मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
माघ २९, २०७९
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल असाधारण घटनाहरूले भरिपूर्ण छ ।
त्यस असामान्य कार्यकालमा धेरै अधिकारीहरू ट्रम्पसँग मिलेर काम गर्न असफल थिए । उपराष्ट्रपति माइक पेन्स र परराष्ट्रमन्त्री माइक पम्पेओ मात्र अन्तिमसम्म ट्रम्पसँग टिक्न सफल भएका थिए ।
तिनै पम्पेओले गत जनवरी महिनामा एउटा संस्मरण प्रकाशित गरेका छन् । ‘नेभर गिभ यान इन्च ः फाइटिङ फर दी अमेरिका आई लभ’ शीर्षकको उक्त संस्मरणमा पम्पेओले ट्रम्पको ‘अमेरिका प्रथम’ सिद्धान्तलाई आधार मान्दै कसरी परराष्ट्र मामिला व्यवस्थापन गरिएको थियो भनी भित्री कुरा बताएका छन् ।
पम्पेओलाई परराष्ट्रमन्त्री नियुक्त गर्नुअघि ट्रम्पले गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को प्रमुख बनाएका थिए । त्यसअघि सन् २०११ देखि २०१७ सम्म कान्सास राज्यको फोर्थ डिस्ट्रिक्टलाई प्रतिनिधित्व गर्ने सांसद थिए ।
ट्रम्पले राष्ट्रपति पदमा लड्दै गर्दा पम्पेओले उनको आलोचना गरेका थिए । निर्वाचित भएपछि ट्रम्प निरंकुश बन्ने अनि संविधानको बेवास्ता गर्ने भनी उनले टिप्पणी गरेका थिए । तर पछि तिनै ट्रम्पको मुनि रही पम्पेओ काम गर्न पुगे ।
काम गर्न पुगेको मात्र नभई पूरै समय टिक्ने अधिकारी पनि बन्न पम्पेओ सफल भए । त्यो कसरी सम्भव भयो भन्ने विषयमा उनले पुस्तकमा खुलाएका छन् । सर्वोच्च कमान्डरको आदेशलाई तदारुकताका साथ पालन गरेको अनि कहिले पनि गोप्य सूचनाहरू प्रेसलाई नचुहाएको भनी पम्पेओले आफ्नो सफलताको राज उजागर गरेका छन् ।
कतिपय टिप्पणीकारहरू चाहिँ पम्पेओ ट्रम्पको चाकरी मज्जैले गरेको भएर टिकेको बताउँछन् । स्टिभ ब्यानन, रेक्स टिलरसन, जेम्स एन म्याट्टिस, एचआर मकमास्टर, जोन बोल्टन, निक्की हेली लगायतका अधिकारीहरूले बीचैमा राजीनामा दिँदा पम्पेओ चाहिँ टिकिरहनुमा उनको चाटुकारिता जिम्मेवार रहेको बताइने गरिन्छ । सन् २०१९ मा द न्युयोर्कर पत्रिकाले प्रकाशित गरेको सुसन बी ग्लासरले लेखेको पम्पेओको प्रोफाइलमा यस चाटुकारिताको विशद वर्णन गरिएको छ ।
जे होस्, पहिला सीआईए निर्देशक अनि पछि परराष्ट्रमन्त्रीका रूपमा पम्पेओले ट्रम्पको नीति अवलम्बन गर्नका लागि भरमग्दूर प्रयास गरेका थिए । आफूले संसारका निरंकुश शासकहरूका विरुद्ध कठोर दृष्टिकोण अपनाएको र अमेरिकालाई केन्द्रमा राख्दै उनीहरूसँग व्यवहार गरेको पम्पेओ दाबी गर्छन् ।
पुस्तकमा पम्पेओले प्रयोग गर्ने भाषा तथा शैली घमण्डले ओतप्रोत पाइन्छ । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनपिङ, इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनी, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई खराब (इभिल) भनी चित्रण गरेका छन् ।
