नेपाल थाइल्याण्डसँग मैत्रीपूर्ण भलिबल खेल्दै

कात्तिक १३, २०७६

काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बुधवार थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा यसै महीनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेका नेपाली टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल दिउँसो ४ बजेपछि शुरू हुनेछ । 
    
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टोलीले यसअघि थाइल्याण्डमा विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल खेलेकामा  तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो  ।


ADVERTISEMENT

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय टोली जरानसानिवोङ र दोस्रो खेलमा बैङ्कक विश्वविद्यालयको टोलीलाई हराएको थियो । त्यस्तै थाइल्यान्ड यु–२१ टोलीसँग पराजित भएको नेपाली टोलीले चौथो खेलमा जापानको जुतिर टोलीलाई हराएको थियो ।

एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप यही कात्तिक २२ देखि २७ गतेसम्म हुदैछ भने साग मङ्सिर १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
 

कात्तिक १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस