्टर लिएर त्यहाँ किन जानुपथ्र्यो ? मैले सोचें, रविन्द्र अधिकारीले यस सबालमा ठूलो भूल गर्नुभयो । कमजोरी अरू पनि धेरै कुरा आउन सक्छन्, किन त्यसो गर्नुभयो उहाँले ? त्यस्तो किमिमको कमजोरी उहाँबाट कहिल्यै हुँदैन थियो, किन त्यस्तो भयो ? भोलि जर्मनी जानु छ । जर्मनीमा एउटा सम्मेलन छ, नेपालको पक्षमा । संसारभरबाट नेपालमा पर्यटक ल्याउन त्यो सम्मेलनमा कन्भिन्स गर्नुपर्नेछ । त्यसका लागि जाने व्यक्ति आज हेलिकप्टरमा किन जाने ? मैले पत्याउन सकिनँ । हेलिकप्टर हरायो भनेर जब समाचार आयो, मैले पत्याउनै सकिनँ । त्यो केही भयो होला, तर आउँछ भन्ने लाग्यो । जर्मनी जाने कार्यक्रमभन्दा महत्त्वपूर्ण कार्यक्रम तेह्रथुमको एउटा ठाउँमा एयरपोर्ट बनाउन अध्ययन गर्नु हो ? 

कम्युनिस्ट पार्टीका नेताको प्रशंसा गर्न आवश्यक छैन, उनीहरूले गर्ने कीर्तिमा प्रशंसा अन्तरनिहीत हुन्छ । बोलेर भन्न पर्दैन ।

एकदिन मैले एउटा कामका लागि अनुरोध गरेँ, उहाँलाई । मलाई पनि अनुरोध गर्न आउँछन्, मानिसहरू, धेरै आउँछन् । तपाईंले जिताएर पार्टी अध्यक्ष हुनुभएको व्यक्ति आज एक नम्बरको अध्यक्ष पनि हुनुहुन्छ, प्रधामनन्त्री पनि हुनुहुन्छ, तपाईंले भनेर किन हुँदैन, यो गरिदिनु पर्‍यो, त्यो गरिदिनु पर्‍यो भनेर । मैले उहाँलाई भनें, कमरेड यस्तो भन्छन्, सही गलत तपाईंले छुट्याउने हो । मैले भनें, तपाईंले सक्नेजति गर्नुहोला । अरूका अगाडि त फलानाले भन्नुभएको थियो मलाई भनेर भन्दिनुहोला, गर्ने/नगर्ने तपाईंको कुरा हो । त्यसबेला उहाँले के भन्नुभयो भने, कमरेड मैले जति काम गर्छु, प्रधामनन्त्रीको इच्छाअनुरूप नै गर्छु । उहाँको इच्छा विपरीत केही पनि गर्दिनँ । म बोल्दा पनि बोल्दिनँ, काम पनि गर्दिनँ । म झसङ्ग भएँ । उहाँले त मसँग कहिले पनि भन्नुभएन, किनकी उहाँको एउटा प्रशिक्षक त म हो नि ’ दुःखको समया पनि उहाँ मेरो साथमा हुनुहुन्थ्यो । मलाई त उहाँले आलोचना गरेकोगर्‍यै गर्नुहुन्थ्यो । तपाईंले भाषण गर्दा पनि यो भाषण नगरेको भए हुन्थ्यो, भन्नुहुन्थ्यो, त यो के हो ? यो प्रवृत्ति त्यहाँ हावी भयो । उहाँ त्यो गल्ती गर्न पुग्नुभयो । कति छ छानबिन होला, भन्लान्, नभन्लान् । रविन्द्र अधिकारीले आफूले गर्न पर्ने काम, महत्त्वपूर्ण जिम्मेवारी के हो ? त्यसमा ठम्याउँन नसकेको । जर्मनी जानुभन्दा पहिले नै प्रधामनन्त्रीले दिएको जिम्मेवारी पूरा गरेर जान्छु भन्दाखेरि उहाँ त्यो ठाउँमा पर्नुभयो । 

हाम्रो संस्कार, संस्कृतिकै बारेमा विचार गरौं । कसैको विवाह हुन लागेको छ भने कम्तिमा एक महिनादेखि कुनै रिस्की काम गर्न पाइँदैन, भनेर हाम्रो समाजमा भन्छन् । दुलाहालाई राम्रो देखाउने काम गर्नका लागि मात्र प्रेरित गरिन्छ । ठूलो यात्रा गर्दा पनि त्यस्तै सोचिएको हुन्छ । पार्टीको महाधिवेशन एक वर्ष अगाडिदेखि तयारी गरिएको हुन्छ, यो पक्षमा उहाँ चुक्नुभयो । 

मार्क्सवादले के भन्छ भने, मेरो बारेमा पनि सकारात्मक र नकारात्मक दुवै कुरा छन्, भनेर सोच्नुपर्छ । जतिसुकै महान व्यक्ति होस्, त्यसको मूल्यांकन पनि सकारात्मक र नकारात्मक दुवै तर्फबाट गर्नुपर्दछ । नकारात्मक छ भने आलोचना गर्नुपर्दछ । मुखैअगाडि आलोचना गर्नुपर्दछ, मेरो प्रशिक्षण हो यो । 

मैले जहिलेदेखि राजनीति शुरू गरेँ, पुष्पलालबाहेक हरेक महासचिव र अध्यक्षसँग मेरो टकराव भएको छ । ठूलो द्वन्द्व गरेको छु । सीपी मैनाली महासचिव भएको बेलामा उहाँसित लडाईं गरे । त्यसपछि झलनाथ आउनुभयो, उहाँको कमी कमजोरीबारे कमिटीमा खुलेर बहस र छलफल गरेँ । मदन भण्डारीको समयमा पनि मेरो त्यही शैली थियो । त्यसपछिका अध्यक्षहरूसँग पनि त्यही भएको छ । कतिले त्यसलाई पचाउन सक्दा रहेछन्, कतिले त्यसलाई पचाउन नसकेर मलाई बदनाम गर्‍यो, यसोउसो गर्‍यो भन्छन्, तर म त्यससित डराउँदिनँ । आलोचना गरिरहन्छु । 

'आलोचना गरेरै ओलीलाई सही ठाउँमा ल्याउँछु'

मैले मैले कमरेड केपी ओलीलाई संसदीय दलको नेता बनाउन प्रमुख भूमिका खेलेँ । पार्टी अध्यक्ष बनाउन र दुईपटक प्रधानमन्त्री बनाउन जुन वातावरण बन्यो, त्यसमा मेरो एक नम्बरमा नाम छ । तर केपी ओलीसँग सधैँ संघर्ष गर्ने व्यक्ति म मात्र छु । अरूले गर्दैनन् । मैले आलोचना गरेर मात्र उहाँलाई सही ठाउँमा ल्याउन सक्छु, मलाई त्यो विश्वास छ । 

‘द इम्पेरर्स न्यो क्लोथ्स’ भन्ने कथा एसएलसीमा पढेका थियौं । भियनाका दुईजना ठगहरूले बादशाहको दरबारमा गएर के भने भने, हामीले यस्तो सुनको कपडा बनाउन सक्छौं, जो धर्मात्मा छ उसले देख्छ, जो पापी छ उसले देख्दैन । त्यस्तो सुनको कपडा बनाउनेलाई बोलाउने कुरा भयो । उनीहरूले सुनको कपडा सिलाए । बादशाहले भने अनुसारको नापमा कपडा तयार भयो । नगरराज्य हुने ठाउँमा सडकमा आउने अनि बादशाहका सबै कपडा खोलेर सुनको कपडा लगाइदिने तय भयो । अब देख्नेहरूले के भन्छन्, देखिएन भनौं भने त पापी भनिहाल्छन्, त्यसैले वा वा! बादशाह, कति राम्रो सुनको कपडा ।

जाँदै गर्दा एउटा बच्चाले हाम्रो राजा किन नाङ्गै हिँडेको होला भनेपछि राजालाई थाहा भयो । उनलाई लाज भयो । झट्पट् आफूलाई कपडाले ढाके । तपाईंले कुनै व्यक्तिलाई यसरी कुरा गर्नुभयो भने त त्यो इम्पेरर बन्छ ।

कम्युनिस्ट पार्टीका नेताको प्रशंसा गर्न आवश्यक छैन, उनीहरूले गर्ने कीर्तिमा प्रशंसा अन्तरनिहीत हुन्छ । बोलेर भन्न पर्दैन । आलोचनात्मक किसिमले हेर्नुहोस्, तपाईंले आफूलाई पनि आलोचनात्मक हिसाबले हेर्नुस् । आफूलाई ढाँट्न सक्नुहुन्न भने पार्टीलाई पनि ढाँट्न सक्नुहुन्न । आफ्नो कमरेडलाई पनि ढाँट्न हुँदैन । जे हो त्यही बोल्नुपर्छ, आलोचना गर्नुपर्छ । रविन्द्रको दुःखद् निधनको अवस्थामा मैले यो निष्कर्ष निकालेको छु । 

नेपाली जनताले चाहेको व्यवस्था, नेपाली जनताले चाहेको समृद्धि कायम गर्नुपर्छ । त्यो (समृद्धि) आँखाले देख्नेगरी आउनुपर्छ । हामीले घोषणापत्र जनताको मत ल्याउनका लागि मात्र, झुक्याउनका लागि मात्र बनाएको होइन ।

यो स्थिति आउनु हुँदैन कसैले विचारै नगरी । भोलि जर्मनी जानु छ, आज एउटा सानो काम छ, त्यसलाई भोलि आएर गरे हुँदैन ? एकमहिनापछि गरे हुँदैन ? छ महिनापछि गरे हुँदैन ? तर त्यहाँ जान विचार पुर्‍याउनु भएन । यस्तै गर्दा ठूलो नोक्सानी हुन्छ । आज तपाईंले क्षति महसूस गर्नुभएको छ, मैले क्षति बेहोरेको छु, सिंगो राष्ट्रले क्षति महसूस गरिरहेको छ । उहाँले गरेका कामहरूले त्यो क्षति महसूस गरिरहेका छन्, ती काम अलपत्र पर्ने पो हुन् कि भन्ने समस्या देखापरेको छ । काम गर्नेहरूले यो ख्याल गर्नुपर्छ । पार्टी निर्माण गर्नेहरूले, जिम्मेवारी लिएकाहरूले त्यो ख्याल गर्नुपर्छ । खटिनेहरू सबैले त्यसै गरेर हेर्नुपर्छ । मैले बोलिरहेको गरिरहेको काममा कतै गल्ती त गरेको छैन ? कमजोरी त देखाइरहेको छैन ? मेरो व्यवहारबाट जनता असन्तुष्ट भइरहेका छन् कि ! भन्ने ठाउँमा पुग्नुपर्छ । 

हामी जुन राजनीतिक व्यवस्थामा गएका छौं, त्यसभित्र हाम्रो शत्रु कोही पनि हुँदैन । भए देशकै शत्रु हुन्छ, तर पार्टीको शत्रु हुँदैन । राजनीतिक कारणले हामी अलग–अलग ठाउँमा हुन्छौं, तर देशको नागरिकको हैसियतले एक ठाउँमा हुन्छौं । हरेक व्यक्तिले खानु पर्दछ । हरेक व्यक्तिले सुरक्षा पाउनु पर्दछ । उसले बोल्न र विचारको संरक्षण गर्न पाउनु पर्दछ । उसले नयाँ–नयाँ कुरा दिन्छ भने कार्यान्वयन गर्न पाउनु पर्दछ । त्यसका निम्ति वातावरण बन्नुपर्छ । समाजवाद, समृद्ध समाजवाद त्यहाँबाट निर्माण हुन्छ । कम्युनिस्ट पार्टीले मात्र हाम्रो देशमा जुन बहुदलीय प्रतिस्पर्धाको अवस्था छ, त्यो हामीले भनेको, त्यो हाम्रो संविधानमा उल्लेख भएको समृद्ध समाजवाद एउटा पार्टीले मात्र निर्माण गर्न सक्दैन, सबैको साथ चाहिन्छ । सबैलाई लिएर हिँड्नु पर्छ । कमजोरी हाम्रा पनि छन्, अरूका पनि छन् । यसो भएर जानुपर्छ । 

'त्यो बेला हस्तक्षेप गर्छु'

मेरा त कतिपय असन्तुष्टि थिए, एउटा मिडियाले सोध्यो तपाईं सन्तुष्ट हुनुहुन्छ ? मैले छैन भनें । तर अहिले सन्तुष्ट हुन लागेको छु । प्रधानमन्त्री र सरकारका अर्थमन्त्रीले आजसम्म नगरे पनि अब गर्न लागेका छौं भन्नुभएको छ । अब गर्नका लागि चार वर्ष छ । घोषणापत्रमा भएका सबै काम गर्छु भनेपछि म गद्गद् भएको छु, सुनेर । तर गर्नुहुन्छ कि गर्नुहुन्न, म हेर्छु । आगामी बजेट हेर्छु । त्यसपछि म अगाडि जान्छु । फेरि पनि त्यस्तै भयो भने मेरो कर्तव्य हुन्छ, मैले रोक्नैपर्छ, हस्तक्षेप गर्नैपर्छ, त्यसबेला । नेपाली जनताले चाहेको व्यवस्था, नेपाली जनताले चाहेको समृद्धि कायम गर्नुपर्छ । त्यो (समृद्धि) आँखाले देख्नेगरी आउनुपर्छ । हामीले घोषणापत्र जनताको मत ल्याउनका लागि मात्र, झुक्याउनका लागि मात्र बनाएको होइन । हाम्रो प्रतिबद्धता, हाम्रो संकल्पलाई जनताले समर्थन गरेका छन् । दुईतिहाइ सिट प्राप्त हुनेगरी मतदान गरी जनताले त्यसलाई अनुमोदन गरेका छन् । मताधिकार हुने व्यक्तिले त्यसलाई अनुमोदन गरेको छ । त्यो घोषणा पत्रलाई पूरा गर्ने हाम्रो जिम्मेवारी हो । 

देशलाई एकताबद्ध गरेर नै देशको निर्माण, पुनर्निर्माण गर्न सकिन्छ र अन्तर्राष्ट्रिय क्षेत्रको पनि सामना गर्न सकिन्छ । हाम्रो विरुद्धमा जो कोही आउँछ भने सामना गर्न सकिन्छ । अब हाम्रो सरकारले, हाम्रो पार्टीले त्यो दिशामा लाग्छौं भनेको सुन्दाखेरी म खुशी भएको छु । तपाईंहरू पनि खुशी हुनुभयो होला भन्ने मलाई लागेको छ । 

पढ्नुहोस्, यो पनि :
वामदेवको सपना : के देखे उहिले, के भयो अहिले ?

(नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्तरूपमा बुधवार कीर्तिपुरमा आयोजना गरेको स्व. रविन्द्र अधिकारीको श्रद्धाञ्जलि सभामा नेकपाका सचिवालय सदस्य वामदेव गौतमले राखेको मन्तव्यको सम्पादित अंश)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x