मैथिली भाषाका साहित्यकार 'भ्रमर' : हरेक विधामा पुस्तक प्रकाशन

कात्तिक २, २०७६

जनकपुरधाम – राम भरोस कापडी ‘भ्रमर’ मैथिली भाषा साहित्यका प्रख्यात साहित्यकार हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर —१ तथा धनुषाको हंशपुर नगरपालिका वडा नम्बर —२, बघचौडा गाउँका ६८ वर्षीय भ्रमर अहिले पनि साहित्य रचना तथा पुस्तक प्रकाशनमा त्यति नै सक्रिय छन् । उनी भन्छन्, ‘म नै एउटा यस्तो एक्लो मात्र व्यक्ति हुँ जो मैथिली भाषा साहित्यको क्षेत्रमा पूर्णकालीन (होलटाइमर) हुँ ।’

धेरै मानिसहरू मैथिली भाषा साहित्यको क्षेत्रमा कलम चलाउँछन् तर उनीहरूको मुख्य पेशा भने अर्कै हुन्छ । तर आफ्नो प्राथमिक पेशा नै मैथिली भाषा साहित्य क्षेत्रमा कलम चलाउनु रहेको उनी बताउँछन् ।


ADVERTISEMENT

डा. धीरेन्द्र झाले बनाए साहित्यकार

जनकपुरको सरस्वती हाई स्कूलमा पढ्दाको अवस्था देखिनै उनलाई  भारतबाट प्रकाशित हुने बालबालिका सम्बन्धी पत्रिकाहरू पढ्ने रुची थियो । उनको घर नजिकै जनकपुरको रेल्वे स्टेशनमा रहेको बूक स्टलमा भारतको पटना, कलकत्ता, दिल्ली, मुम्बईबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरू आउने गर्थ्यो । भारतको मुम्बईबाट प्रकाशित हुने ‘पराग’ पत्रिका, दरभंगाबाट प्रकाशित हुने ‘बालक’ पत्रिका जस्ता हिन्दी भाषाको बाल साहित्यका पत्रिकाहरू पढ्ने गर्थे उनी ।

त्यही बेला उनको घर छेउमैं जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा पढाउने एक जना प्राध्यापक डा. धीरेन्द्र झा ‘धीरेश्वर’को सम्पर्कमा आए । भ्रमरको कोठामा त्यही कलेजका एक जना राजनीतिक शास्त्रका प्राध्यापक नारायण प्रसाद साह घर भाडा लिएर बसेका थिए । साहकै कारण उनको सम्पर्क प्राध्यापक झासँग हुन गएको थियो ।

भ्रमर कक्षा ८ मा नै हुँदा हिन्दी भाषामा ‘इमान्दार बालक’ भन्ने कथा लेखेर झालाई देखाए । हिन्दीमा लेखेका कारण उनले त्यो कथा हेर्दै हेरेनन् । त्यो कथालाई आफ्नो मातृभाषा मैथिलीमा लेखेर ल्याउनुस् अनि मात्रै हेरिदिन्छु भनेर झाले उनलाई भने । त्यसपछि उनले मैथिलीमा लेखेर देखाए । अनि प्राध्यापक झाले लाइन बाइ लाइन सच्याइदिए । अनि फाइनल लेखेर ल्याउ भने ।

भ्रमरले सम्पादन गरिएको त्यही कथा अर्को कागजमा लेखेर ल्याए । त्यसपछि झाले भारतबाट प्रकाशित हुने ‘मिथिला मिहिर’ नामक साहित्यिक पत्रिकाका सम्पादक सुधांश शेखर चौधरीलाई एउटा चिठ्ठी लेखेर उक्त कथा छापिदिन अनुरोध गरे । केही दिन पछि भ्रमरको उक्त कथा उक्त पत्रिकाको नैना भूटका भन्ने स्तम्भमा उक्त कथा छापियो । केही दिन पछि उनले लेखेको ‘अन्हरिया इजोरिया’ नामक कविता भारतको कलकत्ता बाट प्रकाशित हुने ‘आंखर’ नामक पत्रिकामा नव हस्ताक्षर भन्दै छापियो ।

त्यस पछि निरन्तर उनले लेखेका कविता, कथा भारतका विभिन्न साहित्यिक पत्रिकामा छापिँदै गयो । ‘डा. धीरेन्द्र नभएको भए म साहित्यकार हुन सक्दिनथें होला,’ भ्रमर भन्छन्, ‘उहाँले मलाई मात्र होईन समकालीन धेरै जनालाई कथा, कवितालगायतका साहित्य कसरी लेख्ने, लेखेपछि सम्पादन गर्ने र त्यसपछि भारतको पत्रिकामा छपाउनसमेत लगाएर प्रोत्साहन गर्नु हुन्थ्यो ।’ त्यही विद्यार्थी भ्रमर पछि मैथिली भाषामै स्नातकोत्तर समेत गरे । र लेखनको कामलाई भने निरन्तरता दिँदै गए । सयौं रचनाहरू पत्रिकामा प्रकाशित हुँदै गयो ।

साहित्यको हरेक विधामा पुस्तक

उनी पत्रकारिता पेशामा पनि लागे र साहित्य क्षेत्रमा लेखनलाई समेत निरन्तरता दिँदै गए । अहिले उनले मैथिली भाषामा साहित्यको हरेक विधामा पुस्तकहरू नै प्रकाशन गरिसकेका छन् ।  कथा, कविता, उपन्यास,समालोचना, नाटक, निबन्ध, यात्रा संस्मरण लगायत सबै विधामा उनले पुस्तकहरु नै लेखेका छन् ।

‘बन्न कोठरी औनाइत धुँवा’ नामक कविता संग्रह, ‘नहि आब नहि’ दिर्घ कविता, ‘मोमक पघ्लैत अधर’ नामक गीत गजल संग्रह, ‘अप्पन अन्चिन्हार’ कबिता संग्रह , ‘अन्हरियाक चान’ गजल संग्रह प्रकाशित गरेका छन् । मैथिली भाषामा लेखिएको ‘नहि आब नहि’ दीर्घ कवितालाई नेपाली भाषाको साहित्यकार मनु बज्राकीले नेपाली भाषामा ‘भयो, अब भयो’ भन्ने शीर्षक राखेर अनुवाद समेत गरेका छन् । उक्त दीर्घ कविता पछि गएर नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’ पत्रिकामा छापिएको थियो ।

उनले ‘तोरासँग जएबौ रे कुजवा’, ‘हुग्ली उपर बहैत गङ्गा’ नामक कथा संग्रह प्रकाशन गरेका छन् । नेपालमा मैथिली भाषामा उनले लेखेको ‘तोरा संग जएबौ रे कुजवा’ लाई पहिलो आधुनिक कथा संग्रह भएको उनी दाबी गर्छन् । त्यही कथा संग्रह नै पहिलो कथा संग्रह हो जसलाई भारतको सरकारी संस्था मैथिली अकादमीले प्रकाशन गरेको समेत उनको दाबी छ ।

उनले लेखेको ‘घरमुहाँ’ उपन्यासलाई भोजपुरीमा कथाकार उमाशंकर द्विवेदी र हिन्दी भाषामा भारतका साहित्यकार डा. प्रफुल्ल कुमार सिंह ‘मौन’ले अनुवाद गरेका छन् । मधेश आन्दोलनका क्रममा जनकपुरमा वर्सौंदेखि बसोबास गर्दै आएका पहाडी समुदायले कसरी मधेश छोडेर जानु परेको थियो, त्यसकै बारेमा लेखिएको उपन्यास आफ्नो जीवनको उत्कृष्ट रचना भएको भ्रमर आफैं बताउँछन् ।

उनले धेरै नाटक पनि लेखेका छन् । ‘रानी चन्द्रावती’, ‘एकटा आओर बसन्त’, ‘महिषासुर मुर्दावाद’, ‘अपन सोराज’, ‘सुली पर इजोत’ नामक मैथिली भाषामा नाटक समेत लेखेका छन् । उनले नै लेखेका नाटकहरूलाई धर्मेन्द्र झा ‘विह्वल’ ले नेपाली भाषामा ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ भनेर अनुवाद गरेका छन् ।

त्यसका अतिरिक्त उनले विभिन्न विचार संग्रह, निबन्ध संग्रह, सोध संग्रहसमेत प्रकाशित गरेका छन् । थुप्रै पुस्तक तथा रचनाका सम्पादनसमेत उनले समय समयमा गर्दै आएका छन् । उनले लेखेका कविता, नाटक तथा कथा नेपाल र भारतको विद्यालयदेखि विश्वविद्यालय स्तरको पाठ्यक्रममा समेत समावेश गरेर पढाउने काम गरिँदै आएको भ्रमर बताउँछन् ।

