काठमाडौं, २७ भदौ – सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र त्रिभुवन विमानस्थलबाटै सुन नेपाल भित्र्याउने र भारतसँगै तेस्रो बजारमा कारोबार भइरहेको छ । पछिल्ला वर्षमा विभिन्न नाकाबाट भन्सार छल्दै ल्याएका सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।
पछिल्ला तीन आर्थिक वर्षमा तस्करबाट ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि)मा पक्राउ परेको ३ सय ९२ किलोग्राम भन्दा बढी (३९२.३२९) सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भइसकेको छ । यो गत आर्थिक वर्ष सम्मको मात्रै तथ्यांक हो ।
यही भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट अहिलेसम्मकै बढी परिमाणमा ८८ किलोग्राम सुन पक्राउ गरेको छ भने यसअघि भदौ १५ गते काठमाडौं र जनकपुरबाट प्रहरीले १५ किलोग्राम सुन पक्राउ गरेको थियो । सो सुन समेत राष्ट्र बैंकले राखेको भए पनि अनुसन्धानका क्रममा भएकाले गलान नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन टक्सार महाशाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा विभिन्न नाकाबाट १ किलोग्राम भन्दा बढी मात्रामा पक्राउ परेको सुन राष्ट्र बैंकको ढुकुटीमा २ सय ६४ किलोग्राम रहेको छ । जसमा विभिन्न मितिमा राष्ट्रिय अनुसन्धान विभाग पुल्चोकले राष्ट्र बैंकलाई बुझाएको सुन ३३ दशमलव ७ किलोग्राम रहेको राष्ट्रबैंक टक्सार महाशाखाले जनाएको छ ।
सो आर्थिक वर्षमा तातोपानी भन्सार नाकाबाट ६८ दशमलव २३८ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ । यस्तै आव २०७१÷०७२ मै तस्करबाट समातेको ६४ दशमलव ५५६ किलोग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राष्ट्रबैंकलाई बुझाएको उल्लेख छ ।
राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको सुनको तथ्यांकमा राजस्व अनुसन्धान कार्यालय इटहरीले सोही आर्थिक वर्षमा ७ दशमलव ९९६ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको छ । यसैगरी सोही आर्थिक वर्षमा पथलैया भन्सार कार्यालयले १० दशमलव २३४ किलोग्राम सुन राष्ट्र बैंकलाई बुझाइएको छ । यसैगरी गौर भन्सार कार्यालयबाट सोही आर्थिक वर्षमा ५ दशमलव ३२९ किलोग्राम सुन प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सोही आर्थिक वर्षमा विभिन्न नाकाबाट अबैध रुपमा नेपाल ल्याइएको ७४ दशमलव ९५६ किलोग्राम सुन सम्बन्धित भन्सार कार्यालय तथा अन्य निकायले राष्ट्र बैंकलाई बुझाएको तथ्यांक छ ।
आर्थिक वर्ष २०७२/०७३ मा ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि) ३३ दशमलव ३७३ किलोग्राम सुन राष्ट्रबैंकले आफ्नो ढुकटीमा जम्मा भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७३ मा अबैध रुपमा नेपाल ल्याइएको ठूलो परिमाण (१ किलोग्राम भन्दा माथि) ९४ दशमलव २०३ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ ।
जसमध्ये सबैभन्दा धेरै परिमाणमा काठमाडौं जिल्ला अदालतले ४७ दशमलव ८८४ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको तथ्यांक छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३१ दशमलव १०६ किलोग्राम बुझाएको राष्ट्रबैंकले जनाएको छ ।
यसैगरी सोही आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयबाट प्राप्त ६ दशमलव ३८४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुककुटीमा जम्मा भएको छ । राजस्व अनुन्धान विभाग पुल्चोक कार्यालयले पनि विभिन्न समयमा गरी ५ दशमलव ६१३ किलोग्राम सुन राष्ट्रबैंकको ढुकुटीमा जम्मा गरेको छ ।
सोही आर्थिक वर्षमा भन्सार कार्यालय पथलैयाले २ दशमलव ६९८ किलोग्राम सुन राष्ट्रबैंकलाई बुझाएको छ भने भन्सार कार्यालय भैरहवाले १ दशमलव १६९ किलोग्राम सुन बुझाएको तथ्यांक छ । यस्तै सोही आर्थिक वर्षमा विभिन्न कार्यालयबाट ३ दशमलव २१४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुकुटीमा जम्मा भएको छ ।
चालु आर्थिक वर्षमा प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणमा सुन पक्राउ गरेको छ । काठमाडौंको क्षेत्रपाटीबाट यही भदौ १९ गते प्रहरीले ८८ किलो सुन समातेको थियो । सो सुन पनि राष्ट्र बैंकसँगै रहेको छ । यसअघि भदौ १५ गते काठमाडौं र जनकपुरबाट प्रहरीले पक्राउ गरेको १५ किलोग्राम सुन समेत राष्ट्र बैंकले राखेको छ ।
यद्यपि पछिल्लो सुनबारे सम्बन्धित निकाय अनुसन्धानकै क्रममा रहेकाले गलान भइनसकेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर सुन तस्करी पञ्चायतकालबाटै शुरु भएको विज्ञहरु बताउँछन् । २०४२ सालदेखि नै पञ्चहरु सुन तस्करीको विवादमा मुछिएका तथ्यांकहरु भेटिन्छन् । अहिलेसम्म विभिन्न समसयमा पक्राउ परेको ४ हजार किलोग्राम भन्दा बढी सुन रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले के गर्छ सुन ?
विभिन्न भन्सार नाका वा प्रहरीले पक्राउ गरेको ठूलो परिमाण (१ किलोग्राम भन्दा माथि) अबैध सुन नेपाल राष्ट्र बैंकले राख्ने गर्छ । राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख सत्येन्द्र तिमिल्सेनाका अनुसार विभिन्न निकायले तस्करीबाट पक्राउ परेको सुन राख्न दिए पनि सम्बन्धित निकायले भनेपछि मात्रै गलाउने गर्छ ।
विभिन्न निकायले तस्करीमा समातेको सुनको अनुसन्धान पश्चात राष्ट्र बैंकलाई सुन गलाउन र किन्न भन्ने गर्छ । राष्ट्र बैंकले सुनको गुणस्तर जाँच गरेपछि गुणस्तरकै आधारमा सम्बन्धित निकायलाई पैसा तिर्ने गर्छ ।
तिमिल्सेनाकाअनुसार राष्ट्र बैंकले सुनको गुणस्तर जाँचपछि सोही दिनको अन्तर्राष्ट्रिय मुल्यमा ५ प्रतिशत प्रोत्साहन स्वरुप (रिवार्ड) थपेर दिने गर्छ ।
तर, नेपाल राष्ट्र बैंकसँग सुन आएकोबारे खास तथ्यांक भने नरहेको भेटिएको छ । लोकान्तरले राष्ट्र बैंकसँग तस्करीबाट प्राप्त सुनको तथ्यांक माग्दा मिति र प्राप्त कार्यालयको नाम नै उल्लेख नगरिएको बताइएको छ ।
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल किन ?
खुल्ला सीमा, राजनीतिक संक्रमणका कारण देखिएको सुरक्षा कमजोरीको फाइदा उठाउँदै सुन तस्करहरुले नेपाललाई सुरक्षित ट्रान्जिट प्वाइन्ट बनाएको अधिकारीहरु बताउँछन् ।
प्रहरी अधिकारीहरुका अनुसार अहिले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तस्करहरुले तीन तहमा काम गर्ने गर्छन् । पछिल्लो समय अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअनुसार पहिलो तहका कारोबारी युएइ, कतार, हङकङ, चीन, तिब्बतमा रहन्छन् ।
उनीहरुले त्यहाबाट सुन किनेर नेपालका विभिन्न नाका तथा विमानस्थलसम्म पुर्याउने काम गर्छन् । दोस्रो तहमा भरियाहरु हुन्छन् । उनीहरुले सहयोगीमार्फत भन्सार कटाउने काम गर्छन् । यो तहमा मध्यस्तकर्ता पनि हुन्छन् ।
उनीहरुको सुनमा लगानी हुदैन । तेस्रो तहका कारोबारी भने काठमाडौं, वीरगन्ज, भैरहवा, सुनौली क्षेत्रमा क्रियाशिल हुन्छन् । विदेशका जुनसकै माध्यमबाट आएको भए पनि सुरक्षित रुपमा काठमाडौंमा रहेको काँचो सुन स्थलमार्ग हुँदै नेपाली बजार र भारतीय कारोबारीसम्म पुर्याउने जिम्मा लिएका हुन्छन् । खासरी दोस्रो र तेस्रो तहमा रहेर काम गर्नेहरु कमिसनका लागि काम गर्ने गर्छन् । सुनमा उनिहरुको खास लगानी रहदैन ।
प्रहरी अधिकारीहरुका अनुसार यस्तो सुन तस्करीमा संलग्न खास कारोबारी नेपाल र भारतका धनाड्य व्यापारी हुन् ।
यस्ता तस्कर र तस्करीका संलग्नहरुलाई सहयोग गर्नेहरुमा भन्सारका कर्मचारी वा राजनीतिक रुपमा प्रभाव राख्ने व्यक्ति पनि रहेको बताइनछ । उनिहरुले राजनीतिक प्रभाव (पावर) र कमिसनको लोभका कारण नाकाहरुबाट सुन भित्र पठाउने काम गर्छन् ।
सामान्यतया यति ठूलो परिमाणको सुन नेपालमा खपत नहुने भएकाले थोरै मात्र नेपाली बजारमा राखेर अरु भारतीय बजार लगिन्छ । त्यहाँ लैजान अप्ठ्यारो हुँदा मात्रै स्थानीय बजार खोजिन्छ । तस्करहरुले काठमाडौ उपत्यकालाई केन्द्रविन्दु बनाएर यहाँबाट सिधै सीमापार गराउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
Advertisment
Advertisment