वीर गोर्खाली भएर विषादी मिसिएको तरकारी खान डराउने ?

असार २९, २०७६

नाकाबन्दीको समयमा छिमेकी देश भारतलाई गाली गरेर नथाकेका नेपाली जनता अहिले विषादी मिसिएको तरकारी खानुपर्‍यो भनेर बडो चिन्तित छन् । उनीहरूको दुखेसो छ– अब मरिने भइयो, क्यान्सर हुने भयो, बर्बाद भयो । तर नाकाबन्दीका बेलामा पलाएको त्यो राष्ट्रवादको आक्रोश कुनै सिर्जनशील कर्ममा भने परिणत भएको भेटिएको छैन । मानिसमा ईख भएन भने उसले प्रगति गर्न सक्दैन भन्छन् । शायद यो देशमा ईखको भावना छैन । हामीले नाकाबन्दीबाट कुनै पाठ सिकेनौं । आत्मनिर्भर बन्ने भनेर गफ त गर्‍यौं । तर त्यो गफ चौतारी र चियापसलहरूमा मात्र सीमित भयो, कर्ममा रूपान्तरित हुन सकेन । 

त्यसैले होला, यहाँ ग्यास उत्खनन हुन सकेन । यहाँ पेट्रोल उत्खनन हुन सकेन । फलाम र तामाखानीहरू उत्खनन हुन सकेनन् । जे हुनुपर्थ्यो, त्यो हुन सकेन । ग्यास, पेट्रोल, फलाम र तामा उत्खननको कुरा त परै जाओस्, हामीले आफूहरूलाई पुग्ने गोलभेडा उत्पादन गर्न पनि सकेनौ । हरियो सागसब्जी, फलफूल, दूध, माछा, चामल, पीठो जे भन्नुहोस्, हामीले आफूलाई पुग्ने उत्पादन गर्न सकेनौ । हुन त सलाईको काँटी पनि हामीले बनाउन सकेका छैनौं, अब हरियो तरकारी त झन् मेहनतको काम भयो । यसकारण भारतले किन के कस्तो तरकारी पठायो भन्दा पनि हामीले किन आत्मनिर्भरको बाटो अँगाल्न सकेनौं, त्यसको गम्भीर बहस हुनुपर्छ । 


ADVERTISEMENT

जस्तो कि, भारतकै राज्य सिक्किम हेरौं । सिक्किमेली जनताले कृषिमा कसरी क्रान्ति गरे र भारतकै अर्ग्यानिक हबको रूपमा उनीहरू परिचित हुन पुगे र राज्य आत्मनिर्भर हुन पुग्यो त्यो अध्ययन गरौं । तर हामीकहाँ त्यसो हुन सकेन । माटो नै नहुने अरबका देशहरूले आफ्ना लागि सागपात आफैं उत्पादन गर्छन् । हाम्रो त बिस्तारामा पनि माटो नै हुन्छ उस्तै परे । तर हामी महाअल्छी । हामीलाई त यो तरकारीको बहस गर्दा लाज लाग्नुपर्ने थियो । जे होस्, प्रधानमन्त्री एकदिन भए पनि लजाउनुभयो । यहाँ देशका लागि सोच्ने चिन्तनशील युवा हरेक दिन लजाइरहेछन् । 

भारतको सिक्किम प्रदेश सरकारले एक महिनाको सूचना दिएर पश्चिम बंगालबाट भित्रिने सबै तरकारी, पक्षीका मासु तथा अण्डा र अन्य मासुजन्य वस्तु निषेध गर्‍यो ।  उनीहरूले आफ्नै राज्यभित्र यस्तो गरे । 
सिक्किम सरकारले प्रदेशलाई ‘अर्ग्यानिक प्रदेश’ घोषणा गर्‍यो । घरघरमा गाई बाँडियो । घर नभएकालाई घर दियो । तर काम त गर्नैपर्‍यो । दिल्लीको संघीय सरकारले समेत सिक्किम प्रदेशलाई अर्ग्यानिक प्रदेश भनी घोषणा गरिदियो । तर यो देशमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै बजेट हसुर्दै गरेका छन् । 

केही गर्न खोजेका नेपाली कृषकहरूको पेटमा लात्ती हानेर कालिमाटीमा भारतीय तरकारीको गोदाम थुपार्न दिएर कमिसन अर्थात् देशको कलो खानेहरूले देशलाई परनिर्भर बनाइराखेका छन् ।

अनि हामीले विष नखाए कसले खान्छ ? 

केही समयअघिको भेटमा कृषिमन्त्री चक्रपाणि खनालले यस स्तम्भकारसँग भनेका थिए– ‘केही मूलभूत सुधार गर्न खोजेको पक्कै पनि छु, तर उपल्लो तहबाट असहयोग भइराखेको छ । यहाँ काम गर्न बहुत गाह्रो रहेछ ।’ त्यो  उपल्लो तह भनेका कोको हुन् ? त्यो त उनले खुलाएनन् तर आफूले चिताएको काम फत्ते गर्न नपाउँदा उनको मुहारमा एकप्रकारको उकुसमुकुस देखिन्थ्यो ।  देश कृषिप्रधान भन्ने तर कनिका भन्दा पनि सानो परिणामको बजेट छुट्ट्याउने राज्यको रवैया पनि उनलाई खासै मन परिरहेको थिएन । मन परेन भन्दैमा एकबारको जुनीमा पाएको मन्त्री पद त्यागेर हिँड्ने कुरा पनि भएन । 

कुरा अहिले बाहिर प्रस्ट आएको छ । केही गर्न खोजेका नेपाली कृषकहरूको पेटमा लात्ती हानेर कालिमाटीमा भारतीय तरकारीको गोदाम थुपार्न दिएर कमिसन अर्थात् देशको कलो खानेहरूले देशलाई परनिर्भर बनाइराखेका छन् । हो, कच्चा पदार्थ हामीले लिनुपर्छ, दिनुपर्छ । तर हामी सबैलाई थाहा भएकै कुरा हो, नेपाली किसानहरूले गोलभेडामा डोजर लगाएका छन् । तरकारीहरू कुहिएर फाल्नुपरेको छ । ठेलागाडामा भारतीय तरकारी घरघरमै पुगेको छ । यसबाट कुनै राजस्व र आम्दामी राज्यलाई छैन । बरू घरघरमा रोग पुगेको छ । हुन त औषधि पनि भारतबाटै आउने हो । के फिक्कर छ र ? 

सरकारले केही प्रयास थालनी नगरेको भने हैन । भलै त्यो असफल भएको, खुट्टा लरबराएको किन नहोस् । तर विषादी जाँच प्रकरणमा सरकार पछि हट्नु हुँदैनथ्यो । बरू ती तरकारीका गाडीहरू जताबाट आए उतै पठाइदिने हिम्मत गर्नुपर्थ्यो । तर मातृका यादव ‘मलाई सचिवले धोका दिए’ भनेर उम्किए, प्रधानमन्त्री केपी ओलीले भारतीय दूतावासको कुनै दबाबमूलक पत्र आएको छैन भनेर केही दिन जिद्दी त गरे तर मिडियामा पत्र सार्वजनिक भएको थाहा पाएपछि ‘लौ मलाई त झुक्याइयो, म लज्जित भएँ’ भन्नसम्म भ्याए । यो लाजको पसारो नै थियो । एकप्रकारको यो अन्तर्राष्ट्रिय बदनामी नै थियो । यस्तो किसिमको लाजको पसारो संसारमा बिरलै देख्न पाइन्छ । 

भएको के हो भने विषादी हालेको तरकारी फलफूल भारतबाट वर्षौंदेखि आइरहेकै थियो । हाल आएर केही मन्त्रीहरूको पहलमा त्यो जाँच हुनुपर्ने माग राखियो । जायज कुरा पनि भयो । तर अन्ततः कर्मचारीहरू असहयोगी भइदिए । भारतले माइक्रोम्यानेजमेन्ट गरिहाल्यो । हामीसँग प्रयोगशाला पनि थिए । पूरै ट्रक नै प्रयोगशालामा छिराउने हैन, एक एक स्याम्पल जाँच्ने कुरा न हो, त्यो सकिन्थ्यो । तर मन्त्रीहरू खासगरी मातृका र चक्रपाणि खु्ट्टा कपाउँदै गए । प्रधानमन्त्रीले खुट्टा मात्रै कँपाएनन्, पूरै जिउ नै हल्लाए । यसरी त वनझाँक्री पनि हल्लिदैन । 

