कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
फूटपाथको एउटा सानो चिया पसलमा काठमाडौंसँग सिमाना जोडिएको जिल्लाका स्थायी बासिन्दा समेत रहेका साठी नेरफेर उमेरका अवकाश प्राप्त अध्यापक अचानक भेटिए । दोहोरो चिनजान थिएन, त्यहीँ चिनापर्ची भयो । उनले कुरा गर्ने खासै रुचि देखाएनन्, कारण भित्रभित्र साह्रै मुर्मुरिएका रहेछन्, वर्तमान राजनीतिसँग । चिया पिउँदै गरेका अर्का एकजना अधवैंशेले वर्तमान सरकार र राजनीतिक दलको क्रियाकलापको प्रसंग झिकेर आलोचना गर्न थाले । यसले त उनका लागि बाँदरलाई लिस्नु जस्तो पो भएछ । पुराना पार्टीको धज्जी उडाउँदै उनले भने, 'के साँच्चै निहुँ खोजेको हो नेताहरूले जनतासँग ? वर्तमान राजनीतिक प्रणाली किन र कसरी स्थापना भयो हामीलाई थाहा छैन ? यसमा क- कसको योगदान र निर्णायक भूमिका थियो, हामी जानकार छैनौं र ? हामी जनता नलागेको भए जनआन्दोलन सफल हुन्थ्यो ? अनि यो राजनीतिक व्यवस्था जनताका लागि होइन ? कि कस्का लागि हो ? अहिले कसले ढलिमली गरिरहेको छ हामी बुझ्दैनौं र ? अब जवाफ खोज्ने समय आएको छ । अब कोही चुप बस्ने किन ? बारम्बार सत्तामा बसेका नेताहरूले आजसम्म के–के गरे ? जनतालाई एक–एक हिसाब चाहिन्छ ।
उनले नयाँ दल, अभियान कसैलाई बाँकी राखेनन् । सबैलाई थोरबहुत गाली गरे ।
'पंक्तिकारले अलिकति सम्झाउन मात्रै के खोजेको थियो, उनी त झन् उत्तेजित भएर कराउन थाले । खाउँलाझैं गरेर वरिपरि हेर्दै पंक्तिकारमै केन्द्रित भएर भन्न थाले, 'तिमीहरू सब मतियार हौ । कति लुट्छौ देशलाई ? कति लुच्छौ, कति चुस्छौ, अझै पुगेन ? अलि बढी नै कुरा गर्न थालेपछि पंक्तिकारले थोरै कड्केर 'कसले लुट्यो, बुझेर बोल्नुस् । हावादारी कुरा नगर्नोस् । बद्मासी गर्नेलाई भन्नोस् । को मतियार थाहा पाएर बोल्नुस् । एउटा बिराउने शाखा पिराउने हुन्छ र ?' भनेपछि उनको आवाज थोरै मत्थर त भयो, तर बोल्न छाडेनन् । 'तिम्रो पार्टी सरकारमा छ त, के नाप्यौ ? अबको चुनावमा पाउला भोट, अनि जितौला पनि, खाउला पनि,' उनको आक्रोशमा निराशाको झल्को थियो । 'हामी गरीब मरिरहने तर नेता मोटाउने हो भने यो व्यवस्था किन चाहियो ?' उनले थपे ।
ती व्यक्ति नेपाली समाजका प्रतिनिधि पात्र हुन् र २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भएर लागेका अगुवा पनि रहेछन् । लाठी, अश्रुग्याँस सबै खाएका र हिरासतमा पनि बसेका । योगदान भएपछि अपेक्षा हुनु स्वाभाविक हो, त्यसैले यो विरोध असामान्य थिएन । तर, उनले जोसँग आक्रोश पोखे, उपयुक्त थिएन । निशाना सही थिएन । बश्, बोलेर स्वाद फेरे । सत्तारुढ दलको सदस्य भए पनि पंक्तिकार अहिलेसम्मका गल्ती, कमजोरी र बेथितिका लागि जिम्मेवार थिएन । तथापि आजभोलि चोकबजारमा यस्तै जनआक्रोशको सामना गर्नुपर्छ, अलिकति राजनीतिक पहिचान भएका व्यक्तिले । यो न्यायपूर्ण होइन । तर, राजनीतिक दलका सीमित नेताहरूको क्रियाकलापको तारो दलका सदस्यहरू बन्नु परेको दु:खद् अवस्था छ । उनले साह्रै नमीठो गरी भने र कसैको मुखै नहेरी उठेर हिँडे । अर्को कुरा उनी हिँडेपछि थाहा भयो, ४/५ वर्षअघि प्रथम श्रेणीमा स्नातकोत्तर गरेका उनका छोराले तीनवटा सरकारी बैंकको जागिरका लागि लिखित परीक्षा पास गर्दा पनि तीनवटै बैंकले अन्तर्वार्तामा फालिदिएका रहेछन् । र, ती युवा अब कहिल्यै नेपाल फर्किन्नँ भनेर विदेशिएछन् । वास्तवमा उनीमाथि राज्यले गरेको यो साह्रै ठूलो अन्याय हो । केही नेता गैरजिम्मेवार हुँदा राजनीतिक प्रणालीकै बारेमा प्रश्न उठ्नु दु:खद् हो । तर यो ठाउँ हामीले नै दिएका हौं, अरू कसैलाई दोष दिएर हुँदैन ।
नेपाली राजनीतिका केही अयोग्य पात्रहरूको अहिलेसम्मको चर्तिकलासँग जोडेर हेर्दा हाम्रो राजनीतिका केही कुरूप चित्रहरू झल्झल्ती देखिन्छन् । मानिसहरू अतालिन्छन्, त्यसैले नेपाल र नेपाली जनता सम्भवत: दक्षिण एसियामै सर्वाधिक पीडित देश र जनतामा पर्दछन्, जसको एकमात्र कारण यहाँको विकृत राजनीति हो ।
देशलाई निश्चित 'मिसन', अल्पकालीन र दीर्घकालीन कार्ययोजना, विकासको प्राथमिकता र सुशासनले समृद्ध बनाउँदै लैजाने हो, तर विडम्बना नै मान्नुपर्छ, नेपाली राजनीतिले यो बाटो वा मार्गचित्र अनुशरण गरेन । त्यसैले पनि शिक्षा हासिल गर्ने क्रममा रहेका र अलिकति पूँजी भएका नागरिकका सन्तानले राज्यलाई पिठ्युँ फर्काएर सिमाना काटेकोकाट्यै गरेका छन् । यसको निरन्तरता रोकिएको छैन र रोकिने छाँट पनि छैन ।
देशभरिका कलेजमा भर्ना हुने विद्यार्थी पाइन छाडेका छन् । कोटा खाली हुन थालेको छ । यस दुर्भाग्यका बारेमा त सरकारलाई सोच्ने फुर्सद नै छैन । सोच्नुपर्छ भन्ने पनि छैन र रमिता नै आनन्ददायक छ । शायद यसबाट आफ्नो जिम्मेवारीको बोझ घटेको महसुस गर्दैछ सरकार । अर्कातिर गरीब, असहाय, बेरोजगार, अदक्ष, भूमिहीन र विभेद समेत झेलिरहेका नेपाली जनता के गर्दैछन् र उनीहरूको जीवन कसरी चलिरहेको छ भनेर हेक्का समेत नराख्ने सरकार जनताको सरकार हुनसक्छ त ? भन्ने गम्भीर प्रश्न छ । यस्तो सरकारले आफूलाई जनताबाट निर्वाचित हुँ भनेर जतिसुकै दुहाई दिए पनि आम नागरिकले आफ्नो ठान्छन् त ? कदापि ठान्दैनन् । र, अब वार कि पारको स्थिति बन्दै गएको छ ।
नेपालमा चारपटक स्थानीय सरकार र आठपटक केन्द्रीय सरकारका लागि चुनाव भयो । अझ पछिल्लोपटक नयाँ सरकार समेत थपियो प्रदेशका नाममा । आखिर यी सरकारहरू किन बने, केका लागि बने र आजसम्म के-के काम गरे ? इतिहासले जवाफ खोजेको छ । र, अब यस्ता धेरै बोल्ने तर काम पटक्कै नगर्ने गफाडी सरकारहरूको औचित्य कति भन्ने प्रश्न समेत उठेका छन् । र, जवाफ दिने ल्याकत कसैमा देखिँदैन । नेपाली जनताले २०१६ सालको सरकारबाहेक कुनै पनि सरकारहरूबाट राहत र आर्थिक सामाजिक परिवर्तनको अनुभूति गर्न सकेनन् । त्यस सरकारसँग राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिबाहेक आमनेपाली सन्तुष्ट र सहमत छन् । ०४८ सालका प्रारम्भिक दिनहरू सकारात्मक थिए, तर समयक्रममा गलत बाटोमा अग्रसर भए ।
