फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
महात्मा गान्धीमा आधारित नाटक मोहनदास करमचन्द गान्धीका लेखक टर्कीका प्रख्यात साहित्यकार मेहमत मुरात इल्दानको एउटा उक्तिबाट प्रसङ्ग शुरू गर्नु वाञ्छनीय छ । विकृत प्रजातन्त्र र त्यसले उत्पन्न गराउने अप्रजातान्त्रिक प्रवृत्तिप्रति तिखो व्यंग्यसहित उनी भन्छन् – कुनै प्रजातान्त्रिक देशमा खराब सरकार गठन भयो भने त्यसको एउटा राम्रो पक्ष पनि छ, जसले उक्त देशमा कति खराब नागरिक छन् भनेर देखाइदिन्छ ।
मुलुकमा अहिले देखिएको बेमौसमी र असामयिक राजनीतिक धृष्टताले इल्दानको भनाइलाई चरितार्थ मात्र गरेको छैन, हाम्रो मनोसामाजिक चेतना र चरित्रलाई पनि उदाङ्गो बनाइदिएको छ । हुन त हामीमध्ये कतिलाई आफ्ना बुझाइ र विश्वासमा भरोसा हुन्छ । आफ्नो धारणा नै अन्तिम सत्य पनि लाग्नसक्छ । आफ्नो चेतना उच्चतम लाग्छ र अरुको कमजोर ।
तर मुलुकमा झण्डै ७ दशकको निरन्तर संघर्ष, क्रान्ति, आन्दोलन, जागरण र परिवर्तनपछि प्राप्त प्रजातन्त्रको उपभोग गर्ने सन्दर्भमा भने हाम्रो चेतना उच्चतम रहेनछ, बरु कमजोर धरातलको रहेछ भन्ने देखिएको छ ।
नेपाली जनताले नागरिकका आधारभूत अधिकार प्राप्तिको संघर्षबाट प्रजातन्त्र मात्र होइन, त्योभन्दा आधुनिक र अद्यावधिक भनिएका लोकतन्त्र र गणतन्त्र समेत प्राप्त गरिसकेका छन् । नेपाली जनताको परिवर्तनप्रतिको आकांक्षा, विद्र्रोही चेत र संघर्षले उन्नत राजनीतिक व्यवस्था प्राप्त गरेपनि टर्किस विद्वान इल्दानले भनेजस्तो हामीले चुनेका सरकारहरू किन खराब निक्लिएका छन् त ? के खराब सरकार चुन्ने जनताले चाहिँ यसको जिम्मेवारी लिन पर्दैन ? यो लेखको मूल उद्देश्य नै हामीमा रहेको प्रजातन्त्र उपभोग गर्ने क्षमतामाथि प्रश्न उठाउनु हो र मलाई विश्वास छ, समाजको चेतनामाथि नै सार्वजनिक प्रश्न उठाउने अधिकार पनि मलाई यही प्रजातन्त्रले दिएको हो ।
नेपालको इतिहासमा पहिलोपटक झण्डै दुईतिहाइ बहुमतको स्थायी सरकार पाएका नेपाली जनताले विगतका असमानता, अभाव, सामन्तवाद, सामाजिक विभेद र गरीबीलाई बिस्तारै भुलाउँदै सुन्दर भविष्य र सपनाका फूलहरू फक्राउन थालेको सत्य हो । आफ्नो बाँकी जीवन र सन्ततीको जीवन गुणस्तरीय हुने र बिस्तारै मुलुक आर्थिक समृद्धि र खुशीतर्फ जाने गहिरो विश्वास जनाए । पछिल्ला राजनीतिक संघर्षको नेतृत्व गरेकामध्ये एक नेपाल कम्युनिस्ट पार्टीप्रति जनताले निर्वाचनमार्फत विश्वासको मत दिएर पठाए । प्रजातन्त्रको विधि र पद्धतिबाट फराकिलो बहुमतसहित तत्कालीन एमाले र माओवादी मिश्रित नेकपाले सरकार सञ्चालनको म्याण्डेट पायो । यी सबै संविधान अनुरुप नै विकास भएका गतिविधि हुन् ।
अब प्रश्न त निर्वाचनको घोडा चढेर आएको शासकको अधिनायकवादतर्फको यात्रामा उठेको छ । यति उन्नत प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित शासक कसरी खराब बन्यो । यत्रा जनताले उप्रति देखाएको विश्वास र जाहेर गरेको मतको अपमान गर्दै कसरी स्वच्छन्द र अप्रजातान्त्रिक कदम चालिरहेको छ । भनिन्छ, प्रजातान्त्रिक र निर्वाचनमा आधारित नेतृत्व हुने समाजमा नागरिकमा रहेको चरित्र नेतामा प्रतिबिम्बित हुन्छ । आफ्नो चेतना, क्षमता र योग्यताका आधारमा नै मानिसले आफ्नो विधायक चुन्छ । जसले गर्दा अधिकांश नागरिकको चेतना र चरित्रसँग मेल खाने नेता सो समाजमा स्थापित हुन्छ ।
