कुहिरीमण्डलमा हराएको प्रगति : कसरी हुन्छ मानसिक शान्ति ?

साउन १७, २०७६

आजको दुनियाँमा भौतिक उपलब्धिको कुरा गर्ने हो भने त्यो निश्चय नै धेरै बढेको छ । विज्ञान र प्रबिधिको विकास अद्वितीय र अकल्पनीय नै छ तर मानसिक, आन्तरिक शान्ति र स्वास्थ्यको दृष्टिले हेर्ने हो भने यो प्रगति अझै पनि कुहिरीमण्डलमा नै हराएको जस्तो देखिन्छ । त्यसले गर्दा यत्रो सारा उपलब्धि भइसक्दा पनि मानव समाज असमञ्जस्यमा नै परिरहेको छ ।

आँखिर मानिस के हो भन्ने प्रश्नको उसले अझै पनि सही उत्तर पाउन सकिरहेको छैन । यो पनि यथार्थ हो ।


ADVERTISEMENT

अवश्य नै मानिस विकासको शिखरमा बसिरहेको छ र उसले आज आफ्नो सभ्यताका उपलब्धिको गणना गरिरहेको छ । समाज कहाँबाट कहाँ आइपुग्यो ? तुलना गरेर हेरिरहेको छ ।

प्रशन्नता र गर्वको कुरा पनि छ यो तर यो आजको मानव सभ्यताले विभिन्न किसिमको त्रासदी र कठिनाइ पनि लिएर आएको कुरालाई बिल्कुलै नकार्न सकिन्न । आजको विशाल भौतिक उपलब्धिको शिखरमा पुगेर पनि मानिस कतै हराएको जस्तो कतै अलपत्र परेजस्तो र अपूर्णताको अनुभव गरिरहेको जस्तो किसिमले भौतारिइरहको प्रतीत हुन्छ । आँखिर यस्तो किन भइरहेको छ यो अत्यन्तै विचारणीय र गम्भीर प्रश्न छ । हुन पनि मानिसकै अस्तित्वलाई लिएर आज सबैभन्दा ठूलो चिन्ता उत्पन्न भइरहेको छ ।

आजको भौतिकवादी विकासको चरम उत्कर्षमा समेत मानिस सन्तुष्ट छैन । एकातिर चरम उत्कर्ष र अर्कोतिर चरम गरीबी छ, अभाव छ, असमानता छ, अशिक्षा छ, शस्त्रास्त्रको अवाञ्छित होडबाजी छ, युद्ध छ, युद्धजन्य परिस्थिति छ, आतंकवाद छ, सीमित सानो वर्गले स्रोतसाधन सबै कुम्ल्याएको वा एकाधिकार जमाइरहेको स्थिति छ । यसले गर्दा मानिस प्रगति गर्दै छ कि पिछडिँदै गएको छ, आज वास्तवमा अत्यन्तै गम्भीरतम् यक्ष प्रश्न खडा भइसकेको वा भइरहेको छ । यसको उत्तर खोज्न पनि कठिन भइरहेको छ ।

वास्तवमा यो प्रगति, उन्नति र उपलब्धिसँग अधिकांश मानिसको सम्बन्ध, स्वामित्व र अपनत्व किन बन्न सकिरहेको छैन ? किन विश्वमा ८० प्रतिशत मानिसले आज पनि विश्वको २० प्रतिशत मात्र स्रोतसाधनमाथि निर्भर रहन विवश हुनुपरिरहेको छ ? किन २० प्रतिशत मानिसले ८० प्रतिशतभन्दा बढी स्रोतसाधनमाथि कब्जा जमाएर हिँहिडरहेका छन् र त्यसलाई कायम राख्न र त्यो सीमालाई अझ विस्तार गर्न हरेक किसिमले उद्यत भइरहेका छन् ? किन मानिस प्रकृतिका अधिशासित नियमको उल्लंघन गरेर प्रकृति–अमैत्री किसिमले चल्दै आएका र अझ तीब्र किसिमले यस दिशामा चल्न अग्रसर छन् ? किन प्रकृति केन्द्रित अर्थात् यसको संरक्षण, सम्वद्र्धन र कुशल व्यवस्थापन गरेर आफ्नो जीवनलाई सुन्दर, सुरक्षित र दीर्घगामी बनाउनुको सट्टा व्यक्ति केन्द्रित र तत्कालीन नाफा केन्द्रित भएर चलिरहेका वा भस्मासुर किसिमले चल्न उद्यत  भइरहेका छन् ?