वीर गोर्खाहरू अहिले पनि लडि नै रहेका छन् । यसकारण वीर गोर्खालीहरू जोसुकैका लागि पनि मर्न डराउँदैनन् । विष मिसिएको तरकारी खान पनि डराउँदैनन् ।

यसकारण हल्का घिउ हालेको भातसँग विषादी तरकारी खानुपर्‍यो भनेर लोकवासीहरूको रुवाबासी चर्को छ, मानौं कि हिजोको मितिसम्म यिनीहरूले एकदम अर्ग्यानिक ताजा तरकारी खाइरहेका थिए । एकाएक प्रलय भएजस्तो, केही गुमेजस्तो, केही षड्यन्त्र भएजस्तो सन्नाटा छाएको छ । यही बीचमा झन् भूकम्प पनि गइदियो । दिमागको तार हल्लाइदियो । अब विषादीयुक्त तरकारीको विरोध गर्ने कि बेलाबेलामा मीठो सम्झना बोकेर फर्किआउने भूकम्पको गुणगान गाउने ? परेन फसाद !

बाँझो खेतमा तीतेपाती उम्रिएको छ । फेसबूकमा असार पन्ध्र मनाइएको छ । र यही मुखलाई चाहिएको छ अर्ग्यानिक तरकारी । त्यो पनि भारतबाट  अपेक्षा गरिएको छ । भ्यागुताको कथा सुनाउँदै डिग्री पढेकाहरूलाई छिर्के हान्न सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीले एकबारको जुनीमा भगवानको अनुकम्पाले जगतै हँसाएको बेला यो एकाएक जगत् रुवाउने तरकारीकाण्ड कसरी भित्रियो ? काण्डैकाण्डले परिचित तैपनि राष्ट्रवादको पगरी गुथेको यो सरकार भारतीय दूतावासको चिट्ठीसँग कसरी लत्रियो ? नेपाली किसानहरूले उत्पादन गरेका गोलभेडाहरू बजार नपाएर फ्याँक्नु परेकोमा कुनै दुःख प्रकट गर्नु छैन, नेपाली किसानहरूले समयमै बिउ नपाएको चिन्ता छैन, मल नपाएको चिन्ता छैन तर भारतीय तरकारीहरूको बडो चिन्ता यो राष्ट्रवादी सरकारलाई किन लाग्यो ? 

फिक्कर नगरौं । वीर गोर्खालीहरू धेरै चीज गर्न डराउँदैनन् । कवि भुपी शेरचनले ‘हामी वीर छौं र त बुद्दु छौं’ भनेर किन लेखे थाहा छैन तर वीर गोर्खालीको पगरी गुथेका नेपालीहरू धेरै चीज गर्न डराउँदैनन् । इतिहास साक्षी छ । नाम मैले बिर्सिएँ तर बेलायती सेनाका फील्ड मार्शलले कोही मर्न डराउँदैन भन्छ भने ऊ कि त झूट बोलिरहेको छ कि त ऊ गोर्खाली हो भनेका थिए । त्यो कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदा संसदमा समेत भनेका थिए । यसकारण विगतदेखि नै नेपालीहरूको लिगेसी मर्नदेखि नडराउने बन्दै गयो । विष मिसिएको तरकारी खान पनि डराउने ? 

तर किन मर्ने ? कसका खातिर मर्ने ? त्यो कुरामा भने बहस गर्न सकिन्छ । आज त्यो बहस नगरौं । तर वीर गोर्खालीहरू मर्न नडराउने आदत अहिलेसम्म गएको छैन । यो त आठौं आश्चर्य जस्तो भएको छ । खतराका स्वरूपहरू फेरिएका छन् तर खतराको खेलाडीको पहिचान फेरिएको छैन । दोस्रो विश्वयुद्धमा वीर गोर्खा लड्नका लागि संसारभरि पुग्यो । हालको मितिसम्म त्यसको अस्तित्व  बेलायत र भारतका लागि कायम नै छ । वीर गोर्खाहरू अहिले पनि लडि नै रहेका छन् । यसकारण वीर गोर्खालीहरू जोसुकैका लागि पनि मर्न डराउँदैनन् । विष मिसिएको तरकारी खान पनि डराउँदैनन् ।

असार २९, २०७६ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस