माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
पुस २४, २०७९
मंसिर ४ को चुनावी परिणाममा पछाडि परेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी अस्तित्व रक्षाको अवस्थामा पुगेका छन् । अघिल्लोपटकको चुनावी अनुपातमा यसपटक शक्ति साँघुरिने र बार्गेनिङ पावर नै घट्ने अवस्था बनेपछि यी दुई दल पार्टी एकतासम्मको संवादमा जुटेका हुन् ।
नेपालको पार्टीले १० सीट जिते पनि आफूलाई राष्ट्रिय पार्टीको रूपमा स्थापित गराउन सकेन । जसले गर्दा उसले समानुपातिकको सम्भावित चार सीट मात्रै गुमाएन, एमालेबाट चोइटिनुको औचित्य समेत पुष्टि हुन सकेन । उल्टै गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बन्दा एमाले र माओवादीको चरम बेवास्तामा नेपाल परे ।
१० सीटको संख्या बोकेर हिँड्दा जतिखेर पनि पार्टी फुट्ने जोखिममा नेकपा एस छ । सोही जोखिमलाई मध्यनजर गरेर अध्यक्ष नेपालले वार्ता टोली नै बनाएर उपेन्द्र यादव नेतृत्वको जसपासँग एकताको हात अगाडि बढाएका छन् ।
पुरानो सत्ता गठबन्धन रहँदासम्म माओवादी र समाजवादीको सम्बन्ध सौहाद्र्रपूर्ण नै थियो । तर माओवादी एमालेको कित्तामा पुगेपछि नेपालले आफूलाई सबैभन्दा बढी जोखिममा देखे । एक्कासि गठबन्धन बनाउँदा ओली वा प्रचण्ड दुवैले नेपाललाई सम्झिएनन् ।
उपेन्द्रको हालत पनि चुनावबाट उस्तै भइदियो । उनी आफैं संसदमा नहुँदा जोखिम महसूस गरिरहेका छन् । यसैले दुवै दल एकताका लागि हतारिएको देखिन्छ ।
एकीकृत समाजवादीबाट बेदुराम भुसाल र जसपाबाट राजेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति बनेको छ । एकता प्रयासमा यादवले अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसँग पटक–पटक भेट गरिसकेका छन् ।
शक्ति जुटाएर बार्गेनिङ गर्ने रणनीति
१२ सीट जितेको जसपा र १० सीट जितेको एकीकृत समाजवादी मिल्दा २२ सीटसहित संसद्को चौथो ठूलो शक्ति बन्छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी हाल २० सीट जितेर चौथो स्थानमा छ ।
सत्ताको नेतृत्वकर्ता माओवादीभन्दा १० सीट सानो र सत्ता साझेदार रास्वपाभन्दा २ सीट ठूलो पार्टी बनेपछि सत्ताका लागि बार्गेनिङ बलियो बन्ने विश्वासमा नेपाल र यादव छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकताको प्रयासका लागि वार्ता कमिटी बने पनि वार्ता भने नथालेको जानकारी दिए ।
‘वार्ता कमिटी बनेका छन्, तर समितिले वार्ता थालेको छैन । वार्ता भएपछि स्थिति थाहा हुन्छ । एक अर्काको संगठनात्मक अवस्था, राजनीतिक स्थितिसहितका कुरा बुझेपछि विषय अगाडि बढ्लान्,’ खनालले लोकान्तरसँग भने, ‘यस्तो स्थिति बुझेपछि मात्रै हामी अघि बढ्छौं । साथै अहिले वाम एकताका लागि पनि हामीले कदम अगाडि बढाएका छौं ।’
वाम शक्तिबीच यसअघिको एकता नेताहरूको अयोग्यता, असक्षमता र अदूरदर्शिताले टुटे पनि फेरि प्रयास गर्ने भन्नेमा पार्टी उनले रहेको बताए । चुनावपछिको समीकरणमा शक्ति आर्जनका लागि पार्टी एकता गरेर जान खोज्नु अन्यथा नभएको पनि उनी बताउँछन् ।
‘चुनावपछि दलहरूको एउटा स्थिति बनेको छ । यो बेला आफूलाई थप बलियो र एकत्रित बनाएर जान खोज्नु नौलो होइन,’ खनाल भन्छन्, ‘गणितमा बलियो भएर जान्छौं भनेर लाग्दा नराम्रो हुँदैन, राम्रै हुन्छ ।’
जसपाका नेता राजकिशोर यादवले पनि नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको बताए ।
‘राजनीतिक लाइन मिल्नेसँग एकता गर्ने भन्ने चुनाव अगाडिदेखिको तयारी हो । चुनावले यो तयारीलाई झन् सान्दर्भिक बनाइदिएको छ । समाजवादीको पनि मान्यता यस्तै भएकाले दुवै दलले वार्ता टोली बनाएका हुन् । शनिवार एक चरणको वार्ता भए पनि सामान्यता सैद्धान्तिक विषयमा मात्रै छलफल भयो,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा देखिएको असन्तुलन, कतिपय राजनीतिक मुद्दा र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न पनि मिलेर जानुपर्ने अवस्था छ । मिलेर जाँदा शक्ति सञ्चय हुन्छ । राजनीति गर्न खोज्ने दलले शक्ति बढाएर बार्गेनिङ गर्न खोज्नु पनि स्वाभाविक नै हो ।’
दुई वा तीन दल मिल्दाको संख्याले धेरै फाइदा हुने यादव बताउँछन् ।
‘पार्टीको शक्ति कि संगठन विस्तार गरेर बढ्छ, कि विचार मिल्नेसँग एकता गरेर बढ्छ । हामीले यी दुवैलाई विकल्प मानेका छौं,’ यादव भन्छन्, ‘विचार मिल्ने दल एक ठाउँमा उभिँदा दलीय प्रणालीमा सबै सत्ता राजनीतिमा शक्ति बढ्नु र बार्गेनिङ बढ्नु स्वाभाविक हो ।’
सांसद जोगाउने दाउ
केही क्षण र महिनामा नै बदलिने नेपालको सत्ता राजनीतिमा अंकगणित एकदमै महत्त्वपूर्ण हुने गर्छ । स्वार्थ र अवसर मिल्नेबित्तिकै पार्टी मिल्ने र आफूलाई चाहिँदा अध्यादेश ल्याएर पार्टी फुटाउने अभ्यास शासकले आफ्नो अनुकूलतामा प्रयोग गर्दै आएका छन् ।
सत्ता राजनीतिको जोडघटाउमा आफ्ना १० सांसद आफैंसँग रहिरहन्छन् भन्नेमा नेकपा एसका अध्यक्ष नेपाललाई विश्वास छैन । अहिलेको व्यवस्थाअनुसार १० मध्ये ५ सांसदले केन्द्रीय समितिमा पनि त्यसअनुकूल गणित पुगेको खण्डमा पार्टी फोड्न सक्छन् ।
यति मात्रै होइन एमालेसँग दूरी बढ्दै गए अध्यादेश ल्याएर पार्टी फुटाउने जोखिम पनि रहन्छ । सोही कारण माधव नेपाल एकताका लागि हतारिएका छन् ।
प्रेम आले, किसान श्रेष्ठलगात मन्त्रीका लागि अत्यधिक लालयित छन् । अघिल्लोपटक पनि मन्त्री बन्नका लागि उनीहरू एमालेबाट अलग भएका थिए ।
उनीहरूको यही स्वार्थले जतिखेर पनि जोखिम रहेको बुझाइ नेपालको छ । यसैले जसपासँग एकीकरण भएपछि पार्टी फुटाउन ९ सांसद चाहिन्छ । पार्टी फुटाउन सक्ने अहिलेको प्रावधान नबदलिए एकीकरणपछि यो संख्या पुर्याउन असन्तुष्टहरूलाई सम्भव नहुन सक्छ ।
केन्द्रीय समितिमा पनि विभाजनका लागि अनुकूल नहुने गणित तयार गर्न सकिन्छ ।
उपेन्द्र यादव पनि नेपालजस्तै विवश
टुटफुटको राजनीतिबाट धेरै हन्डर खाएका उपेन्द्र यादव यसपटक पनि माधव नेपालजस्तै गरी विवश छन् । उनी आफैंले प्रतिनिधिसभाको चुनावमा व्यावहारिक तालमेल गर्न सकेनन् । तत्कालीन सत्ता गठबन्धनसँग अन्तिमसम्म सम्पर्कमा रहे पनि चुनाव लड्ने तालमेल उनले एमालेसँग गरे । तर उनी आफैं सीके राउतसँग पराजित हुन पुगे ।
संसदीय दलमा आफू नहुँदा उपेन्द्रलाई जहिले पनि जोखिम छ । संघीय परिषद्का अध्यक्ष अशोक राईसँगको सम्बन्ध समेत चिसिएको छ । पार्टीमा प्रस्टै दुईधार देखिएको छ ।
उपेन्द्रले विश्वासपात्र नेता रामसहायप्रसाद यादवलाई संसदीय दलको नेता बनाएका छन् । यसैले पनि राई पक्षधर नेतामा धेरै नै असन्तुष्टि छ । तर १२ मध्ये जसपामा राई र उनकी श्रीमती सुशीला श्रेष्ठमात्रै यादव विरोधी कित्तामा खुलेका छन् ।
यसमा एक दुई सांसद तान्न सके राईले पनि दबाब बढाउन सक्नेछन् । यसैले जोखिममा बसिरहनुभन्दा नेकपा एससँग एकता गरेर भए पनि यादवले जोखिम टार्न खोजेका छन् ।