यस्तो स्थितिमा निश्चय नै आज समाज कम्तिमा प्रस्ट रुपमा २ चिरामा नराम्रोसँग विभाजित छ । सानो मुठ्ठीभर हुने खाने अभिजात वर्ग र हुँदा खान विवश अत्यधिक ठूलो शोषित पीडित वर्ग । अनि यसरी परस्पर विरोधी २ विचार, २ विश्व दृष्टिकोण, २ वर्ग जबरजस्तरुपमा सिर्जना गरेर परस्परमा लड्नैपर्ने पद्धतिको खडा गरेको छ । यसरी विश्व मानव समाज आज हजारौं वर्षदेखि परस्परमा विभक्त भएर आइरहेको यथार्थ सत्य कुरा हो र परस्परमा अन्तरविरोध पैदा गरको पनि वस्तुगत यथार्थ हो । यसको सही किसिमले निराकरण नभएसम्म यो क्रम एक वा अर्कोरुपमा जारी रहने कुरा पनि निश्चितै छ । 

एकातिर वर्ग विभाजित एउटा परस्पर हित विपरीत श्रेणीवद्ध समाज छ भने अर्कोतिर जाति, क्षेत्र, पूर्वपश्चिम, महिला पुरुष आदि अनेक किसिमले मानव समाज आपसमा विभक्त रहेको छ । त्यहाँ पनि ठूलो देखिने र नदेखिने उत्पीडन छ । सर्सर्ती र सतहीरुपमा हेर्दा के लाग्दछ भने यी परस्पर विपरीत किसिमले बाँडिएका मानिसका बीच कुनै लेनदेन वा सम्बन्ध रहेको छैन । कसैलाई कसको मतलब पनि छैन तर यथार्थ पटक्कै त्यस्तो होइन । आजको यो परस्पर विरोधी अन्तरविरोधपूर्ण समाजलाई आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ भन्ने कुरा पनि जोडदाररुपमा उठ्दै र त्यसका निमित्त गम्भीरतम प्रयास र प्रयत्न पनि हुँदै आएका छन् ।

विश्वमा एकता, शान्ति, साझा समृद्धि र समरसताको लक्ष्य पूरा गरिनुपर्ने आवश्यकता बोध गरेर यसका लागि संघर्ष लगायतका विभिन्न गतिविधि पनि भइरहेका छन् । अमिल्दा कुरालाई हटाएर पारस्परिक एकताको पहिचान गर्नुपर्ने, खोजी गरिनुपर्ने र त्यसका लागि समाजमा एकजुटता ल्याउनुपर्ने विचार विमर्श र संघर्ष पनि विगत ऐतिहासिक समयदेखि भइरहेका र हुँदै आइरहेका छन् । यसका लागि आवश्यक आत्मबोध र सचेतना पनि अनेकौं समस्या हुँदाहुँदै पनि बढिरहेको छ ।

विगतका सान्दर्भिक कुरालाई अवलम्बन गर्ने, आवश्यकता अनुरुप परिमार्जन गर्ने र विकसित गर्ने कुरा एकातिर छ भने अर्कोतिर नयाँ–नयाँ मानवीय प्रकृतिमैत्री खोज अनुसन्धानलाई पनि सही किसिमले अघि बढाउन पर्ने उत्तिकै आवश्यकता पनि रहेको छ । पुराना र नयाँ दुवै असल कुरालाई आत्मसात गर्ने, पक्रने र तिनलाई निरन्तरता दिने कुरा एकातिर छ भने अर्कोतिर पुरानै मात्र मान्ने र नयाँ कुुरालाई तिरष्कार गर्ने अनि नयाँ मात्रै मान्ने र पुरानाजति सबैलाई बेवास्ता गर्ने २ अतिवादले पनि मानिसलाई परस्पर भड्काउने, लडाउने, भिडाउने काम गरिरहेको छ । यसले गर्दा एकातिर भ्रामक र अन्धविश्वापूर्ण कुराका लागि अनावश्यक र अस्वीकार्य लडाइ झगडामा पनि मानव समाज फसेको छ भने यी कुरालाई तिलाञ्जली दिएर नयाँ मानवीय, समुन्नत समाजका लागि न्यायपूर्ण, स्वाभाविक संंघर्ष पनि चलिरहेको छ । सही बाटो लागे सही गन्तव्यमा पुगिन्छ भन्ने कुरा पनि एकातिर छ भने अर्कोतिर अहंकारयुक्त अन्धविश्वासलाई जानेर नजानेर काखी च्याप्ने प्रवृत्ति, चिन्तन र सोचले पनि काम गरिरहेको छ ।