ती नेताहरूले अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई कमजोर बनाउन भरपूर प्रयास गरेको तर अमेरिकाको आर्थिक तथा सैन्यशक्तिको बलमा उनीहरूलाई ट्रम्प प्रशासनले निवारण (डिटरेन्स) गर्न सकेको पम्पेओको दाबी छ । अमेरिकालाई कुनै पनि नयाँ युद्धमा संलग्न नगराइकन अमेरिकाप्रति शत्रुहरूमा डरको भावना उत्पन्न गराउन आफूहरूले सफलता पाएको उनी लेख्छन् ।
पम्पेओले पुस्तकमा चीन र इरानको उछित्तो काढेका छन् । चीनले अमेरिकाको सबै रोजगारी लुटेर लगेको अनि कोभिड महामारी फैलाएर संसारलाई आक्रान्त बनाएको आरोप उनले लगाएका छन् । चीन देश र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीलाई उनले पर्यायवाची जस्तो गरी लेखेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका लागि प्रयुक्त अंग्रेजी संक्षेपीकरण सीपीसीको साटो सीसीपी भन्दै पम्पेओले सीसीपीको दानवीकरणको कुनै पनि अवसर छोडेका छैनन् चिनियाँ कम्युनिस्ट पार्टीका अमेरिकाको ‘सबभन्दा खतरनक शत्रु’ भएको पम्पेओको दाबी छ ।
ट्रम्प प्रशासनले चीनको विशाल टेलिकम कम्पनी ह्वावेको प्रभाव घटाउनका लागि गरेको प्रयासको व्याख्या पम्पेओले गरेका छन् । संसारभरि ५जी नेटवर्क विस्तार गरिरहेको ह्वावेले व्यक्तिगत, व्यापारिक तथा राष्ट्रिय सुरक्षासम्बन्धी डेटा संकलन गर्न सक्ने भएकाले त्यो जोखिमका रूपमा रहेको भन्ने भाष्य स्थापित गर्न ट्रम्प प्रशासन सफल भएको थियो । अनि अमेरिकाका साझेदारहरूलाई ह्वावेका उपकरण उपयोग नगर्न पनि उसले विश्वस्त तुल्याएको थियो ।
आफ्नो कार्यकालको दोस्रो अन्तिम दिन सिन्ज्याङमा चीन सरकारले नरसंहार (जेनोसाइड) गरेको भाष्य स्थापित गर्न सफलता पाएकोमा उनले गर्व गरेका छन् जबकि नरसंहार भन्ने विषय यति हलुका रूपमा उपयोग गर्नै मिल्दैन ।
अनि पूर्ववर्ती ओबामा प्रशासनले इरानसँग गरेको आणविक सम्झौताको सत्तोसराप पनि पम्पेओले पुस्तकभरि धेरै ठाउँमा गरेका छन् । उक्त सम्झौताबाट हात झिक्नका लागि आफूले गरेको पैरवीको बेलीविस्तार पनि उनले लगाएका छन् ।
यहाँनिर के बुझ्नुपर्छ भने ट्रम्पलाई ओबामा प्रशासनले इरानसँग गरेको जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ याक्सन सम्झौतामा रहेका केही कमजोरीका कारण त्यो मन परेको थिएन । उनी नयाँ सम्झौतामार्फत इरानको आणविक परीक्षणलाई बन्द गराउन, इरानका आणविक केन्द्रहरूमा थप निरक्षणको अवसर दिलाउन अनि युरेनियम तथा सेन्ट्रीफ्युग संवर्धनमा राखिएको दश वर्षको अवधि हटाएर पूर्ण प्रतिबन्ध लगाउन चाहन्थे ।
तर पम्पेओको पुस्तक पढ्दा पम्पेओ स्वयं चाहिँ इरानसँग कुनै पनि सम्झौता गर्न नहुने पक्षमा देखिन्छन् । पश्चिम एसियामा इरानलाई पूरै अलगथलग गर्नुपर्ने नीतिमा उनी दृढ छन् ।
त्यस्तै इरानको रिभोल्युसनरी गार्ड्सको कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानीलाई अमेरिकी ड्रोनमार्फत बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा हत्या गरेको विषयलाई पनि पम्पेओले गर्वका साथ वर्णन गरेका छन् । सोलमानीको हत्याले कैयौं अमेरिकीहरूको ज्यान जोगाएको उनी तर्क गर्छन् । (विदेशमा अमेरिकी नागरिकहरूको ज्यान जोगाउने तथा तिनलाई उद्धार गर्ने कामहरूको फेहरिस्त पम्पेओले प्रस्तुत गरेका छन् ।)
इरानले त्यस हत्याको प्रतिशोध लिइने भनेकाले पम्पेओलाई अहिले कडा सुरक्षा व्यवस्था दिलाइएको छ । त्यसले गर्दा सामान्य जीवनशैली अपनाउन असहज भइरहेको भए पनि बृहत्तर अमेरिकी हितका लागि त्यो स्वीकार्य रहेको पम्पेओ लेख्छन् ।
ट्रम्प प्रशासनले उत्तर कोरियासँग सम्बन्ध सुधारका लागि गरेको प्रयास उल्लेखनीय छ र पम्पेओले पुस्तकमा त्यसको विस्तृत वर्णन गरेका छन् । ओबामाले सत्ता छोड्ने बेलामा ट्रम्पलाई सबभन्दा ठूलो चुनौती उत्तर कोरियाबाट हुन सक्ने बताएपछि त्यसको इगो लिएका ट्रम्पले उत्तरलाई इंगेज गर्न पम्पेओ सीआईएको निर्देशक हुँदा त्यहाँ पठाएका थिए ।
उत्तर कोरिया पुगेर किमलाई भेट्दा किमले भनेछन्, ‘निर्देशकज्यू, तपाईं आउनुहुन्छ जस्तो लागेको थिएन । तपाईं मलाई मार्न चाहनुहुन्छ भन्ने कुरा मलाई थाहा छ ।’ अनि त्यसमा पम्पेओले जवाफ फर्काएछन्, ‘अध्यक्षज्यू, म तपाईंलाई अझै पनि मार्न चाहन्छु ।’ यसलाई हँसीमजाकका रूपमा लिएर दुवैजना मुस्काएको पम्पेओ लेख्छन् ।
उत्तरलाई आणविक निःशस्त्रीकरण गर्नका लागि ट्रम्प र पम्पेओले फकाएको भए पनि त्यसमा सफलता पाएनन् । सिंगापुर र हनोईमा ट्रम्प र किमबीच भएको वार्ता अनि ट्रम्पका रूपमा अमेरिकी राष्ट्रपतिले पहिलोपटक उत्तर कोरियाको भूमिमा टेक्ने काम गरेको भए पनि दुई देशबीचको वार्ता सफल हुन सकेन ।
यसका लागि चीन दोषी रहेको पम्पेओको ठहर छ । तर आफूहरूले वार्ता गरेपछि किमले ट्रम्प प्रशासनको कार्यकालभरि क्षेप्यास्त्र परीक्षण नगरेको भन्दै पम्पेओले गर्व गरेका छन् । उक्त प्रक्रियामा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मून जे–इनले खेलेको सकारात्मक भूमिकालाई चाहिँ पम्पेओले अवमूल्यन गरेका छन् ।
इजरायललाई अरब मुलुकहरूसँग औपचारिक सम्बन्ध विस्तारको ढोका खोल्ने अब्राहम एकर्ड्स गराउन मध्यस्थता गरेको विषयलाई पनि पम्पेओले सुरुचिपूर्ण ढंगले वर्णन गरेका छन् ।
पम्पेओको पुस्तकमा भेनेजुएलाका मदुरोलाई अपदस्थ गर्ने प्रयासको संक्षिप्त वर्णन छ । त्यस्तै सन् २०१९ मा पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले सर्जिकल स्ट्राइक गरेपछि ती दुई देशबीच झण्डै आणविक हतियार हानाहान हुन लागेको र आफूले दुवैतिर फोन गरेर त्यसो हुनबाट रोकेको वर्णन छ ।
इजरायलसँगको सुमधुर सम्बन्धका बारेमा पनि उनले व्याख्या गरेका छन् र प्यालेस्टाइनीहरूलाई आतंकवादीको संज्ञा दिएका छन् । ट्रम्प प्रशासनले सुषुप्त क्वाडलाई पुनः जगाएको भनी उनले परराष्ट्र मामिलाको अर्को सफलताको गणना गरेका छन् ।
युक्रेनको प्रसंग उठ्दा उनले राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका बारेमा सकारात्मक कुरा नै गरेका छन् । ट्रम्पले आफू राष्ट्रपति रहिरहेको भए युक्रेन युद्ध हुँदैनथियो भनेको कुरालाई उनले समर्थन गरेका छन् । ट्रम्प प्रशासनले अमेरिकाको निवारक शक्तिलाई स्थापित गरेकै कारण रुसले युक्रेनमाथि आक्रमण गर्ने साहस गर्ने थिएन भन्ने पम्पेओको तर्क छ ।
अफगानिस्तानमा अमेरिकी सैनिकहरूको संख्या घटाउँदै क्रमशः फिर्ता ल्याउने विषयमा ट्रम्पले लिएको अडानमा आफ्नो समर्थनको चर्चा पम्पेओले गरेका छन् । त्यसमा अन्य अधिकारीले बाधा गर्न खोजेको भए पनि आफूले ट्रम्पको इच्छा कार्यान्वयनमा पहल गरेको उनको भनाइ छ । अफगानिस्तान र इराक जस्ता ठाउँमा आतंकवादविरुद्धको कारवाहीमा अल्झेर बस्नुभन्दा चीन र रुससँगको महाशक्ति प्रतिस्पर्धामा अब्बल हुनु ठीक हुने निष्कर्ष ट्रम्प प्रशासनले निकालेको र तदनुरूप राष्ट्रिय सुरक्षा नीति बनाएको उनी दाबी गर्छन् ।
संस्थापनइतरबाट आएका ट्रम्पकै जस्तो दृष्टिकोण राख्दै पम्पेओले परराष्ट्र मन्त्रालयमा कार्यरत ‘करीयर डिप्लोम्याट’ हरूप्रति अविश्वास प्रकट गरेका छन् । ती कूटनीतिकर्मीहरूले ट्रम्प प्रशासनलाई विफल बनाउन अनेकौं सूचना चुहाउने काम गरेको र उनीहरू सजायको भागीदार हुनुपर्ने पम्पेओको तर्क छ । उनीहरूलाई भन्दा आफूले भित्र्याएका जोखिम मोल्न सक्ने ‘पाइपहिटर’ हरूलाई पम्पेओले विश्वास गरेको कुरा पुस्तकमा वर्णित छ ।
सामान्यतया अमेरिकी अधिकारीहरूले आफ्नो धर्मका बारेमा सार्वजनिक स्थानमा कुरा गर्दैनन् । तर पम्पेओले क्रिस्चियन धर्मप्रतिको आफ्नो अगाध आस्थालाई पुस्तकका धेरै ठाउँमा व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयमा विभिन्न धर्मावलम्बीहरूलाई आस्था प्रकट गर्ने अवसर आफूले दिलाएको अनि संसारका विभिन्न स्थानमा धार्मिक स्वतन्त्रताका लागि पहल गरेको उनी गर्वका साथ वर्णन गर्छन् ।
यो संस्मरण लेखेर पम्पेओले आफूलाई राष्ट्रपति पदको योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरेको कतिपयले टिप्पणी गरेका छन् । तर ट्रम्प स्वयं पुनः एकपटक राष्ट्रपति निर्वाचन लड्न खोजिरहेको अवस्थामा पम्पेओको सपना पूरा हुन गाह्रो छ ।
ट्रम्प नचिढिऊन् भनी उनले सन् २०२१ जनवरी ६ मा संसद् भवनमा ट्रम्पसमर्थकले गरेको उपद्रोमा ट्रम्पको उक्साहट कारण रहेको कुरा खुलाएका छैनन् । अनि अधिकांश रिपब्लिकनहरूले सन् २०२० को निर्वाचनमा ट्रम्प नै विजयी भएको गलत भाष्यलाई समर्थन गरिरहँदा पम्पेओले पनि पुस्तकमा त्यसलाई परोक्ष रूपमा अंगीकार गरेका छन् ।
ट्रम्पलाई आक्रोशित बनाउने कुनै पनि कुरा पुस्तकमा नगरेकाले पम्पेओ शायद आगामी निर्वाचनमा ट्रम्पको ‘रनिङ मेट’ अर्थात् उपराष्ट्रपति पदका लागि आफूलाई तयार पार्दै त छैनन् ?
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...