आफू निकटका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उनले जितेको बाराबाट उपचुनावमा जितेर आउने गरी यादवले प्रधानमन्त्री प्रचण्डसँग वार्ता गरिरहेका छन् ।
२६ पुसमा विश्वासको मत दिनुअघि यादवले आफ्नो योजना प्रचण्डसमक्ष पुर्याएका छन् । एकता नै गरेर पार्टीको आकार बढाउन सक्दा बार्गेनिङ पावर झन् बढ्ने बुझाइ यादवको छ ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यतिखेर जसपा र एकीकृत समाजवादीको अस्तित्व सबैभन्दा संकटमा रहेको बताउँछन् ।
‘जसपा र एकीकृत समाजवादीको अस्तित्व यतिखेर सबैभन्दा सकंटमा छ । यसैले सामान्यतः केही विचार मिल्ने पार्टीसँग एकताको तहसम्म उनीहरू पुग्न सक्छन्,’ श्रेष्ठ भन्छन्, ‘यी दुई मात्रै होइन माओवादी र बाबुरामको पार्टी पनि अस्तित्व रक्षा गर्नुपर्ने अवस्थामा छन् । चुनावबाट सबैको साइज घटेको छ । यसैले यसलाई झेल्न यी दलबीच एकताको टड्कारो आवश्यकता छ । ढिलोचाँडो एकतामा पुग्न सक्छन् ।’
तत्कालको अंकगणित मात्रै हेरेर एकतामा पुगे पहिलेको जस्तो दिगो नहुने श्रेष्ठको भनाइ छ ।
‘स्वार्थले एकता गर्दा हिजो एमाले र माओवादीको हालत के भयो सबैले देखेका छन्,’ श्रेष्ठ भन्छन्, ‘हतार र स्वार्थमा एकता हुँदा दिगो हुँदैन । बहस र छलफल गरेर गएर दिगो हुन सक्छ ।’
उपेन्द्रको उतारचढाव
मधेश आन्दोलनबाट उदाएका यादवले विजयकुमार गच्छदारसँग हातेमालो गरेरै पहिलो संविधानसभामा आफूलाई बलियो शक्तिको रूपमा उभ्याएका थिए ।
अनेक टुटफुटको सामना गर्नुपरे पनि उनले विभिन्न पार्टीसँग एकता समेत गर्दै आएका छन् । २०७२ मा अशोक राईको पार्टीसँग एकीकरण गरेपछि यादवको पार्टी विजयकुमार गच्छदारको पार्टीभन्दा ठूलो भएको थियो । १४ सांसद भएको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकभन्दा ठूलो पार्टी बन्न यादवले ५ सांसद भएको राईको पार्टीसँग एकीकरण गरेर सांसदको संख्या १५ पुर्याएका थिए । संसद्मा पाँचौ ठूलो पार्टी बनाउनु पनि यादवको स्वार्थ थियो ।
एक सीट भएको डा. बाबुराम भट्टराईको पार्टीसँग एकीकरण गरेर राजपाको जति नै १७ सांसद पुर्याएर यादवले अघिल्लोपटक बराबरीको संख्या बनाएका थिए । त्यसपछि पार्टी फुटको संघारमा पुग्दा १७ सीट भएको राजपासँग एकीकरण गरेर जसपा नामक पार्टी बनाए ।
दुई पार्टीबीचको एकताका पछाडि विभाजन रोक्ने रणनीतिभन्दा अरू सैद्धान्तिक आधार थिएन । दुवै दलका गरी ३४ सांसद पुगेपछि तत्कालीन संघीय समाजवादीलाई फुटाएर सरकारमा समीकरण बनाउने खेल टरेको थियो । तर २०७८ मा आपसमा सहमति गरेरै जसपा विभाजित हुन पुग्यो । त्यसपछि महन्थ ठाकुरको नेतृत्वमा लोसपा पार्टी गठन भयो ।
माओवादी पनि चाहन्छ एकता ?
सत्ताको खेलमा प्रधानमन्त्री पाए पनि माओवादी समेत घटेर ३२ सीटमा आएको छ । यही बेला माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता हुँदैछ ।
सरकारको नेतृत्वमा आफू भए पनि लगाम एमाले अध्यक्ष केपी ओलीको हातमा हुँदा प्रचण्ड पनि विचार मिल्नेहरूसँग ढिलोचाँडो एकता गरेर जाने पक्षमा छन् ।
बाबुराम पनि अस्तित्व रक्षाको अवस्थामा प्रचण्डसँग जोडिन हतारिएका छन् । माओवादीले नेपाल समाजवादीपछि एकीकृत समाजवादीसँग पनि एकताको प्रयास गर्ने तयारी थालेको छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...