अमेरिकाका नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, कस्तो हुनेछ ट्रम्प प्रशासनको परराष्ट्रनीति ?

असोज २, २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रोबर्ट सी ओब्रायनलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । युद्धपिपासु जोन बोल्टनलाई बर्खास्त गरिएपछि खाली रहेको पदमा ओब्रायन आएका हुन् । तर उनको परराष्ट्रनीति कत्तिको फरक छ भन्ने प्रश्न उठेको छ । 

ओब्रायनलाई नियुक्त गरिएको घोषणा ट्रम्पले बुधवार गरेका हुन् । परराष्ट्र मन्त्रालयमा कार्यरत ओब्रायन त्यति परिचित व्यक्तित्व हैनन् । गत जुलाई महिनामा उनले ट्रम्पको अनुरोधमा अमेरिकी र्‍याप गायक एसाप रकीलाई स्विडेनको जेलबाट छुटाउनका लागि सम्झौता गरेका थिए । 


ADVERTISEMENT

हुन त त्यो प्रयास निष्फल रह्यो तर राष्ट्रपति ट्रम्पले ओब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा बढुवा गर्नु उचित ठाने । उनले बोल्टनको ठाउँ लिएका हुन् । ट्रम्पले बोल्टनका अडानहरूप्रति कडा असहमति जनाउँदै अघिल्लो हप्ता उनलाई बर्खास्त गरेका थिए । बोल्टनले ट्रम्पलाई इरान, उत्तर कोरिया, भेनेजुएला र सिरियामा युद्ध गर्नका लागि भड्काइरहेका थिए । तर अब युद्ध तथा शान्तिका विषयमा ट्रम्पले ओब्रायनको कुरा सुन्न थालेपछि उनको कस्तो प्रभाव पर्ला त ? 

बोल्टनलाई युद्ध अत्यन्तै प्रिय थियो तर ट्रम्प प्रशासनमा आउनुअघि ओब्रायनको नीतिका विषयमा धेरैजना जानकार छैनन् । तर उनका अडानका विषयमा सन् २०१६ मा प्रकाशित पुस्तक ‘ह्वाइल अमेरिका स्लेप्ट : रिस्टोरिङ अमेरिकन लीडरशिप टु ए वर्ल्ड इन क्राइसिस’ मा उल्लेख छ । 

ओब्रायन शान्तिप्रेमी व्यक्ति हैनन् । उनको पुस्तकको आरम्भ नै ओबामा प्रशासनले गरेको सैन्य खर्चकटौती र वैश्विक मञ्चमा अमेरिकाको बेइज्जती भएको भनी आलोचनाबाट गरिएको छ । ‘निरंकुश शासकहरू, तानाशाहरू र आतंकवादीहरू’ लाई ओबामाले सशक्त बनाएको आरोप उनले लगाएका छन् । सैन्य खर्च बढाउन आह्वान गर्दै उनले जलसेनालाई महासागरहरूमा शासन गर्न उनले आह्वान गरेका छन् । उनले वैश्विक साझेदारहरूको नेतृत्व अमेरिकाले गर्नुपर्ने बताएका छन् । 

राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिले’ नीतिमा अन्य देशमा गएर अल्झिने कुरा वर्जित छ । ट्रम्पले नाटो जस्ता संगठनको महत्त्वमाथि प्रश्न उठाएका छन् र अमेरिकाका साझेदारहरूलाई अमेरिकी सुरक्षा चाहिने भए थप खर्च गर्न भनेका छन् । ट्रम्पले अमेरिकालाई विश्वमञ्चमा एक्ल्याउने नीति लिएको कुरा पूर्व रक्षामन्त्री जिम म्याट्टिसलाई चित्त बुझेको थिएन । ओब्रायनले ट्रम्प अनुकूल आफ्नो विचार परिवर्तन गर्छन् कि ट्रम्पकै सोच परिवर्तन गर्छन् भनी हेर्न बाँकी छ । 

चीन
ओब्रायन चीन वैश्विक शक्ति बनेको कुरामा चित्त बुझाइरहेका छैनन् र चीनको जलमार्ग विस्तारलाई ‘रातो आँधीको उदय’ भन्छन् । चीनले सामुद्रिक शक्ति बढाउँदा त्यसलाई थप बलियो अमेरिकी जलसेनाले टक्कर दिनुपर्ने उनको धारणा छ । 

उनले बेइजिङप्रति राख्ने आक्रामक धारणा ट्रम्प प्रशासनकै अनुकूल छ । ट्रम्पले चीनसँग व्यापारयुद्ध चर्काएका छन् अनि पेन्टागनले चीनलाई ‘शिकारी’ तथा ‘रणनीतिक प्रतिद्वन्द्वी’ भनी संज्ञा दिएको छ । ट्रम्प प्रशासनले बेइजिङप्रति पूर्ववर्तीभन्दा थप कडा अडान लिएका छन् । 

इरान
ट्रम्पले इरानविरुद्ध ‘उल्लेख्य’ प्रतिबन्ध बढाउने घोषणा गरेको आधा घन्टा पनि नबित्दै ओब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको घोषणा गरे । साउदी अरबको तेल प्रशोधन केन्द्रमा इरानले गरेको भनिएको आक्रमणको दण्डस्वरूप ट्रम्पले थप प्रतिबन्ध लगाउन लागेका हुन् । 

