अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको कठिन परीक्षा, सेमिफाइनलमा कहिले पनि हारेका छैनन् कंगारू

असार २६, २०७६

काठमाडौं – क्रिकेट विश्वकप शुरू हुनुअघि भारत र इंग्ल्यान्डलाई उपाधिको दाबेदार मानिएको थियो । तर सेमीफाइनलबाट भारत बाहिरिइसकेको छ भने दोस्रो सेमीफाइनलमा आज इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्ध भिड्दैछ । 

विश्वकपको इतिहास हेर्ने हो भने अस्ट्रेलियाको टोलीले कहिले पनि सेमीफाइनल हारेको छैन । त्यसैले उसकै सम्भावना बढी देखिएको छ । 


ADVERTISEMENT

लीग चरणमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले हराएको थियो । त्यसो त पाँचपटकको विश्वविजेता अस्ट्रेलियाले अभ्यास खेलमा इंग्ल्यान्डलाई १२ रनले हराएर आफूलाई हल्का रूपमा नलिन चेतावनी दिइसकेको थियो । 

यस विश्वकपमा अस्ट्रेलियाले सात खेल जितेको छ । तीमध्ये ६ वटामा उसले पहिले ब्याटिङ गरेको थियो । 

इंग्ल्यान्डले चाहिँ यस विश्वकपमा ६ म्याच जित्यो जसमध्ये पाँच म्याच उसले पहिले ब्याटिङ गरेर जित्यो । आजको खेलमा पनि टस जित्ने टीमले नै पहिले ब्याटिङ गर्ने निर्णय लिनसक्छ ।

अस्ट्रेलियामा प्रमुख खेलाडीहरू घाइते भएर समस्या देखिएको छ । पिटर ह्यान्ड्सकम्बले विश्वकपमा पहिलो खेल खेल्न सक्नेछन् । विश्वकपबाट बाहिरिइसकेका उस्मान खवाजाको स्थानमा अस्ट्रेलियाले म्याथ्यु वेडलाई बोलाएको छ तर मार्कस स्टोइनिसलाई वेडको स्थानमा खेलाइन सक्छ । 

इंग्ल्यान्ड र अस्ट्रेलियाबीच कुल १४८ म्याच भएका छन् । त्यसमा अस्ट्रेलिया ८२ अनि इंग्ल्यान्ड ६१ मा विजयी भएको छ । दुईपटक टाई भएको छ भने तीनपटक परिणाम आउन सकेको छैन । 

बर्मिङघममा पानी पर्ने सम्भावना छ । दिनभरि आकाशमा बादल छाउने आशंका छ । 

मिशेल स्टार्कले आज एक विकेट लिए भने कुनै एक विश्वकपमा सबभन्दा बढी विकेट लिने ग्लेन मक्ग्राको रेकर्ड (२६ विकेट, २००७ को विश्वकप) तोड्नेछन् । 

एजेन्सी
 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार