काठमाडौं, ८ साउन– ६ वर्षअघि मकवानपुर मार्खु ८ का दिनेश गोले ड्राइभरका रुपमा साउदी गएका थिए । तलब नौ सय रियाल र ओभरटाइमबाट पनि पाउने आशामा उनी साउदी गएका थिए ।
परिवारको जेठो छोरो, नेपालमै बसेर खर्च धान्न नसक्ने भएपछि उनले विदेश जाने निधो गरे । त्यसैले गाउँकै नाताले जेठान पर्ने एक जनाले दिनेशलाई काठमाडौंको एक म्यानपावर कम्पनीका तर्फबाट बाहिर जान मिलाइदिएका थिए ।
दुई बर्षको छोरीलाई घरमा छोडेर विदेश गएका दिनेशलाई उनका बुबा ठूलाकान्छाले गाउँको जग्गा धितो राखेर एक लाख ३५ हजार रुपैयाँ ऋण निकालेका थिए भने ९० हजार मेनपावर कम्पनीलाई बुझाएका थिए ।
दुईबर्षका लागि साउदी गएका दिनेशले मेनपावरले भनेजस्तो ओभर टाइम काम नपाउँदा कम तलबमा काम गर्न बाध्य भए जसका कारण उनी आर्थिक समस्यामा परे ।
महिनाको ९ सय रियालमा बस्न खान सबै भ्याउनुपर्ने भएपछि उनले घरमा पैसा पठाउन सकेनन् । त्यसमाथि बिदेश जाँदा जग्गा धितो राखेर निकालेको साहुको ऋण त बाँकी नै थियो ।
दुईबर्षमा बल्ल बल्ल साहुको ऋण तिरिसकेपछि उनी फिनिसमा घर फर्कन चाहन्थे । तर उनी काम गर्ने कम्पनीले तीनबर्षको सम्झौता भएको भन्दै तीनबर्षसम्म जसरी भएपनि कम्पनीमा काम गर्न दबाब दियो । उनीसँगै काम गर्ने ७ जना नेपालीलाई थप एक बर्ष काम गर्नुपर्ने बाध्यता भयो । थप एक बर्ष काम नगर्ने भए ५ हजार रियाल तिर्नुपर्ने शर्त कम्पनीले उनीहरुसँग राखेको थियो । उक्त रकम तिर्न पैसा नभएपछि उनीहरु घर फर्कन चाहँदा चाहँदै पनि उतै बस्नुपर्ने बाध्यता आइपर्यो ।
तीन बर्ष पुरा हुन करिब ४ महिनामात्रै बाँकी थियो । सन् २०१५ को अगस्टतिर दिनेशमाथि ठूलो बज्रपात भयो । उनले सदाझै सडकमा रहेको बोटबिरुवामा पानी हाल्न ट्यांकर रोकिराखेका थिए ।
तिब्रगतिमा आएको कार ट्यांकरमा ठोक्किन आइपुग्यो । र, कारमा सवार ४ जनाले घटनास्थलमा ज्यान गुमाउन पुगे । घटनामा ४ जनाको ज्यान गएको भन्दै दिनेशलाई साउदी प्रहरीले ३ दिन हिरासतमा राखेको थियो ।
तीन दिनपछि हिरासत मुक्त भएका थिए दिनेश । आफ्नो केही गल्ती नभएको भन्दै दिनेश ढुक्कसाथ काम गर्दै थिए । तर घटनाको ६ महिनापछि उक्त मुद्दा फेरि बिउँझियो । दुर्घटनामा दिनेशको पनि २५ प्रतिशत दोषी रहेको भन्दै त्यहाँको अदालतले दिनेशलाई ३० लाख रियाल अर्थात ८० लाख रुपैयाँ ब्लडमनि तिर्नुपर्ने फैसला सुनायो ।
दिनेशले त्यत्रो ठूलो रकम तिर्ने सक्ने स्थिति थिएन । गाडीको दुर्घटना बीमा थियो तर बीमा कम्पनीले तिर्न मानेन । अदालतले दिनेशलाई ८० लाख ब्लडमनि नबुझाएसम्म साउदी छोड्न नसक्ने आदेश दियो । बीमा कम्पनीले पाँच, छ महिनासम्म तिर्न आलटाल गरिरहेको थियो ।
दुईतीन दिनको फरकमा अदालतमा तारिखमा बसिराख्नुपर्थो दिनेश । अरबी भाषाको समस्याका कारण उनलाई अदालतमा पनि निकै समस्या झेल्नुपर्यो । दिनेश एकदम आत्तिएका थिए । कतै बीमा कम्पनीले पैसा नतिरेमा आजीवन जेलमा बस्नुपर्ने त होइन भनेर ।
शुरुमा त उनले यो कुरा घरमा बताउने पक्षमा थिएनन् । अनावश्यक रुपमा घरमा तनाव मात्रै हुने देखेर उनले नभनेका रहेछन् । पछि ६ महिनापछि घरमा बुबालाई यस कुराको जानकारी गराएका थिए । छोराको त्यस्तो अवस्था देखेर बुबा ठूलाकान्छा काठमाडौं आएर मेनपावर कम्पनीमा छोरा फर्काउन पहल गरिदिन आग्रह गरेका थिए । तर मेनपावर कम्पनीले कुनै वास्ता गरेनन् ।
मार्खुबाट काठमाडौं जाउँजाउ गर, कोठमा बस , खानपिन गर आदि पैसा खर्च गर्नै गाह्रो पथ्र्यो ठूलोकान्छालाई । जसरी हुन्छ छोरालाई घर फर्काउन धाइरहन्थे उनका बुबा । उता घरमा दिनेशका श्रीमती आफ्नो पतिको यस्तो अवस्था थाहा पाएर दिनदिनै रुवाबासी चल्थ्यो । यता काठमाडौंमा ठूलाकान्छा जसलाई हुन्छ भनेर छोरा फर्काउनको लागि पहल गरिदिन हारगुहार गर्थे ।
राजनैतिक नेतालाई भेटेर आग्रह गरे उनले । तत्कालीन परराष्ट्रमन्त्री रामशरण महतको सहायतमा साउदीको दूतावास मार्फत पहल गरिदिन पनि आग्रह गरेका थिए । काठमाडौंमा छोरा फर्काउनका लागि उनले चन्दा संकलन गर्न पर्चा समेत बनाएका थिए । जसरी भएपनि छोरा फर्काउनका लागि ब्लडमनि जम्मा गर्नुे सोचमा थिए दिनेशका बुबा ।
बीमा कम्पनीले पैसा नतिर्ने देखिएपछि दिनेशको मनमा अब कहिले पनि नेपाल फर्किन पाउँदिन कि भन्ने लाग्थ्यो । ‘छोरी आयुष्माले फोन गरेर बुबा कहिले घर फर्किनुहुन्छ भनेर सोध्थिइन् ।’ दिनेशले भने,‘त्यतिबेला मन खुब रुन्थ्यो घरपरिवार सम्झेर ।’
साउदीमा प्रवासी नेपाली समाज लगायत साथीभाइसँग सहयोग गरिदिन अपिल गर्थे दिनेश ।
अन्तिममा त्यहाँको प्रशासनले उनले काम गरेको खलिदा अल्फा कम्पनीले नै तिर्नुपर्ने निर्णय गरेपछि दिनेशको नेपाल फर्किने बाटो खुलेको थियो ।
उनी नेपाल फर्किनको लागि आउँदा एयरपोर्टबाट काठमाडौं आउने विमानमा नछिरेसम्म पनि नेपाल नपुगिएला कि भन्ने चिन्ता थियो । कतै फेरि साउदीको प्रहरीले पक्रिने कि भन्ने चिन्ता समेत थियो । दिनेश ६ बर्ष साउदीमै बित्यो । उनले जाँदाको जग्गा धितो राखेको ऋण तिर्न बाहेक पैसा भने जोगाउन नसकेको दुखेको दिनेशले पोखे । उनी आउँदा एउटा लुगाले भरिएको लगेज मात्र ल्याए ।
‘मैले नयाँ जीवन पाँए, अव नेपालमै परिवारसँग बस्छु, बाहिर जान्न, यतै केही गर्ने सोच छ ’ दिनेशले भने ।
Advertisment
Advertisment