यतिबेलाको समयमा हामीले विश्लेषण गर्नुपर्ने तथ्य के हो भने अहिले हामीमाथि शासन गरिरहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुरहरू नै हाम्रो चरित्र र चेतनाका प्रतिबिम्ब र प्रतिनिधि हुन् ।
विश्वमा व्याप्त कोरोना भाइरस महामारीसँग लड्न अधिक विकसित मुलुकलाई समेत हम्मेहम्मे परेका बेला हामीजस्तो कम विकसित मुलुकका शासक दिग्भ्रमित भएर राजनीतिको अराजनीतिक, अनैतिक र असामयिक धन्धामा व्यस्त छन् । म पछिल्ला राजनीतिक गतिविधिको विषयमा भन्दा यस्तो परिस्थिति कसरी निर्माण हुन्छ भन्ने विषयमा केन्द्रित छु । यसबेला हामीले हाम्रो राजनीतिक नेतृत्व र त्यहाँ आसिन केही व्यक्तिलाई मात्र दोषारोपण गर्ने र सामाजिक सञ्जालमा तछाँडमछाँड गर्दै आलोचना गर्नुले हाम्रो प्रणाली र त्यसको सञ्चालनका क्रममा भएका त्रुटि र कमजोरी सुधार हुन्छ भन्ने मलाई लाग्दैन ।
यहाँ एउटा प्रसङ्गमा ओशोलाई साभार गर्न मन लाग्यो । उनका अनुसार राजनीतिक कार्यकर्ताबाहेक आममानिस प्रायः तुरुन्तै आफैले चुनेको सत्ताको पनि प्रतिपक्षी भइहाल्छन् । यो एउटा अजीव प्रकारको मनोविज्ञान मान्छेमा हुने ओशोको दाबी छ र यस्तै मानिस राजनीतिक आरो–हअवरोह हेर्न रुचाउँछन् र त्यसमा रमाउँछन् । जनताको यही मनोविज्ञान बुझेकाले नेताहरूको पद र सत्तामा पुग्दासाथ स्वच्छन्दतावादी चरित्र देखिन थाल्छ । सीमित अवधिका लागि प्राप्त जनमतलाई उसले स्थायी सम्पत्ति ठान्छ र अधिनायकवादी दिशातर्फ उन्मुख हुन्छ । नेपालमा अहिले अधिनायकवाद र निरंकुश शैली अभ्यासको तयारी भइरहेको छ तर आममानिस र कथित बुद्धिजीवी यी घटनाक्रमबाट खुशी र उद्देलित देखिन्छन् । उनीहरू जस्तोसुकै भएपनि परिवर्तित राजनीतिक घटनाक्रमको अपेक्षा गरिरहेका छन् । सायद उनीहरूलाई खाली फेसबूक र ट्विटरमा नयाँ–नयाँ र रोचक फण्डा चाहिएको छ । जसले धेरैको ध्यानाकर्षण गराओस् र क्षणिक रमाइलो होस् । उनीहरूलाई यस्ता गतिविधिले हाम्रो प्रजातन्त्र र त्यसको उपभोगमा आलोचनात्मक चेतका साथ सतर्क बन्नेभन्दा पनि रमिते बन्न लालायित गराएको छ । सायद ओशोले भनेजस्तै जनताको यस्तै चरित्रका कारण अधिनायकवादी सोच भएका नेताहरूलाई सहयोग पुगेको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनका अनुसार अधिनायकवाद तर्फको यात्रा सत्यहरूको विनाशबाट शुरू हुन्छ । नेपालमा देखिएको दुईतिहाइ बहुमतको सरकार सञ्चालन गर्ने केपी ओलीहरूको गतिविधि पनि सत्यहरूको विनाश गर्ने तहमा पुगेको मलाई अनुभूत भएको छ । उनीहरू आफैंले संस्थागत गरेका प्रजातान्त्रिक मूल्यमान्यता र संविधानका भावनालाई विनाश गर्नमा व्यस्त देखिन्छन् । जनमतको प्रतिनिधित्व गरी देशमा सुशासन र समृद्धि ल्याउने प्रयासभन्दा पनि आफ्ना सीमित महत्त्वकांक्षा पूरा गर्न र आलोचकलाई कमजोर बनाउन सत्ताको दुरुपयोगमा मस्त छन् । उनीहरू यस्ता गतिविधिलाई विधि र पद्धतिको लेप लगाएर भ्रम सिर्जना गरिरहेका छन् र ती शासकले छुट्याएको भाग र आशिर्वाद पाएका बौद्धिक जमातहरू नाइकेको गतिविधिलाई सत्य बनाउन विवेक र तर्कको गलत प्रयोग गरिरहेका छन् ।
के एउटा शिक्षित, सिर्जनशील, सचेत र विवेकवान नागरिकले चुन्ने राजनीतिक नेतृत्व यस्तै हुन्छ ? संविधान सभाबाट संविधान नबन्दा र निर्वाचन नहुँदासम्म यी सबै राजनीतिक गतिविधिलाई नेताहरूले संक्रमणको लेप लगाएर उन्मुक्ति लिए । अहिले देखिएका गतिविधिलाई के नाममा उन्मुक्ति लिने ? अब देखिने गतिविधिलाई कसरी संविधान र प्रजातन्त्रको नाम दिइरहने ?
टर्कीका साहित्यकार इल्दानले भनेको जस्तो अहिले खराब चरित्र देखाइरहेका नेताको निर्माण गर्ने हामी नै हौं । हाम्रो चरित्र र चेतना नै खराब छ । यो नबदलिएसम्म र त्यो चेतनाको प्रतिबिम्ब स्वरुप असली प्रजातान्त्रिक नेता वा पार्टी शासनमा नआएसम्म हाम्रा प्रतिनिधिको चित्र मात्र बदलिन्छ, चरित्र बदलिँदैन ।
नागरिकले आफ्नो चेतना र चरित्र बदल्नका लागि सामाजिक सञ्जालमा एटेन्सन सिक गर्ने काम छाडेर साँचो अर्थमा प्रजातान्त्रिक मूल्यमान्यता र विधिका बारेमा चिन्तन, बहस र दबाब सिर्जना गर्न सक्नुपर्छ । प्रजातान्त्रिक समाजका नागरिकमा निहीत असीमित ताकतलाई बिर्सेर धुर्त र मतलबी नेताहरूको चाकडी मात्र गर्ने, मुठ्ठीभर स्वार्थका लागि गलत चरित्रका नेतालाई चुन्ने र पुज्ने दास मानसिकता रहँदासम्म प्रजातन्त्र नामको घोडामा अधिनायकवाद आइरहन्छ । हामीले मात्र होइन, हाम्रा आउँदा पुस्ताले पनि असली प्रजातन्त्रको रसास्वादन गर्न पाउने छैनन् । भावी पुस्ता र इतिहासले हामीलाई सबैभन्दा मुर्ख र खराब जनताका रुपमा ग्रहण गर्नेछन् ।
सामाजिक सञ्जालमा अमूक नेतालाई छाडा भाषामा गाली गर्ने तर राजनीतिक प्रक्रियामार्फत शासक चुन्ने बेला यी सबै बिर्सिएर उही अधिनायकवादी, सनातनी नेता, पार्टी वा त्यस्ता चरित्र बोकेका जनप्रतिनिधि चुन्ने उपक्रम नरोकिएसम्म प्रजातन्त्रको ढोका हुँदै यसैगरी अधिनायकवाद आइरहन्छ । बेरोजगार नेतासँग करोडौंको सम्पत्ति कहाँबाट आयो ? निर्वाचनमा खर्च गर्न त्यत्रो पैसा कहाँबाट आउँछ ? सत्ताको अंकगणित मिलाउनका लागि सांसद खरिदबिक्री गर्ने नैतिक साहस र पैसा कहाँबाट आउँछ ? नेपालमा सायदै कुनै नेता होला जसले आफ्नो सेतो धनको नियमित कर तिर्छ । सुको कर नतिर्ने गरीब देशका नेताको राजसी जीवन कसरी बन्छ ?
समयमा यी प्रश्नको उत्तर खोज्न नसक्ने वा नचाहने बरु सामाजिक सञ्जालमा आफ्ना पीडाका आक्रोशहरू मात्र पोख्नाले केही प्रगति हुन्न ? व्यवस्थाको नाम जे भएपनि समाजको वास्तविकता र औकात उही रहिरहन्छ । सामाजिक सञ्जालमा आक्रोश पोख्न पनि त्यतिबेलासम्म सकिन्छ, जतिबेलासम्म हाम्रो अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहन्छ । जतिबेलासम्म साँच्चै अधिनायकवाद आइसकेको हुँदैन ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...