नेपाल–भारतको समाजदेखि काठमाडौंको राजनीतिसम्म जोडिएको मिथिला परिक्रमा

नित्यानन्द मण्डल
नित्यानन्द मण्डल

मण्डल जनकपुरमा क्रियाशील पत्रकार हुन् ।

हालै सम्पन्न भएको मिथिला परिक्रमाको राजनीतिकीकरण प्रारम्भ भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पडावस्थल कचुरीबाट नै यसको शुरूआत गरे । उनी राजस्थानी पगरी र धार्मिक पहिरनमा सजिए ।

धार्मिक पहिरनमै उनले मन्दिरको प्रवेशद्वार पनि अनावरण गरे । उनको सत्कारमा नेकपाका नेता रघुवीर महासेठ र उनकी पत्नी नेतृ जुलीकुमारी महतो लगायतका नेताहरू जुटे । परिक्रमाको शुरूआत गर्दै दाहालले प्रदेश २ सरकारमा नेकपा सहभागी हुने संकेत गरे ।


Advertisement

जति पाइला हिँड्यो, त्यति पुण्य प्राप्त हुने मिथिला परिक्रमाको ८ औं दिन महोत्तरीको कञ्चनवनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफैं पुगे । कञ्चनवनमा आयोजित रंग उत्सवमा तीनै तहका सरकारले परिक्रमा रुटको विकास विस्तार गर्न आश्वासन बाँडे ।

तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले ४ वर्षअघि जनकपुर भ्रमणमा आउँदा परिक्रमा क्षेत्रमा २ वटा धर्मशाला निर्माणमा सहयोग गर्ने वाचा गरेका थिए तर उनको वाचाअनुसार नेपालबाट धर्मशाला निर्माणका लागि पहल हुन सकेको छैन । 


Advertisement

२०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा नै परिक्रमा सडक निर्माण गर्ने २ देशबीच सहमति भएको थियो । यसरी परिक्रमा सडकको निर्माण कार्य थालनी भएपनि कार्य पूरा नहुँदै बन्दै गरेको कालोपत्रे भत्किन थालेको छ । यसबाट आन्तरिक पर्यटन व्यवसायको सम्भाव्यता समेत तुहिँदैछ । 

टाउकोमा खानपिनका सामग्री, १ हातमा ओछ्यान सहितका लत्ताकपडा र अर्को हातमा पाल बनाउन काम लाग्ने बाँसका डण्डी, अनि ओठमा ‘माथा पर मोटरी जय सियाराम’को स्तूति गाउँदै नेपाल र भारतका हजारौंैं मानिस मिथिलाको सांस्कृतिक धरोहर १५ दिवसीय माध्यमिकी परिक्रमा फागुनमा प्रत्येक वर्ष भर्ने गर्छन् । यसले फागुन औंसीदेखि पूर्णिमासम्म सन्तको शहरको रुपमा ख्याति कमाएको जनकपुर र यस वरिपरिको क्षेत्र उत्सवमय बन्छ ।

नेपाल–भारतको सांस्कृतिक सेतु हो माध्यमिकी मिथिला परिक्रमा । नेपालको धनुषा, महोत्तरी र भारतको उत्तरी बिहारका धार्मिक, ऐतिहासिक स्थानहरू समेट्ने ‘मिथिला परिक्रमा’ एउटा महत्त्वपूर्ण धार्मिक तीर्थस्थलको रूपमा स्थापित भएपनि पर्यटकीय गन्तव्यको रुपमा भने अझै विकसित हुन सकेको छैन । पक्की बाटो, उचित व्यवस्थापन तथा सांस्कृतिक सम्पदाको संरक्षण र अमूल्य निधिको प्रचारप्रसारको अभावमा परिक्रमा पर्यटकीय क्षेत्रको रुपमा विकसित हुन नसकेको हो ।

नेपालका १०८ तथा भारतको २७ गरी करीब १३५ किलोमिटर भूमिको पैदल यात्रा गर्ने हजारौं साधुसन्त, गृहस्थ तथा श्रद्धालु भक्तजनको सहभागिता रहने परिक्रमाका यात्रीले कच्ची सडक, नदीमा क्षतिग्रस्त पुलपुलेसा तथा बिग्रे–भत्केका बाटोको कारण बर्सेनि जोखिमपूर्ण, कष्टप्रद यात्रा गर्न बाध्य छन् । सांस्कृतिक महत्त्व बोकेको परिक्रमा सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको हो ।

सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी २ चिरामा विभक्त गरेपनि नेपाल र भारतको मैत्रीको प्रतिक मिथिला परिक्रमाको आस्थामा भने आँच आएको छैन ।

माध्यमिकी परिक्रमा सडक निर्माणबारे बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीलाई ८५ करोड लागतको प्रस्ताव पेश गरिएको थियो । सडक निर्माण भएमा धनुषा र महोत्तरीको तत्कालीन ८८ वटा गाविसको साथै भारतीय मधुवनी जिल्ला जोडिने छ र दुवै देशको सांस्कृतिक र आर्थिक विकासमा टेवा पुग्ने बताइन्छ ।

परिक्रमामा सहभागी हुन मिथिलावासीका साथै नेपालका अरू जिल्ला र भारतका विभिन्न प्रान्तबाट पनि भक्तजन आउँछन् । यो उत्सवलाई मिथिलावासीहरू खेतीपाती धान भित्र्याउने काम सकेर रमाइलो, धर्म–कर्म तथा भ्रमण गर्ने मौकाको रूपमा पनि लिन्छन् ।

यसरी मिथिला परिक्रमाको बेग्लै आर्थिक महत्त्व पनि छ, जसले कृषि पेशा र बजारलाई पनि जोड्छ । राजा जनकले हलेष्टी यज्ञ हलो जोतेको दृष्टान्तको महात्म्य । मिथिला परिक्रमाको क्रममा डोला उठ्दा वा बस्दा हरेक पटक गुञ्जिने गर्छः जयजय हो किशोरीजी ! मोटा पर मोटरी जय सीयाराम ! किशोरीजी अर्थात् मिथिलाकी छोरी – सीता (जानकी) । राजर्षि जनककी राजकुमारी भएर जनकपुरको दरबारमा हुर्केकी सीता वास्तवमा समग्र मिथिलाकै छोरी हुन् ।

राजा स्वयं किसान भएर हलो जोतेको प्रसङ्गले सीताको जन्मको महात्म्यलाई झनै महान बनाएको छ । शासकलाई माटोसँग जोड्ने यो कथामा अन्तर्निहीत अर्थ–राजनीतिको सन्देश बिर्सनेहरू बिस्तारै इतिहासका पानामा सीमित हुन्छन् । 

समयको क्रूरताबाट संस्कृति पनि अछुतो रहन्न । मिथिलाको महत्त्व स्थापित हुन नसकेको अर्को प्रमुख कारण यस क्षेत्रको अर्थ–राजनीतिको विसङ्गति पनि हो । इतिहासको एउटा कालखण्डमा मिथिला बनौलीकी छोरी नेपाल अधिराज्यकी महारानी समेत भइन् तर काठमाडौंमा राणाहरूको उदय भएदेखि नै जनकपुर क्षेत्रले शाह, राणा शासकहरूको कोप नै व्यहोर्नुपर्‍यो । मुलुकको अन्य ठाउँको तुलनामा सार्वजनिक लगानीको थोरै अंश पनि जनकपुरधामले पाउन सकेको छैन ।

यसरी भारतका लागि मिथिला क्षेत्र कहिल्यै महत्त्वपूर्ण भएन । किनभने सत्ताले संस्कृतिभन्दा शक्तिलाई बढी महत्त्व दिन्छ र जानकीको बिहेदेखि जनकपुरधामको श्री नै हरायो । नेपाल–भारत सहयोगको एउटा नयाँ आयाम हुन सक्छ यो परिक्रमा तर यो मुद्दालाई न साधु–सन्तले, न त राजनीतिकर्मीले नै द्विदेशीय साझा मञ्चमा उठाए ।

परिक्रमाको प्रारम्भ

मिथिला परिक्रमा ३ प्रकारका छन् – वृहत्, मध्य र अन्तरगृह । ‘वृहत् परिक्रमा’ तत्कालीन मिथिला राज्य अर्थात् उत्तरमा हिमालय पर्वतको फेदीबाट शुरू भएर पूर्व कोशी, दक्षिण गंगा, पश्चिम गण्डकी हुँदै शुरू भएकै ठाउँमा आएर टुंगिन्छ । यसरी मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनारा हुँदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने वृहत् परिक्रमाको चर्चा भएको पाइन्छ । हजोआज व्यस्तताको कारण साधु–सन्तबाहेक अरू मानिसहरूले वृहत् परिक्रमा गर्न छाडेका छन् ।

माध्यमिकी परिक्रमाका लागि धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका अन्तर्गत ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्नीकुण्डस्थित सुन्दर सदनबाट किशोरीजीको डोला नै परिक्रमाको मुख्य आकर्षण हो । डोलामा सीतारामको प्रतिमा राखिएको हुन्छ । जनकपुरस्थित रत्नसागर स्थानका स्व. महन्थ बाबा नारायण दासले करीब डेढ सय वर्ष पूर्वदेखि साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्म्यको निर्देशानुसार फेरि शुरूवात गरेको पाइन्छ । त्यसलाई करीब ५० वर्षपछि सीताकुण्डका महन्थ परमहंस शियालालशरणले साधुसन्तसहित बाजागाजाका साथ परिक्रमा गरेका थिए ।

परिक्रमाको महत्त्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्थ परमहंसको उल्लेखनीय योगदान मानिन्छ । माध्यमिकी परिक्रमा करीब ६० वर्षदेखि मिथिला महात्म्यको कथावाचन मुख्य पण्डित रामदुलारी शरणले गरे । उनको निधनपछि मिथिला महात्म्यको कथावाचन उनका शिष्य शिया राघव शरणले गरिरहे ।

आम मानिसहरू ‘मध्य–परिक्रमा’प्रति बढी आकर्षित छन् । सर्वप्रथम ‘मिथिला महात्म्य’मा वर्णन गरिएको मध्य–परिक्रमाको शुरूआत १८ औं शताब्दीभन्दा केही पहिले भएको हुनुपर्छ भन्ने इतिहासविद्को कथन छ । आधुनिक जनकपुरलाई पुनः चिनाउने महात्मा सुरकिशोरले परिक्रमा मार्ग पत्ता लगाएपछि सीतामढी मठका सीताप्रसाद र बराही मठका सुरदास साधुले मध्य–परिक्रमा आरम्भ गरेको बताइन्छ । बिसौं शताब्दीको प्रारम्भतिर जनकपुरधामका रामानन्दी वैष्णव साधुहरूले ५ दिनमा पूरा हुने परिक्रमालाई १५ दिने बनाए । यस कार्यमा साधु प्रेमलता, सीतामढीका साधु सिद्धबाबा र जनकपुरधामका सन्त वैदेहीशरणको भूमिका उल्लेखनीय मानिन्छ । पहिला–पहिला साधुसन्तहरूको मात्र सहभागिता रहने यस परिक्रमाले बिस्तारै सर्वसाधारणको ध्यान पनि आकृष्ट गर्‍यो, जसको फलस्वरुप अहिले यसमा गृहस्थहरू समेत सहभागी हुन थालेका छन् ।

फागुन औंसीमा शुरू भएर पूर्णिमासम्म चल्ने महोत्सवमा धनुषा, कचुरी गाउँको मिथिलाविहारी मठबाट राम–जानकीको डोला जनकपुरधामको रत्नसागर हुँदै जानकी मन्दिर पुर्‍याइन्छ । त्यहाँबाट जानकीजीको डोला र जनकपुरका अरू मन्दिरहरूबाट ल्याइएका डोलाहरू समेत समावेश गरेर परिक्रमा–यात्रा आरम्भ हुन्छ । डोलाका पछि–पछि ढोल, पिपही आदिको बादन, नर–नारीहरूको सहभागिता, भजनकीर्तन आदिले मिथिलाका मौलिक सांस्कृतिक भक्तिमय छँटाले जो कोही पनि सहजै मोहित हुन सक्छन् । यस्तै झाँकीका साथै भक्तजनको विशाल समूहले १५ दिनसम्म मिथिलाको तत्कालीन राजधानी क्षेत्रको चारैतिर रहेका धार्मिकस्थलहरूको परिक्रमा गर्दछ ।

पडावस्थलको प्रसङ्ग

नेपाल र भारत दुवै मुलुकका धार्मिक, सांस्कृतिक एवं आपसी सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा ११ तथा भारतमा ४ गरी जम्मा १५ प्रमुख स्थानमा बिश्राम (पडाव) गर्दै हिँड्छन् ।

परिक्रमा प्रारम्भको २ स्थान कल्याणनेश्वर र गिरिजास्थान भारतमा र नेपालमा महोत्तरीको मठिहानी, जलेश्वर, धुव्रकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, औरहीमा विश्राम गर्दै फेरि भारतीय क्षेत्रको करुणा र विशौल हुँदै जनकपुरधाम प्रवेश गरेर अन्तगृह घुम्ने गर्छन् परिक्रमाकर्मीले । यो धर्मयात्राबाट सतकर्म, पाप तथा अन्य कष्टबाट मूक्ति पाउनुको साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ ।

हनुमान नगर परिक्रमाको पहिलो दिन (फागुन औंसी) । जनकपुरबाट शुरू हुने यात्राको पहिलो बिसौनी हो हनुमान नगर । जनकपुरधामबाट २ किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम र जानकीका मूर्तिहरू भएको १६० वर्षअघि स्थापित मन्दिर छ । दोस्रो दिनको मेला लाग्ने कलना भन्ने गाउँ, कल्याणेश्वर भारत, उत्तर बिहारको बासोपट्टी र ऊमागांव बीचमा छ यो प्रसिद्ध स्थान । कल्याणेश्वरमा धार्मिक संकल्प धारण गर्ने गरिन्छ । भव्य पोखरी र विश्रामस्थल समेत रहेको कल्याणेश्वर मन्दिर निकै आकर्षक छ । प्रसिद्ध सिद्ध परमहंसबाबा ११० वर्ष बसेको ठाउँ पनि हो यो ।

मिथिला परिक्रमा गर्ने यात्रीहरूको तेस्रो विश्रामस्थल, गिरिजास्थान (फूलहर) पनि भारतमै पर्दछ । स्थानीय तहमा फूलहर नामले समेत चिनिने यो ठाउँ सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान रामसँग नयन जुँधेको ठाउँ हो भन्ने जनविश्वास छ । गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरू तथा कष्टहरिणी र सरसमिर नामका पोखरी भएको यो ठाउँबाट जमुनी नदी बगेको छ । 

चौथो दिन भक्तजनहरू नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पुरातात्विक महत्त्वका १२ वटा मन्दिर र ८ वटा पोखरी भएको घनाबस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँको रूपमा समेत परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय र मठहरू छन् । ५ औं दिन मिथिला परिक्रमाका यात्रीहरू जलेश्वर महादेवको दर्शन जलेश्वर पुग्छन् ।

छैठौं दिन अर्थात् पञ्चमी तिथिमा परिक्रमा यात्रा जलेश्वरबाट उत्तरतर्फ मडईमा पुग्छ । जहाँ मुनेश्वर महादेवको मन्दिर र २ वटा आकर्षक पोखरी छन् । यस दिन यहाँ लाग्ने मेलामा स्थानीयको बाक्लो भीड लाग्छ । परिक्रमाको सातौं दिन यात्रीहरूले विश्राम गर्ने ठाउँ ध्रुवकुण्डमा ध्रुवजीको मन्दिर छ । मन्दिरको नाममा रहेको १५ विग्हा जमिनको आम्दानी मेलामा खर्चिन्छ ।

कञ्चनवन यात्रीहरूको आठौं दिनको गन्तव्य कञ्चनवन हरिणिमणि र हरिपुर नजिकै पर्दछ । यहाँ सीतारामको मन्दिर छ । मिथिला–परिक्रमाको फागु पर्वसँग पनि गहिरो सम्बन्ध छ । प्रेम र भाइचारा अभिवृद्धि गर्ने सांस्कृतिक पर्व फागु यहाँ मज्जाले मनाइन्छ । हुन त मिथिलामा वसन्तपञ्चमीदेखि नै फागुको शुरूआत मानिन्छ । 

पर्वता, कञ्चनवनबाट नवौं दिनको यात्रा शुरू गर्ने भक्तजनहरू बीचमा पर्ने क्षीरेश्वर महादेवको दर्शन एवं जलादी नदीमा स्नान गरेर बास बस्न पर्वता पुग्छन् । ढल्केबरबाट जनकपुर जाने बाटोमा पर्ने पर्वतामा हनुमानको मन्दिर छ ।
दशौं दिन परिक्रमा यात्रीहरू धनुषाधाम पुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान रामले भाँचेको धनुषको एउटा टुक्रो खसेको विश्वास गरिएको यो ठाउँ धनुष दर्शनको लागि प्रख्यात छ । ११ औं दिन यात्रीहरू सतोषर पुग्छन् ।

राममन्दिर र पोखरी रहेको यस ठाउँमा असार–साउनतिर हुने बोलबम र झुला पर्व पनि राम्रोसँग मनाइन्छ । १२ औं दिन यात्रुहरू औरही पुग्छन् ।  १३ औं दिन परिक्रमा यात्रा फेरि भारत भूमि प्रवेश गर्दछ र यात्रीहरू करुणामा पुगेर विश्राम गर्दछन् । रामजानकीको मन्दिर रहेको यस ठाउँमा करुणा नामकै पोखरी छ ।

भारतकै विशौल परिक्रमा यात्रीहरूको १४ औं दिनको गन्तव्य हो । यहाँ विश्वामित्रको मन्दिर छ र कमला नदी यहीँबाट बग्दछ । परिक्रमा यात्राको अन्तिम १५ औं दिन (फागुन पूर्णिमा) सहभागी भक्तजनहरू जनकपुरधाम आइपुग्छन् र यहाँका विभिन्न तीर्थस्थलको दर्शन गर्दै अन्तरगृही परिक्रमामा सहभागी हुन्छन् । यहीँबाट मिथिला–मध्य परिक्रमाको विसर्जन हुन्छ । जसमा राजा जनकले आफ्नो राजधानीको ४ कुनामा स्थापना गरेका ४ वटा महादेव–पीठ पूर्वको कल्यानेश्वर (हाल भारतमा), दक्षिणको जलेश्वरनाथ (जलेश्वर, महोत्तरी), पश्चिमको क्षीरेश्वरनाथ (महेन्द्रनगर, धनुषा) र उत्तरको सतोखर (धनुषा) पर्दछन् । अन्तिम अर्थात् १५ औं दिन फेरि जनकपुर आइपुगेर जनकपुरको ५ कोस दूरीको परिक्रमा गरेपछि यात्रा सम्पन्न हुन्छ, जसलाई अन्तरगृही अथवा पञ्चकोशी परिक्रमा भनिन्छ । 

सर्वाधिक मानिसले १५ दिनमा, त्यसभन्दा कम ५ दिनमा र २४ घण्टामा समेत परिक्रमा घुम्ने गर्छन् । परिक्रमाका सहभागीका लागि गाउँ–गाउँमा श्रद्धालुहरूले खानपिनका साथै सेवा–सत्कारको व्यवस्था गरेका हुन्छन् । यसमा सहभागी भक्तजनले आफ्नो भूमिका निर्वाह गर्ने धार्मिक मूल्यमान्यता पनि हुन्छ । भारत र नेपालका तीनै तहका सरकारले एकीकृत परिक्रमा सम्बन्धी वृहत् प्याकेज ल्याउनु नै आजको आवश्यकता हो ।

यसरी परिक्रमाको आध्यात्मिक पक्ष सायद सुखको क्षणिकता प्रदर्शन गर्नु पनि हो । सृष्टिमा समाहित नभएसम्म तृष्णा हो सुख, माया हो मिलन र बिछोड एवं यात्रा हो यो जीवन । यो चलिरहन्छ, मिथिला परिक्रमाको प्रचलन जस्तै । परिक्रमा भन्नु नै यात्रा आफैंमा एउटा गन्तव्य हो भन्ने कुरा स्वीकार गर्नु हो र त भक्तको मनोकामना पूरा हुने व्यापक जनविश्वासले अझै पनि हजारौं श्रद्धालुलाई जनकपुरधामले आकर्षित गर्छ ।

नित्यानन्द मण्डल
नित्यानन्द मण्डल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्