तातोपानी नाकाबाट भित्रियो स्वास्थ्य सामग्री

फाइल फोटो

तीन महिनादेखि बन्द तातोपानी नाकाबाट कोभिड –१९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

चीनको खासाबाट बुधबार अपराह्न नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । 


Advertisement

चीनको हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिममा शुरू भएको नोबेल कोरोना भाइरस संक्रमण भएपछि गत माघ १३ गतेदेखि उक्त नाका बन्द भएको थियो ।

माघ १५ गते नाकामा स्वास्थ्य सहायता कक्ष राखिएपनि भरपर्दो नभएको भनी जनगुनासो बढेपछि भोटेकोशी गाउँपालिकाले विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त सामान उपलब्ध गराएको थियो ।


Advertisement

हाल एक चिकित्सकसहित तीन स्वास्थ्यकर्मी रहने गरी कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

ती सामान पहिले नै चीनको खासामा आएर रोकिएको थियो ।

अत्यावश्यक सामान विशेष सतर्कता अपनाई चीनबाट झिकाउन पाउनुपर्छ भन्ने मान्यता राखी सबै पक्षसँग समन्वय गरिएकाले अन्य सामान पनि आयात हुने अध्यक्ष पौडेलले बताए ।

झिकाइएका सामान र भन्सार क्षेत्रमा कीटनाशक औषधि छर्कनुका साथै संक्रमणबाट जोगिन विशेष सतर्कता अपनाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्