बोल्टनले इरानविरुद्ध सैन्य कारवाही थाल्नुपर्ने भनी पैरवी गरेका भए पनि ट्रम्प त्यसमा इच्छुक छैनन् । ओब्रायन पनि तेहरानप्रति कडा रवैया अपाउनुपर्ने पक्षमा छन् । उनले सन् २०१५ मा ओबामा प्रशासनले इरानसँग गरेको आणविक सम्झौतालाई दोस्रो विश्वयुद्धअघि गरिएको नाजी तुष्टीकरणसँग तुलना गरेका थिए । 

इरानलाई अमेरिकाको कट्टर दुश्मनका रूपमा वर्णन गर्दै ओब्रायनले सैन्य कारवाहीको माग त गरेनन् तर उसको गैरसैनिक आणविक कार्यक्रम समेत पूरै अन्त्य गरेपछि मात्र उससँग सम्झौता गर्नुपर्ने बताएका छन् । 

रुस
अमेरिकी चुनावमा रुसको हस्तक्षेपका विषयमा मच्चाइएको हंगामाभन्दा अघि नै ओब्रायनको पुस्तक सार्वजनिक भएको थियो । त्यसैले पुस्तकमा विश्व मामिलामा मस्कोको भूमिकाको खासै उल्लेख छैन । तर उनले एउटा अध्यायमा युक्रेनका पश्चिपरस्त अभियन्ताहरूको चर्को प्रशंसा गरेका छन् र उनीहरूले भ्लादिमिर पुटिनको ‘निरंकुश शासन’ बाट ‘आफ्नो देश फिर्ता लिएको’ भनी प्रशंसा गरेका छन् ।

अफगानिस्तान
अमेरिकाले अफगानिस्तानमा १८ वर्षदेखि युद्ध लडिरहेको भए पनि ओब्रायन ट्रम्प प्रशासनमा निकै महत्त्वपूर्ण समयमा प्रवेश गरेका छन् । उक्त देशबाट अमेरिकी सैनिकहरू फिर्ता बोलाउनका लागि ट्रम्पले तालिबान प्रतिनिधिहरूसँग क्याम्प डेभिडमा भेट्ने समय मिलाएका थिए तर तालिबानले काबुलमा बम विस्फोट गराएपछि अचानक उक्त बैठक रद्द गरेका थिए । 

तालिबानलाई अमेरिकी भूमिमा आउन दिएको भनी ट्रम्पको व्यापक आलोचना भएपछि ट्रम्पले तालिबानलाई अहिलेको जति बढी प्रहार कहिले पनि नगरिएको भनी घमण्ड गरे । तर सन् २००१ कै जति भूभाग तालिबानको कब्जामा छ, त्यसैले सैन्य फिर्तीका लागि लडाकूहरूसँग सम्झौता गर्नैपर्छ ।

ओब्रायनले अफगानिस्तानमा वर्षौं काम गरेको अनुभव बटुलेका छन् तर उनले तालिबानप्रति हात बढाउन अनि अमेरिकाका सांसद र मतदाताहरूको आक्रोश ननिम्त्याउनका लागि सन्तुलन मिलाउनुपर्नेछ । अधिकांश सांसद र मतदाता तालिबानसँगको सम्झौताप्रति सन्तुष्ट छैनन् । 

उत्तर कोरिया
ट्रम्पले उत्तर कोरियालाई धम्की दिएको अनि पछि किम जोङ–उनसँग वार्ता गरेकोभन्दा अघि नै ओब्रायनले पुस्तक लेखेको भए पनि पुस्तकमा उनले उत्तरविरुद्ध कडा कारवाहीकै पैरवी गरेका छन् । अमेरिकाको जलसेना र वायुसेनाको पहुँचमा उत्तर कोरिया छ भनी बताउनुपर्ने सिफारिश उनले गरेका छन् । 

पुस्तकमा निःशस्त्रीकरणको उल्लेख गरिएको छैन तर इरानको विषयमा कुरा गर्दा ओब्रायनले दक्षिण अफ्रिका र लिबियाकै जस्तो गरी आणविक क्षमताको पूर्ण परित्याग गराउनलाई अमेरिकाले प्रयास गर्नुपर्ने ओब्रायनको मत छ । बोल्टनले कोरियाली प्रायद्वीपको निःशस्त्रीकरणमा लिबियाली मोडल अपनाउन सकिने भनेपछि गत वर्ष प्योङयाङसँगको वार्ता झण्डै भंग भएको थियो । लिबियाली मोडलमा मुआम्मर गद्दाफीलाई आणविक हतियार परित्याग गरेको दश वर्षभन्दा पनि कम समयमा हत्या गरिएको थियो । ओब्रायनले बोल्टनकै जस्तो गल्ती नदोहोर्‍याउने सुनिश्चितता गर्नुपर्छ । 

ओब्रायनलाई छानेर ट्रम्पले बोल्टनको भन्दा बढी सुरक्षित विकल्प रोजेको जस्तो देखिन्छ । ओब्रायनको करीयर बोल्टनको भन्दा विपरीत वाशिङटन डीसीका कोठाहरूमा क्यामराबाट टाढै रहेर बित्यो । तैपनि ओब्रायन नयाँ भूमिकामा आलोचनामुक्त रहने छैनन् र ट्रम्पका सबै परराष्ट्रनीति निर्णयका लागि ओब्रायन नै जवाफदेही ठहरिनेछन् । 

आरटीमा प्रकाशित विश्लेषण
 

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस