केपी ओलीले प्रधानमन्त्रीको रूपमा रहँदा एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने सहितका लोकप्रिय नारा ल्याइरहँदा हामीजस्ता आम नागरिकले उनको आक्रामक शैलीको समर्थन नगरेका होइनौं ।
खासगरी आफ्नो चिनारीको लागि कुनै संगठन तथा राजनीतिक दलको ट्याग भिर्न नचाहने मजस्तै राजनीतिक स्वतन्त्रता अंगालेका व्यक्तिहरूले पनि ओलीका धेरै भाषणमा आशाको किरण भेटे । नारा आफैंमा आशा र आविष्कारको जननी हो ।
ओलीअघिका सरकार प्रमुखले जनतामा त्यही आशासमेत दिन नसक्दा छाएको चरम राजनीतिक निराशालाई ओलीले पछ्याएनन् । र, उनले आम नेपालीलाई अब देश बन्ने आशा देखाए ।
उनका लोकप्रिय नारासँगै विरोध र समर्थनको कित्ताकाट पनि इतिहासमा झैं दलगत ध्रुवमा विभाजित भयो । राधा ज्ञवाली ऊर्जामन्त्री हुँदा अक्षमतालाइ आधार मान्दै चिलिमेबाट हटाइएको लगभग एक वर्षपछि कुलमान घिसिङ विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक बनेर आए ।
राधा ज्ञवालीले चिलिमेमा जबर्जस्त अक्षम बनाइएका कुलमान त्यसपछि चर्चामा छन् । त्यो पनि लामो समय लोडसेडिङको मारमा रहेका राजधानीवासीलाई विद्युतको उज्यालो प्रदान गरेर । उनले आफैंले बिजुली कतैबाट ल्याएर उपत्यका झलमल पारिरहन सकेका होइनन् । गरेका यत्ति मात्र हुन् कि, प्राधिकरणको गैरजिम्मेवार व्यवस्थापन र विद्युत् क्षेत्रमा भएको अवैध व्यपारमाथि रोक ।
उनको कामबाट ओलीले एक वर्षमा गर्ने भनिएको लोडसेडिङ अन्त्यले समेत सार्थकता पाएको छ । ओलीको नारा साकार पनि भयो । ओलीले भाषणका लागि बोलेका थिए तर कुलमानले त्यसलाई चरितार्थ गर्ने काम गरे । चौध घण्टाबाट अल्पकाललाई नै सही, शून्य लोडसेडिङ सम्भव भयो । यसबीचमा प्रत्येक वर्ष लगभग १० प्रतिशतका दरले विद्युतको माग बढ्दै जाने गरेको पनि आफ्नै ठाउँको यथार्थ थियो ।
एक वर्षपछि भएको लोडसेडिङको अन्त्यले केपी ओली जति प्रखर वक्ताका रूपमा चिनिए, त्यत्तिकै यसले उनलाई असफल व्यवस्थापकका रूपमा पनि चिनाउने काम ग–यो । भलै उनले केही प्रयास र केही थान निर्देशन दिए ।
नाराको त हामीलाई आदत नै बसिसक्यो । सुन्ने र बिश्वास नगर्ने । हामीलाई शब्दको मिठास भन्दा प्रगतिको भोक छ ।
अहिले लाग्दैछ केपीले फेरि एकपटक जनताको आशामाथि खेलवाड गरे । उनकै कार्यकालमा बलियो व्यवस्थापनले लोडसेडिङ हामीले भोगेभन्दा कम हुनसक्ने यथार्थलाई कुलमानको कुशल व्यवस्थापनले साबित गरिदियो, साथै ओलीको लोकप्रिय जिब्रो र इच्छाशक्तिबीचको भिन्नतालाई पनि ।
हामी जनताले बोकेको राज्यप्रतिको आशाको स्वरूप प्रत्येक सरकार परिवर्तनसँग फेरिन बाध्य हुने गर्छ । यो राज्यको शासन प्रणालीको विपन्नता तथा हाम्रो मानसिक विपन्नताको जोडबाट सम्भव भएको कुरा पनि हो ।
जति हामी कल्पनामा छौं, यथार्थमा त्यसभन्दा धेरै भिन्न धरातलमा छौं । हामीमा संक्रमणकालरूपी सकसले दिएको मानसिक दरिद्रता ब्याप्त छ, चाहे स्वीकार गरौं या नगरौं । लाग्छ हामीलाई भ्रमको नै सही आशा र सकारात्मक परिवर्तनको साथ चाहिएको छ ।
हाम्रा प्रगतिहरू प्रत्येकपटक दलीय स्वार्थको शिकार बनेको छ । कुलमानले दिएको यो सकारात्मक प्रगतिलाई राजनीतिको एउटा कित्ता अझै स्वीकार्न तयार छैन, दीर्घकालीन असरको नाम दिएर । हामी प्रगति पनि सहन सक्दैनाैं जहाँ अरूको प्रयासको गुणगान सुनियोस् ।
यस्तै प्रयास भयो यसपटक पनि यसभन्दा सानो प्रगति दिएर गोकर्ण विष्टको हाईहाई भयो, मीठो बोलीको प्रभावले गगन थापा युवाहरूको ‘आइकन’ पनि बने । म यहाँनेर उहाँहरूको विरोध गर्दै छैन, न त मैले त्यो औकात नै खडा गर्न सकेको छु । तर अझै हामी कुलमानको यो कुशलता र जनताप्रतिको उत्तरदायित्व स्वीकार्न हिच्किचाउँदैछौं ।
आफू राम्रो केही गर्न नसके पनि राम्रो गर्न खोज्ने र गरेर देखाउनेको विरोध नै नगरे कैयौं प्रयासहरू सार्थक हुन्छन् भन्ने मेरो सोच हो । हुन त मेरा सोच र बुझाइले त्यति ठूलो अर्थ नराख्लान्, तर मजस्ता हजारौंको सोच र बुझाइले पक्कै पनि अर्थ राख्नेछ ।
यतिखेर राष्ट्रिय राजनीति र सामाजिक सञ्जाल कुलमानको अस्तित्व स्वीकार गर्न चाहिरहेकै छैन, पन्ध्र घण्टा अन्धकारको आदत बनाएका हामी पन्ध्र मिनेट बत्ती जाँदा कुलमानलाई आर्यघाटमा उतारेको देखेको छु मैले । हामी कुन विकास र प्रगतिको सोच राख्दैछौं ? किन कुलमानलाई समर्थन गर्न कन्जुस्याइँ गर्दैछौं ? यो राजनीतिको नबुझिसाध्ये रहस्य हो ।
राधा ज्ञवालीले अक्षम देखेर हटाएको कुलमानले आफ्नो सक्षमता प्रदर्शन गरेर हामी विमुख बनेका त होइनौं ? या केपी ओलीले बाँडेको सपना पूरा गरेर देखाउनु उनको अपराध भयो ? या प्रत्येक राम्रो काम कांग्रेस र एमालेको छायाँ देखिनु जरूरी छ ? अन्यथा राम्रो कुरा नस्वीकार्ने संस्कार बनाइसक्यौं हामीले ?
मलाई अन्दाज छ, कुलमानले गरेको काम कांग्रेस र एमाले कुनैको छत्रछायाँमा सम्भव थियो भने उनको देवत्वकरण हुन्थ्यो । राजनीतिक विद्वेषका कारण राम्रो कामको समर्थनसम्म पनि स्वीकार्न नसक्ने कस्तो परिवर्तनको स्वार्थ बोक्दैछाैं हामी !!
कुलमानको यो व्यवस्थापनभन्दा अगाडि एक वर्ष पहिलेको बिजुली अड्डाको आँकडा हार खाएको छ । हामीले उज्यालोसहितको रातको पनि अनुभूति गर्न पाएका छौं, तर हाम्रो विरोधको संंस्कृति अझै सगरमाथाको उचाइमा चुलिएको देख्दा आश्चर्य लाग्छ ।
हामी विकास पनि पार्टीगत खोज्न थाल्यौं । सिद्धान्तसँग दूरी बढाएका राजनीतिक चरित्र देखिन्छ प्रत्येक राजनीतिक कार्यकता र समूहमा । आफ्ना समर्थकहरूबाट भएका गल्तीमा सकारात्मकता खोज्ने र अरुद्वारा भएका प्रगतिमा कमजोरी खोज्न हामी जुटिहाल्छौं । लाग्छ, हामीसँग के सही र के गलत भन्ने छुट्याउने विवेक नै मृतप्रायः बनिसकेको छ ।
हाम्रो आवश्यकता नै संकटमा परेपछि बल्ल विकासको योजना र व्यवस्थापनका उपाय सोच्छौं हामी । आखिर विद्युत् क्षेत्र पनि त्यसैको शिकार देखियो, सबल व्यवस्थापनले उपलब्ध स्रोतहरूबाटै पनि धेरै समस्याको न्यूनीकरण सम्भव छ भन्ने उदाहरण हुन् कुलमान घिसिङ । तर पूरै काठमाडौं उपत्यका मात्र होइन, मोफसलमा अझै जारी रहेको लोडसेडिङ अन्त्य कुलमानको अर्को चुनौती पनि हो ।
त्यसका लागि व्यवस्थापनका साथै निर्माणाधीन आयोजनाहरूको गति पनि आवश्यक छ र चर्को राजनीतिक दबाबको सामना पनि । हेरौं, अबको बाटोमा कुलमान कत्तिको अब्बल देखिन्छन् या फेरि हामी असफल देखाउन युद्धकालीन अस्त्रको प्रयोग गर्छाैं, आयोजनाहरूमा मजदुरको विरोधको राजनीति खेल्दै ।
राजनीतिमा त प्रत्येक नीचकार्य पनि जायज छ । यो मेरो अभिव्यक्ति होइन, इतिहासले सिकाएको खराब पाठ हो । कुलमानको सक्षमताको प्रमाण अझै जुटिसकेको छैन र ?
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...