तत्पश्चातको विकृत सिलसिला जारी छ र कहिलेसम्म चल्ने हो, कसैले भन्न सक्ने अवस्था छैन । संसारको विकासले नेपाललाई छाडेर कहाँ पुगिसक्यो भन्ने सामान्य सूचना समेत नराख्ने र आफूलाई तदनुसार नसच्याउने नेपालको वर्तमान राजनीति इतिहासकै चिन्ताजनक राजनीति हो । बोलिदिए पुग्छ भन्ने राजनीतिक नेतृत्व, दिशाहीन राजनीतिका कारण मनमौजीमा चलेको कर्मचारीतन्त्र तथा राजनीतिक अस्थिरताको निरन्तर फाइदा उठाइराखेको धूर्त निजी क्षेत्रका कारण सम्पूर्ण समाज अस्तव्यस्त बन्दै गएको यथार्थ कसैबाट छिपेको छैन । यसको प्रमुख कारण राजनीति नै हो ।
सबैलाई थाहा छ, राजनीतिले समाजलाई डोर्याउने हो । तर, विडम्बना, क्षुद्र स्वार्थमा रुमल्लिएको वर्तमान राजनीतिसँग समाज डोहोर्याउने औकात र हैसियत दुवै छैन । सामान्य राजनीतिक चेत समेत नभएका व्यक्तिहरू राजनीतिको मुख्य भूमिकामा रहेका र त्यसको बाहुल्यता भएका कारण पनि यस्तो स्थिति आएको हो । जनताबाट चुनिएर आएपछि जनताकै लागि काम गर्नुपर्छ भन्ने इमानजमान नभएपछि समाजले यस्तै दुर्दशा झेल्नुपर्ने रहेछ । केही अपवादका पात्रहरूले पनि काम गर्ने वातावरण नै छैन । नेपालको कुन क्षेत्र सही सलामत छ त भनेर यसो नियाल्दा विद्रुप चित्र बन्दो रहेछ । यसको कारण राजनीतिक नेतृत्व नै हो । जसको दुष्प्रभाव सर्वत्र फैलिएको छ ।
अब अलिकति प्रतिनिधि क्षेत्रको रूपमा कृषि क्षेत्रको चर्चा गरौं । नेपालका किसानहरू संसारका अभागी किसानमा पर्दछन्, जसका बारेमा राज्यलाई कुनै मतलव छैन । कुल जनसंख्याको ६५ प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेको तथ्यांक राज्यले निकालेको धेरै भयो । कृषिमा आश्रित अधिकांश नेपाली किसानको आफ्नो निजी जमिन छैन । भएकाहरूको पनि निकै थोरै छ । शब्द र कागजमा बाहेक नेपालका कुनै पनि सरकारहरूले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको पाइँदैन ।
अहिले पनि राष्ट्रिय आयमा एकचौथाई योगदान कृषि क्षेत्रको छ । एक अध्ययनका अनुसार नेपालसँग १० करोड जनसंख्यालाई धान्न सक्ने उत्पादनशील जमिन छ । हामीले कृषि क्षेत्रको सही सदुपयोग गर्ने हो भने झण्डै सात करोड मानिसलाई पाल्नसक्ने कृषि उत्पादन र निर्यात गर्ने सामर्थ्य राख्छौं । तर, विडम्बना त के छ भने अहिले हामी झण्डै–झण्डै सवा खर्बको कृषि उत्पादन आयात गर्दा रहेछौं जसमा चामल, दाल, तरकारीलगायत पर्दछन् । यसका लागि जिम्मेवार को ? कृषि प्रधान भनेर चिनिएको देशले कृषि उपज आयात गर्नु अति लाजमर्दो कुरा हो ।
नेपाली किसानहरूको खेतमा पर्याप्त सिञ्चाइको व्यवस्था छैन । यसको जिम्मेवारी कसले लिने ? मनसुनमा निर्भर कृषि कस्तो होला ? कृषिमा आधुनिकीकरण छैन, निर्वाहमुखी र परम्परागत छ । किसानलाई कृषि औजार र उपकरण उपलब्ध छैनन् । कृषि उत्पादनको बजार छैन । कृषकलाई लगानीको अनुपातमा प्रतिफल छैन । गुणस्तरीय बिउ तथा आवश्यक मलखादको व्यवस्था छैन । कृषिप्रधान देशमा एउटा मल कारखाना पनि छैन । सरकारले उपलब्ध गराउने भनिएको कृषि अनुदानमा पहुँचवालाहरूको नियन्त्रण छ । यतिमात्र होइन, सुलभ कृषि ऋण, बाली बिमा, कृषि भण्डारण र बजार पूर्वाधार छैन ।
उत्पादनशील क्षेत्र आवास क्षेत्रमा परिणत हुँदैछ । सरकारले कृषि क्षेत्रको संरक्षण गर्न सकेको छैन । जमिन निरन्तर खण्डीकरण हुँदैछ, यसको जिम्मा कसले लिने ? कृषि क्षेत्रको एउटा सामान्य उदाहरण मात्र हो । नेपालका अन्य क्षेत्रहरूको अवस्था झन् कन्तबिजोग छ । यसको कारण के हो ? एउटै जवाफ आउँछ, राजनीति । अनि देशको राजनीति कसको हातमा छ त ? हाम्रै हातमा । शासनको बागडोर हाम्रै हातमा छ । निर्वाचन जित्ने हामी नै हौं । ३५ वर्ष देश चलाउने हामी नै हौं । अनि यो दयनीय अवस्थाको जवाफ कसले दिने ? सरकार र पार्टी नेतृत्वमा बसेर काम बिगार्ने एकथरी, अनि अबगाल झेल्नुपर्ने सबैले ? यो कहाँको न्याय हो ?
आज चोकचौराहामा ती पूर्व अध्यापकले उठाएको आवाज आमनेपाली जनताको प्रतिनिधि वाणी हो । यो वाणी पटक्कै अतिरञ्जित छैन । जनताका लागि राजनीति गर्ने दलहरूले यस्ता जनवाणी तुरुन्तै सुन्नुपर्छ । यहाँ कसैले सुन्छ त ? यसविपरीत राजनीतिक दलका नेताहरू जनतालाई उपदेश दिएर हिँड्छन् । जनताका दुःख बुझ्दैनन् । आखिर यो कहिलेसम्म ? अनि जनताले आगो नओकलेर के गर्नु ? कमीकमजोरी सबैबाट हुन्छन्, तर महसुस गर्न को-को तयार छ, उसले मात्र आफूलाई सच्याउन सक्छ र आफूलाई सही बाटोमा हिँडाउन सक्छ । चुनावका बेला जनतासामु गरेका कबुलहरू चटक्कै बिर्सिएर निजी स्वार्थमा तल्लिन हुँदा कसले मान्छ ? जनताले राजनीतिक नेतृत्वको दिनचर्यालाई सुक्ष्मरूपमा नियालिरहेको हुन्छ भन्ने कुराको हेक्का सम्बन्धित व्यक्तिले राख्नुपर्छ । बोली र व्यवहारमा तादात्यमता नराख्ने राजनीतिक व्यक्तिलाई जनताले विश्वास गर्दैन ।
विश्वका सर्वसम्मत परिभाषाहरूले पनि राजनीतिलाई शासनको प्रमुख नीति औंल्याएका छन् । उचित समयमा उचित स्थानमा उचित कार्य गर्ने क्षमता नै राजनीति हो । यसबाटै प्रस्ट हुन्छ, राजनीतिमा अनुचित कार्य वा तलमाथि गर्न पाइँदैन । अन्याय र अपराध राजनीतिमा बर्जित छ, तर यसलाई सिद्धान्तमा सीमित गरिएको छ । व्यवहार ठ्याक्कै उल्टो छ । नेपालको राजनीति यसको प्रमुख दृष्टान्त हो । यसलाई तुरुन्तै नसच्याउने हो भने नेपाल एकादेशको कथा बन्न धेरै समय लाग्दैन ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...