चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
जेठ १०, २०७९
जीवनको लामो समय पत्रकारितामा खर्चेका गणेश चौधरीको कलमी यात्रा मोडिएको छ ।
पत्रकारितामार्फत समाजलाई सुसूचित, खबरदारी गर्दै आएका उनी अब समाजको सपना साकार पार्ने ठाउँमा पुगेका छन् ।
सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्ने, विकास र समृद्धिको खाका कोर्ने कलम समाउन पुगेका छन् उनी ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीको जानकी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि उनको भूमिका फेरिएको छ ।
कान्तिपुर दैनिकका लागि टीकापुरबाट २ दशकसम्म रिपोटिङ गर्दै आएका उनको गन्तव्य एकाएक कसरी मोडियो ? उनी भन्छन्, ‘पत्रकारिता पेशामा रहँदा धेरै लेखियो, देखियो र बोलियो पनि । सरकार, राज्य कस्तो छ भने पत्रकारले लेखेको, बोलेको कार्यान्वयन गर्नुपर्छ, सुधार गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो तर नेपालको सन्दर्भमा त्यो देखिएन । एउटा पत्रकारले सुधार गर्नुपर्ने कुरा लेख्छ तर सरकार कानमा तेल हालेर बस्छ । आँखामा पट्टी बाँधेर बस्छ । त्यही कुरा नभएकाले आफैंबाट शुरू गर्नुपर्छ भनेर यतातिर लागियो ।’
उनी निलम्बित सांसद रेशम चौधरीको योजना अनुसार हालै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका छन् ।
७ हजार १५१ मत ल्याएका उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार परशुराम महतोले ५ हजार २४२ मत पाए ।
गाउँपालिका अध्यक्षको पद तथा गोपनीयताको शपथ लिएपछि उनले भने, ‘पत्रकारिता गर्दा मेरा लागि पत्रिकाका सबै पेज फस्ट पेज हुन्थे । अब गाउँपालिका अध्यक्षको जिम्मेवारीपछि मेरो सबै प्रतिबद्धताहरू पत्रिकाका फस्ट पेज जस्तै हुन् ।’
शिक्षा, स्वास्थ्य, कृषि, पहिचानका कुरालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनले बताउँदै आएका छन् ।
‘थारु भाषालाई कामकाजी भाषा बनाउँछौं’
स्थानीय तहले पहिचानको सवालमा कसरी काम गर्छ भन्ने लोकान्तरको जिज्ञासा उनले भने, ‘पहिचान भूगोल र संस्कृतिको आधारमा हुन्छ । हिजोका दिनमा दाङदेखि कञ्चनपुरसम्मको भूगोललाई कायम गर्ने थियो तर स्थानीय तहमार्फत गर्ने त्यति सम्भव छैन । भोलिका दिनमा हामीले संघ र प्रदेशको चुनाव जितेको अवस्थामा त्यो आवाज निश्चय पनि उठ्छ ।’
तत्काल स्थानीय तहमा गर्ने भनेको सांस्कृतिक पहिचानको सवाल रहेको उनले बताउँछन् । उनले अगाडि थपे, ‘सांस्कृतिक पहिचान अन्तर्गत भाषाको कुरा आउला । खानपानको कुरा आउला । भेषभुषाको कुरा आउला । नेपालको संविधानले नै स्थानीय भाषालाई कामकाजी भाषा बनाउन सकिने व्यवस्था गरेकाले जानकी गाउँपालिका थारु बाहुल्य पालिका भएको हुँदा थारु भाषालाई कामकाजी बनाउनेतर्फ हाम्रो प्रयास रहन्छ ।’
चाउमिन होइन, ढिकरीमा लगानी
आयातीत खानपानभन्दा रैथाने खानपानलाई प्राथमिकतामा राखेर त्यसको प्रवद्र्धनसँगै बजारीकरणका लागि लगानी गर्ने अध्यक्ष चौधरीको योजना छ । उनले भने, ‘खानपानमा जहिले पनि चाउमिनको कुरा आउँछ, यो प्रमोट हुँदै गएको छ । त्यसका पछाडि राज्यको लगानी छ हाम्रो खाना नभए पनि तर हामी यहाँ हाम्रो ढिकरी, सेलरोटी लगायत रैथाने परिकारको प्रवद्र्धनको कार्यक्रम गर्छौं । हामी यहाँ के बुझाउँछौं भने चाउमिन खाना स्वस्थकर छ, कि ढिकरी र सेलरोटी ? यो बुझाउँछौं र यसमा हाम्रो लगानी रहन्छ ।’
हप्ताको १ दिन आफ्नै पोशाकमा विद्यार्थी
अध्यक्ष चौधरीले गाउँपालिकास्थित विद्यालयमा परम्परागत पोशाक लगाएर पनि स्कूल जाने व्यवस्था मिलाउने बताएका छन् ।
‘पहिचानभित्र पोशाकको कुरा आउँछ । पोशाकमा थारु पोशाक होला, मगर पोशाक पनि होला । यहाँ बुझ्नुपर्ने कुरा, हाम्रो बच्चाले के सिक्दैछ भन्ने हो,’ उनले भने, ‘निश्चय पनि हप्तामा ५ दिन स्कूलकै डे«स लगाउला तर कमसेकम १ दिन आफ्नो पोशाक लगाउन त सिक्छ नि ! यसले गर्दा मेरो संस्कृति, मेरो पोशाक भन्ने त बुझ्छ । अब यहाँका बच्चा हप्ताको १ दिन आफ्नो पोशाक लगाउनेछन् । सिकाउने यहाँनिर हो ।’
गाउँपालिकाका सबै स्कूलमा लागू नभए पनि केही स्कूलमा नमूनाका रूपमा चालू शैक्षिक सत्रदेखि लागू गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
सरकारी अस्पतालको सेवाको प्रभावकारितामा विशेष जोड दिने योजना उनले सुनाए । ‘स्वास्थ्यको कुरा गर्ने हो भने स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो तर हामी स्वस्थ किन भइरहेका छैनौं, हाम्रो लगानी कहाँ भइरहेको छ भन्ने पाटोबाट सोच्न जरुरी छ । जनताले कर तिर्ने तर सेवा प्राइभेट अस्पतालमा लिन किन गइरहेका छौं ? यसलाई मध्यनजर गरी काम गर्छाैं,’ उनले भने ।
को हुन् उनी ?
बुवा दिबुवा चौधरी र आमा बासमति चौधरीको कोखबाट २०३३ फागुन १८ गते जानकी गाउँपालिका–३ सुवर्णपुरमा जन्मिएका अध्यक्ष चौधरीले स्नाकोत्तरसम्म अध्ययन पूरा गरेका छन् ।
गाउँकै भृकुटी प्राविबाट प्राथमिक शिक्षा, महेन्द्र शिशु माविबाट निम्न माध्यमिक र वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरबाट एसएलसी गरेका छन् उनले । आरआर क्याम्पस काठमाडौंबाट बीए पास गरेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारितामा स्नात्तकोत्तरसम्मको अध्ययन गरेका हुन् ।
२०५६ सालदेखि कैलालीलाई कार्यक्षेत्र बनाई पत्रकारिता थालेका चौधरी समाचार, लेख, पुस्तक लेखन र नेतृत्वमा सक्रिय छन् । काठमाडौंबाट पत्रकारिता शुरू गरेका उनी टीकापुरबाट आफैं प्रकाशक/सम्पादक भएर हाम्रो परिचर्चालाई साप्ताहिक, अद्र्धसाप्ताहिक, दैनिक रूपमा ५ वर्ष प्रकाशन गरे ।
पछिल्ला २० वर्ष कान्तिपुर दैनिकको संवाददाताको रूपमा काम गरे उनले । टीकापुरमा समुदायको तर्फबाट स्थापना भएको सामुदायिक रेडियो टीकापुर एफएमको स्थापनाकालमा प्रबन्ध निर्देशक रही उनले संस्था स्थापना र सञ्चालनमा योगदान गरेका छन् ।
मिडिया व्यक्तिगत प्रभावले होइन, नागरिकले आफैं चलाउने र आफ्नो आवाज आफैं बोल्ने हुनुपर्छ र पत्रकारले पछाडि पारिएको समाजको पक्षधर र उच्च पदस्थको गलत कार्यविरुद्ध कलम चलाउँछु भनेर काम गर्नुपर्छ भन्ने मान्यता छ उनको । यस्तै भावनाका साथ जीवनका २० वर्ष यही खर्चिए उनले ।
२ दशक लेखन पेशामै बिताएका उनले वादी, राजी, मुक्तकमैया जस्ता सिमान्तकृत समुदायबारे समाचार लेखन, अध्ययन, अनुसन्धान गरेका छन् भने थरुहट आन्दोलन र टीकापुर घटनाका विषयमा पुस्तक नै प्रकाशन गरेका छन् भने खोज पत्रकारिता, मानव अधिकार, नेतृत्व विकास, द्वन्द्व व्यवस्थापन, शान्तिका लागि संवाद, सामुदायिक मध्यस्थता जस्ता विषयगत तालिम लिई समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
अध्यक्ष चौधरीले आफ्नो जीवनकालमा नेतृत्वको अनुभव पनि बटुलेका छन् । नेपाल पत्रकार महासंघका विभिन्न पदमा रहनुका साथै सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय सदस्य, आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत भई संस्था परिचालन र नेतृत्वको अनुभव गरेका छन् भने विभिन्न सामाजिक संस्थाका पदमा रही संस्था र संगठन प्रणालीबारे ज्ञान लिएका छन् ।
पत्रकारिता कर्म गरिरहँदा समाजको आँखाले पनि राम्रै मूल्यांकन गरेको छ उनलाई । पत्रकारिता कर्मको मूल्यांकन गर्दै प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघबाट उमासिंह स्मृति पत्रकारिता पुरस्कार, थारु पत्रकार संघले प्रदान गर्ने थारु पत्रकारिता पुरस्कार लगायत थुप्रै संघसंस्थाबाट उनले पुरस्कार प्राप्त गरिसकेका छन् ।
राजनीतिक रूपमा तटस्थ रहनुपर्ने पत्रकारिताको सिद्धान्त अनुसार राजनीतिभन्दा माथि उठेर पेशागत मर्यादामा बसेका चौधरी पछिल्लो समय जातजातिको अधिकारका पक्षमा आकर्षक नारा दिएको नेकपा माओवादी केन्द्रमा आकर्षित भएपछि थारु मुक्ति मोर्चाको जिल्ला उपाध्यक्ष भएर छोटो समय काम गरे । स्थानीय तह निर्वाचन २०७९ आउँदै गर्दा नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेर जितेका छन् ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...