समग्रमा हेर्दा केही अपवादलाई छाडेर विकास जतिसुकै भएपनि आमजनता भयावह असुरक्षामा कुवाको भ्यागुतोजस्तै भएर बाँच्न विवश छन् । उनीहरूको चेतनाको स्तर बढ्न पाएको भए उनीहरू पनि वास्तविकता बुझेर संसारको फराकिलो फलकसँग जोडिने थिए होला तर त्यस्तो अवस्था अझै विकसित भएको छैन । आज सञ्चारको अभूतपूर्व विकास अवश्य भएको छ । अनि मानव जीवनको उन्नति, प्रगति र सभ्यताको विकासको निमित्त सञ्चारको महत्त्व पहिला कहिलेभन्दा आज अझ बढेको छ ।

तर पनि मानिस असुरक्षा, अनिश्चतता र अज्ञानताले गर्दा कुवाको भ्यागुता सरह नै बाँचेको छ । यी कुरा हटाउन सञ्चारको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ । वास्तवमा आधारभूत रुपमा भन्ने हो भने सञ्चार मानिसकै निमित्त जनताकै निमित्त हो तर आज अरु कुरा जस्तै सञ्चारको कुरा पनि बजारबाटै परिचालित हुन्छ र भइरहेको छ । वास्तविक अर्थमा सञ्चार समग्रमा मानव अभिव्यक्तिकै सम्पे्रषणको एउटा बहुस्तरीय तरिका र प्रक्रिया हो । त्यसमा सबै किसिमका संवेदना समाविष्ट भएका हुन्छन् । ती सबै एकआपसमा अन्तरसम्बन्धित हुन्छन् र त्यसैले समुच्चय सञ्चार समग्रतामा यसले समग्रताकै अभिव्यक्ति गर्दछ । सञ्चार वास्तवमा अन्तरसम्बन्धित कुरा नै हो । हुन पनि सञ्चार हुँदा व्यक्तिले समष्टिमा भाग लिइरहेको हुन्छ । किनभने समाज सहभागितामूलक हुन्छ । अनि सञ्चारको अपेक्षा समानुभूति, एकअर्कासँग सहभाव र अरुको भाषा समेत जान्ने कुरासँग सम्बन्धित हुन्छ । अनि सञ्चारले मानिसलाई यसरी बद्लिन मद्दत गर्दछ कि मानिस त्यो सम्पे्रषणाको अनुकूल बन्ने गर्दछ र एकअर्काको चेतनाको अंश र परिपूरक बन्दछ । यसका लागि संवाद र संवेदना दुवै कुरा चाहिन्छ । जीवन्त अनुभवबाट उत्पन्न सञ्चार सहभागिता आफू र अरुका पनि संवादको आधार बन्न सक्दछ । सायद वास्तविक ज्ञान प्राप्तिको बाटो पनि यस्तै हुन्छ होला ।

अरुलाई बुझ्नु सम्झिनु केवल सूचना लिने दिने कुरा मात्र हुँदैन । यो सबैको सिक्ने प्रक्रिया पनि हो । आजको आधुनिक मानिसले आफ्नो अभिव्यक्ति तथा आफ्नो प्रदर्शनसँग नै बढी मतलब राख्ने गर्दछ । उसले भाषाको बढी नै उपयोग गर्ने गर्दछ । वास्तवमा भित्र बाहिर जहाँ पनि स्वरमा  देखापर्ने गुटगत कुरा नै सुन्ने गरिन्छ । यसको पूरा श्रवण त त्यही हुनेछ, जहाँ अकथित वा मौनता तथा भाषा दुवै नै सम्बन्धित होऊन् । हाम्रा ब्रह्माण्डका सारा अवयवहरू एकअर्काको लागि सहज उन्मुक्तता विना वास्तविक सञ्चार सम्भव पनि हुने छैन र सम्प्रेषणीय पनि । आज बुझ्नु बुझाउनुपर्ने वास्तविकता नै यही हो ।

साउन १७, २०७६ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस