लकडाउनसँगै मिर्गौलाका चार हजार ६ सय बिरामी समस्यामा  : बिरामी अस्पताल पुग्नै सकस, पुगे पनि आधा मात्र डायलाइसिस

राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रित छ । देश लकडाउन छ, सर्वसाधारण घरघरमा ‘सेल्फ क्वारेन्टाइन’मा छन् । यो विषम परिस्थितिमा मिर्गौलाका बिरामी भने उपचार नपाएर छटपटाउन थालेका छन् । 

कैलाली : कञ्चनपुर महाकाली अस्पतालमा डायलाइसिस सुविधा छैन । यहाँका बिरामी सीमापार भारत गएर सेवा लिँदै आएका थिए । तर, सीमा लकडाउन भएपछि उनीहरू धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा धाउन थालेका छन् । तर, बिरामीको चाप धान्न नसकेपछि अस्पतालले फेरि नआउनू भनेर बिदा गर्न थालेको छ ।
मिर्गौला डायलाइसिस गरेर बाँचिरहेका बिरामीको नियमित उपचार देश लकडाउनसँगै रोकिएको छ । सातामा दुईपटक डायलाइसिस गराउनुपर्ने उनीहरूको जीवन नै जोखिममा परेको छ । सार्वजनिक गाडी नचल्दा घरदेखि टाढा अस्पताल पुग्न सकेका छैनन् । पैसा खर्च गरेर एम्बुलेन्समा जान विपन्न रोगी असमर्थ छन् । कतै अस्पतालमै पर्याप्त उपकरण अभाव हुँदा डायलाइसिसमा समस्या छ । तर, प्रधानमन्त्री नै मिर्गौलारोगी भएको सरकारले यो संकटमा तमाम मिर्गौलारोगीको समस्यामाथि नजर पुर्‍याएको छैन । 


Advertisement

कञ्चनपुरको महाकाली अस्पतालमा डायलाइसिसको सुविधा छैन । यहाँका बिरामी भारत या धनगढीस्थित सेती अस्पताल धाउनुपर्छ । तर, अहिले नेपाल–भारत दुवै देश लकडाउन हुँदा कञ्चनपुरका बिरामीले सास्ती खेप्नुपरेको छ । 

वेदकोट नगरपालिका–१० दैजीका राजकुमार रानाले ६ दिनदेखि डायलाइसिस गराउन पाएका छैनन् । ६ महिनादेखि भारतको बरेलीस्थित साई अस्पतालमा डायलाइसिस गराउँदै आएका उनी अहिले लकडाउनले त्यहाँ जान असमर्थ छन् । बिहीबार उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आएका थिए । तर, पालो नपाएर डायलाइसिस भएन । ‘सातामा दुईपटक गर्नुपर्ने, तर नगरेको ६ दिन भइसक्यो,’ राजकुमारले भने, ‘भारत जान सम्भव छैन, यहाँ आएको पालो पाइएन । भोलिसम्म पर्खिन भनेका छन्, तर पाइन्छ कि पाइँदैन के थाहा ? शरीरमा पानी भरिएर समस्या परिसक्यो ।’ 


Advertisement

दुवै मिर्गौलाले काम गर्न छाडेपछि बिरामी परेकी भीमदत्त नगरपालिका–१८ जानकी टोलकी ६१ वर्षीया वृद्धा हीरादेवी बोहराले पनि नौ वर्षदेखि भारतको भोजिपुरास्थित राममूर्ति अस्पतालमा डायलाइसिस गर्दै आएकी थिइन् । तर, सीमा बन्द भएपछि डायलाइसिस गर्न पाएकी छैनन् । ‘डायलाइसिस गर्न आमालाई मंगलबार एम्बुलेन्समा लैजाँदै थिएँ । तर, वनबासाबाटै भारतीय प्रहरीले फर्काइदियो,’ छोरा जगदीश बोहराले भने । दिउँसो २ बजे वनबासा पुल पुगेका उनीहरूलाई भारतीय प्रहरीले साँझ ७ बजेसम्म रोकेर अस्पताल जान नदिएपछि घर फर्किएका थिए । हीरादेवकीका श्रीमान् अमरसिंह बोहरा भारतीय सेनाका पूर्वकर्मचारी भएकाले त्यहाँ सातामा दुईपटक उनको निःशुल्क डायलाइसिस हुन्थ्यो ।

त्यसपछि बुधबार जगदीशले आमालाई धनगढी सेती अस्पताल लगे । नियमित डायलाइसिस गर्ने एक बिरामी नआएपछि हीरादेवीले मौका पाइन् । तर, चिकित्सकले अर्कोपटक नल्याउनु भनेपछि बोहरा परिवार चिन्तामा छ । ‘सेती अस्पतालमा एकजना बिरामी नआएपछि एकपटक आमाको डायलाइसिस भयो, तर अर्कोपटक नआउनु भनेको छ,’ जगदीशले भने, ‘भारतमा जान दिँदैन, नेपालमा नल्याउनु भनेको छ । अब आमालाई कहाँ लगेर उपचार गरूँ ?’ 

भीमदत्त नगरपालिका–१८ बागवाणीकी ३५ वर्षीया सोनु सिनालको पनि दुवै मिर्गौलाले काम गर्दैन । चार वर्षदेखि भारतको खटिमास्थित तपन अस्पतालमा डायलाइसिस गर्दै आएकी उनलाई पनि लकडाउनले संकट परेको छ । बुधबार महेन्द्रनगरबाट एम्बुलेन्समा खटिमातर्फ गएकी सोनुलाई पनि भारतीय प्रहरीले बनबासाबाट बढ्न दिएन । उनले बिहीबार सेती अस्पतालमै डायलाइसिस गराइन् । तर, उनलाई पनि अर्कोपटक नआउनु भनेर पठाएको छ । ‘अस्पतालले अब नआउनु भनेको छ,’ ‘सोनुका श्रीमान धीरेन्द्र सिनालले भने, ‘अस्पतालबाट अब नआउनु भनेको विषय सीधै तँ मर भनेको हो । समयमै डायलाइसिस नभएपछि दुई–चार दिनमै बिरामीलाई तलमाथि हुन्छ । यस्ता संवेदनशील बिरामीको विशेष उपचारको प्रबन्ध गरिनुपर्छ ।’ 

सुदूरपश्चिममा झन्डै एक सयको हाराहारीमा मिर्गाैलाका बिरामी छन् । ५० देखि ६० जना सेतीमा डायलाइसिस गर्छन् । बाँकी भारतीय अस्पताल जाने गरेका छन् ।दाङको अवस्था पनि जटिल छ । कोरोना संक्रमणबाट जोगिन व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नभएको भन्दै स्वास्थ्यकर्मी मिर्गौला डायलाइसिस गर्न पनि डराएका छन् । 

घोराही–१० का भरतमणि खनाल सधैँझैँ मंगलबार घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित डायलाइसिसका लागि पुगेका थिए । तर, कोरोनाका कारण अप्ठ्यारोमा परेको भन्दै स्वास्थ्यकर्मीले सेवा नै बन्द हुन सक्ने बताएपछि उनी झस्किए । ‘स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्ने सामग्री उपलब्ध गराइएको रहेनछ । उहाँहरू डराउनुभएको छ,’ खनालले भने, ‘यस्तै अवस्था रहे सेवा बन्द गर्नुपर्ने अवस्था रहेको सुनाउनुभयो । त्यस्तो भयो भने हामी मिर्गौलारोगी के गर्ने ?’

डायलाइसिस सेन्टर प्रमुख शेरबहादुर चौधरीले पनि सेवा बन्द गर्नुपर्ने हुन सक्ने बताए । ‘स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र मास्क छैनन् । नेपालगन्जमै थन्किएका छन् । डायलाइसिसका लागि चाहिने अन्य स्वास्थ्य सामग्री पनि १० दिनलाई पुग्ने मात्रै छ,’ उनले भने, ‘अहिलेसम्म त सेवा दिएकै छौँ, आफैँ असुरक्षित भएर त कसरी काम गर्न सकिएला र ?’

दाङमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र लमहीस्थित सामुदायिक डायलाइसिस सेन्टरमा पनि डायलाइसिस सेवा सञ्चालनमा छ । तीन स्वास्थ्य संस्थामा गरी ६१ बिरामीले डायलाइसिस गराउँदै आएका छन् । तर, यहाँ पनि टाढा–टाढाका बिरामीलाई अस्पताल आइपुग्न समस्या परेको छ । ऋण काढेर एम्बुलेन्समा आउन बाध्य भएका छन् । 

‘मोटरसाइकलमा जाउँला भनेको थिएँ । पुलिसले हिजो खोसिदिए । पैसा नभएको वेलामा ऋण काढेर एम्बुलेन्स भाडा जुटाएँ,’ राप्ती गाउँपालिका–५ की दिलमाया पुनले भनिन् ‘हप्तामा दुईपटक डायलाइसिस गर्नुपर्छ ।’ उनले सामुदायिक डायलाइसिस सेन्टर लमहीमा डायलाइसिस गराउँदै आएकी छिन् । 

सेन्टरका डा. गणेश चापागाईंले बिरामीलाई दुःख भएजस्तै स्वास्थ्यकर्मीलाई पनि डर भएको बताए । ‘बिरामी आइरहनुभएको छ । हामीले सेवा दिइरहेका छौँ । तर, स्वास्थ्यकर्मीलाई जोखिम छ, औपाधिजन्य सामग्री पनि अभाव छ,’ उनले भने, ‘सेन्टरमा डायलाइसिसका लागि अत्यावश्यक हेपपाडिन (रगत पातलो बनाउने औषधि) अभाव छ । अब एक हप्तालाई पनि पुग्दैन । केही सामान बुटवलमा प्याकिङ अवस्थामा छ, तर ल्याउन सकिएको छैन ।’

सिराहा लहानका २४ वर्षीय जसिलाल दासले डायलाइसिस गर्न गाउँ छिमेकबाट ६ हजार चन्दा उठाए । तर, मोरङको बुढीगञ्जास्थित विराट मेडिकल कलेज पुग्न एम्बुलेन्सलाई तिर्ने पैसा भएन । मिर्गौला समस्याले शरीर सुन्निएर कमजोर बनेका उनी बुधबार अन्ततः मोटरसाइकलको पछाडि बसेर दाइसँग अस्पताल गए । 

हरेक आइतबार, बुधबार र शुक्रबार डायलाइसिस गर्नुपर्ने भए पनि लकडाउनका कारण लैजान समस्या भएको दाइ कृष्णकुमार दासले बताए । ‘आफ्नो जमिन छैन, मजदुरी गरेर जीविका चलाउँछौँ,’ उनले भने, ‘सातामा तीन दिन डायलाइसिस गर्नुपर्ने हो, दुई दिन मात्रै गर्न पनि नसक्ने अवस्था छ ।’ लकडाउनका कारण मजदुरीको कामसमेत नपाएकाले भाइको नियमित डायलाइसिसका लागि गाउँ–छिमेकमा चन्दा उठाउन बाध्य भएको उनले बताए ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरका रणबहादुर हमाल जिल्ला अस्पतालमा डायलाइसिस सेवा नभएकाले बाग्लुङ अस्पताल पुग्छन् । गत मंगलबार उनको नियमित डायलाइसिसको पालो थियो । तर, सोमबार नै लकडाउन भएकाले समस्या पर्‍यो । सहयोग मागेर आफन्तको मोटरसाइकलमा अस्पताल हिँडे । तर, बाटोमा प्रहरीले दिएको दुःखले उनलाई चिन्तित बनाएको छ । 

‘सार्वजनिक बस बन्द भए । एम्बुलेन्समा जाऊँ भने खर्च थिएन । आफन्तसँग सहयोग मागेर मोटरसाइकलमा गएँ, तर बाटोमा प्रहरीले लकडाउनमा किन हिँडेको भन्दै दुःख दिए । समस्या सुनाउँदा पनि सुनेनन्,’ हामलले नयाँ पत्रिकासँग भने, ‘अब फेरि जानुपर्ने दिन आउन लागिसक्यो, कसरी जाने ?’ 

पर्वतकै फलेबास नगरपालिका–२ देवीस्थानका ६१ वर्षीय विष्णु सुनार त डायलाइसिसका लागि पोखरामै डेरा खोजेर बस्न बाध्य भएका छन् । ‘घरबाटै आउने–जाने गर्नुहुन्थ्यो,’ छोरा मीनबहादुर सुनारले भने, ‘पोखरा गएको वेला लकडाउन भएपछि डायलाइसिसका लागि यतै डेरा खोजेर बस्न बाध्य भइयो ।’ उनले लकडाउनका कारण रगत अभाव भएको भन्दै अस्पतालले इन्जेक्सनबाट रगत बढाउने औषधि दिइरहेको गुनासो पनि गरे । 

फलेबास–१० कुर्घाका त्रिलोचन शर्मा पनि डायलाइसिसका लागि पोखरामा डेरा खोजेर बसेका छन् । उनको परिवारमा तीन सदस्य मिर्गौलापीडित छन् । लकडाउन हुने भनेपछि उनीहरू पहिल्यै पोखरामा आएर बसेका हुन् । कुश्मा नगरपालिका–३ दुर्लुङकी अमृता शर्माले पनि डायलाइसिसमा समस्या भइरहेको बताइन् । 

गण्डकी प्रदेश सरकारको सहयोगमा पर्वत जिल्ला अस्पतालले डयलाइसिस सेवा सञ्चालनको तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको छ । उपकरणसमेत तयार रहे पनि तत्काल सञ्चालन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । अस्पतालले अहिले जिल्लामा मिर्गौलापीडितको तथ्यांक संकलन गरिरहेको उनले बताए । 

झापामा डायलाइसिस गर्ने अस्पतालमा अत्यावश्यक औषधि अभाव हुँदा सेवा नै रोकिने अवस्था निम्तिएको छ । झापामा बिर्तामोडस्थित बी एण्ड सी र बिर्ता सिटी अस्पताल तथा भद्रपुरस्थित मेची अस्पताल र ओमसाई पाथीभरा अस्पतालमा डायलाइसिस हुन्छ । बी एण्ड सीबाहेकले सरकारी कार्यक्रमअन्तर्गत सेवा दिँदै आएका छन् । लकडाउनका कारण यी अस्पतालमा डायलाइसिसका लागि चाहिने एबिफ्लुड, हेपारिन इन्जेक्सन, डायलाइजर र बिटिएसजस्ता औषधि र औषधिजन्य सामग्री अभाव हुन थालेका छन् । 

बिर्ता सिटी अस्पतालले बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र नै लेखेर डायलाइसिसका सामग्री अभाव भएको जानकारी गराएको छ । जिल्लाका सबै अस्पतालमा ५३ भन्दा बढीले डायलाइसिस गराउँदै आएकोमा बिर्तामा मात्रै २० जना छन् । ‘एकैपटक बन्द हुँदा नराम्रो सन्देश जान्छ, त्यसैले नियमित डायलाइसिस रोकेर शुक्रबारदेखि आकस्मिक मात्रै गर्ने कि भन्ने सल्लाह पनि भइरहेको छ,’ अस्पताल निर्देशक अनिल बस्नेतले बताए । 

१० जनाको डायलाइसिस गर्दै आएको मेची अस्पतालमा रगत सफा गर्ने एबिफ्लुड आइतबारसम्मका लागि मात्रै भएको मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बताए । यो अवस्थामा सेवा रोकिने उनको भनाइ छ । दैनिक दुई–तीनजनाको डायलाइसिस हुने बी एण्ड सी अस्पतालले अब एक सातासम्म मात्रै सेवा दिन सक्ने अवस्था रहेको जनाएको छ । थप सामग्री ल्याउन नसके बन्द गर्नुपर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिस गिरीले बताए । 

जिल्लाका मिर्गौलारोगीलाई अस्पताल पुग्ने समस्या त छँदै छ । दमक–४ का भेषबहादुर बुढाथोकीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गर्न थालेको एक महिना भयो । विराटनगरस्थित नेसनल किड्नी सेन्टरमा डायलाइसिस गर्दै आएका छन् । प्रत्येक सोमबार र बिहीबार डायलाइसिस गर्नैपर्छ । तर, लकडाउनमा उनलाई विराटनगर पुग्न महाभारत छ । ‘सरकारले घरबाहिर ननिस्किनू भनेको छ, तर आफूलाई नगई हुन्न,’ उनले भने, ‘बिहीबार त बल्लतल्ल आएँ, अब सोमबार कसरी जाने?’

लामो समयदेखि मिर्गौलाको उपचारमा लाखौँ सिध्याएका उनले अहिले डायलाइसिस खर्च पु¥याउनसमेत मुस्किल परिरहेको बताए । लकडाउनमा यातायात खर्च बढ्दा झन् समस्या परेको सुनाए । ‘पहिला त बसमै आउजाउ गरिन्थ्यो, पाँच सयले पुग्थ्यो,’ बुढाथोकीले भने, ‘अहिले एम्बुलेन्स नै रिजर्भ गर्नुपर्छ । एकपटकमा चार हजार लिँदोरहेछ । हप्तामा आठ हजार कहाँबाट ल्याउने ?’ 

मेचीनगर–१० धुलाबारीका पुराना पत्रकार अमृतलाल श्रेष्ठले पनि करिब तीन वर्षदेखि डायलाइसिस गर्दै आएका छन् । लकडाउनको पहिलो दिन मंगलबार रिक्सा चढेर सजिलै अस्पताल पुगे पनि अब शुक्रबार कसरी जाने भन्ने तनावमा छन् । ‘जान त जसोतसो गइएला । तर, मलाई त ब्लड पनि चाहिन्छ, पाइन्छ कि पाइँदैन थाहा छैन । नियमित गर्दै आएको बिरामीलाई डाक्टरले गरिदेलान् नि त !’

मोरङमा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन नियमित भए पनि बिरामीको आउजाउ खर्च बढेको र औषधिसमेत अभाव हुने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन् । विराटनगरस्थित कोसी अस्पतालका डा. रोशन खड्काले भने, ‘औषधि पसलेहरूले सीमित परिमाणमा मात्रै औषधि राखेका हुन्छन्, यस्तै अवस्था रहे अभाव नहोला भन्न सकिँदैन ।’ 

विराटनगरकै नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले ल्याबमा केमिकल अभाव हुन थालेको बताए । केमिकल अभाव भए सेवा सञ्चालनमा समस्या आउने उनको भनाइ छ । 

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस गराउने बिरामी बढेका छन् । विगतमा २० जनाजति बिरामी आउने गरेकोमा केही दिनयता ३० सम्म पुगेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्माले बताए । नियमितबाहेक ५–७ बिरामी इमर्जेन्सी सेवामार्फत आइरहेको उनले बताए । विगतमा धरानबाट विराटनगरतिर सेवा लिन गएकाहरू अहिले लकडाउनका कारण प्रतिष्ठानमा आइरहेको अस्पतालका निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए । 

आठ डायलाइसिस मेसिन रहेको प्रतिष्ठानले तीनवटा कोरोना संक्रमितका लागि छुट्याएर राखेको छ । पाँच मेसिनले डायलाइसिस गर्दा बिरामीले दिनभर पालो कुर्नुपर्ने अवस्था छ । तर, छिट्टै २० वटा नयाँ मेसिन थप्ने तयारी गरिरहेको अस्पतालले जनाएको छ । पालो कुर्न गाह्रो भएपछि इटहरी–२० का ओम कोइरालाले घरमै डायलाइसिस गर्ने व्यवस्था गरेका छन् । 

तनहुँको दमौलीस्थित शत्रुघ्न मञ्जु डायलाइसिस युनिटमा डायलाइसिसका लागि आउने बिरामीको पनि उस्तै दुःख छ । भीमादबाट आएका राजु गुरुङले भने, ‘एम्बुलेन्स पाइएन, मोटरसाइकल लिएर आउँदा ५–६ ठाउँमा चेकजाँच हुन्छ । त्यहाँ झरेर मिर्गौलाको बिरामी हुँ, डायलाइसिस गर्न जान लागेको भन्दै बिन्ती गर्नुपर्छ । डायलाइसिस बुक देखाउँदा पनि छाड्न गाह्रो मान्नुहुन्छ ।’

यहाँ गोरखा, लमजुङका बिरामीसमेत आउँछन् । तर, लकडाउनका कारण नियमित बिरामी पनि आउन छाडेका छन् । बुधबार लमजुङबाट आउनुपर्ने बिरामी नआएको युनिटका कर्मचारीले बताए । 

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मेसिन बिग्रिएपछि बिरामीहरू डायलाइसिस गर्नबाट वञ्चित भएका छन् । चार मेसिनमध्ये दुईवटा बिग्रिएका छन् । सञ्चालनमा रहेको एउटाले पनि कहिलेकाहीँ काम गर्दैन । अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले हाल १३ जनाले नियमित डायलाइसिस गरिरहेकोमा १७ बिरामी पालो कुरिरहेको बताए । 

प्राविधिक बोलाउँदा पनि नआएपछि मेसिन बनाउन नसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘तिहारअघि नै प्राविधिक बोलाएको हो । तर, आज आउँछु, भोलि आउँछु भन्दै आठ महिना बित्यो, आएका छैनन्,’ उनले भने । 

रूपन्देहीको भैरहवामा रानीगाउँस्थित युनिभर्सल मेडिकल कलेज र सिटी अस्पतालले डायलाइसिस सेवा दिइरहेका छन् । तर, आवश्यक स्वास्थ्य सामग्री दुई–तीन दिनका लागि मात्रै रहेको अस्पतालले जनाएका छन् । 

‘अहिलेसम्म त जसोतसो चलिरहेको छ, तीन–चार दिनपछि गाह्रो हुन्छ,’ युनिभर्सल मेडिकल कलेजका फाइनान्स अफिसर कमल ढकालले भने, ‘आवश्यक मेडिसिनको स्टक केही दिनलाई मात्रै छ , सकिएपछि समस्या पर्छ ।’ यहाँ सय बिरामीले सेवा लिइरहेका छन् ।

त्यस्तै २० बिरामीले डायलाइसिस गर्दै आएको सिटी अस्पतालले पनि औषधिमा समस्या पर्न सक्ने जनाएको छ । ‘डायलाइसिसमा धेरै औषधिको मिश्रण हुन्छ, कुनै एक औषधि सकिनेबित्तिकै समस्या पर्छ,’ प्रबन्ध–निर्देशक अर्जुन पौडेलले बताए । 

धनुषामा जनकपुरका प्रादेशिक अस्पताल र जानकी हेल्थ एण्ड शिक्षण अस्पतालले डायलाइसिस सेवा दिँदै आएका छन् । तर, आवश्यक केमिकल अभाव हुँदा समस्या देखिएको अस्पतालले जनाएका छन् । 

‘पहिलादेखि नै सप्लायर कम्पनीले मागअनुसारको सामान आपूर्ति गरेनन् । लकडाउन भएपछि झन् सप्लाई कम छ,’ प्रादेशिक अस्पतालका मिर्गौला विभाग प्रमुख डा. कुलदीप पण्डितले भने, ‘तीन–चार दिनअघि ४९ कार्टुन मात्रै आएको छ । एउटा कार्टुनमा तीन जार हुन्छ । एउटा बिरामीलाई एकैपटक एक जार खर्च हुन्छ ।’ नियमित १५ देखि १७ बिरामीले डायलाइसिस गरिरहेको उनले बताए । 

जानकी हेल्थमा पनि केमिकल नै अभाव छ । ‘१५ दिनअघि नै कम्तीमा सय जार केमिकल माग गरिएको हो, तर एक साताअघि ५० जार मात्रै ल्याइदिएको छ,’ डा. रमण मिश्राले भने । नयाँ पत्रिकामा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्