उनले साहित्यमा गरेको योगदानकै कारण उनलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिने प्रथम ‘मायादेवी प्रज्ञा पुरस्कार’, विद्यापति सेवा संस्थान दरभंगाले ‘मिथिला विभूति सम्मान’, शेखर प्रकाशन पटनाले ‘शेखर सम्मान’ बाट सम्मानित गरेको छ । त्यसैगरी मैथिली साहित्य परिषद जनकपुरले ‘वैदेही प्रतिभा पुरस्कार,’ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मुम्बईले ‘मिथिला रत्न सम्मान’,मधुरिमा नेपालले ‘मधुरिमा सम्मान’, चेतना समिति पटनाले ‘यात्री चेतना पुरस्कार’बाट सम्मानित गरेको छ ।

त्यसैगरी साझा प्रकाशनले ‘साझा लोक संस्कृति पुरस्कार’, विद्यापति मैथिली भाषा साहित्य पुरस्कार, पार्वती प्रतिष्ठान सिसौटीया सर्लाहीले ‘पार्वती सम्मान’ बाट सम्मानित गरेको छ ।

भ्रमर नै पहिलो नेपालको मैथिली भाषाका साहित्यकार हुन् जसले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य बन्न सफल भए र पछि प्राज्ञ परिषद सदस्य पनि भए । त्यसैगरी साझा प्रकाशनको अध्यक्षका रूपमा पनि भ्रमर नै पहिलो व्यक्ति हुन् जसले नेपाली भाषा बाहेक मैथिलीसहित अन्य भाषामा प्रकाशनलाई प्रारम्भ गरे । साझा प्रकाशनले उनकै कार्यकालमा पहिलो पटक मैथिली बाल कथा संग्रह ‘बगियाक गाछ’  प्रकाशन गरिएको थियो ।

यतिमात्र होइन उनले जनकपुर, काठमाडौंमा समेत गरेर ३ पटक अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको समेत सफल आयोजना गरिसकेका छन् ।

मैथिली भाषामा लेखन गरेर समाजको परिवर्तन वा रुपान्तरण गर्नु अत्यन्तै कठिन कार्य रहेको उनी बताउँछन् । एक त प्रकाशनको अभाव, प्रकाशक जसो तसो खोजे पनि पाठकको त झनै अभाव रहेका कारण मैथिली भाषाको साहित्य फस्टाउन नसकेको उनी बताउँछन् ।

‘आफैं लेख्ने आफैं पढ्ने वा आफ्नै सर्कलका मानिसले पढ्ने मात्र स्थिति छ,’ भ्रमर भन्छन्,‘झन् किनेर त पढ्ने बानी नै छैन ।’ सित्तैमा बाँडिदिए हुन्थ्यो भन्ने प्रवृति छ । मैथिली भाषाको जनसंख्या बिशाल छ तर मैथिली भाषाको मानकको कारण पाठक नै छैन भन्दै भ्रमर भन्छन्,‘मैथिली भाषाको मानकलाई सहज बनाउनुपर्छ र मैथिली भाषामा लेखिने रचनालाई नेपाली, अंग्रेजी र हिन्दी भाषामा समेत अनुवाद गर्ने क्रम भयो भने त्यसले बजार पाउनेछ ।’

अहिले पुस्तकको संख्या बढाउन मात्रै रचनाहरू लेखिने गरेको भए पनि गुणस्तरीय भने नभएको उनको टिप्पणी छ । लेख्नका लागि पहिले पढ्नु पर्छ । तर यहाँ पढ्ने संस्कार नै नभएकाले समस्या देखिएको उनी बताउँछन् । साहित्य भनेको समाजको वास्तविक दर्पण हो र समाजको यथार्थलाई वर्णन गर्ने गरी रचना नभएकोमा उनी दुख व्यक्त गर्छन् ।

मैथिली भाषासहित विभिन्न मातृभाषाको विकासका लागि प्रदेश सरकारले एकेडेमी सञ्चालन गरेर संरक्षण र सम्वर्द्धन गर्नु पर्ने उनी बताउँछन् । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा त्यसलाई समावेश गरेको भए पनि हालसम्म कुनै काम भने नभएकोमा उनी दुख व्यक्त गर्छन् उनी । त्यसैगरी प्रदेशमा देखिएको भाषा विवादलाई अन्त्य गर्न पनि भाषा आयोग गठन गर्नु आवश्यक रहेको उनी बताउँछन् ।

कात्तिक २, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस